असोज १९, २०८१, शनिबार
               

शिष्ट र सुसंस्कृत परिवार निर्माण

विजयप्रसाद मिश्र
कात्तिक १२, २०७८

ADVERTISEMENT

मानव समुदायको एउटा महत्त्वपूर्ण संस्था हो परिवार । समाजको संरक्षण र संवर्धन यसै संस्थामा अवलम्बित छ । हिन्दू संस्कृतिमा त परिवारलाई एउटा प्रमुख शिक्षण संस्थाको रूपमा लिइन्छ । यसको महत्तालाई अनुभव गरेर नै वैदिक युगमा औपचारिक अध्ययन क्रम पूर्ण गरेका प्रत्येक स्नातक विद्यार्थीलाई आचार्यले उपदेश दिँदै भन्नुहुन्थ्यो– प्रजातन्तुं मा व्यवच्छेत्सीः (तैत्तिरीय उपनिषद् १।११।१), जसको अर्थ हुन्छ– आफ्नो सन्तान–रूपी परिवार परम्पराको दीर्घ सूत्रलाई नतोड । परिवार समाज निर्माणको एउटा महत्त्वपूर्ण घटक त हो नै, समाजको सबैभन्दा लघुतम एकाइ— सानो त पूर्ण खण्ड पनि हो । व्यक्तिको पोषक र व्यक्तित्व निर्माणको आधार एकाइ पनि परिवार नै हो ।

जसरी कुनै पनि वृक्षको वृद्धि, त्यसको सफलता त्यसैको जरामा निर्भर हुन्छ त्यसैगरी व्यक्तिका रूपमा मनुष्यको सफलता परिवारमा निर्भर हुन्छ । जरा कमजोर भएमा, अव्यवस्थित भएमा अथवा रसहीन भयो भने जसो गरे पनि वृक्ष विकसित हुँदैन । फल–फूल उत्पादन गर्न सक्दैन । सानोतिनो हुरीमै ढल्न पनि सक्छ । परिवार पनि व्यवस्थित भइदिएन, सुसंस्कृत भएन भने व्यक्तिको जीवन उन्नत हुँदैन । परिवार सबल–सुसंस्कृत हुँदा मात्र व्यक्ति जीवनमा वाञ्छित उन्नतितिर बढ्न सक्दछ । मनुष्यको जीवन–विकासमा परिवारको योगदान महत्त्वपूर्ण छ । यसैले व्यक्ति र समाजको मूल जरा परिवारलाई स्वस्थ, सुन्दर र सुसंस्कृत बनाएमा व्यक्ति र समाज दुवै सभ्य र सबल बन्नेछन् ।

मनुष्य बन्नका लागि थप एउटा विशेषताको निर्देश हाम्रा शास्त्रहरू दिएको छ, र त्यो हो धर्म । व्यापक अर्थ बोक्ने धर्म शब्दको आशय प्रसङ्ग अनुसार यहाँ मर्यादा, कर्तव्यपरायणता, नैतिकता आदिका रूपमा लिन सकिन्छ । हो, यो तत्त्व भइदियो भने परिवारको प्रतिष्ठा कायम रहनुका साथै व्यक्तिको समुचित उन्नति पनि सम्भव छ ।

‘सुसंस्कृत’ शब्दको अर्थबारे विचार गर्दा बुझ्नमा आउँछ– जसको आचरण र व्यवहार शिष्टतापूर्ण र संस्कृति–अनुरूप हुन्छ, जो सुन्दर संस्कारहरूले युक्त हुन्छ, जो शिष्ट हुन्छ, जो सांस्कृतिक दृष्टिले उन्नत अथवा राम्ररी संस्कारित गरिएको छ त्यसलाई सुसंस्कृत भनिन्छ । सुसंस्कृत परिवार भन्नाले यस्तो परिवारको सङ्कल्पना हामी गर्छौँ जहाँ धर्मलाई महत्त्व दिइन्छ, संस्कार र संस्कृतिलाई प्रधानता दिइन्छ । सुसंस्कृत परिवार यस्तो परिवार हो जहाँ स्वेच्छाचार, दुराचार, व्यभिचार, नितान्त व्यक्तिवाद जस्ता कुराको अभाव हुन्छ । यिनको साटो सहयोग, सहकार्य, शील, मर्यादा, सदाचरण जस्ता सबैको हितको पोषक गुणहरू प्रचुर मात्रामा हुन्छन् । यिनै गुण हुन् जसले व्यक्तिको सर्वाङ्गीण विकासमा निर्माणात्मक भूमिका निर्वाह गर्दछन् ।

विवाह गर्नु, परिवार बसाउनु सजिलो छ । परिवारको पालन–पोषण पनि अपवाद छोडेर सबैले गरेकै छन् । तर परिवारलाई समुन्नत एवं सुसंस्कृत बनाउनका लागि त्यसको ‘निर्माण’ गर्नु एउटा श्रमसाध्य कर्तव्य हो । हामी अधिकांश परिजनका लागि अधिकाधिक सुख सुविधाहरू जुटाउनु, तिनका लागि राम्रो भोजन, राम्रा लुगा–कपडा, मनोरञ्जन, शिक्षा तथा सुख–सयलका वस्तु जुटाउनु नै पारिवारिक जीवनको उद्देश्य ठान्छौँ । हाम्रो ध्यान परिवारको आवश्यकताहरू पूरा गर्नका लागि धनोपार्जन गर्नतिर मात्र केन्द्रित हुन्छ । यतिमै सीमित हुनाले हाम्रो ध्यान गाँस–वास–कपास, शिक्षा र स्वास्थ्यभन्दा पनि अझ सर्वोपरि आवश्यकता– परिवारलाई सद्गुणी बनाउनेतिर कहिल्यै जाँदैन । यस्तो अवस्थामा परिणाम हाम्रो कल्पना र अपेक्षा विपरीत भइदिन सक्छ । परिजन असद्गुणी भइदिए भने आफ्नो विनाश त गर्छन् नै परिवारको प्रतिष्ठालाई पनि सुरक्षित राख्न सक्दैनन् । परिवारको अहित हुँदा त्यहाँ न त कुनै प्रकारको सुख–शान्ति नै कायम हुन्छ न त्यसलाई समृद्ध नै मान्न सकिन्छ ।

आफ्ना सन्ततिका लागि आहार र निद्राका निम्ति वस्तु जुटाउने, भयबाट सुरक्षा दिने सम्मका काम त पशुले पनि गर्छन् । मनुष्य बन्नका लागि थप एउटा विशेषताको निर्देश हाम्रा शास्त्रहरू दिएको छ, र त्यो हो धर्म । व्यापक अर्थ बोक्ने धर्म शब्दको आशय प्रसङ्ग अनुसार यहाँ मर्यादा, कर्तव्यपरायणता, नैतिकता आदिका रूपमा लिन सकिन्छ । हो, यो तत्त्व भइदियो भने परिवारको प्रतिष्ठा कायम रहनुका साथै व्यक्तिको समुचित उन्नति पनि सम्भव छ । खाने–पिउने, लुगा–गहना लाउने र मौज–मजा मनोरञ्जनमै मात्रै रमाउने बानी परेका परिजन कहिल्यै पनि अनुशासित तथा संगठित रहन सक्दैनन् । तिनमा स्वार्थ ह्वात्तै बढेको हुन्छ । साना–साना कुरामा पनि एक–अर्कासँग कलह, क्लेश तथा ईर्ष्या–डाह गर्न थाल्छन् । मौज–मजालाई नै आफ्नो दृष्टिकोणको केन्द्रमा राख्ने व्यक्ति कहिल्यै पनि त्यागी, परोपकारी, स्नेही तथा उदार हुन सक्दैन । यी गुणहरूको अभाव कुनै पनि परिवारको सुख शान्तिमा आगो लाउनका लागि पर्याप्त हुन्छ । 

यसैले आवश्यक छ– स्थिति अनुसार परिजनलाई अधिकाधिक सुख–सुविधा दिइनुभन्दा पहिले अनिवार्य रूपमा उनीहरूलाई गुणी, व्यवस्थित, अनुशासित तथा मर्यादित बनाउनका लागि प्रयत्न गरियोस् । परिवारको ‘निर्माण’ परिवार–पालनभन्दा हजारौँ गुना महत्त्वपूर्ण कार्य हो ।

सद्गृहस्थले आफ्नो परिवारलाई एउटा सुन्दर वाटिका तथा आफूलाई त्यसको उत्तरदायी माली ठान्नुपर्दछ । जसरी एउटा कुशल मालीले आफ्नो बगैँचाको सिँचाइ गर्दछ, त्यसलाई उर्वर बनाउन मल–जल दिन्छ, एक–एक फूल र पातको हेरचाह गर्दछ, राम्ररी गोड–मेल गरेर बगैँचा स्याहार–सम्भार गर्दै त्यहाँ कुनै पनि बोट–बिरुवामा किरा नलागोस् भनी ध्यान पुर्‍याउँदछ, त्यसै प्रकार सद्गृहस्थले आफ्नो परिवारको पालन–पोषण गर्दै जाँदा उसको परिवारको कुनै पनि सदस्य व्यसनी, स्वार्थी अथवा सङ्कीर्ण त हुँदै छैन भन्ने कुरामा पनि विचार पुर्‍याउनु पर्छ । 

उसको घरमा कलह, क्लेश तथा विखण्डनका तत्त्व हुर्कँदै त छैनन् ? यस्तो कुनै सङ्केत मिलेमा तुरुन्त सुधारमा तत्पर हुनुपर्दछ । स्नेह, कठोरता, शासन, अनुशासन जुन उपायबाट हुनसक्छ विकृतिहरूलाई पन्छाउने प्रयास गरिनुपर्छ । हुर्कँदै गरेका विकृतिको उपेक्षा गर्नु अथवा तिनलाई पन्छाउन तिर ध्यान नदिनु भनेको परिवारलाई नरक बनाउनतिर उन्मुख हुनु सरह हो । यस्तो असावधानी गर्नुहुँदैन । अझ उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस भनिन्छ । यसर्थ आफू सदाचारी बनेर उदाहरणका रूपमा प्रस्तुत हुँदै ती सबै उपाय गर्नु सम्यक् हुन्छ जसले परिवारका सदस्यमा सद्गुणको विकास होस् । परिवार एउटा सुन्दर बगैँचा बनी स्वधर्म र संस्कृतिको सुवास छरोस् ।

लेखक धर्म तथा संस्कृति क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि