बैशाख ०८, २०८१, शनिबार
               

सेप्टेम्बर ११ को विश्व धर्मसभा र विवेकानन्द !

ADVERTISEMENT

सेप्टेम्बर ११ । यस दिनाङ्कलाई विशेषतः अमेरिका तथा समग्रमा विश्वले नै दुईवटा कारणले स्मरण गर्दछ ।

पहिलो कारण:

सन् १८९३ मा यसै दिन अर्थात् सेप्टेम्बर ११ कै दिन एउटा तेजस्वी हिन्दु मनीषीका रूपमा स्वामी विवेकानन्दले अमेरिकाको सिकागोमा आयोजित विश्व धर्म महासभामा स्वागतको आभार स्वरूप एउटा छोटो मन्तव्य राख्नुभएको थियो । त्यस मन्तव्यको सन्देश थियो विश्वका सबै पन्थ, सम्प्रदाय आदिको गन्तव्य एउटै हो । त्यसैले धर्मान्धता त्यागेर बन्धुत्व भावका साथ अघिबढ्नुपर्छ । उहाँले हिन्दुत्वले निर्देश गरेको विश्व–बन्धुत्व र धार्मिक सहिष्णुताको सन्देश विश्व मानवका लागि दिनुभएको थियो ।

प्राध्यापक राइटले उक्त धर्मसभासँग सम्बन्धित आफ्ना एक मित्रलाई एउटा पत्र लेखेर स्वामीका हातमा थमाइदिए । परिचयका साथ उनले उक्त पत्रमा लेखेका थिए, “मेरो विश्वास छ, यो एक्लो अज्ञात हिन्दु संन्यासी हाम्रा सबै विद्वानहरूलाई एकातिर राख्दा पनि अधिक वजनदार र विद्वान साबित हुनेछ ।” 

दोस्रो कारण:

सन् २००१ को सेप्टेम्बर ११ कै दिन इस्लामिक आतङ्कवादीले अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा गरेको बीभत्स हमला । त्यस अमानवीय कृत्यलाई ९/११ भनेर उल्लेख गरिन्छ, स्मरण गरिन्छ ।

यी दुवै घटना अमेरिकामा भएका हुन् । एउटाले सौहार्दता र विश्वबन्धुत्वको सन्देश दिएको थियो भने अर्कोले मानवतामाथि धर्मान्धता एवं मजहबप्रेरित–आतङ्कले निम्त्याएको कलङ्कको । यहाँ चर्चा पहिलो प्रसङ्गको गरिँदै छ ।

त्यो कालखण्ड थियो भारतको पराधीनताको । हिन्दुहरूलाई पराधीन एवं पराजित जातिका रूपमा हेर्थ्यो विश्वले । हिन्दु धर्मबारे भ्रामक विचार व्याप्त थियो विश्वजतगमा । त्यस अवस्थामा सन् १८९३ मा विश्व धर्म महासभा नामको एउटा विराट कार्यक्रम आयोजनाको घोषणा भएको थियो अमेरिकाको सिकागो नगरमा । मनुष्यमात्रमा भ्रातृभावको स्थापना एवं प्रचार गर्ने उद्देश्यले त्यस महासभामा विश्वभरिबाट विभिन्न पन्थ–सम्प्रदायका गन्यमान्य मानिस आमन्त्रित थिए । भारतबाट पनि केही सम्प्रदाय विशेषका प्रतिनिधि जाँदै थिए त्यस कार्यक्रममा सहभागी बन्न । उनीहरूसँग औपचारिक निमन्त्रणा–पत्र थियो ।

मद्रासका केही जागरूक युवकहरूले स्वामी विवेकानन्दसित पनि आग्रह गरे, त्यस महासम्मेलनमा सहभागी बन्न । त्यसमा खेतरीका महाराजाले सहयोग गरेर ती युवकहरूको आग्रहलाई स्वामीजीको अभियान नै बनाइदिए । सन् १८९३ मे ३१ का दिन स्वामी विवेकानन्द बम्बईबाट पानीजहाजमा अमेरिका प्रस्थान गर्नुभयो । उहाँसित औपचारिक निमन्त्रणा पत्र थिएन ।

जलमार्गबाट कोलम्बो, मलेसिया, सिंगापुर, हङकङ, जापान हुँदै भ्यानकोवर पुग्नुभयो । त्यहाँबाट रेलमा तीन दिनको यात्रापश्चात् उहाँले सिकागोको अनौठो परिवेशमा प्रवेश गर्नुभयो । सिकागोका सडकमा एउटा व्यक्तिलाई अनौठो खाले गेरुवा वस्त्रमा आवेष्टित देखेर स्थानीय मानिस चकित पर्दै हेर्थे । धर्मसभा निर्धारित समयमा नभएर कारणवश केही महिना पछि सर्‍यो । स्वामीजीसँग भएको पैसा महँगो होटेलको बिल तिरेरै सकिँदै थियो । त्यहाँ उहाँले पूर्वपरिचित आफ्नो भविष्य अन्धकारमय देख्न थाल्नुभयो । उहाँको भावुक मन विचलित हुन पुग्यो । उहाँ सिकागो छाडेर बोस्टन जानुभयो । त्यहाँ उहाँले एक वृद्ध भद्र–महिलालाई भेट्नुभयो । महिलाले उहाँलाई स्वागतपूर्वक आश्रय दिइन् । अलिकति आस पलायो । विवेकानन्दले नै लेख्नुभएको छ, “ती भद्र महिलाका साथमा रहँदा मेरो प्रतिदिन एक डलरको महँगो खर्च जोगियो । उनी आफ्ना स्थानीय दौँतरीहरूलाई बोलाई–बोलाई भारतबाट आएको एक अद्भुत जीवसँग भेट गराउने गर्दथिन् । उनीहरू सबै मलाई देखेर ट्वाँ पर्थे र अनेक सवालहरूले एकसाथ आक्रमण पनि गर्दथे । यी सब झमेलाहरू मैले यहाँ सहन त गर्नै पर्छ । मलाई यो बेला भोक र शीतका साथै मेरो विचित्र पोसाकका कारण सडकका मान्छेहरूको हँसिमजाक र अवहेलना आदिकासाथ लड्दै अघि बढ्नु छ ।”

सिकागोको धर्मसभाको अर्को मिति तय हुन सकिरहेको थिएन । एक किसिमले उक्त सम्मेलनप्रति उहाँको आशा नै मरिसकेको थियो । उहाँ निकै निराश पनि हुनुभएको थियो । तर पनि, उहाँले हार मान्नुभएन । अमेरिकामा वेदान्तको प्रचारको सुविधा नमिलेको खण्डमा इङ्ल्यान्ड जाने । र, यदि त्यहाँ पनि उक्त सुविधा नमिलेको खण्डमा भारत नै फर्किने विचार उहाँको हृदयमा सलबलाउन थालेको थियो । यसैबीच तिनै भद्र महिलाका घरमा स्वामीजीको भेट हार्वर्ड विश्वविद्यालयका ग्रीक भाषाका प्राध्यापक जोन हेनरी राइटसँग भयो । स्वामीजीका विचारहरूबाट प्रभावित ती सज्जनले स्वामीजीलाई सिकागो धर्मसभामा अवश्य सहभागी बन्नुहोला भन्दै सफलताको शुभकामना पनि दिए । स्वामीजीसित महासभाको औपचारिक निमन्त्रणा–पत्र छैन भन्ने बुझेपछि उनले भने, “तपाइँको प्रमाण-पत्र माग्नु भनेको सूर्यलाई आकाशमा चम्किने आफ्नो अधिकार सोध्नु जस्तै हो।” 

जसरी विभिन्न नदीहरू भिन्न–भिन्न स्रोतहरूबाट निस्किएर समुद्रमा मिल्न पुग्दछन्, त्यसरी नै हे प्रभो ! भिन्न–भिन्न रुचि अनुसार विभिन्न बाङ्गा–सोझा बाटा हुँदै हिँड्ने मानिसहरू अन्त्यमा हजुरमै मिल्न पुग्दछन् ।

प्राध्यापक राइटले उक्त धर्मसभासँग सम्बन्धित आफ्ना एक मित्रलाई एउटा पत्र लेखेर स्वामीका हातमा थमाइदिए । परिचयका साथ उनले उक्त पत्रमा लेखेका थिए, “मेरो विश्वास छ, यो एक्लो अज्ञात हिन्दु संन्यासी हाम्रा सबै विद्वानहरूलाई एकातिर राख्दा पनि अधिक वजनदार र विद्वान साबित हुनेछ ।” 

धर्मसभामा स्वामीजी

“सिस्टर्स एन्ड ब्रदर्स अफ अमेरिका !”

मञ्चबाट आएको सम्बोधन सोझै हृदयमा प्रवेश गरेको थियो त्यहाँ भएका श्रोताहरूको । यद्यपि सबैका दृष्टि त्यतै थिए, मञ्चतिरै । तर, त्यो हार्दिकतापूर्ण सम्बोधन त्यहाँ उपस्थित हजारौँ नरनारीका निम्ति अप्रत्याशित थियो । त्यस स्वरमा अघिल्ला वक्ताहरूको जस्तो सामान्य औपचारिकता मात्र थिएन । आत्मीयता थियो । मधुरता थियो । कर्णप्रिय थियो । त्यो हार्दिकता, त्यो आत्मीयताले सबैलाई अनायासै करतलध्वनिका निम्ति प्रेरित गर्‍यो । र, त्यो प्रेरणाका सामु अरू कुनै उपाय बाँकी रहेन । एक किसिमको उत्साह नै सञ्चार भयो सबैमा । ताली बजाउन थाले । समग्र हल गुञ्जायमान भयो- दुई मिनेटसम्म ।

मञ्चमा उभिएका तेजस्वी संन्यासी युवकलाई यस्तो प्रतिक्रियाको कुनै अपेक्षा थिएन । उहाँका निम्ति पनि त्यो अप्रत्याशित नै थियो । उहाँलाई के थाहा, यतिका दिनसम्म जुन अमेरिकामा अनेकौँ अनौठा अनुभव सँगाल्नु परेको थियो, त्यही अमेरिकाले उहाँको सम्बोधन मात्रलाई यति हार्दिकताका साथ स्विकार्ला ! १८९३ सेप्टेम्बरको दिनाङ्क ११ यसरी इतिहासमै उत्कृष्ट बन्ला भन्ने कुनै आशा थिएन गेरु रङ्गको वस्त्रमा आवेष्टित ती भारतीय संन्यासीमा ।

अनि उहाँले विश्व धर्म महासभाको प्रथम दिवसको स्वागतका लागि आभार व्यक्त गर्दै जे भन्नुभयो, त्यसको सार निम्नानुसार छ-

१) आभार 
संसारका सन्न्यासीहरूको सबैभन्दा प्राचीन परम्पराका तर्फबाट आभार ।

सबै धर्मकी जननी, अर्थात् हिन्दु धर्मको तर्फबाट धन्यवाद ।

सबै मत–पन्थ एवं सम्प्रदाय मान्ने करोडौँ हिन्दुहरूका तर्फबाट धन्यवाद ।

२) हिन्दु धर्मको परिचय

म यस्तो धर्मको अनुयायी हुनुमा गर्व गर्दछु जसले संसारलाई सहिष्णुता तथा सार्वभौम स्वीकृति, दुवैको शिक्षा दिएको छ ।

हामी सबै धर्मप्रति सहिष्णु त छौँ नै, यससँगै के पनि विश्वास गर्छौँ भने सबै धर्म साँचो छन् ।

३) उदारता र शरणागतवत्सलता

पृथ्वीका समस्त धर्म–सम्प्रदाय र देशहरूबाट उत्पीडित एवं शरणार्थीहरूलाई आश्रय दिने उदात्तता एवं उदारता छ हिन्दुहरूमा ।

यहुदीहरूको पवित्र मन्दिरमाथि जुन वर्ष रोमन जातिको अत्याचारको घन बज्रिएको थियो त्यसै वर्ष उनीहरूलाई दक्षिण भारतमा शरण दिइएको थियो ।

विश्वमै अल्पसङ्ख्यक बनेका महान् जरथुष्ट्रका अनुयायी पारसीहरूलाई शरण दिएको छ ।

४) सबैको गन्तव्य एउटै हो

रुचीनां वैचित्र्यादृजुकुटिलनानापथजुषाम् ।

नृणामेको गम्यस्त्वमसि पयसामर्णव इव ।। (शिवमहिम्नस्तोत्रम् ।७)

जसरी विभिन्न नदीहरू भिन्न–भिन्न स्रोतहरूबाट निस्किएर समुद्रमा मिल्न पुग्दछन्, त्यसरी नै हे प्रभो ! भिन्न–भिन्न रुचि अनुसार विभिन्न बाङ्गा–सोझा बाटा हुँदै हिँड्ने मानिसहरू अन्त्यमा हजुरमै मिल्न पुग्दछन् ।

ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् ।

मम वर्त्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः।। (गीता ४।११)

भावार्थ: जसरी भए पनि जो कोही पनि मतिर आउँदछ म उसलाई प्राप्त हुन्छु । भिन्न–भिन्न मार्गबाट प्रयत्न गर्दै मानिस अन्ततः मतिरै आउँदछन् । 

५) धर्मान्धताको अन्त्य हुनुपर्छ

साम्प्रदायिकता, हठधर्मिता र तिनकै बीभत्स वंशधर धर्मान्धताले यस सुन्दर पृथ्वीमा धेरै वर्ष भयो राज्य गरेको । हिंसाले भरिएको, मानवताको रगतमा नुहाउन चाहने, सभ्यताहरू विनाश गर्ने र सबै दिशालाई निराशाको गर्तमा जाक्ने यस्तो दानवी प्रवृत्ति नहुँदो हो त मानव समाज आज योभन्दा उन्नत अवस्थामा पुगेको हुने थियो ।

यस धर्मसभाको आरम्भमा बजेको घण्टाको नादसँगै धर्मान्धता तथा तलवार अथवा लेखनीका बलमा, धर्मका नाममा हुने समस्त उत्पीडनको अन्त्य हुनेछ । 

एउटै लक्ष्यतिर हिँडिरहेका मानवहरूबीच पारस्परिक कटुताको मृत्यु निनाद सिद्ध हुनेछ यो घण्टनाद ।

उहाँको आशय थियो- हिन्दु धर्मले विश्वबन्धुत्वको शिक्षा दिन्छ । उदारता र सबै धर्म–सम्प्रदायलाई आदर गर्न सिकाउँछ । सबैको गन्तव्य एउटै भए किन लेख, पुस्तक आदिका आधारमा अथवा तलवार, बन्दुक आदिका भरमा धर्म परिवर्तन गराउँदै हिँड्नु ? आफूमात्र श्रेष्ठ, आफ्नै बाटो मात्र सबैभन्दा उत्तम भन्ने धर्मान्धताको अन्त्य हुनुपर्छ । यस्तो विचार लिएर विश्वलाई नै इसाई अथवा इस्लामी मजहबमा परिवर्तन गराउने हठको अन्त्य हुनुपर्छ ।

तर, न बुद्धका कुराले, न विवेकानन्दका कुराले स्पर्श गर्न सक्यो दानव वृत्ति अँगालेका मानवलाई । विश्व धर्म महासभामा स्वामीजीले गर्नुभएको यस तेजस्वी उद्घोषलाई आत्मसात् गरेको भए आज विश्वमा मानवीय उन्नतिको सुन्दर, शान्त र सभ्य वातावरण स्थापित भइसकेको हुने थियो ।

स्थानीय न्यूयर्क हेराल्ड पत्रिकाले लेख्यो, सिकागो धर्मसभामा विवेकानन्द नै सर्वश्रेष्ठ वक्ता हुन् । उनको प्रवचन सुनेर यस्तो लाग्छ कि धर्म मार्गमा समुन्नत राष्ट्र भारतमा हाम्रा इसाई धर्म प्रचारकहरुलाई पठाउनु अज्ञानता र मूर्खता पनि हो ।

लेखक धर्म तथा संस्कृति क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि