बैशाख १४, २०८१, शुक्रबार
               

कता हरायो मानवीय संवेदना ?

विवश कुलुङ
असार ०२, २०७८

ADVERTISEMENT

नेपालमा एक मिनेट लामो मौनधारण गरिसक्ने वित्तिकै सामाजिक सञ्जाल चेक गर्ने बेला भएको छ । वर्षातकाे समयमा त कब्जियत भएर लामो समय शौच गरियो भने पनि फर्किनसाथ सामाजिक सञ्जाल चेक गर्ने बेला आएकाे छ । 

मानवीय समवेदना बिर्सेर बेपत्ताकाे संख्या बढाउने हाेड चलिरहेकाे छ । आफन्तहरूलाई चोटमाथि नुनखोर्सानी छर्किने काम भइरहेकाे छ । यस कार्यमा मन्त्रीसमेत संलग्न भएका छन् ।

याे कुराबाट आज मैले किन विषयकाे प्रवेश गरेँ भने नेपालमा साच्चै मानवीयता हराइसकेकाे छ । कुनै पनि दुर्घटना भएमा मृतककाेे संख्या कुन मिडियाले धेरै देखाउने भनेर हाेडबाजी जस्तै छ । काेही कसैलाई भेन्टिलेटरमा उपचार गरिहरँदा पनि श्रद्धाञ्जलि आइसकेकाे हुन्छ । नेपालमा सामाजिक सञ्जालमा हतारकाे पोस्ट र त्यसैलाई नै आधार मानेर बनाइने समाचारका कारण धेरै जना पीडित छन्  ।

हिजो मंगलबारदेखि सिन्धुपाल्चोक पानीमा डुबेको छ । मानव जीवनका लागि अपरिहार्य पानी सयाौँ परिवारको आशुमा परिणत भएको छ । सिंगो सिन्धुपाल्चोक शोकमा छ । तर उक्त पीडा केहीकाे मजाककाे विषय बनेकाे छ ।  मानवीय समवेदना बिर्सेर बेपत्ताकाे संख्या बढाउने हाेड चलिरहेकाे छ । आफन्तहरूलाई चोटमाथि नुनखोर्सानी छर्किने काम भइरहेकाे छ । यस कार्यमा मन्त्रीसमेत संलग्न भएका छन् ।

आज बिहानै स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा ५० जनाभन्दा बढी बेपत्ता भएका भन्दै राहत तथा उद्धार कार्यमा खट्न आग्रह गर्नुभयो । उहाँकाे स्टाटसलाई आधार मानेर धेरै अनलाइन मिडियामा आज बिहान ब्यानर न्यूज बन्यो । तर, सिन्धुपाल्चोक जिल्ला विपद् व्यवस्थापन समिति संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार हालसम्म ७ जना मात्रै बेपत्ता भएका छन् । मन्त्री तामाङकाे स्टाटस र  सिन्धुपाल्चोक जिल्ला प्रशासन र प्रहरी प्रशासनबाट ७ जना मात्रै वेपत्ता भनेपछि विवरणमा धेरै अन्तर देखिन्छ । यसरी हेर्दा मन्त्री तामाङले विपदका घटनामा अपुष्ट विवरण सार्वजनिक गरेर मानवीयताकाे ख्याल गर्न नसक्नु मन्त्रीकाे कमजोरी भन्न सकिन्छ । 

यो एउटा उदाहण मात्र हाे, यस्ता मानवीयताकाे ख्यालै नगरी मजाक गरिने धेरै घटनाहरू हामीसँग छन् । धेरै जिउँदाकाे समाचार बनेका छन् । गत शनिबारराति युरोपेली च्याम्पियनसिप अन्तर्गत डेनमार्क र फिनल्याण्डबीच भएकाे खेलमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भए । तर नेपालकाे कान्तिपुर टेलिभिजनले मृत्यु भनेर श्रद्धाञ्जलि दिन हतार गर्‍यो । डेनमार्कका मिडफिल्डर क्रिस्टियन ४३औं मिनेटमा एक्कासी ढलेका थिए । उनकाे अहिले पनि उपचार जारी छ । मुलधारको र कारोबारका आधारमा ठूलो मिडियाले संवेदनशिलता गुमाएकाे यो पहिलो घटना भने हाेइन । २०७६ साल वैशाख १ गते बिहान साढे ९ बजे सोलुखुम्बुकाे लुक्लामा विमान दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भनेर टेलिभिजनमा संवाददातासँग लाइभ कुराकानी गरेकाे सुनेकाे छु । तर, खास मृतककाे संख्या भने कम थियो । 

नेपालीहरूमा बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसले विकसित गरेको असंवेदनशीलताकाे कारण यस्ता घटना सँधै दोहोरिरहेको पाइन्छ । सँधै आतंक मच्चाइन्छ । त्यसैले श्रद्धाञ्जलि र वेपत्ताकाे संख्या बढाउँदै लेख्न हतारिने हातहरू अन्य राम्रा काममा हतारियोस् ।कसैलाई हतारमा जिउँदै नमारौँ । 

त्यस्तै गत जेठ १८ गते विवेकशिल साझा पार्टीका संयोजक उज्वल थापाकाे मृत्यु भयो । फरक राजनीतिक विचारधारासहित राजनीतिमा होमिएका थापा वैकल्पिक शक्ति स्थापित गर्न लागिपरेका थिए । तर उनकाे मृत्यु हुनुभन्दा दुईदिन अघि नै मृत्युकाे समाचार बने । धेरैकाे समाजिक सञ्जाल श्रद्धाञ्जलिले रंगिए । सामाजिक सञ्जालमा श्रद्धाञ्जलिको ओइरो लागेपछि अस्पतालले थापाको उपचार जारी रहेको र भ्रम नफैलाउन अपिल पनि गर्‍यो । विवेकशील साझाकी नेतृ रञ्जु दर्शनाले थापा जीवितै रहेको र जीवित मानिसलाई श्रद्धाञ्जलि दिएको भन्दै सामाजिक सञ्जालमै आक्रोश पनि पोखिन् । अमानवीय कार्य भन्दै विवकेशील साझाका नेता, कार्यकर्ता र अन्य मानिसले त्यस्ता पोस्ट र ट्वीटप्रति आपत्ति जनाए । 

गत चैत १३ गते नेपाली कांग्रेसका प्रभावशाली नेता नविन्द्रराज जोशीकाे निधन भयो । तर उनकाे चैत ४ गते नै मृत्यु भएकाे समाचार भाइरल बनेको थियो । केही नेताहरूकाे सामाजिक सञ्जाल श्रद्धाञ्जलिले भरियो । उक्त सामाजिक सञ्जालकाे स्टाटस हेरेरै धेरै अनलाइनले समाचार बनाए । समाचार बनेपछि नेता जोशीकाे सचिवालयले सामाजिक सञ्जालमा आएका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनायो । उहाँको अहिले पनि थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकाले भ्रमपूर्ण समाचारहरूमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छौं भन्दै स्पष्टीकरण समेत दिनुपर्‍यो । काठमाडौंको नर्भिक अस्पतालमा गत फागुन १४ गतेदेखि उपचाररत हुँदाहुँदै मानवीयताकाे ख्याल नगरी श्रद्धाञ्जलि दिइयो । समाचार बनेकाे ९ दिनपछि नेता जोशीकाे निधन भयो । 

यस्ता धेरै उदाहरणहरू छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेकाे मृत्युकाे समाचार दुइपटक बनेकाे स्वयंले सुनेको भनेर उहाँले नै अन्तर्वार्तामा भन्नु भएको थियो । हतारमा अनलाइनमा मात्र नभई ज्ञान दिन भनिएका केही लोकसेवा तयारी पुस्तकमा कहिले मृत्यु भयो भनेर जिउँदैमा छापिएका थिए । उक्त समाचार र किताबी प्रकाशनपछि पनि उहाँले ‘ऋतम्भरा’ महाकाव्य लेख्नुभयो । उक्त महाकाव्य प्रकाशन गर्न नपाए पनि समाचार बनेकाे र श्रद्धाञ्जलि भाइरल बनेकाे करिब ५ वर्षपछि २०७७ साल भदौ २ गते उहाँले आफ्नो लेखन यात्रामा सँधैका लागि बिट मार्नुभयो । 

नेपाली समाजिक सञ्जालमा श्रद्धाञ्जलि पाउने पीडितहरूमा पूर्वयुवराज पारस शाह, कांग्रेस नेता डा. शशांक कोइरालालगायत धरैको लाम छ । हामी नेपाली सामाजिक सञ्जाल प्रयोगकर्तामा संवेदना धेरै भएर हो वा कति पनि नभएर हो, यस्ता कुरामा निकै हतार गर्छौं । सामाजिक सञ्जालमा देखेका कुरामा विश्वास गर्नेहरू पनि छन् । यो माध्यम सशक्त पनि बन्दै गएको छ । जसले गर्दा समाजमा नकारात्मक सन्देश गई सामाजिक विचलन, विद्रोह र हिंसा पनि बढिरहेको छ ।

नचिनिएका तर नजिकका छिमेकी, आफन्त, नाता, श्रीमान्, श्रीमती, छोराछोरीको श्रद्धाञ्जलि पोष्ट भइरहन्छ, हटाइन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले कसैप्रतिको श्रद्धाञ्जलि र समवेदना पोष्ट गर्दै गर्दा जति हातको औँला हतारमा लम्किन्छ, त्यति नै सोच्नु आवश्यक छ ।

नेपालीहरूमा बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसले विकसित गरेको असंवेदनशीलताकाे कारण यस्ता घटना सँधै दोहोरिरहेको पाइन्छ । सँधै आतंक मच्चाइन्छ । त्यसैले श्रद्धाञ्जलि र वेपत्ताकाे संख्या बढाउँदै लेख्न हतारिने हातहरू अन्य राम्रा काममा हतारियोस् ।कसैलाई हतारमा जिउँदै नमारौँ । 

कुलुङ नेपाल फ्ल्यासका डेस्क सम्पादक हुन् । उनी समसामयिक विषयमा कलम चलाउँछन् । विशेष गरी उनी पर्यटन एव‌‌‌म् खेलकुदसँग सम्बन्धित विषयमा रुचि राख्छन् ।

कस्तो लाग्यो ?

यो पनि