चैत १५, २०८०, बिहीबार
               

बेलैमा मरेछौ, ठिकै गरेछौ, बाबा !

चेतन पाण्डे
जेठ ०५, २०७८

ADVERTISEMENT

खै के लेख्नु । के नलेख्नु ।

सबैका अनुहारमा औँसी छाएको छ । सधैँ हाँसी रहने अनुहार पनि निभेका टुकी जस्ता देखिन थालेका छन् । कोही हाँसेका छन् भने पनि देखावटी हो कि जस्तो लाग्न थालेको छ ।

यद्यपि मैले, कोरोना महामारीमा कुनै निजी अस्पतालका मालिकलाई देख्न पाएको छैन । भेट्न पाएको छैन । लाग्दै छ, उनीहरूलाई देख्दा ती मुहारमा देखिने मुस्कान भने अस्वाभाविक लाग्दैन होला । हाम्रा झैँ । जब निजी स्वार्थका कारण राज्य संयन्त्र नै ध्वस्त बन्छ, अनि सहरमा जङ्गल राज आउँछ । अनि सबै तिर बेथितिले राज गर्छ ।

पाएको मौका कसले पो चुक्न देलान् र´ निजी अस्पताल अछुतो भइदिन्छ कि भनेर भ्रम पाल्नु । हुन सक्छ, निजी अस्पताल खोल्ने अनुमतिका लागि हिजो अनियमितताका मसिहाहरूको पाउमा चढाइएका एक–एक पैसा, आज जनताले ब्याजसहित उनीहरूलाई फिर्ता गरी रहेका छन् कि जस्तो लाग्दै छ। कोरोना वरदान बनेको छ, उनीहरूलाई । लकडाउनमा कोठामा गुम्सिएको मन र मस्तिष्कले यस्तै सोच्न थालेको छ ।

केही दिन अघि त हो । सामाजिक सञ्जालमा एउटा कार्टुन छरिएको थियो । निजी अस्पतालले मास्क बाहेक लङ्गोट समेत नरहने गरी कोरोनाका बिरामीलाई घर फिर्ता पठाएको । वास्तवमा यस्तै छ, जनताको बाध्यता । त्यस्तै छन्, अस्पताल ।

०००

सानोमा मेरा बाबाले मलाई सहरका नामी होटेल, रेस्टुरेन्टदेखि तल्लो स्तरका भट्टीमा समेत घुमाएका थिए । खुवाएका थिए । खानाका निकै सौखिन थिए । उनको विभिन्न सम्पत्ति मध्ये मेरो भागमा परेको वंशाणुगत अंश त्यो पनि हो ।

भन्थे, ‘बुझिस्, हामीले यहाँ (नामी होटेलमा) बसेको कुर्सीको, हिँडेको कार्पेटको अनि त्यो भित्तामा झुन्डाइएको तस्बिर हेरेको पनि पैसा तिर्नु परि रहेको छ । अनि त्यो वेटरले मुसुक्क हाँसेको पनि । तर, त्यहाँ भट्टी साहुजीले बसेको कुर्सीको पैसा लिँदैनन्, हिँडेको भुईँको पैसा लिँदैनन् । सधैँ ठुस्स परे पनि कहिले काहीँ हाँसेको पैसा पनि लिँदैनन् ।’

वास्तवमा मलाई ती नामी होटेल, रेस्टुरेन्टभन्दा भट्टीका परिकार स्वादिलो लाग्थ्यो । आज पनि त्यस्तै लाग्छ । म बाबालाई सोध्थेँ, ‘बाबा ! मलाई त त्यो हरियो पर्दा भएका होटेल कै खाना मिठो लाग्छ । यहाँभन्दा । अनि किन यहाँ, त्यहाँभन्दा बढी पैसा तिरेर खानु ?’

एउटा अबुझ बालकको जिज्ञासालाई सहजै मेट्ने प्रयास गर्थे, मेरा बाबा । भन्थे, ‘बुझिस्, हामीले यहाँ (नामी होटेलमा) बसेको कुर्सीको, हिँडेको कार्पेटको अनि त्यो भित्तामा झुन्डाइएको तस्बिर हेरेको पनि पैसा तिर्नु परि रहेको छ । अनि त्यो वेटरले मुसुक्क हाँसेको पनि । तर, त्यहाँ भट्टी साहुजीले बसेको कुर्सीको पैसा लिँदैनन्, हिँडेको भुईँको पैसा लिँदैनन् । सधैँ ठुस्स परे पनि कहिले काहीँ हाँसेको पैसा पनि लिँदैनन् ।’

अनि अलि कति पेग बढ्दै गए पछि केही सम्झे झैँ गरेर हाँस्दै भन्थे, ‘थाहा छ तलाइँ, हामीले त्यो साहुनी हेरेको पैसा पनि तिर्नु पर्दैन नि त्यहाँ ।’

म बुझेँ झैँ गरेर मुसुक्क हाँस्थेँ मात्र । कुरो केही बुझेको हुन्न थिएँ । तर, आज म बाबाको एक–एक कुरोको अर्थ बुझ्दै छु । अहिले यो मुलुकका निजी अस्पताल पनि त्यस्तै आलिसान होटेल झैँ बनेका छन् । हिँडेको, हेरेको, हाँसेको । हरेकको सेवा शुल्क तिर्नु पर्ने रहेछ ।

बाबा ! मैले अहिले थाहा पाएँ, बिरामी हुँदा सरकारी अस्पतालका बेडमा सुत्दा किन ढाड दुख्छन् अनि निजी अस्पतालका किन लचकदार ओछ्यानमा किन दुख्दैन भनेर । सरकारी अस्पतालमा ५० रुपैयाँको टिकट काटेर जँचाउँदा त्यही डाक्टरको रुखोपन निजी अस्पतालमा जँचाउन जाँदा किन हँसिलो बन्छ भनेर । सरकारी अस्पतालमा बिरामी र कुरुवालाई गाली गरेर नथाक्ने त्यही नर्स निजी अस्पतालको पार्ट टाइम जागिरमा बिरामीसँग कसरी हाँसेर बोल्न सक्दा हुन् भनेर । अहिले थाहा पाउँदै छु, हाम्रो मुलुकमा स्वास्थ्य व्यवसायमा पनि चरम घोटाला हुँदो रहेछ । बिरामीको घाँटी निचोर्ने गरेर व्यापार हुँदो रहेछ । डाक्टर, नर्स र अन्य कर्मचारीको व्यावसायिक आचरण पनि हाम्रो खल्तीको गक्ष अनुसार फरक हुने गर्दो रहेछ । हामीले पाउने मान–सम्मान पनि सेवा लिने अस्पताल अनुसार फरक हुँदो । धनको हैसियत अनुसार ।  

सामान्य अवस्थामा त अस्पतालको बिरामीलाई निचोर्ने हद अनि बिरामीको निचोरिन सक्ने हैसियत अनुसार फरक हुनु स्वाभाविकै होला । किनकि त्यस्तो अवस्थामा हामीले रहर अनुसार उपचार गर्ने अस्पताल र डाक्टर छान्न पाउँछौँ । तर, यस्तो महामारीमा ? अहँ यस्तो छुट पनि हामीलाई छैन । किनकि सरकारीमा सुत्ने बेड नहुँदा विकल्प त त्यही निजी नै हुने रहेछ । के गर्नु आफ्ना प्रियजनलाई घिटीघिटी मर्न दिनुभन्दा त मुलुकमा संभ्रान्त र गरिबी बिचको खाडल अझै फराकिलो बनाउन मद्दत गर्नु नै सही ठहरिँदो रहेछ । उसलाई धनी बनाएर, आफू झनै गरिब बनेर ।

बाबा ! तिमीलाई थाहा नहोला । घर धितो राखेर भए पनि । मिटर ब्याजमा ऋण लिएर भए पनि । निजी अस्पतालमा उपचार गरेर बाँचेका पनि धेरै छन् यहाँ । अनि त्यही ऋणको बोझमा हरेक दिन मर्न विवश ज्युँदा लास बनेका छन्, उनीहरू । घर खेत बेचेर श्वास किन्ने पनि छन् । यही सहरमा, यही मुलुकमा । बाँचेकाले त भोलि कमाएर तिरुँला भन्लान् । तर, त्यसरी नै घर धितो राखेर अनि मिटर ब्याजमा लिएको पैसाले पनि प्रियजनलाई बचाउन नसकेकाहरूको परिवारको भविष्य के होला ? 

बाबा ! बेलैमा गएछौ, नत्र तिमीले पनि तिर्नु पर्थ्यो । डाक्टर मिठो बोलेको अनि नर्सले मुसुक्क हाँसेको मुस्कानको शुल्क । यस्ता निजी अस्पतालभन्दा त भट्टी नै ठिक रहेछ बाबा ! कम से कम साहुनी हाँसेको पैसा त तिर्नु पर्दैन थियो, तिमीले अनि मैले ।

रेसमको कार्पेटमा गुचीको जुत्ता लगाएर हिँड्ने निजी अस्पतालका मालिकहरूले भुईँ मान्छेको पीडा बुझ्न सक्दैनन् रहेछन्, बाबा ! हुन सक्छ, हिजो अस्पताल बनाउँदा राज्यको हरेक संयन्त्रमा चढाएको नोटका बिटाले उनीहरूको आत्मालाई मारेको हुनु पर्छ । अनि त्यही नोटका बिटाले राज्य सञ्चालकको आँखा छोपिएको हुनु पर्छ । वा जनताको पीडा हेर्नु पर्छ भनेर निदाएको नाटक गरेको हुनु पर्छ । शायद ।

अनि साहुजीसँग ऋण लिएर बाउ, पति, पत्नी वा सन्तानलाई बचाउन निजी अस्पतालका टलक्क टल्कने सङ्गमरमरका भुइँमा हिँडेको । कोरोनाले कोमामा पुगेका प्रियजनलाई ढाड नदुखाउने बेडमा सुताएको । कालले लैजाने कुन तिथि तोकेको छ भन्ने पत्तै नभएका बिरामीले यो जुनीमा हेर्न नपाउने आफू सुतेको कोठाको भित्तामा सिँगारिएको तस्बिरको । अनि हामीलाई जाँच्ने डाक्टर र नर्सको मुस्कानको मोल तोकेका छन्, निजी अस्पतालले । अनि लुटिरहेका छन्, लाखौँ रुपैयाँ गरिब, निमुखा जनतासँग । यहाँसम्म कि बरु, लास च्यापेर बस्न तयार छन् । तर, बिल भर्पाई नभई लास बुझाउन अस्वीकार गर्दा रहेछन्, यहाँका अस्पताल । धन्य बाबा ! तिमी समय मै मरेछौ । नत्र यो बेथितिले तिम्रा आँखा पनि रसाउँथे । रुनु परेन तिमीले । हाम्रो दुर्दशा देखेर ।

बाबा ! बेलैमा गएछौ, नत्र तिमीले पनि तिर्नु पर्थ्यो । डाक्टर मिठो बोलेको अनि नर्सले मुसुक्क हाँसेको मुस्कानको शुल्क । यस्ता निजी अस्पतालभन्दा त भट्टी नै ठिक रहेछ बाबा ! कम से कम साहुनी हाँसेको पैसा त तिर्नु पर्दैन थियो, तिमीले अनि मैले । कम से कम त्यहाँ त तिमीसँग गक्ष अनुसार खाएर उठ्ने छुट त हुन्थ्यो । सुन्छु, अहिले निजी अस्पतालहरू त मरेका लासलाई पनि अक्सिजन दिन्छन्, भेन्टिलेटरमा राख्छन्, ओखती मुलो गर्छन् रे । अनि लासबाट पनि पैसा असुल्छन् रे । बेलैमा मरेछौ, ठिकै गरेछौ, बाबा ! कम से कम मर्ने दिन कुरेर सरकारी अस्पतालको लाइनमा त बस्न परेन तिमीले । अहिले, हामीले झैँ । 

थाहा त तिमीलाई ! अहिले त कोरोना सङ्क्रमित भन्ने बित्तिकै निजी अस्पतालले लिने शुल्कले आकास नापेको छ । मानिसको बाध्यतामा खेल्न जानेका नीचहरू । उता हामी बाँचेको (आजसम्म) राज्य कुनै अस्पतालको बदमासी देख्दैन वा देख्न चाहँदैन । शायद राज्यका हरेक संयन्त्र बिकाऊ भएको कारण पनि निजी अस्पतालले गरिबको बाध्यतालाई अवसर बनाएका होलान्, कमाउने । अस्पताल निर्माणको लागत कोरोनाको एक–दुइटा लहरमा नै उठाइ हाल्ने विचार गरेछन् कि ? कति ध्वस्त बनेको रहेछ, हाम्रो स्वास्थ्य संरचना । म भने अहिले मात्र सुइँको पाउँदै छु ।

राज्यका नियमनकर्ताहरू जबसम्म होटेल र अस्पतालले दिने सेवाको भिन्नताका बारे बुझेर पनि बुझ पचाएको जस्तो गर्दै नोटको बिटामा अल्झिन्छन् वा निदाएको बहाना गर्छन् तब बुझ्नु पर्छ, यो राज्य असफलता तिर जाँदै छ भन्ने । शायद गइसक्यो कि ? कसो बाबा ? 

जब हामी जनताले देश चलाउने म्यान्डेट दिएर पठाएकाहरू अक्सिजनको सट्टा दाउराको जोहो गर्न निर्देशन दिन्छन् । खोपमा कमिसनको हिसाब मिलाउन व्यस्त बन्छन् । जीवन बचाउने खोपमा पनि दासता पस्कन थाल्छन् भने बुझ्नु पर्छ, हामी आत्मा मरेका शासकका ज्युँदा रैती बनी सकेका रहेछौँ । 

थाहा छ बाबा तिमीलाई ! हामीलाई अहिले कोरोनाको खोप चाहिएको छ । चाहे त्यो दक्षिणबाट आओस् वा उत्तरबाट, हामी जनतालाई कुनै मतलब छैन । तर, दक्षिण रिसाउला भनेर उत्तरबाट खोप किन्ने आँट समेत गर्न नसक्ने दासतामा गडेका शासकले यो देशलाई चिहान बाहेक केही बनाउन सक्दैनन् । अनि जनतालाई जनताले नै नचाहेको गुलामी सिवाय केही दिन सक्दैनन् । 

०००

बाबा आजलाई यति नै । अब म नेता गण र सरकारसँग केही मनका बह पोख्छु । रिस पोख्छु । गाली गर्छु है ।

नेता गण ! अब धेरै भयो, यहाँहरूको राजनीतिका अर्थहीन छलकपटपूर्ण नौटङ्की । अब त जनताका समस्यामा ध्यान पुर्‍याऔँ । नत्र यहाँहरूको परलोक धिक्कारपूर्ण हुनेछ । वैतरणी तर्न नसकेर टाउकोमा हात लाउनु पर्दा देख्लाउ । सन्तानले दिएको पिण्ड खान नपाउँदा थाहा पाउलाऊ । यो लोकमा अनियमितता गरेर कमाएका करोडौँ–अर्बौँ रुपैयाँले परलोकमा जाबो दुइटा पिण्ड किन्न सकिँदैन भन्ने । तिम्रा सन्तानले दिएको पिण्ड खान परलोकमा त्यो पैसाले कसैलाई किन्न सक्दैनौ । त्यहाँ धनको होइन, कर्मको मूल्य तोकिन्छ । अब बुझ, आखिर तिमीहरूका अन्नदाता त जनता नै हुन् । जुन दिन जनताको धिक्कार लाग्छ नि तिमीहरूका तासका महल ढल्न कुनै बेर लाग्दैन । सोचौँ, सरकारलाई गाली गर्ने मात्र होइन आफ्ना तर्फबाट पनि जनताका लागि केही गर्ने जाँगर चलाऔँ, महाशयहरू ।

अनि सरकार ! यसरी नै दासतामा गडि रहने हो ? हो भने भोलि हाम्रा चितामा हात सेकाउँदै अनि हरेक दिन थपिँदै जाने लासमाथि राज गर्नु सिवाय तिमीसँग अर्को केही विकल्प बाँकी रहने छैन । अनि चिताबाट निस्कने आँसुले तिमीलाई यसरी पोल्ने छ कि त्यसको पीडा तिम्रा लाखौँ अरिङ्गालले चिलेभन्दा असहनीय हुनेछ । होसियार ! 

यो मुलुकमा तिमी शासक होलाउ तर, माथि गए पछि तिमी र म उभिने लाइन एउटै हुनेछ भन्ने पनि लाग्दैन, हिजोआज । तिमीभन्दा विशिष्ट लाइनमा म उभिन्छु कि जस्तो लाग्छ । किनकि तिम्रो तुलनामा अवश्य पनि मैले गरेका पापका भार निकै कम होला । यमराजको आदेशमा तताइएको तेलमा जल्ने सम्भावना मेराभन्दा तिम्रो बढी हुनेछ । लाइन फरक हुनेछ । अहिले हामी जनता जुन विवशतामा छौँ । त्यो बेला तिमी हामीभन्दा बढी विवश हुनेछौ ।

हामीले ल्याएका राजनीतिक परिवर्तन हामी आफैँ लास बन्न होइन । हाम्रा चिता जलाएर, तिम्रा बैठकलाई न्यानो बनाउन होइन । बुझ ! 

लाग्दै छ, हरेक दिन मुलुकमा मर्नेहरूको गन्ती हेर्दा म पनि यमराजसँग अङ्कमाल गर्ने लाइन मै बसेको छु कि जस्तो । त्यो पनि, निकम्मा सरकारका वाहियात बकबक सुन्दै । अब त म तिम्रै रुपमा यमराजको स्वरूप देख्न थालेको छु । तिमीहरूले मुलुकलाई ठगेको पापको ब्याज हामी जनता चुक्ता गर्दै छौँ कि जस्तो । अनि लाग्न थालेको छ, तिम्रो निकम्मापनका कारण मेरो पनि चिता तयार हुँदै होला । तर, तिमीले बुझ्नु पर्ने कुरो यहाँ पनि छ, सबै जनता मरेपछि आउने पालो त तिम्रै हो । आखिर समुन्द्र मन्थनबाट निस्किएको अमृत न तिम्रो भागमा परेको थियो नत मेरो नै । 

यो मुलुकमा तिमी शासक होलाउ तर, माथि गए पछि तिमी र म उभिने लाइन एउटै हुनेछ भन्ने पनि लाग्दैन, हिजोआज । तिमीभन्दा विशिष्ट लाइनमा म उभिन्छु कि जस्तो लाग्छ । किनकि तिम्रो तुलनामा अवश्य पनि मैले गरेका पापका भार निकै कम होलान् । त्यसैले यमराजको आदेशमा तताइएको तेलमा जल्ने सम्भावना मेराभन्दा तिम्रो बढी हुनेछ । उभिने लाइन फरक हुनेछ, डिप फ्राइ हुने कराइ फरक हुनेछ, तेलको तापमाप फरक हुनेछ । अनि अहिले हामी जनता जुन विवशतामा छौँ । त्यो बेला तिमी हामीभन्दा बढी विवश हुनेछौ ।

सरकार ! याद गर तिमीले यहाँ मरेका हरेक लासका लागि यमराजको दरबारमा फरक–फरक सजाय सुन्नु पर्नेछ । अनि म मुसुमुसु हाँसी रहने छु, तिम्रा द्रवित आँखा हेरेर । यमराजका आदेश पालनकर्ताका अगाडि क्षमा याचनामा गुन्जिने तिम्रा कर्कश चित्कार सुनेर । बस्, हाँसी रहने छु । अनि हाँसी रहने छन्, यो देशबाट उपचारका अभावमा उठाइएका हरेक लास । मेरै लहरमा बसेर । खित्...खित्...खित्...!

शायद हुन्नन् होलान् हाम्रै लहरमा, नाफाखोर निजी अस्पतालका मालिकहरू । तिमी झैँ ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि