जब राज्य अकर्मण्य बन्छ, अकर्तव्यमा लिप्त हुन्छ तब लेख्ने पर्ने कुरा यस्तै हुन्छन् । कहिले काहीँ समय नै यस्तै आउँदो रहेछ । कालो बादलभित्र लुकेको सूर्यलाई बेवास्ता गर्दै लालटिनको धिपधिपे उज्यालोमा जिउन बाध्य हुनु पर्ने ।
०००
अब कति गर्नु दुखका कुरा । कति लेख्नु चिन्ताका कुरा । हुन त हिजोआज जता हेर्यो त्यतै पीडा मात्रै बगेको देखिन्छ । मनबाट होस् वा आँखाबाट । हुन पनि, वरिपरि जे छन्, कुरो पनि त्यतै बग्नु स्वाभाविक नै हो । तर, अहिले अचम्मको समय आएको छ । पीडामा पनि हाँस्नु पर्ने, मुस्कुराउनु पर्ने । मानव जातिले एक जन्ममा शायदै एकाध पटक मात्र भोग्नु पर्छ होला, यस्तो दिन ।
यो लोकका सबै राज्य हाम्रै जस्तै लज्जाहिन हुँदो हो त मानव जातिको अस्तित्व नै लोप भएको कथा फेरि एक पटक ब्याक्टेरियाबाट मानिस बनेका प्राणीले सुन्न पाउने थिए । लाखौँ वर्ष पछि । धन्य पृथ्वीका सबै शासक अहङ्कारी रहेन छन् । आफ्नै मात्र सोच्ने रहेन छन् । त्यसैले कतिपय मुलुक अहिले कोरोना महामारीलाई विगतको कुरा भन्ने भई सके । हामी भने मात्र अक्सिजनका लागि छटपटाइ रहेका छौँ ।
अहिले हरेक जायज–नाजायज कुरालाई बेवास्ता गर्ने दिन आएको छ । किनकि भोलि हेर्ने चाहना छ भने बस् हाँस्न मात्र जान्नु पर्ने दिन आएको छ ।
जे होस्, भगवानले हामीलाई रुने मात्र होइन हाँस्ने शक्ति पनि प्रशस्त दिएका छन् । खुसी र सुखी हुने बहाना पनि दिएकै छन् । यहाँ आँसु मात्र होइन, हाँसोको सागर पनि छ । बस्, पौडिन जान्नु पर्दो रहेछ । स–साना कुरामा जसले हाँस्न जान्छ, उसले बाँच्न पनि जान्छ । मनलाई बहकाएर नै सही । बहलाएर नै सही ।
अहिले हरेक जायज–नाजायज कुरालाई बेवास्ता गर्ने दिन आएको छ । किनकि भोलि हेर्ने चाहना छ भने बस् हाँस्न मात्र जान्नु पर्ने दिन आएको छ । दुर्गन्धलाई बिर्सिएर, सुगन्ध तिर मात्र मन बहलाउनु छ । दुखभित्र सुखलाई खोज्नु छ, रोज्नु छ । किनकि हामीलाई बाँच्नु छ । महामारीलाई जित्नु छ । अब थाहा पाइ सकियो, सरकारको मुख ताकेर बाँचिँदैन ।
तर, यति थाहा छ । अझै बाँच्नु धेरै छ । अनि कोरोनाले च्याप्नु अगाडि व्यर्थमा कोरोना कै चिन्ताले मर्ने भय किन पाल्नु ? कोरोनाले गाँजे पनि मरिन्छ भन्ने डर किन पाल्नु ? अक्सिजन अभावका समाचार अनि गन्नै कठिन भइसकेका लासको गन्तीमा दिन कटाउनु पनि किन ? अनि कोठामा थुनिएर मर्छु भन्ने भ्रम किन पाल्नु ? समय जतिसुकै भयावह बने पनि सहजै मरिँदैन अनि रोगलाई जितिन्छ भन्ने सकारात्मक सोचमा मन–मस्तिष्कमा जमाउनु पर्दो रहेछ । मर्नु हाम्रो हातमा छैन तर, बाँच्ने तरिका त हामीले जान्नै पर्दो रहेछ । हाम्रो हातमा केही छ भने त्यही बाँच्ने कला नै त हो । बाँकी सबै ‘उपरवालका खेल’ ।
हो, मान्छेहरू मरि रहेका छन् । पीडा त छ, मनमा । राज्य निर्मोही छ, त्यो पनि थाहै छ । कति राज्य सञ्चालकको स्वार्थ र लाचारीका कारण आज मरिरहेका र भोलि मर्नेहरूका अगाडि दुख मात्र बिसाउने ? लासका तस्बिर मात्र छाप्ने ?
हाम्रो जस्तो सतीले सरापेको देशमा जसले मसानमा बसेर हाँस्न जान्छ, उसले मात्र बाँच्न सक्छ । भोलि देख्न सक्छ । यथार्थ तीतो छ । त्यसैले भन्छु, जसले हाँस्न थालेको छ, उसले पर्सि पनि देख्ने सम्भावना बढाएको छ । बाँच्ने आत्मविश्वास पालेको छ । डाक्टरको साहस जब अकर्मण्य राज्यका कारण निरीह बन्छ, तब बाँच्न उक्साउने एक मात्र सहारा हुँदो रहेछ । आत्मविश्वासले भरिपूर्ण जिउने चाहना । मैले धेरै पटक देखेको छु, आत्मविश्वासका साथ जिउने चाहना राख्नेहरूले नयाँ जीवन पाएको । आफैँले भोगेको छु त्यस्ता समयहरू ।
त्यसैले बाँच्ने चाहना हुनेले हाँस्न जान्नु पर्छ । त्यसैले म हाँसिरहेको छु । पीडा त क्षणिक त हुन्छ । खुसीले त जिन्दगीभर साथ छाड्दैन । त्यसैले आजको पीडालाई बिर्सिएर भोलिको खुसीका भरोसामा जिउने हिम्मत बटुल्न पर्दो रहेछ । कोरोना भाइरस पनि क्षणिक न रहन्छ । हामीले लास गनेर होइन, कोरोनालाई जितेकाहरूको कुरा सुनेर मनमा बाँच्ने विश्वास जगाउनु पर्छ । यसले आत्मविश्वास बढाउँछ । जिन्दगीका दिन बढाउँछ । मात्र इच्छा हुनु पर्दो रहेछ, जिन्दगी त उपहार मै पाइन्छ । जसको आत्मविश्वास मर्यो, उसको जिन्दगीको पनि सकियो । यथार्थ यही रहेछ ।
कोरोना कहिले मेरो दैलो भित्र पस्छ ? यही चिन्ताले सबैलाई खाइ रहेको छ । कोरोनाको पहिलो लहरमा त्यो खुँखार भाइरसभन्दा टाढै रहन सफल भइयो । दोस्रो कहरमा के हुन्छ भन्न सक्दिन । तर, शरीर जतिसुकै कमजोर भए पनि कोरोनालाई सहजै परास्त गर्न सक्छु भन्ने आत्मविश्वास भने ज्युँदो छ । लास नबनेसम्म जिउँदै रहने छ ।
दुई–चार पटक मृत्युले नाकैमा चुम्बन गरेर फर्केको छ । मृत्युलाई जित्दा मनमा अहम् पनि पलाएको हुन सक्छ । जसले मृत्युलाई एकाध पटक नजिकबाट जितेर बाँच्ने कला सिक्छ, उसको मनभित्र आत्मविश्वास पनि ठेलम ठेल कोचिएका हुन्छन् । तर, अति आत्मविश्वास घमन्ड बन्छ । कहिल्यै मर्दिन भन्ने अति आत्मविश्वास पनि मनभित्र छैन । त्यसैले कोरोना सङ्क्रमणबाट जोगिने हरेक उपाय अपनाएकै छु । रोगले नछोओस् भन्ने कामना गरेकै छु । आखिर पहिलो प्राथमिकता त रोगबाट जोगिनु नै त हुन्छ । रोगले नै समात्यो भने त मनमा अटाएका प्याराहरूको ‘दवा र दुवा’ त आवश्यक नै रहन्छ नै । आत्मविश्वासमा इन्धन भर्न ।
जवानी मै । अझ भनौँ मेरै उमेरका केही तरुनाहरू भर्खर भर्खर बिहे गरेर सन्तान जन्माउने प्रयास गर्दै थिए । हो त्यही उमेर ताका, म हृदयाघातको सिकार बनेँ । अझ भनौँ, उमेर कै आधारमा भन्ने हो भने मेरै हाराहारीका कतिले सन्तानलाई औँला समातेर स्कुलको गेटसम्म पुर्याउने मौका पनि पाएका थिएनन् । त्यस्तो जवानीमा झन्डै कालले परम मित्र बनाएन ।
०००
कुरो त पुरानै भइसक्यो । लेखिएको पनि छ । तर, समय सान्दर्भिक हुन्छ कि भनेर फेरि कोट्याउने जमर्को गर्दै छु ।
सधैँ युवा भन्ने नेताहरूको गणनामा आफूलाई नराख्ने हो भने केही वर्षपछि बुढ्यौलीमा प्रवेश गर्छ होला, यो शरीरले । तर पनि, मनलाई कहिल्यै बुढो हुन दिएको छैन र दिने वाला पनि छैन । कुरो क्लियर छ । अनि जिन्दगी कथानक चलचित्र पनि पक्कै होइन । तर, कहिले काहीँ बनिदिँदो रहेछ । मेहनत गरेर बुनेको कथा झैँ ।
जवानी मै । अझ भनौँ मेरै उमेरका केही तरुनाहरू भर्खर भर्खर बिहे गरेर सन्तान जन्माउने प्रयास गर्दै थिए । हो त्यही उमेर ताका, म हृदयाघातको सिकार बनेँ । अझ भनौँ, उमेर कै आधारमा भन्ने हो भने मेरै हाराहारीका कतिले सन्तानलाई औँला समातेर स्कुलको गेटसम्म पुर्याउने मौका पनि पाएका थिएनन् । त्यस्तो जवानीमा झन्डै कालले परम मित्र बनाएन । तर पनि, दुख लागेन । किनकि त्यो अवस्थामा आउनुमा मेरो जति दोष थियो । अरू कसैको थिएन । लापरबाही मेरै थियो ।
मन जति कठोर छ, शरीरलाई पनि कठोर देखाउने प्रयास कहिल्यै छाडिएन । त्यसैले होला, हृदयाघात भएको झन्डै महिना दिनसम्म शरीरलाई आफ्नै दुई खुट्टामा उभ्याएर हिँडियो । शरीरले साथ दिँदासम्म अस्पतालको मुखसम्म हेरिएन । त्यो खराब पक्ष रहेछ । अलिकति आराम नहुँदै डाक्टरको सल्लाह लिनु कायरता हुँदैन रहेछ । बल्ल थाहा पाएको छु ।
केही दिन नेपाल मै उपचार गराएँ । अनि राम्रो उपचारको बहानामा गइयो, दिल्ली । दिल्लीको राम्रो मध्ये एक मानिएको फोर्टिज एस्कर्टमा एन्जियोप्लास्टि गराइयो । त्यो अस्पतालको भनाइमा मेरो मुटुको दुइटा नशा (प्राविधिक भाषामा के भन्छन् कुन्नि?) मा एन्जियोप्लास्टि गरिएको थियो । शुल्क पनि त्यही अनुसार तिरियो । अस्पतालले फेरि आउँदा सबै रिपोर्ट दिने वाचा गर्यो । फलोअपमा जाँदा केही रिपोर्ट त दियो तर, एन्जियोप्लास्टि गरेको सिडी दिएन । मैले आवश्यक पनि ठानिन । मागिहाल्दा भने भन्थे, ‘केही कुरा डाक्टरहरूसँगको सल्लाहपछि मात्रै लेख्न पर्ने भएकाले ढिला भइरहेको छ तर, आत्तिनु पर्ने कुरो केही छैन ।’
एन्जियोप्लास्टि गरेको व्यक्ति लगभग एक साता मै तगडा हुन्छन् । तर, म भइन । फलोअप जाँदा एस्कर्टका डाक्टरलाई पनि सोधियो । उनीहरूको जवाफ सहज थियो, ‘केही समय लाग्छ, मुटु अलि जटिल बनिसकेको हुनाले हो ।’
के गर्नु पत्याउनै पर्यो, पत्याएँ । नपत्याउनु पनि कसरी ? तर, वास्तविक कुरो अर्कै रहेछ । मेरो मुटुको दुइटा नशामा नै एन्जियोप्लास्टि गर्नु पर्ने रहेछ । तर, एस्कर्ट अस्पतालले मलाई ठगेछ । दुइटाको साटो एउटामा मात्र गरेको रहेछ । झन् जुन नशा खोल्नै पर्ने थियो, त्यसमा नै गरिएको रहेनछ । ठुलो मूल्य चुकाएपछि, त्यो कुरो थाहा पाइयो । विदेशी अस्पतालको ठुलो ठगीमा परिएछ, पछि थाहा भयो ।
एस्कर्टको उपचार पछि पनि नेपालमा एकाध पटक आइसियु कै यात्रा गरियो । बाध्यता नि ! उपचारपछि पनि म जीवन र मृत्युको लडाइँ लडि रहेको रहेछु । आफैँलाई नै थाहा थिएन । म कति सिकिस्त बनी सकेको रहेछु । अनि बिस्तारै बिस्तारै काल नजिक पुगी रहेको छु भनेर । जिन्दगीका उकालो ओरालो अझ निकै पार गर्न लेखिएको रहेछ, त्यसैले बाँचियो । खरो भाषामा भन्नु पर्दा बाबाको मृत्यु मेरो बाँच्ने कारण बन्यो । चित्त दुखाएर मनदेखि भन्नु पर्दा आफू मरेर मलाई जीवनदान दिए, मेरा बाबाले । काल साटे, मसँग ।
फेरि एक पटक फलोअपका लागि दिल्ली जाने टिकट काटी सकेको थिएँ । तर, अचानक बाबालाई भेन्टिलेटरमा राख्नु पर्यो । दिल्लीमा फेरि एक पटक एन्जियोग्राफी गर्नु आवश्यक थियो । बाबाको अन्तिम यात्राको दिन गन्तीमा मेरो दिल्ली यात्रा रद्द भयो ।
अनि विकल्पमा यहीँ गरियो, एन्जियोग्राफी । एन्जियोग्राफी गरेपछि एस्कर्ट अस्पतालले थमाएको रिपोर्ट हेरेर नर्भिक अस्पतालका तत्कालीन प्रमुख डाक्टर भरत रावत निकै आश्चर्यमा परे । ‘एउटै मात्र एन्जियोप्लास्टि पो गरेको रहेछ । म एस्कर्टबाट सिडी पनि मगाउने प्रयास गर्छु । अब त बाइपास नै गर्नु पर्छ ।’ एस्कर्टले दिएका जति रिपोर्ट हेरेर पनि नपत्याए झैँ गर्दै उनले भनेका थिए । उनले सिडी मगाउने प्रयास पनि गरेकै हुन् । तर, असफल भए । धूर्तले आफ्नो धूर्तताको प्रमाण के दिन्थ्यो र’ दिएन ।
उनले दिएको बाइपास गर्ने सुझावको पालना गर्नु अगावै बाबा बिते । १३ दिने काजक्रिया सकिए लगत्तै भेटियो डाक्टर भगवान कोइरालासँग । मेरो उपचारमा सुरुदेखि नै तन मनले खटिएका मेरा मामा डा. अवणीभूषण उपाध्यायको सल्लाह बमोजिम नै मैले डा. कोइरालालाई भटेको थिएँ । मामाले नै भेटको समय मिलाइ दिएका थिए ।
डा. कोइरालाले पहिलो भेटमा नै मलाई सोधे, ‘कहाँ गर्ने अप्रेसन ? तपाईँले भनेको अस्पताल मै गरिदिन्छु ।’
वास्तवमा त्यो बेला उनी कार्यरत मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर भर्खरै मात्र खुलेको थियो । प्रविधि र जनशक्तिमा गङ्गालाल अस्पतालभन्दा निकै कमजोर थियो । उनका लागि मेरो जवाफ अनपेक्षित थियो, ‘डाक्टर साब जहाँ हुनुहुन्छ, त्यहीँ गर्ने । मनमोहनमा नै गर्ने !’
उनले केही बेर सम्झाए पनि, ‘यो (मनमोहन) अस्पताल भर्खरै खुलेको छ । म त छु तर, अप्रेसनभन्दा ठुलो पक्ष अपरेसनपछिको रेखदेख हुन्छ । त्यसका लागि चाहिए जस्तो जनशक्ति हामीसँग कमै छन् ।’
मैले फेरि भनेँ, ‘तपाईँ त हुनुहुन्छ नि !’
उनी मुसुक्क हाँसे । मेरो आत्मविश्वास देखेर आफ्नो कर्ममा प्रफुल्लित नै बने होलान् । अनि हुने भयो मेरो शल्यक्रिया, उनी कार्यरत अस्पताल मै ।
डा. कोइरालासँग भेटेको एक साता पनि नबित्दै मेरो बाइपास शल्यक्रिया भयो । रगत समूह, ‘बि’ नेगेटिभ । डाइबेटिजको बिरामी । जटिल पक्ष थिए, शल्यक्रियाका लागि । धन्य म, रगत दिने सहयोगी मनहरू निकै भेटिए । त्यो अस्पतालमा बाइपास शल्यक्रिया गराउने म शायद पहिलो वा दोस्रो बिरामी थिए । नयाँ अस्पतालका सिपालु डाक्टरलाई विश्वास गर्ने पहिलो–पहिलो बिरामी । मसँग बाँच्छु भन्ने आत्मविश्वास थियो । डा. कोइरालाले मलाई मर्न दिँदैनन् भन्ने । विदेशी झैँ फटाहा छैनन्, मेरा देशका चिकित्सक भन्ने ।
मेरो आत्मविश्वास अनि उनको सीपको कमालले त होला । आजसम्म ठुलो समस्या दिएको छैन, मेरो सानो मुटुले । हुन त, हृदयाघातसँगै मेरा मुटुका मांसपेशी पनि मर्दै गएका रहेछन् । मुटुको एकातिरको आर्टियम र भेन्ट्रिकलले आफ्नो कार्यबाट विश्राम लिइसक्दा समेत तगडै छु, अहिलेसम्म । भोलि त कसले पो देखेको छ र’ । मैले देख्छु भनेर दाबी गर्नु ।
मैले बाइपास गराउँदा ताका अर्थात् झन्डै ९ वर्ष अगाडि, शल्यक्रिया गर्दा गर्दै थिएटर मै मर्ने सम्भावना ३–४ प्रतिशत मात्र हुने रहेछ । अहिले त झन् १–२ प्रतिसतमा झरिसकेको रहेछ । शल्यक्रियाको अघिल्लो दिन चिकित्सकहरूले यस्तो सम्भावनाका बारे बिरामीलाई जानकारी दिनु पर्ने चलन रहेछ । मलाई पनि दिए । मेरो जवाफ सहज थियो, ‘त्यति सम्भावना त ज्वरो आउँदा पनि रहन्छ नि । के तर्सनु !’
डा. कोइरालासहित उनका टिमका चिकित्सकहरूले मलाई जब्बर बिरामीको उपनाम दिएका थिए । शल्यक्रिया गर्ने दिन पनि मर्छु कि भन्ने कुनै भय र भाव मनमा नलिईकनै सरासर अपरेसन थिएटर तिर लागेको थिएँ । बरु मेरा वरिपरि जति अनुहार देखिए, ती सबैका मेराभन्दा मलिन थिए । म अपरेसन थिएटरबाट ज्युँदै फर्किन्न कि भन्ने भयले । अहँ मैले कहिल्यै लिइन त्यस्ता कमजोर चिन्ता । चिर्न तयार मुटु दह्रै थिए ।
शल्यक्रिया सफल भयो । विदेशी अस्पतालको हर्कतले मृत्युको मुखमा पुगिसकेको म, धन्न बाँचे । त्यसमा मेरो आत्मविश्वासको पनि निकै योगदान रह्यो होला, जति चिकित्सकको थियो । आज यस्तै सोच्छु ।
०००
दुई वर्ष जति त हुन लाग्यो । भोटेकोसीमा राफ्टिङ गर्दा, झन्डै नमरेको ।
खै के सुर चल्यो कुन्नि, साथीभाइसँग त्यता जाँदा राफ्टिङ गर्ने रहर पलायो । रहर त कोरोनाभन्दा पनि ज्याद्रो हुँदो रहेछ । गइयो, भोटेकोसी किनारामा ।
राफ्टिङ गराउने गाइड अलि अर्ध खुस्कट झैँ थिए । गाली गरी रहने । उसको निगाह नरहे हामीले राफ्टिङ नै गर्न नसक्ने जस्तो ।
इच्छाको अगाडि त्यसको व्यवहारलाई मतलब गरिएन । चढियो डुङ्गा (राफ्ट), म अगाडि तिर बसेँ । डुङ्गा चढेको केही बेर मै एउटा छालमा पर्दा म नदीमा खसेँ । गाइडको सहाराले फेरि डुङ्गामा चढेँ । यस्तो क्रम ३ पटक दोहोरियो । त्यसपछि मेरो आत्मविश्वास केही कमजोर बन्यो । राफ्टिङ गरी रहनु रहरभन्दा पनि बाध्यता बन्यो । मैले त किनारामा छाडि देऊ भने आग्रह पनि गरेँ गाइडलाई । तर, मानेन । मेरो मनस्थिति बुझेरै होला, मित्र विकास दाहालले ठाउँ साट्ने प्रस्ताव गरे । उनी बसेको ठाउँ तिर समात्ने डोरी पनि थियो । मैले तत्काल हुन्छ भनेँ ।
ठाउँ छाडेको केही बेर मै एउटा विशाल भँगालोमा छिरेको डुङ्गा नियन्त्रण बाहिर गयो । पल्टियो, डुङ्गा । सबै जना भोटे कोसीमा बग्न थाले । पछि थाहा भयो । त्यो भँगालो त भोटे कोसी कै सबैभन्दा जोखिमपूर्ण भँगालो रहेछ । अनि नेपालमा राफ्टिङ हुने मध्ये सबैभन्दा खतरनाक नदी भोटे कोसी नै रहेछ ।
डुङ्गा पल्टिँदैमा मरिने होइन । तर, म भने डुङ्गासँगै पानी मुनि–मुनिबाट बग्न थालेँ । शायद छालले टाउको नदीको सतहभन्दा माथि ल्याउँदा श्वास फेरेँ होला जस्तो लाग्छ अहिले । बल्लतल्ल डुङ्गामा रहेको प्वालमा समात्न सकेँ । तर, जोखिम कायमै थियो । न पानी बाहिर टाउको निकाल्न सक्थेँ, नतै त्यो डुङ्गालाई छाडेर बाहिर निस्कने आँट गर्न । आखिर बाँचि रहेको थिएँ नै । त्यही भएर पनि अर्को जोखिम मोल्ने आँट गरिन । निकै टाढासम्म बगियो त्यसरी नै । कति पटक पानी मुनि रहेका चट्टानमा शरीर ठोक्कियो, त्यो पनि पत्तै भएन । भोलिपल्टदेखि चाल पाएँ । त्यो बेला भने बस्, मनमा एउटै कुरो आयो । बाँच्नु छ भने हिम्मत नहार ! मर्छु कि भन्ने नसोच ! बस्, बाँच्नका लागि प्रयास नछाड् !
पानी मुनि कसैलाई सम्झिएन । न आमा, न पत्नी नत सन्तानहरूलाई नै । मनमा थियो त बस्, एउटै कुरो, ‘यो आपतबाट सहजै निस्कन्छु भन्ने हिम्मत गर् ।’ सम्झिएँ त बस्, बेयर गिल्सलाई । टेलिभिजन शो मेन भर्सेस वाइल्डमा उनले अनेकौँ पटक भनेका शब्द कानमा गुन्जिए, ‘बाँच्ने प्रयास कहिल्यै छाड्नु हुँदैन ।’
कानमा गुन्जिएका ती शब्दसँगै मेरो मनबाट पनि आवाज आयो । तेरो मर्ने दिन आएको छैन । बाँच्ने कोसिस छाड्नु हुँदैन । यस्तै कुरा मनमा खेलाउँदै गर्दा त्यही गाइड आएर डुङ्गा सुल्टो बनायो । मलाई डुङ्गामा तानेर बसाल्यो । तर, उ भने हाम फालेर कतै भाग्यो । शायद मैले तत्कालै कुनै प्रतिक्रिया जनाउँछु वा उसलाई कट्छु भन्ने डर पनि थियो कि मनमा । त्यही कारण डुङ्गामा म एक्लै रहेँ । बाँच्ने चाहना बाहेक केही गर्न सकिन ।
डुङ्गामा एउटा प्याडल थियो । त्यसले डुङ्गालाई किनारामा लैजाने कोसिस गरेँ । सक्दिन भन्ने थाहा भयो । किनारा तिर जो देख्यो, उससँग बचाउ भनेर गुहार माग्न पनि छाडिन । केही नलागेर आफ्नो जिन्दगी भगवानको भरोसामा छाडिदिएँ । डुङ्गाको बीच भागमा बसेँ । मनमनै सोचेँ, ‘फेरि यो नपल्टिए त कतै न कतै मेरो उद्धार गरी हाल्लान् नि !’
अनि कतै चट्टानको नजिक पुग्यो कि त्यही प्याडलले डुङ्गालाई पल्टनबाट बचाउँथेँ । यही क्रममा एक मित्र किनारामा पुगी सकेका रहेछन् । उनी नजिक आइपुग्दा मैले बल्लतल्ल त्यो डुङ्गालाई पानी कम भए तिर दुई चट्टानको बीचमा छिराएर नबग्ने अवस्थामा ल्याउन सफल भने भएँ । ती मित्रले किनारामा आउन आग्रह गरे । मैले आँट गर्न सकिन । बरु डुङ्गामा रहेको डोरी फालेर चट्टानमा बाँध्न लगाएँ अनि उनलाई पनि त्यही डुङ्गामा बस्न आग्रह गरेँ । एकै छिन पछि एउटा अपरिचित गाइड आएर त्यो डुङ्गालाई सुरक्षित किनारामा पुर्याए ।
तर पनि भन्छु, मृत्युको त्रासमा होइन जिउने आसमा बाँच्नु पर्छ । रोग त निमेषभर रहन्छ, जिन्दगी त अथाह पल बाँच्छ । हामीले त बस्, मन र मस्तिष्कमा नमर्ने आत्मविश्वास भर्नु पर्छ । बाँकी भगवान भरोसा !
सबैलाई लागेको रहेछ, म मरेँ भन्ने । मलाई देखेर सबै खुसी भए । तर, दुखको कुरो त्यही दुर्घटनाको कारण मित्र विकास दाहालले ज्यान गुमाउनु पर्यो । जुन बेला हामीले ठाउँ साटेका थियौँ । त्यसको केही बेर मै त्यो डुङ्गा नदीको भँगालोमा रहेको चट्टानमा ठोक्किएको थियो । त्यही बेला उनको छाती वा टाउको त्यही चट्टानमा ठोक्किएको हुनु पर्छ । जसले गर्दा पौडी खेल्न माहिर मित्र बेहास भए होलान् । अनि पानीले उनको ज्यान लिएको हुनु पर्छ । सोच्दा पनि कहाली लाग्छ, त्यो मृत्यु वास्तवमा मेरो नाममा लेखिएको थियो । अन्तिम अवस्थामा यमराजको निर्णयमा परिवर्तन आएको हुनु पर्छ । आङ सिरिङ हुन्छ, मेरो भागको मृत्यु मेरा मित्रले वरण गरे भन्ने सोच्दा पनि ।
अनि लाग्छ, त्यस दिन मित्र विकास दाहालले मसँग मृत्यु साटे । जसरी मेरा बाबाले म बिरामी हुँदा साटेका थिए, मसँग काल । तर, जे भए पनि बाँच्ने चाहना र आत्मविश्वास, हृदयाघात हुँदा जति बलियो थियो । भोटे कोसीमा डुबेपछि चट्टानमा ठोक्किँदै, कहिले पानी मुनि त कहिले पानी माथि बग्दै गर्दा पनि त्यति नै थियो । जिन्दगीमा दुई पटक, माया गर्ने दुई जनाले मसँग मृत्यु साटे । शायद आफैँ मरेर मेरो बाँच्ने रहरमा उनीहरूले प्राण भरिदिए । धन्यवाद दिऊँ कि अपसोच मनाऊँ, त्यो भने कहिल्यै निधो गर्न सकिन र सक्ने पनि छैन ।
तर पनि भन्छु, मृत्युको त्रासमा होइन जिउने आसमा बाँच्नु पर्छ । रोग त निमेषभर रहन्छ, जिन्दगी त अथाह पल बाँच्छ । हामीले त बस्, मन र मस्तिष्कमा नमर्ने आत्मविश्वास भर्नु पर्छ । बाँकी भगवान भरोसा !