चैत ३०, २०७७, सोमबार
               

उस्तै हुँदो रहेछ फागुको रङ र अव्यक्त प्रेम

चेतन पाण्डे
चैत १८, २०७७

ADVERTISEMENT

खै अरूले के भन्थ्ये कुन्नि, मेरो नजरमा तिमी साह्रै हिस्सी परेकी थियौ । अझ त्यो फागु पूर्णिमामा सेता पहिरनमा सजिएर म नजिक आउँदा मेरो मुटुको चाल नै काबु बाहिर गएको थियो । तिम्रा मिठा मुस्कानकफ सहारामा सारा ब्रह्माण्डलाई मुठ्ठी मै कस्न सक्छु झैँ घमन्ड पलाएको थियो । मेरो सपनाको जित हुँदै छ कि जस्तो पनि लागेकै थियो । 

यसपालि पनि खेलियो फागु । तर, तिमी बिना । ए साँच्चै हिजोआज त होली खेल्छन् । फागुको रङ झैँ हामीमा पनि विदेशी नक्कलको रङ सजिलै चढ्छ । त्यसैले हिजोआज फागु हैन जिब्रोमा होली चढ्न थालेको छ । यसपालि त शुभकामना पनि होली कै मात्र लिइयो, दिइयो । फागु पूर्णिमा त हामी नेपालीको जिब्रोबाटै अलप भएछ । जसरी तिमी मेरो जीवनबाट अलप भयौ ।

निकै चञ्चल थियौ, तिमी । अनि बिन्दास पनि । न समाजको नत बाबुआमा कै डर । मलाई देख्ने बित्तिकै यसरी झम्टिन आयौ कि, एक छिन त म नै अलमलमा परेँ । रङ लगाउने बहानामा मलाई यसरी आलिङ्गनमा कस्यौ कि, जसरी सेता बादलले सूर्यलाई छोप्छ ।

लाग्न थालेको छ, भाषामा यस्तो विचलन, यो पनि हाम्रो संस्कृति माथि कै अतिक्रमण त होला नि । कुनै बेला तिमीले मेरो मनमा गरेको अतिक्रमण झैँ । खै तिमीलाई कस्तो लाग्दो हो । तिमीसँग नभेटेको वर्षौँ भइसक्यो । अब त खै कसरी र कुन माध्यमबाट तिमीसँग यस्ता कुरा गर्दै घन्टौँ बिताउने ? अनि अरूलाई बोल्नै नदिई तिमीले मात्रै गर्ने एकतर्फी तर्क मन परे पनि नपरे मुसुक्क हाँस्ने दिन अब फेरि कहिले आउला ? तर, जे भए पनि मनबाट कहिल्यै झरेन त्यो याद । तिमी र मैले खेलेको पहिलो फागुको । लागेको थियो, बरसानामा राधा र कृष्ण फागु खेल्दै छन् । आफैँलाई कृष्ण र तिमीलाई राधा कल्पेकै थिएँ । 

निकै चञ्चल थियौ, तिमी । अनि बिन्दास पनि । न समाजको नत बाबुआमा कै डर । मलाई देख्ने बित्तिकै यसरी झम्टिन आयौ कि, एक छिन त म नै अलमलमा परेँ । रङ लगाउने बहानामा मलाई यसरी आलिङ्गनमा कस्यौ, जसरी सेता बादलले सूर्यलाई छोप्छ । परिवारका अगाडि तिम्रो त्यो साहस देख्दा आज पनि मनमा काउकुती लाग्छ । त्यो बेला नलाग्ने कुरै भएन । 

यसरी रङ दल्यौ कि, तिम्रा ती हरेक स्पर्शसँगै मुटुमा करेन्टको मिठो झट्का लाथ्यो । व्यक्त नै गर्न नसक्ने मिठासयुक्त । त्यही भएर होला, तिम्रा चञ्चलतामा यति मग्न बनेँ कि तिमीलाई रङ लगाउनै बिर्सिएँ, एक छिन त । जब तिमीले रङले भरिएको मुठ्ठी खोल्यौ अनि मात्र झल्याँस्स भएँ । तिम्रा आग्रह थियो त्यो, मेरो हातको रङले सजिने । किन खै सिउँदोमा पनि रङ थापेकी थियौ । शायद मेरो बन्ने कसम खाइ सकेकी थियौ कि ? 

तिम्रा हातका रङ मेरो मुठ्ठीमा कस्दै गर्दा, कता कता तिम्रो मुटुलाई आफ्नै मुटुमा विलय गराए झैँ पनि लाग्यो नै । जब मेरा हातले तिम्रा गाला सहलाउन थाले नि ! त्यही त थियो, तिम्रा सेता गालामा मेरो पहिलो स्पर्श । जब तिम्रा गाला रङाउन थालेँ आफ्नै जिन्दगी रङिन हुन थालेको कल्पनामा रमाएँ । हो त्यति बेलै मनमा हलचल भयो । एउटा मिठो सपना साकार हुन्छ कि भन्ने आसमा । मेरा हातबाट रङिएपछि तिम्रा ओठमा तैरिएका मुस्कानले फेरि एक पटक मनमा हजारौँ भोल्टको करेन्ट लागेको थियो । मेरो एकतर्फी प्रेमको स्वीकृति हो कि भनेर । आखिर मेरो मन र मस्तिष्कको एउटै चाहना थियो । एउटै सपना । एउटै तर्कना । तिमी ! बस् तिमी ! 

हाम्रो पहिलो फागुलाई आजसम्म पनि मैले तिम्रो मायाको पहिलो स्वीकृति मानेको छु । मेरो मनको करेसामा फुल्ने तरखरमा रहेका कोपिलालाई फक्रने आँट त भरेकी नै थियौ । मैले व्यक्त गर्न नसकेका भावनामा तिमीले मलजल गर्‍यौ पनि । तर पनि, अहँ सकिन मनका कुरा ओठमा ल्याउन ।

त्यो दिनपछि धेरै पटक तिमीले मेरा मुखबाट प्रेमका प्रस्ताव सुन्न चाहेकी हुनु पर्छ । तिम्रै कसम खाएर भन्छु, मैले निकै प्रयास गरेँ । तर, खै हिम्मत नै जुटाउन सकिन । लाग्थ्यो, मेरा प्रेम प्रस्तावले तिम्रो मन पो दुखाउला कि ! हाम्रो सम्बन्धमा दरार पो आउला कि ! प्रेमिका बनाउने चक्करमा राम्रो मित्र पो गुमाउँला कि ! यस्ता तर्कनाका कारण मनका भावना कहिल्यै ओठमा आउन सकेनन् । मनमा गुम्साउनै नपर्ने भयका कारण । लाछी रहेछु म । तिमीले त निकै पटक उक्साएकी पनि थियौ । त्यो बेला तिम्रा उक्साहटलाई पनि बुझ्न सकिन । मुख खोल्न सकिन । मस्त फक्रिएको गुलाफले आमन्त्रण गर्दा पनि नजिक जान नसक्ने भँवरा झैँ ।

तिमीले जे सोचे पनि मेरो सपना र बिपनाले सधैँ तिमीलाई नै खोजी रहन्थ्यो । मेरो हरेक श्वास तिम्रा नाममा लेखेको थिएँ । मुटुको धड्कनले तिम्रो मात्र गीत गाएको थियो ।

समयले निकै काँचुली फेरी सकेछ । हाम्रा मनमा मायाका टुसा जुन उमेरमा टुसाएका थिए, अहिले त हाम्रा सन्तान नै त्यही उमेरका भइसके । लामै समय छटपटाइ रह्यो, मन । तिमीलाई आफ्नो मनका कुरा खोलेर भन्न नसक्दा । तिम्रा अव्यक्त भावलाई बुझेर पनि बुझ्न नसक्दा । 

तिम्रो र मेरो प्रेमको चर्चा पराइले पनि गर्न थालेकै थिए । तर, अहँ न तिमीले मुख खोल्यौ नत मैले नै । खै कस्तो माया । न अँगालोमा बाँधिन सक्ने नत प्रेमका गीत नै गुनगुनाउन सक्ने । मलाई थाहा थियो, तिम्रो मनको केही हिस्सामा मेरो पनि बास छ भनेर । तिमीलाई पनि थाहै थियो, म कति माया गर्छु भनेर । त्यही कारण पनि माया व्यक्त गर्ने आवश्यकता ठानेनौँ कि हामीले । सँगै डुल्थ्यौँ, सँगै हिँड्थ्यौँ । तर, पनि मैले एक पटक पनि तिमीलाई आफ्नो बनाउने चाहना पोख्न सकिन । छाती खोलेर मुटु तिम्रो पाउमा राख्न सकिन । हुनसक्छ, तिमीले प्रेमको पहिलो प्रस्ताव मेरै मुखबाट सुन्न चाहेकी थियौ । म भने तिम्रो मायामा यति मग्न थिएँ कि एक न एक दिन तिमीले मेरा अव्यक्त मायामा काँध थाप्छौ भन्ने विश्वासपूर्ण भ्रममा मात्र रमाइ रहेँ । दिन कटाइ रहेँ ।

मेरो प्रेममा वासना थिएन । तिम्रो शरीरको भोक थिएन । मेरो माया चोखो थियो । सधैँ लाग्थ्यो, त्यो गुलाबी ओठ मेरै हो । विश्वास थियो, मेरो माया निश्चल छ । हामीलाई कसैले अलग गर्न सक्दैन । त्यसैले तिमीले बोलेका हरेक शब्द म भुइँमा खस्न दिन्न थिएँ । तिमी पनि मेरा हरेक चाहनालाई हाँसेर नै पुरा गर्थ्यौ । त्यसैले पनि होला, निष्कपट प्रेमका लागि स्वीकृति चाहिँदैन भन्ने लाग्यो ।

खै कस्तो माया गर्‍यौँ, हामीले । मुटुको धड्कन, श्वासको रफ्तार एउटै बनायौँ । तर किन हो कुन्नि, सँगै बाँच्ने र मर्ने कसम खाने हिम्मत भने गर्न सकेनौँ । अथवा आवश्यकता नै महसुस गरेनौँ कि । एक अर्का बिच अव्यक्त असीम विश्वासका कारण ।

नटुट्नु पर्ने माया टुट्यो । नछुट्नु पर्ने जोडी छुट्यो । तर, जे भए पनि जसरी आज म आफ्नै रुक्मिणीसँग खुसी छु, तिमी पनि आफ्नै रायाणसँग सुखी छौ भन्ने लाग्छ । बस्, दुख छ त कुनै बेला एकसाथ धड्किने तिम्रो र मेरो मुटुको चाल फरक बन्यो ।

हामीले जीवनमा दुई–चार वटा फागुमा एकले अर्कालाई रङायौँ । तर, मुटुमा गडेको मायाको रङ साट्न सकेनौँ वा आवश्यकता नै ठानेनौँ । समयले हामीलाई प्रशस्त मौका पनि दिएकै थियो । अधकल्चो मायाको सहारामा लामो समय बितायौँ पनि । तर, मनले आँखालाई माध्यम बनाएर हाम्रो मायामा स्वीकृति पनि दिइ नै सकेको नै थियाे ।हामीलाई एक अर्काप्रति अगाध विश्वास थियो । विश्वास थियो, हाम्राे मायाले असामयिक मृत्यु व्यहोर्दैन । त्यसले लाग्यो, प्रेमको होइन सीधै बिहेको प्रस्ताव राखिन्छ । लागेकै थियो, हाम्रो प्रेमको प्रारब्ध जति मिठासपूर्ण थियो, त्यसको अन्त्य दुखद हुँदैन । शायद तिम्रो सोच पनि त त्यही नै थियो । तर, एक अर्काको अंगालोमा बाँधिने चाहना कहिल्यै पुरा गर्न सकेनौँ । सपनीमा त धेरै पटक मेरो मुटु तिम्रो हातमा थमाएँ । सपना मै सही तिमीलाई आलिङ्गनमा बाँध्दा महसुस गरेकै थिएँ, तिम्रो मुटुको धड्कन । तिमीले पनि त्यस्तै महसुस गरेकै हुनु पर्छ । सपनामा तिम्रो ओठले मेरो निधारको स्पर्श गर्दा पनि निकै रोमान्चित बन्थ्येँ । अनि त्यही राेमान्चकतामा मेरा ‍औँला तिम्रो सिउँदोमा सलबलाउँथे । तिमीले देख्ने सपना पनि त्यस्तै त थियो होला ? अव्यक्त प्रेममा पनि निकै खुसी थियौँ हामी । लाग्थ्यो, एक दिन जिन्दगीको सबै चाहना र सपनाका दैलो बन्द गरिन्छ नै । तिमीलाई आफ्नो बनाएर । किनकि आखिर अव्यक्त प्रेम कथाका राधाकृष्ण नै त थियौँ । तर, हाम्रो मिठा सपनाको आयु निकै छोटो रह्यो । व्यक्त नै नगरिकन गाँसिएको एउटा मिठासपूर्ण प्रेमको अकल्पनीय अन्त्य भयो । त्यो न मेरो चाहना थियो, नत तिम्रो आवश्यकता ।

समय बेइमान हुँदो रहेछ । हरेकको जिन्दगीलाई आफ्नै नियन्त्रणमा राख्न चाहने । किन हो कुन्नि समयको उडानले तिम्रो र मेरो प्रेमको गन्तव्य नै फरक बनाइ दियो । नाटक रच्यो, तिमीलाई र मलाई टाढा बनाउने । राधा र कृष्णलाई झैँ । तर पनि, कुनै दिन तिमीले भनेकी त थियौ, ‘मनको भाका नबुझ्नेसँग खै कसरी गहिरो माया बस्ला र ? माया गर्छ भनेर पनि के विश्वास गर्नु र ?’ 

जे भनेकी थियौ, आखिर त्यही भयो । नटुट्नु पर्ने माया टुट्यो । नछुट्नु पर्ने जोडी छुट्यो । तर, आज म आफ्नै रुक्मिणीसँग खुसी छु, तिमी पनि आफ्नै रायाणसँग सुखी छौ भन्ने लाग्छ । बस्, दुख छ त कुनै बेला एकसाथ धड्किने हाम्रा मुटु पराइ बने । हाम्रा सपनाको सार फरक बन्यो । हाम्रा जिन्दगीका परिभाषा फरक बने । बाँच्ने आधार फरक भयो । एउटा अव्यक्त तर, कसिलो प्रेमको अन्त्य दुखान्त नै लेखियो ।  

समयले हाम्रा मनलाई पनि बेइमान बनाउँदो रहेछ । फागु त अहिले पनि मनाइन्छ तर, खै तिम्रो कमी भने महसुस हुन छाडेको छ । समय त अचम्मैको हुँदो रहेछ । आफैँले दिएको घाउ पनि पुर्दै जाने । अनि फागु र जिन्दगीको रङ पनि उस्तै हुँदो रहेछ । अव्यक्त प्रेम झैँ । जसरी चढ्छ, उत्रिन्छ पनि त्यसरी नै । बाँकी रहन्छ त बस्, सम्झना मात्र ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि