मानिसले कतिसम्म सुख थेग्न सक्छ ? कतिसम्म पीडा सहन सक्छ ?
आजसम्म विज्ञानले पनि दिन सकेको छैन, यो प्रश्नको सहज जवाफ । अनि कहाँ मेरो सोचको गहिराइ कहाँ त्यति छ र’ यति गह्रुँगो जवाफ खोतल्न सक्ने । बस्, यति भने थाहा छ, जसले जीवनलाई ऊर्जाशील बनाइरहेका हुन्छन् । बाँच्ने आधार दिइरहेका हुन्छन् । उनीहरूको पीडा र आँसुले मनमा भक्कानो छुट्छ नै । अकल्पनीय बेचैनीले मुटुको चाललाई अनियन्त्रित बनाइदिन्छ नै । उनीहरूको सफलताले मनलाई गद्गद् बनाइ नै दिन्छ ।
०००
मेरा बाबाले ममाथि मायाका जति सागर खन्याए, म पनि आफ्ना सन्तानलाई त्यति नै माया गर्छु कि जस्तो त लाग्छ । तर, दाबी गर्दिन । किनकि मेरा बाबाले बाँचुन्जेल मलाई जति मायाको शीतलता दिए । जति प्रोत्साहन दिए । लाग्छ, कमैका सन्तान म जति भाग्यमानी हुन्छन् कि !
हुन त, म पनि माया खोज्ने र गर्ने मामिलामा कोहीभन्दा कम छैन । मौका चाहिन्छ, जहाँ पाइन्छ त्यही माया खन्याइ दिन्छु । धेरैले सम्हाली दिएका छन्, मेरा मायाका मुहानलाई । त्यसैले होला, एक पटक चिरेको यो मुटु आज पनि तगडै छ । तर, कमजोर पनि त्यति नै छ । जहाँ मायाको अनुभूति गर्छु, मुखले भन्दा पहिले आँखाले भावना पोख्न थाल्छ । टिलपिल गर्दै ।
०००
निकै सानी थिई, मेरी छोरी स्वाति । आमासँगै मामाघर गएकी थिई । केही दिन उतै बस्न, तिहार मनाउन । शायद डेढ–दुई वर्षकी थिई होली, त्यो बेला ।
एक बिहान घाम नझुल्किँदै अचानक ससुरालीबाट फोन आयो । ‘स्वातिलाई के भो, के भो अस्पताल लैजान लागेको उतै आउनु होला !’
एउटा अकल्पनीय भयले मनमा हुँडरी जगायो । जीवनका सारा हाँसो पहिरोमा पुरिए झैँ लाग्यो । पृथ्वी नै मेरो टाउकोमा बजारिए झैँ लाग्यो । केही सेकेन्डको त्यो क्षण मेरा लागि एउटा युगभन्दा कष्टकर बन्यो । त्यो क्षण आज सम्झिँदा पनि मन बेचैन नै बनी दिन्छ ।
अत्तालिएको आवाजमा फोन कसले गर्यो यकिन गरेर भन्न सक्दिन तर, मेरी पत्नीले भने गरेकी थिइनन् । त्यस्तो बेला उ निकै अत्तालिन्छे । सुखमा जति मात्तिन्छे, दुखमा त्योभन्दा बढी आत्तिन्छे । न अरूलाई सम्हाल्न सक्छे, नत आफैँलाई । हान्निएर गएँ, कान्ति बाल अस्पताल । चाबहिलदेखि त्यो अस्पतालसम्मको दुरी निकै टाढा लाग्यो, त्यो बेला । एक्सिलेटर जति घुमाए पनि मोटरसाइकलले गति नै नलिए जस्तो भयो । बल्लतल्ल पुगियो जस्तो लाग्यो, अस्पताल । ढोका मै मेरी पत्नी अर्ध बेहोस झैँ बनेर चिच्याइ रहेकी थिइन् । ‘स्वाति गई ! स्वातिलाई के भयो यस्तो ! म स्वाति बिना बाँच्न सक्दिन !’
उसको त्यस्तो अवस्था देखेर मेरो मुटुले ठाउँ छोडे जस्तो गर्यो । कतै रिँगटा लागेर म पनि ढल्छु कि जस्तो भएँ । सारा संसार कालो देखेँ । न बोल्न सकेँ, नत कसैलाई केही सोध्न सकेँ । लाटो जस्तो बनेँ । न पत्नीलाई ढाडस दिन सकेँ नत आफ्नै फुट्न लागेको मुटुलाई सम्हालेर राख्न सकेँ । एउटा अकल्पनीय भयले मनमा हुँडरी जगायो । जीवनका सारा हाँसो पहिरोमा पुरिए झैँ लाग्यो । पृथ्वी नै मेरो टाउकोमा बजारिए झैँ लाग्यो । न पागल झैँ हाँस्न सकेँ नत पीडामा रुन नै । केही सेकेन्डको त्यो क्षण मेरा लागि एउटा युगभन्दा कष्टकर बन्यो । त्यो क्षण आज सम्झिँदा पनि मन बेचैन नै बनी दिन्छ ।
त्यही बेला ससुरा बाले पाखुरा समातेर भित्र जाऊँ भने । अस्पतालको इमरजेन्सीमा स्वाति अचेत ढलिरहेकी थिई । लाग्यो, सिध्दिइ । मेरो छोरीसँगको नाता यहीँ टुङ्गिनु लेखेको रहेछ । न फेरि केही बोल्न सकेँ, न केही सोध्न । शायद केही क्षणका लागि म पनि मूर्ति झैँ अचेत बनेँ कि ?
त्यही बेला पछाडिबाट आएको आवाजले झसङ्ग बनायो । ‘बेहोस मात्र हो, हेरूँ केही बेरमा होस आउँछ कि !’
टुटी सकेको आस फेरि पलायो । चट्टानमा दबिएर ढड्किन बिर्सिएको मुटु फेरि आफ्नै रफ्तार चल्न थाले झैँ भयो । एउटा अकल्पनीय हार स्वीकार गर्नु पर्ने अवस्थामा पुगेको मस्तिष्कमा जितको आशा पलाउन थाल्यो । मन केही स्थिर भयो । आँखा फेरि पनि बगी नै रहे । एउटा अकल्पनीय त्रास पछिको आसले । छोरी बिस्तारै होसमा पनि आइ । केही दिनको उपचार र परीक्षण पछि छोरी सामान्य रहेको पुष्टि भयो । त्यसरी बेहोस हुनुको कारण पनि सामान्य नै रहेछ । मस्तिष्कमा ‘टेप ओर्म’ को सानो अण्डा रहेछ । जसलाई केही महिनाको औषधी सेवनले सफा गरिदियो । पत्नीको आँसु अनजानले भयले निकै दिन रसाइ रहे ।
त्रासको कुनै सीमा नहुँदो रहेछ । मैले त्यति भय र पीडादायक समय कमै देखेको छु । महसुस गरेको छु । आफ्नै मुटु चिर्ने बेला अपरेसन थिएटरमा जाँदा पनि म त्यति अत्तालिएको थिइन । अरू एकाध पटक मृत्युको मुखसम्म पुग्दा पनि पति त्यति अत्तालिएको थिइन । जति अचेत छोरीको नरम हातलाई सहलाउँदा अकल्पनीय भयले काँपेको थिएँ । जति पत्नीको पीडा देखेर किंकर्तव्यविमूढ भएको थिएँ । त्यति त्रसित त भोटेकोसीको छालले बगाउँदै गर्दा मृत्युले गाला चुमेर जाँदा पनि बनेको थिइन । संसारका सारा भगवानलाई त्यति कहिल्यै सम्झेको थिइन, जति अचेत छोरी एक पटक होसमा आइदेओस् भनेर कामना गर्दा सम्झेको थिएँ । अनि आफैँसँग वाचा गरेँ । यो छोरी बाँचेको खण्डमा जिन्दगीमा यसलाई सधैँ आफैँसँग च्यापेर राख्छु । यसको हरेक चाहना पुरा गर्ने कोसिस गर्छु । जसले जे भनुन्, मेरी छोरीलाई म आँखाको नानी बनाएर राख्छु ।
चाहेको सबै कहाँ पुग्छ र’ । छोरी चाहना मभन्दा टाढा जाने थियो, गई । अहिले अमेरिका पढ्छे । समय मिल्दा फोन पनि गर्छे । भन्छे, ‘पढाइले साह्रै व्यस्त बनाएको छ । समय मिलाएर कुरा गरौँला नि !’ होला पनि व्यस्त ।
उसको सपनाको पखेटा पलाउँदै गर्दा म उसलाई मेरा मायाले विचलित पनि बनाउन चाहन्न नै । अहिलेसम्म नबिदेसिएको छोराको आँखामा छोरीलाई पनि खोज्ने कोसिस गर्छु । जसरी कोरोना महामारीका बेला उ एक्लै अमेरिकी कलेजको होस्टेलमा बस्दा मन सम्हालेको थिएँ । आज त्यति अधैर्य भने भएको छैन, म । किनकि थाहा पाएँ, उ म भन्दा निकै आँटिली रहेछ भन्ने । अहँ एक्लै बस्दा पनि एक थापा आँसु चुहाइन मेसेन्जरमा समेत । बरु हामीलाई कोरोनाबाट बच्न र लामो जिन्दगी बाँच्न आग्रह गरी रहन्थी । हाँसेर राहत दिन्थी, मनलाई । तर, कोरोना महामारीका बिच उसले एक्लै होस्टेलमा बस्ने आँट देखाइ । किन हो कुन्नि ! उसको त्यो साहस देख्दा पनि हाँस्न सकिन म । अनि उसको एकाङ्की जीवन देख्दा रुन पनि सकिन म ।
हामीले जिन्दगीको चाललाई नै तहस–नहस पार्ने कोरोनाको महामारी अनि त्यसबाट सिर्जित लकडाउन व्यहोरेको पनि एक वर्ष पुरा भयो । त्यो लकडाउनले जिन्दगीका चाललाई उल्टो त बनायो नै । अनि कोरोनाको दोस्रो लहरको त्रास पनि सहन नपर्ने बनाउन सकेन । हामीले किन गरेछौँ, लकडाउन । विकल्पै नभएर वा अरूको नक्कल गर्ने बानी परेर ! आजसम्म बुझ्न सकेको छैन ।
मेरी छोरी ! जबसम्म आमा–बाबुको नजिक बसी त्यति आँटिली पनि बन्न सकिन । तर, नामुद चकचके भने थिई । तीन–चार वर्षकी त थिई होला । दौडिएर खेली रहेकी थिई । अचानक अनियन्त्रित हुँदा टेबलमा ठोक्किन पुगी । मुखबाट रगत बग्न थाल्यो । छोरी अत्तालिई, अनि छोरीसँगै आमा पनि । सबैभन्दा पहिले नजिकैको अस्पताल लगेँ । ओठमा टाँका लगाउनु पर्छ भनेर कुनै बाल अस्पताल लैजान भनियो । लगेँ ।
अस्पताल त लगियो । तर, छोरी भने डाक्टरलाई नजिकै आउन नदिने । निरन्तर रगत बगी रहेपछि डाक्टरले बेहोस पारेरै टाँका लगाउनु पर्ने बताए । डाक्टरले भने, ‘निकै पुलपुल्याउनु भएको रहेछ छोरीलाई । अरू बच्चा भएको भए लोकल एनेस्थेसिया दिएर टाँका लगाइ दिन्थे । तर, यसलाई सकिन्न । बेहोस नै पार्नु पर्छ ।’
टाँका लगाउन बेहोस नै गरियो । टाँका लगाएर अचेत अवस्थामा बाहिर ल्याए । ऊ पहिलो पटक बेहोस हुँदा झैँ मन भयभीत त भएन । तर, अचेत छोरीलाई देख्दा आँखा भने रसाएरै छाडे । होसमा आए पछि भनी, ‘एउटा बेलुन दिएर फुक भनेको थियो, मुख पो सिलाइ दिएछ ।’
निकै पुलपुलिएकी छन्, मेरा छोरा र छोरी । छोराभन्दा अझ छोरी बढी मात्रामा । शायद नौ कक्षामा पढ्थी होला । चिप्लिएर बाथटपको धारमा ठोक्किइछे । घुँडा निर काटेछ । नजिकैको अस्पताल लगियो । मासु मारेर टाँका लगाउनु पर्ने निचोड निस्कियो । त्यो उमेरकी मेरी छोरी ! इन्जेक्सनको नाम सुन्ने बित्तिकै यसरी चिच्याइ कि वरिपरि रहेका सारा मानिस के भएछ भनेर उसको नजिक आए । जसले कारण थाहा पाए, मुसुक्क हाँसेर बाटो तताए । बल्लतल्ल टाँका लगाएर ल्याइयो । पछिसम्म त्यो अस्पतालका कर्मचारीले उसलाई राम्रैसँग चिन्थे । उसकै मत्ताइको कारण । त्यो चिच्याइका कारण ।
छोरा ! उसले पनि एक–दुई पटक अत्ताएकै छ । उच्च ज्वरो उसको शरीरले थेग्न सक्दैन । बेहोस नै भइदिन्छ । अत्तालिएर त्यसलाई पनि अस्पताल लगेकै छु । उसका मुलायम हातलाई सहलाएर मायाको सागर खन्याउने वाचा आफैँसँग गरेकै छु ।
एक पटक साह्रै पेट दुख्यो भन्यो । सानो छ, दिदीभन्दा १० वर्ष कान्छो । न रोयो, न अत्तालियो । परीक्षण पछि पत्ता लाग्यो, एपेन्डिसाइटिस भएको रहेछ । सामान्य भन्दा ५ गुणा सुन्निएर फुट्ने अवस्थामा पुगिसकेको छ । आकस्मिक शल्यक्रिया गरियो । इन्जेक्सन लगाउँदा समेत रोएन । सङ्क्रमण निकै बढेकाले सोचेभन्दा बढी नै अस्पताल बस्नु पर्यो । तर, उसले पोख्न नसकेको पीडाले मेरा मुटु चस्काउँथे नै । घाउ दुख्दा मुख निन्याउरो पार्थ्यो । मन मेरो चस्किन्थ्यो । हात समात्थेँ, मुसार्थेँ । सोचेँ अलि आँटिलो रहेछ मेरो छोरा, छोरी भन्दा ।
अहिले टाढा छे । सम्झना त निकै आउँछ । सोफामा बस्दा सँगै छे कि जस्तो पनि महसुस हुन्छ । ‘अलि पर हट’ भन्दै बिचमा घुस्रिन आउँछे कि जस्तो पनि लाग्छ । न्यास्रो लाग्छ तर, पनि उसको सफलतामा निकै खुसी छु ।
राउन्डमा डाक्टर आउँदा घर पठाइ दिन्छ कि भनेर हँसिलो मुहार लगाउँथ्यो । तर, डाक्टर एकाध दिन अस्पताल नै बस्नु पर्ने बताउँदा मुख अमिलो पार्थ्यो । उसको मुहारसँगै मेरो मन पनि अमिलो बन्थ्यो नै ।
एपेन्डिसाइटिसको अपरेसन गरेपछि छोराले पनि छोरी कै डाइलग बोल्यो, ‘एउटा बेलुन दिएर फुक भनेको थियो, पेट नै काटी दिएछ ।’
छोरी ! डेढ–दुई वर्षको अमेरिका बसाइपछि केही महिनाअघि बिदामा घर आएकी थिई । अहिले फर्की सकी । तर, निकै आँटिली बनिछ । अमेरिका मै स्काइ डाइभिङ गर्छु भन्थी, हपारेँ मात्र । यहाँ आउँदा त बन्जी जम्प गर्ने अड्डी कसी । के गर्ली र’ भनेर सिन्धुपाल्चोक पनि लगेँ । बन्जी गर्ने स्थान र उचाइ देखेपछि डराउँछे अनि फर्किउँला नि भन्ने सोचेँ । एउटा इन्जेक्सनको नाममा भयभीत हुने मेरी छोरीले बन्जी जम्प नै के गर्ली र ? भन्ने मनमा टुसाउनु स्वाभाविकै थियो । सँगै गएकी आमाले जम्प नगर भनेर छोरीलाई निकै सम्झाइ । धुरुधुरु रोइ पनि । तर पनि, छोरीको मन पग्लिएन । मेरा विश्वासलाई चकनाचुर पार्दै अनि आमाको आँसुलाई मजाकमा लिँदै उसले हाँसेरै जम्प गरी । लाग्यो, अब भने मेरी छोरी आँटिली बनिछ ।
त्यो बेला मनमा जागेको खुसीको कुनै सीमा थिएन । हर्षका आँसु त्यो बेला पनि आँखामा टल्किए नै । मैले आँखाभन्दा टाढा जान नदिएकी छोरी केही वर्ष मभन्दा टाढा जाने बित्तिकै यति आँटिली बनिछ । मन प्रसन्न भयो । मैले अब छोरीको चिन्ता लिनु पर्दैन भन्ने झैँ लाग्यो । आफूलाई सम्हाल्न सक्ने भइछ भनेर । शायद त्यो उसलाई कोरोनाले दिएको उपहार हुनसक्छ । होस्टेलमा एक्लै बस्दा जागेको हुनसक्छ, उसको आँट । तर पनि, त्यो बेला उसको आँट देखेर
अहिले टाढा छे । सम्झना त निकै आउँछ । सोफामा बस्दा सँगै छे कि जस्तो पनि महसुस हुन्छ । ‘अलि पर हट’ भन्दै बिचमा घुस्रिन आउँछे कि जस्तो पनि लाग्छ । न्यास्रो लाग्छ तर, पनि उसको सफलतामा निकै खुसी छु । लाग्छ, कुनै दिन उसकै कारण मेरो शिर अझै ठाडो भएर तन्किने छ । छाती गमक्क फुल्ने छन् । त्यही सोचाइमा मात्र पनि मन गद्गद् हुन्छ । आँखा केही रसाउन थाल्छ । अनि छोराको आँखामा छोरीको पनि बिम्ब हेर्ने कोसिस गर्छु । आफ्नो भाग्यको रेखा कोर्न यो पनि कुनै दिन हामीबाट टाढा हुन्छ होला । आफ्नै संसारमा रमाउँछ होला । आँटिलो बन्छ होला । अनि म त्यही सोफामा एक्लै रहने छु । पविताजीको घुर्क्याइ र मुस्कानमा रमाएर । सन्तानका फोनको प्रतीक्षा गरेर । तर पनि, खुसी हुनेछु । हाँस्ने छु । जसरी अहिले हाँसी रहेको छु । तर, पनि कामना गर्नेछु । कोरोना जस्तो महामारीका बेला कसैका सन्तान आफ्ना आमा–बाबुभन्दा टाढा बस्न नपरोस् ।
मेरो मनमा झुल्किने हर्षको, मेरो ओठमा तैरिने मुस्कानको अनि मेरा सुख र दुखमा छल्किने आँसुको कुनै सीमा छैन त ? सोच्दै छु, खोज्दै छु । कहाँ गएर टुङ्गिएलान्, पीडाका सीमा । मुस्कानका सीमा । मायाका सीमा ।