अन्यौलतामा रुमलिने सोच ! आफैँमा खतरनाक हुन्छ । भ्रमयुक्त हुन्छ । सफलताका मार्गको अवरोध बन्छ । अनि, त्यही अन्यौलतामा रुमलिएका कतिपय बेमेलका सोचहरू एक आपसमा ठोक्किँदा उत्पन्न हुने चट्याङका झट्काले मस्तिष्कलाई समेत निस्तेज बनाइ दिन्छ ।
म को हुँ ? के हुँ ? मैले आफैँलाई हजारौँ पटक यो प्रश्न गरेको छु । पाएका जवाफ कहिल्यै सहज लागेनन् । बस्, हरेक सवाल चट्याङका झट्का बनेर मस्तिष्कलाई खलबलाउन सहयोगी मात्र बने ।
कहिले लाग्छ, म आफैँमा म होइन । फरक वस्तु हुँ । मेरो काया र चेतनामा व्यापक अन्तर विरोध छ । अनि लाग्छ, म र मेरा सोचहरू बादलका थुम्का झैँ छन् । कहिले आकार बदल्ने । कहिले आभा बदल्ने । अनि मलाई लाग्छ आफ्नै सोच, कहिले सजीव झैँ । अनि कहिले निर्जीव झैँ । हजारौँ चाहना र सपनामा एक्लै रुमल्ली रहेको दिशाहीन यात्रु झैँ । मार्गबाट विचलित हावा झैँ । एक तमासले बग्दा बग्दै कुनै चट्टान ठोक्किएर उठ्ने छाल जस्तै ।
अरूलाई भन्नु पर्दा, वास्तवमा म एकाङ्की छु । घमन्डी पनि । आफ्ना सोचमा अरूको विचार हाबी हुन नदिने सन्काहा स्वभावको । तर, मात्र यो मेरो दाबी हो । वास्तविकता फरक छ । नत्र किन आउँछ होला र’ मनमा विग्रहका आँधी ? अनिश्चितताको बाढी ? त्यसैले होला, मेरा सपनाका यात्रा सधैँ गन्तव्यविहीन भइदिएका । मिठा सपना देख्दा कहिले काहीँ मनमा जाग्ने उन्माद कतै मिर्मिरेसँगै फेरि बिलाएर जाने त होइन ? डर लाग्ने, त्यसै त्यसै । मेरो सोच र चाहना अनुसार यो संसार चलेको छैन । कहिल्यै चल्दैन पनि । पक्का छ । चलाउँदिन पनि । विश्वास छ ।
वास्तवमा भन्ने हो भने अहिले पनि मलाई पशुपतिनाथ नै एक मात्र भगवान हुन् जस्तो लाग्छ । अरू मूर्तिका अगाडि त आस र त्रासमा मात्र शिर झुकाउँछु । म आस्तिक हुँ कि नास्तिक आफैँ रनभुल्लमा छु ।
यस्ता द्वैध सोचका उपज नै त होलान् नि । म मानिसलाई भगवान मान्न सक्दिन । तर, म नास्तिक होइन । मूर्तिमा झुक्न बिर्सिन्न । तर, म आस्तिक होइन । को हो त भगवान, के हो त भगवान ? प्रश्न निरुत्तर नै छन् ।
जवाफ खोज्ने लालसा नजागेको पनि होइन । कोसिस पनि गरियो । तर, सधैँ हातमा लाग्यो शून्य । अनि मस्तिष्कमा झट्का ! तर पनि, प्रयास जारी छ । धर्मलाई कथामा बुनिएका भाका मलाई कबुल छैन । भगवानले चमत्कार गर्न सक्छन् भन्ने मलाई विश्वास छैन । भगवान साक्षात् छन् भन्ने हो भने आजसम्म देखेको पनि छैन । यस्ता सोच पाल्दा पनि किन हो किन मलाई मेरो धर्म निकै प्यारो लाग्छ ।
०००
पशुपतिनाथको मन्दिर नजिकै चाबहिलमा जन्मियो । आफ्ना माता पितापछि ती नै हुन् मेरा सबथोक जस्तो पनि लाग्छ । अहिले पनि । बच्चैदेखि महादेवभन्दा ठुला भगवान कोही छैनन् भन्ने विश्वास थियो । शायद आफ्ना घर नजिकमा देवता भएर पनि होलान् । वास्तवमा भन्ने हो भने अहिले पनि मलाई पशुपतिनाथ नै एक मात्र भगवान हुन् जस्तो लाग्छ । अरू मूर्तिका अगाडि त आस र त्रासमा मात्र शिर झुकाउँछु । म आस्तिक हुँ कि नास्तिक आफैँ रनभुल्लमा छु । भनि सकेँ ।
मलाई थाहा छ, मेरी पत्नी सत प्रतिशत आस्तिक हुन् । भगवान भने पछि हजारौँ किलोमिटर पनि दगुर्न तयार । स्प्रिन्टका लागि तयार धावक झैँ । हिन्दु धर्ममा भगवानको जति मान राख्नु पर्छ उनले राखेकी छन् । भगवानको जति पूजा र पाउ मोल्नु पर्छ मोलेकी छन् । अनि मैले त्यति नै, उनको । नत्र घरमा आउने आँधी खुल्ला आकाशमा यदाकदा आउने भयङ्कर आँधीभन्दा पनि डरलाग्दो हुन्छ । प्रायजसो विवाहित पुरुष यसको जानकार हुन्छन् नै । अविवाहितले एक दिन थाहा पाउने नै छन् । त्यस्तो आँधीबाट जसले बच्न जान्यो, त्यो संसारको सबैभन्दा भाग्यमानी पुरुषमा गनिन्छ होला । होला हैन, हो नै ।
खै के जंग चल्छ मलाई यदाकदा, उसले तोकी दिएको मेरो स्वतन्त्रताको परिधि नाघ्ने दुश्चेष्टा गरिदिन्छु । मूर्ख आफैँलाई नै भन्नु पर्यो नै । आँधी आउने पूर्वानुमान हुँदा पनि किन नाघ्नु परेको होला, आफ्ना लागि तय गरिएका लक्ष्मण रेखा । यस्ता कुरा सोचेर एक्लै धेरै पटक हाँसेको पनि छु । आफ्नै मूर्खतामा ।
०००
कोरोना सुरु भएकै वर्ष त हो नि । गर्मी याममा छोरी अध्ययनका लागि अमेरिका जाँदै थिई । आमाको मनमा लाग्यो, अलि कति धर्म कर्म पनि गराएर पठाउनु पर्छ । तर, म्याडमको रोजाइमा परेनन् पशुपतिनाथ, मेरा प्यारा भगवान । नजिकका देवताको हेला हुन्छ भने झैँ पो हो कि ! उनको रोजाइमा परिन्, कामरूप कामख्या । उनको रोजाइ, मेरो पनि रोजाइ । वर्षौँदेखि हाम्रो घरमा चल्दै आएको परम्परा नै यस्तै छ । शायद हरेक घरमा यस्तै परम्पराको बास हुन्छ होला जस्तो लाग्छ । म त गर्वका साथ भन्छु, म त मेरै बाउ जस्तो छु । आज्ञाकारी पति । चिन्ने सबैले यस्तै भन्छन् । साँचो कुरालाई होइन भनेर किन ठाँट्नु ? यो संसारमा म एक्लो पनि त होइन नि, आज्ञाकारी पति । हरेक घरधुरीमा भेटिन्छन्, म जस्ता पति । आँट हुनेले हो भन्छन्, लाज हुनेले होइन भन्छन् । फरक यति मात्र हुन्छ ।
सन्दर्भ मै फर्किऊँ । भारतीय राज्य आसामको राजधानी गुवाहाटीको डाँडामा विराजमान देवी कामख्या । एक पटक जान्छु भने पछि नगई हुन्न रे । भाकल गरे पछि जानै पर्छ रे, नत्र अनर्थ हुन्छ रे । जानु पर्ला भनेर बोल्यो कि भाकल भइदिन्छ रे । हैट कत्रो त्रास । धरैलाई उनले मागे जति दिन्छन् भन्ने आस पनि रहेछ । स्वस्थानी कथामा सुने अनुसार सतीदेवीको जननेन्द्रिय झरेको स्थान । अहिले पनि त्यही स्थानमा रजस्वला हुने गर्छ रे । वर्षमा एक पटक । हो, म त्यही बेला तिर पुगेको थिएँ, त्यहाँ । म पुग्दा पनि मन्दिर रगताम्य थिए । तर, देवीको रजस्वलाको कारण भने होइन । तर, कसरी ?
हाम्रो धर्म बृहत् छ । तर, भगवानप्रति चरम आस र त्रास पनि यही धर्ममा भेटिन्छ । हिन्दु धर्म भित्र अटेस मटेस गरेर कोचिएका ज्ञान महासागरको सट्टा हाम्रो मनमा भगवानको त्रास कसले विराजमान गराइ दिएका होलान् । भेटे एक चड्कन हान्ने रहर पनि जागेको छ मनमा । अनि यस्तो सोचे पनि पाप लाग्छ कि भन्ने भय पनि तत्काल जागिहाल्छ । अनि तत्काल बेमेल पैदा हुन्छ एउटै मनले बनाएका दुइटा सोचमा । आफैँले आफैँलाई उद्धार गर्नु पर्ने आवश्यकता आइदिन्छ । मनलाई चुप लगाएर । नत्र मनबाट सुरु हुने यस्ता तर्कनाले दिमागलाई नै स्खलित पारिदिन्छ । त्यसैले भगवानको कुरो आए मैले एकछिन पनि सोच्ने गरेको छैन, पत्नीको आदेशपछि । तत्काल मुन्टो हल्लाइ दिन्छु । हुन्छको भाकामा । मनका तर्कनालाई चुप लगाएर । आफ्ना सोचलाई निर्जीव बनाएर । प्रश्नमा बिर्को लगाएर । मनमा चड्किएको चट्याङलाई शान्त बनाइ राख्न ।
आखिर हामी पुरुष न पर्यौँ । पितृसत्तात्मक समाजका बासिन्दा । भनाइमा मात्र पो रहेछ त । जे पनि गर्न सक्ने । सधैँ महिलालाई पीडित बनाएर राख्ने ।
हैट ! होइन रहेछ । भनाइ र यथार्थमा त ठ्याक्क जमिन आकाशको भिन्नता पो रहेछ । यथार्थमा त खुरुखुरु पत्नीका कुरा माने मात्रै आफैँ राजा भएको महसुस गर्न पाइने । नत्र अघिल्लो पाइलामा आइपर्ने सङ्कटलाई संकटमोचन हनुमानले पनि पार लगाउन नसक्ने । पत्नीले ‘राजा’ भनेर सम्बोधन गर्दैमा राजा भइँदैन भन्ने भ्रम निकै अघि नै टुटी सकेको छ । नटुटेकाहरूको बिस्तारै टुट्ने नै छ । विश्वास छ !
कहिले काहीँ सङ्कटका फसेको बेला आफैँले आफैँलाई फेरि प्रश्न गर्छु । को हुँ म ? के हुँ म ? फेरि एक पटक ऐना झैँ फुटेका भ्रमहरूलाई जोड्छु अनि अनुमान लगाउँदिन, ठोस निर्णय गर्छु । मनलाई सहलाउँदै भन्छु, हामी त बस् पत्नी सत्तात्मक समाजमा बाँचेको एउटा सजीव झैँ देखिने निर्जीव जीव पो रहेछौँ । मेरा बाउ जस्तै, मेरा दाइ जस्तै, मेरो भिनाजु जस्तै, मेरा ससुरा जस्तै, मेरा अरू नातेदार जस्तै अनि यहाँहरू सबै जस्तै । पीडामा ङिच्च मुस्कुराउन जान्ने अजिबको जीव ! भगवानको अजिबको सृष्टि !
कुरो अलि बाङ्गिएछ । यतिसम्म लेख्न त लेखियो खै आज घर जाने कि नजाने दोधारमा परेको छु । आँट गरेर जानै पर्ला । जे होस्, कुरो अगाडि बढाऊँ ।
त्यो बेला पत्नीको आदेश थियो । आफ्नै गाडीमा जाने । ड्राइभर (म) सहित उनी, छोरी, छोरा र एक जना मेरै मित्रकी पत्नी । छोरीको अमेरिका जाने भिसा लागि सकेको थियो । पत्नीले शायद छोरीको भिसा लागे आउने भाकल गरेकी थिइन् होलिन्, कामख्या मातासँग । क्रिश्चियनको देश जान हिन्दुको देवीले सघाइन् नै भन्नु पर्ला । देवी देवतालाई जस दिन कन्जुस्याइँ गरे पाप लाग्ला भन्ने भय पनि त छ, मनमा । हामी जस्तै पाखण्डीको जब्बर दिमागको उपज । एउटा बाबाजीले त ठोकेरै भनी दिए, मेरै अगाडि । ‘मेरा आशीर्वादले भिसा लागेको हो ।’ पत्नीले पत्याइन्, मैले पनि पत्याए झैँ गरी दिएँ ।’
अचम्म लाग्छ, यस्ता पाखण्डमा रमाउँदा पनि हामीले आफ्नो धर्म संस्कारलाई जोगाइ राखेका छौँ । तर, कहिलेसम्म जोगाउने ? हाम्रा अन्धविश्वासका कारण पराइ धर्मको कुदृष्टि सजिलै हाम्रो धर्ममाथि पर्न थालेको छ । अब हामीले भन्ने बेला आएको छ, धर्म त्रास होइन । संस्कार हो । जीवनको दर्शन हो । आत्मशुद्धिको माध्यम हो । ज्ञानको महासागर हो ।
फेरि मूल कुरो तर्फ नै बढौँ । निधो गरिएको दिन बनेपा–बर्दिबास हुँदै गइयो । बिहानीको ८ बजि सकेको थियो, धुलिखेल कट्दा । अगाडि बढ्दा आउने अनेकौँ घुम्ती र मोडले गाडी सवार केहीलाई साथ दिएन । दुई–चार ठाउँमा गाडीको तातो इन्जिनलाई सेलाउने मौका पाइयो । कारण उही त हो । खुर्कोटमा मुखलाई बुझो लगाउने औषधी किनियो । जसलाई असहज भएको छ, खुवाइयो । हानियो सिधै भोको भेटलाई राहत दिन, पहिलो गन्तव्य बर्दिबासको गौतम होटेल ।
खाना खाएर एक तमास अघि बढ्दा त पाँच नबज्दै काँकरभित्ता पुगिएछ । हाम्रो पूर्व योजना थियो, काँकरभित्तामा एक रात बिताएर सिलगढी हुँदै ट्रेनमा गुवाहाटी जाने । तर, पत्नीको आदेश आयो । ‘अब यहाँ नबस्ने जलपाइगुढी (सिलगढीको रेलवे स्टेसन) जाने अनि राति कै रेल चढेर गुवाहाटी लाग्ने ।’
ट्रेनको टिकट पाइन्छ कि पाइँदैन, थाहा छैन । उनले आदेश दिइन्, मैले हस्मा टाउको हल्लाएँ । अनि काठमाडौँदेखि गाडी चलाएर थकित यो ज्यानले नाइँ भन्न सकेन । भन्नु पनि कसरी । आँट भए पो । हामी पुरुषहरूको लागि त फिल्म नै बनेको छ क्यारे ! ‘नाइँ नभन्नु ल !’ फिल्मको कथा भित्र के छ थाहा भएन । पुरुषको जिन्दगीमा भने हरेक पाइलामा यही भनाइ लागू हुन्छ । हिँडियो खुरुखुरु, उनको इशारा अनुसार । थकित शरीर लिएर । प्रहरी मित्रकी पत्नी पनि साथ मै भएको कारण त्यहाँका प्रहरीको पनि सहयोग पाइयो । गाडी खोज्न, सिम कार्ड दिलाउन, केही भारतीय रुपैयाँ साट्न ।
भाग्य नै होला, दलालको सहयोगमा राति १०–११ बजे तिर कै ट्रेनको टिकट पनि पाइयो, गुवाहाटीका लागि । अरूभन्दा पनि छोरा मख्ख थियो, ‘चेन्नइ एक्सप्रेस’ चढ्न पाउँदा । आफैँलाई शाहरुख खान सोच्दो हो, फुच्चे ।
पुगियो एका बिहानै कामख्या देवीको मन्दिर । रेलवे स्टेसनबाट ट्याक्सी लिएर । असारको महिना, गुवाहाटी सिमसिमे झरीले रुझ्दै थियो, हामीसँगै । ब्रम्हपुत्र पनि क्रमसः भयङ्कर आकार लिँदै थियो । रिसाउन बिस्तारै सुरु गरेकी मेरी पत्नी झैँ । नेपाल फर्केको केही दिनपछि त आसाम लगायत उत्तर भारतका केही स्थानमा ताण्डव नै मच्चाएको खबर पढियो ।
त्यही ताका कामख्याको मन्दिरमा विशाल मेला लाग्दो रहेछ । हामी पुग्नुभन्दा एक दिन अगाडि मात्रै महिनाभरि चलेर सकिएको रहेछ । मन्दिर पुग्ने बाटाभरि महिनौँ राखिएका फुटपाथका पसलहरू उठ्दै थिए । भगवानका हजारौँ अनुपम सृष्टिहरू बलिमा चढाइएका रहेछन् । सबैभन्दा बुद्धिमान जीवको निजी स्वार्थका खातिर बोल्न नसक्ने जनावर काटिएका थिए । अन्धविश्वासलाई अझै बलियो बनाउन । मन्दिरको एउटा भित्तामा त सयौँ राँगाका काटिएका शिर सजाएर राखिएको रहेछ । तस्बिर पनि खिचेको थिएँ, धेरै दिन मोबाइलमा राख्न सकिन । डिलिट गरिदिएँ । मन्दिर परिसर रगताम्य थियो । हिँड्दा पनि पाइताला रगतले लतपत । कुनै जीवको रगतमा हिँड्दा मैले पुण्य कमाएँ या पाप ?
अनि मनमा लाग्यो, बलिमा चढाइएका हजारौँ जनावरका बगेका रगत नै कसैगरी योनी आकारको ढुङ्गाबाट निस्कँदो हो । जसलाई आस्थाका साथ रजस्वला भनिएको होला । तर, हाम्रो धर्मले यसरी सोच्ने छुट दिएको छैन । नत्र पापको भागीदार बन्नु पर्ने त्रास रोपिएका छन् । हरेकको मनमा । आफैँलाई धर्मात्मा भनाउनेहरुले । लाग्न थालेको छ, निहित स्वार्थका खातिर हाम्रो धर्मलाई बङ्ग्याउने गलत सोचहरूको अब अन्त्य हुनु पर्छ । सही सोच सर्वत्र छर्नु पर्छ ।
कामख्या भने दर्शनको लागि लाइन बस्दा पुरा दिन बित्ने रहेछ । मानिसको अगाध विश्वासका कारण ।
सबैभन्दा महत्त्वपूर्ण कुरो त अनियमितता, भ्रष्टाचार कहाँ हुँदैन र’ ! अनि कसरी अछुतो रहला र' भगवानको घर ?
हामीलाई पनि सोझोभन्दा बाङ्गो बाटो ठिक लाग्यो । घुस खुवाएर दर्शन गर्ने । पाँच जनाको जनही ५ सय भारु घुस खुवाएरै गरियो, तत्कालै देवीको दर्शन । पुण्य गरियो कि पाप, आजसम्म मनको सोचको द्वन्द्वले मस्तिष्कमा चट्याङ पारि नै रहेको छ । मनमा गीत नै गुन्जियो,
‘मैले पुण्य मन पराएँ या पाप मन पराएँ,
जे होस मैले तिमीलाई चुपचाप मन पराएँ ।
जब फूल र काँडा दुइटा सँगै रमाउन सक्छ,
जब दागको रङ्गमा पनि टिका समाउन सक्छ,
नसोध मैले वरदान या श्राप मन पराएँ,
जे होस मैले तिमीलाई चुपचाप मन पराएँ ।।’
देवी कामख्यासँग भन्नै पर्ने थियो यस्तै, भनियो पनि ।
अनि फेरि सुरु भयो पत्नीको आदेशको थप शृङ्खला । फेरि पनि नाइँ भन्न सकिएन । मन्दिरको दर्शनपछि गुवाहाटी सहर ओर्लियो । सबैभन्दा पहिले जलपाइगुढी फर्किने त्यही चेन्नइ एक्सप्रेसको टिकट किनियो । सहर घुम्न गइयो । खाना खाइयो, प्रख्यात हिल्सा माच्छाका साथ । भगवानको मन्दिरमा घुस खुवाएर दर्शनको मौका जुराएको हामीलाई खाना खुवाउने होटेलवालाले केही चुना लगायो । बिल लिँदा । तर, पनि चित्त बुझाएरै निस्कियो । विकल्प पनि त थिएन नि, चित्त बुझाउनु सिवाय । मेरी बुढी जति फतफताए पनि । गुवाहाटीमा महिला वृन्दले प्रशस्त खरिददारी गरे । त्यसपछि रद्द गरियो, सिलगढी घुम्ने कार्यक्रम । आदेशमा ।
मन त सिलगढी तिर होटेलमा आराम गर्ने थियो । शरीर थकित थियो, उमङ्ग हराएको थियो । झन् मध्यरात मै जलपाइगुढीमा ट्रेनले उतारी दियो । कहाँ जाने के गर्ने बिचल्लीमा परियो । फेरि आदेश आयो, बिहानसम्म वेटिङ रुममा बसौँ, अनि काँकरभित्ता जाउँला । हुन्छको इशारामा टाउको हल्लाउँदै, वेटिङ रुम मै बसियो । उम्दै ।
पत्नीसँग झन्डै २२ वर्षको तीतो मिठो सङ्गतले आफ्नो त गर्धन त यस्तो बनिसक्यो कि हस् भन्दा मात्र हल्लिन्छ । नाइँ भनेर त हल्लिनै जान्दैन । मैले त बिर्सी पनि सकेको छु, नाइँ भनेर गर्धन हल्लाउँदा कसरी हल्लाउनु पर्छ भनेर ।
बिहानै पुगियो, काँकरभित्ता । रुझेको बिरालो झैँ, थकानले । त्यहाँ प्रहरी क्वार्टरमा नुहाइ धुवाइ र मिठै नास्ताको सत्कारपछि निस्कियो, सौराहाका लागि । लामो बाटो हुँदै । सिन्धुलीको घुमाउरो बाटोमा रिँगटा लागेर ह्वात ह्वात गर्नु परेको कारण, जाँदा खेरी । फर्कँदाको आदेश थियो, लामो बाटो भएर काठमाडौँ जाने ।
पत्नीसँग झन्डै २२ वर्षको तीतो मिठो सङ्गतले आफ्नो त गर्धन त यस्तो बनिसक्यो कि हस् भन्दा मात्र हल्लिन्छ । नाइँ भनेर त हल्लिनै जान्दैन । मैले त बिर्सी पनि सकेको छु, नाइँ भनेर गर्धन हल्लाउँदा कसरी हल्लाउनु पर्छ भनेर । नहाँस्नुस् न ! साँच्चै भनेको ।
जे भए पनि घरबाट हिँडेको तेस्रो दिन सौराहाको होटेलमा पहिलो पटक ओछ्यानमा सुत्न पाइयो । नत्र २ रात त ट्रेनमा नै बिताइएको थियो । यो भ्रमणको एकल निर्देशक थिइन्, मेरो प्यारी पत्नी । उनको सहयोगी निर्देशक थिइन्, मित्रकी पत्नी । अनि स्पट ब्वाइ झैँ हामी तीन जना । म, छोरी, छोरा । आदेशको पालनकर्ता ।
यति तीव्र गतिमा गरिएको धार्मिक भ्रमणमा मैले पुण्य कमाएँ या पाप, थाहा भएन । तर, छोरीले अमेरिका लैजाने केही लुगाफाटा खरिद गर्ने मौका कमाइन् । छोराले चेन्नइ एक्सप्रेस चढेर आफैलाई शाहरुख खान सम्झने अवसर कमायो । पत्नीले धर्म कमाइन् । मैले उनीहरूको मुहारमा हाँसो कमाएँ । जिन्दगी बाँच्न यो भन्दा बढी के नै चाहियो र’ । पुण्य र पाप त मनका सन्तुष्टि र असन्तुष्टिमा भर पर्दो रहेछ । बस् सक्नु पर्दो रहेछ, मनमा उब्जिने द्वैध सोचहरूलाई सन्तुलनमा राख्न । मस्तिष्कमा चट्याङ नपार्न ।