बैशाख ०८, २०८१, शनिबार
               

विश्वास छ, मैले न्याय पाउँछु, षडयन्त्रकारी नाङ्गिन्छन् !

महायोगी सिद्धबाबा
फागुन ०४, २०७७

ADVERTISEMENT

हिजोआज फेरि म चर्चामा आएको छु । नगरेको पापका लागि ।

अचम्म पनि लाग्न थालेको छ । हिजोसम्म अदालतलाई गाली गर्नेहरू आज त्यही अदालती फैसलालाई आधार बनाएर मलाई नीच प्रमाणित गर्न खोज्दै छन् । 

जुन दिन मलाई सुनसरी जिल्ला अदालतले सफाइ दियो । मलाई फसाउन षडयन्त्रका तानाबाना बुन्नेहरूलाई आकाश नै शिरमा खसे झैँ लागेको रहेछ । अहिले म स्वयंलाई अमान्य फैसलालाई आधार मान्दै ममाथि फेरि षडयन्त्रको अर्को जाल बुन्न थालिएको छ ।

पहिलो कुरा मैले सुनसरी जिल्ला अदालतको फैसलालाई स्वीकार गरेको छैन । कानूनी आधारमा भन्ने हो भने जिल्ला अदालतले मलाई निर्दोष भनेको छ । अदालतले मलाई निर्दोष देखेरै राय दियो । तर,  मैले नगरेको कर्मलाई आधार बनाएर । मैले जिल्ला अदालतको निर्णयलाई स्वीकार गर्ने हो भने भगवानको अगाडी मुख देखाउन पनि सक्दिन । मलाई जेलमा बस्नु पर्ला भन्ने भय छैन । एउटा साधुलाई स्वर्ग र नर्कको भेद हुँदैन । आफ्नो कर्म जहाँ बसे पनि गर्न सकिन्छ । तर, गलत रायसहित आएको फैसला मेरा लागि मृत्युतुल्य बनेको छ ।

म त्रिदण्डधारी साधु हुँ । अग्नि र स्त्रीसँग सधैँ दुरीमा रहनु मेरो धर्म हो । कुनै बेला मेरो कथित अनुयायी बनेकी महिलासँग सहवास गर्नु भनेको मेरा लागि मृत्यु समान हो । अझ मेरो मनमा त्यस्ता चाहना उब्जिनु भनेको पनि महापाप हो । म त्यति तल्लो स्तरमा गिर्न सक्दिन । तर, मलाई दोषी देखाउन किन षडयन्त्रका तानाबाना बुनिएका छन् भन्ने समयसँगै प्रमाणित हुँदै जाने छन् । विश्वासमा छु । मेरा लागि महिला भनेको दिदी, बहिनी र आमाभन्दा अरू केही हुन सक्दैनन् ।

अब मेरो मनमा आफ्नो हैन यो मुलुकको, सनातन धर्मको चिन्ता बढेर गएको छ । हाम्रो राष्ट्रियता र स्वाभिमानको चिन्ता बढेको छ । म जेलमा बस्दा पनि त्यति विचलित भएको थिइन, बाहिर आउँदा जति भएको छु । समय त निकै परिवर्तन भइसके जस्तो छ । अधर्मीका मन झन् कठोर बन जस्तो । जसरी भए पनि यो भूमिबाट सनातन धर्मको जरो उखेल्न खोज्नेहरुको रजगज पनि बढेको छ । कम से कम सञ्चार माध्यमले यस्ता षडयन्त्रमा बुझ पचाउन हुँदैन भन्ने मलाई लाग्छ ।

कानुनको कुन दफाले के भन्छ, त्यसमा मेरो कुनै सरोकार छैन । मैले न्याय पाउँछु, मात्र यति विश्वास छ । षडयन्त्रकारी नाङ्गिन्छन्, यो पनि मेरो विश्वास नै हो । यो मुलुकमा कुनै अधर्मी रजगज चल्न सक्दैन, हामी सारा सनातन धर्मावलम्बीको विश्वास हो । 

हाम्रो धर्म संस्कार, संस्कृति र सम्पदामा अधर्मीहरुको आँखा लागेको छ । जबसम्म हामी जस्ता साधु सन्त अनि हाम्रा सच्चा अनुयायीहरु धर्म र मातृभूमिको रक्षाका लागि ज्युँदा छौँ, तबसम्म यो मुलुक पापीहरूको आश्रय स्थल बन्न सक्दैन । यहाँ गौ हत्या हुन सक्दैन । राक्षसी प्रवृत्तिको रक्षा हुन सक्दैन । अधर्म मौलाउन सक्दैन । होली वाइनको सिँचन हुन सक्दैन । यो कुरा राम्रोसँग बुझेकाहरू नै आज मेरा विरुद्ध खनिएका छन् ।

कानुनको कुन दफाले के भन्छ, त्यसमा मेरो कुनै सरोकार छैन । मैले न्याय पाउँछु, मात्र यति विश्वास छ । षडयन्त्रकारी नाङ्गिन्छन्, यो पनि मेरो विश्वास नै हो । यो मुलुकमा कुनै अधर्मीको रजगज चल्न सक्दैन, हामी सारा सनातन धर्मावलम्बीको विश्वास हो यो । 

आज मेरो मातृभूमिले मसँग के चाहेकी छन्, त्यो मेरो सरोकारको विषय बनेको छ । ममाथि लगाइएका झूटा लाञ्छना र पर्दा पछाडिका खेलाडीको पोल पनि समयसँगै खुल्दै जाने छ । मलाई पापी देखाउन खोज्नेहरू नै भविष्यमा पापको दहमा जाकिने छन् । यो मेरो विश्वास हो । 

मेरा बन्धु बान्धवहरूसँग आग्रह छ । यो मुलुकलाई होली वाइनले सिँचिन दिनु हुन्न । धनको लोभमा राष्ट्र र राष्ट्रियता बेच्न खोज्नेहरू, अनि आफ्नै जननीको अस्मिता लुट्न खोज्नेहरूसँग अब हामी सतर्क हुनै पर्छ । अब मसिनो स्वरले हैन चिच्याएर भन्नु पर्छ, ‘षडयन्त्रका जति प्रहार भए पनि हामी हाम्रो धर्म संस्कारको रक्षामा ज्यान दिन पनि तयार छौँ ।’

आज तिनीहरूको चोरी औँला मतिर सोझिएका छन् । भोलि म जस्ता विचार बोक्ने सबैतिर सोझिने छन् । हामीले त्यस्ता महापापीहरुसँग सतर्क रहने बेला आइसकेको छ ।  

नारी शक्तिकी रूप हुन् । तर, अहिले एउटी नारीलाई नै हतियार बनाएर षडयन्त्रकारीले ममाथि तोप पड्काइ रहेका छन् । त्यस्ता षडयन्त्रका पर्खालहरू भत्काउँदै अगाडि बढ्नु पर्छ भन्ने मेरो मान्यता छ । त्यसमा मलाई सनातन धर्ममा विश्वास राख्ने सबैको साथ आवश्यक छ । साथ पाउँछु भन्ने विश्वास पनि छ ।

आज हामीले यो मुलुकले सनातन कालदेखि अपनाउँदै आएको धर्मको रक्षा गर्नु पर्ने मात्र होइन, यहाँका मठ, मन्दिर अनि धार्मिक सम्पदाको पनि चनाखो भएर रक्षा गर्नु पर्ने समय आइसकेको छ । नत्र अब त यो मुलुकका केही मठ, मन्दिरका मठाधीस पनि अधर्मीका प्यादा बन्न थालि सकेका छन् । जसले अधर्मको साथ दिन आनाकानी गर्छ, उसले बन्दुकको तारो बन्नु पर्छ । अथवा म जस्तै षडयन्त्रमा फस्नु पर्छ । पछिल्ला केही महिनामा हाम्रा धर्म रक्षकहरूले धर्म रक्षा कै खातिर ज्यान समेत दिनु परेको छ । मन्दिरका पुजारीहरू मारिएका छन् । प्रहरीको निचोड जे रहे पनि ती घटना पनि अधर्मीका षडयन्त्रका पाटा नै हुन् । यो कुरा म छाती ठोकेर भन्न सक्छु ।

नेपाललाई के र कसका कारण धर्म निरपेक्ष बनाइएको थियो भन्ने यथार्थहरू बाहिर आउँदै छन् । यही अवस्थामा अझै केही समय मुलुक गुज्रिने हो भने यो मुलुकमा हिन्दु धर्मावलम्बीहरु दियो लिएर खोज्नु पर्ने दिन नआउला भन्न सकिँदैन । अनि कहाँ खोज्ने हामीले आफ्ना आस्थाका मूर्ति र मन्दिर । हाम्रो धर्म र संस्कार ।

हामी अहिले एकल रूपमा भए पनि यो धर्मको रक्षामा लागेका छौँ । अब हामीले सामूहिकरुपमा आवाज बुलन्द गर्नु पर्ने दिन आइसकेको छ । यो भूमिको रक्षाको लागि अहिले नै भगवानको अवतारको आवश्यकता छैन । हामी नै त्यसका लागि तयार छौँ । तर, विश्वका सनातन धर्मावलम्बीमाथि यसरी नै षडयन्त्र हुँदै जाने हो भने धर्म रक्षाका लागि भगवानको अवतार कै आवश्यकता पर्ने नै छ ।

शास्त्र अनुसार अहिले नै कलियुगको अन्त्य हुने समय आएको छैन । तर, धर्मको विनाशमा पापीहरूले षडयन्त्र गर्दै जाने हो भन्ने निश्चय पनि भगवान विष्णुले तोकिएको समयभन्दा पहिले नै कल्की अवतारमा आउनु पर्ने बाध्यता छ ।

मेरो विश्वास अटल छ । म मेरो मातृभूमिको अस्मिता रक्षाका खातिर ज्यानको बलिदान दिन पनि तयार छु । ममाथि षडयन्त्र गर्नेहरूले यो पनि सोचुन् कि म यस्ता झूटा आरोपहरूबाट कदापि विचलित हुने छैन । मेरा अनुयायीहरूलाई पनि यस्ता षडयन्त्रबाट विचलित गराउँला भनेर सोच्नु महामूर्खता हो

आखिर शास्त्रमा जे लेखिएको छ । त्यो निश्चय पनि सही ठहरिँदै गएको छ । कलियुगको अन्त्यका बारेमा हाम्रो धर्म ग्रन्थहरूमा जे लेखिएका छन्, त्यो कार्य आज भइरहेको छ । त्यो पनि पृथ्वीको उदय भएको स्थानमा । बराह क्षेत्र जस्तो पवित्र भूमिमा । जहाँ भगवानको निवास छ, त्यही उनका अनुयायीमाथि षडयन्त्र भइरहेको छ । यो राष्ट्रबाट सनातन धर्मलाई मेटाउने षडयन्त्रका प्यादाहरू हाम्रा आफन्त नै छन् भनेर भन्नु पर्दा कसको चित्त नरोला ! हामी माफ रहेर उनीहरू धर्म विरोधी कार्य गर्दै छन् भन्दा कसको मन गह्रुँगो नहोला ।

यो भूमिमा माटोको टिका लगाएर कामको श्रीगणेश गर्ने संस्कार पाएकाहरूलाई विचलित पारिँदै छ । यो तपो भूमिमा हिन्दुहरूको सङ्ख्या घटेको देखाउन पापले भरिएका धर्मभीरुहरु नै तँ छाड र म छाड गरेर लागि परिरहेका छन् । अब हुन लागेको जनमत सङ्ग्रहमा नै हिन्दुको जनसङ्ख्या घटेको षडयन्त्र रच्न लागिएको छ । त्यतातर्फ पनि सजग बन्ने बेला आएको छ । हामी वरिपरि लुकेका षडयन्त्रकारीहरूलाई लखेट्ने समय आएको छ ।

मेरो विश्वास अटल छ । म मेरो मातृभूमिको अस्मिता रक्षाका खातिर ज्यानको बलिदान दिन पनि तयार छु । ममाथि षडयन्त्र गर्नेहरूले यो पनि सोचुन् कि म यस्ता झूटा आरोपहरूबाट कदापि विचलित हुने छैन । मेरा अनुयायीहरूलाई पनि यस्ता षडयन्त्रबाट विचलित गराउँला भनेर सोच्नु महामूर्खता हो ।

अब हामी थप ऊर्जाका साथ अगाडि बढ्नु पर्ने छ । यो राष्ट्रलाई गौ हत्याको भूमि बनाउनबाट रोक्नु छ । होली वाइनबाट सिँचिन रोक्नु पर्ने छ । अब हामीले भन्नै पर्छ, ‘तिम्रा धर्म, संस्कार तिम्रा मुलुक मै राख । हामी आफ्नै गर्विलो धर्म, संस्कार अङ्गालेर जन्मिने छौँ, मर्ने छौँ !’

सीताराम !

पञ्च "स" अर्थात् स्वास्थ्य, शिक्षा, संस्कार, समृद्धि र शान्तिलाई मूल मन्त्र मानेर वैदिक शास्त्र अनुसार मनुष्यमा देवत्व जगाउने अभियानमा सक्रिय जगत् गुरु महायोगी सिध्दबाबा कृष्णदास नेपालमा हरित क्रान्तिको माध्यमबाट समृध्दि ल्याउने अभियानमा सक्रिय छन् । नेपालमा आयुर्वेद विश्व विद्यालयको स्थापनाका लागि पनि उनी सक्रिय छन् ।

कस्तो लाग्यो ?

यो पनि