मंसिर ०७, २०८१, शुक्रबार
               

बेफ्वाँक राज्यका बेफ्वाँक जनता

चेतन पाण्डे
माघ २१, २०७७

ADVERTISEMENT

जिन्दगी नौटङ्की देखाउँछ । बिपनामा मात्रै होइन रहेछ, सपना पनि रुवाउँछ । अनि पागल झैँ हँसाउँछ पनि ।

धन्य, कुरुक्षेत्रको युद्धमा झैँ मानिसले मानिसको लासको थुप्रो त्यसपछि आजसम्म देख्न परेका छैन । अनि दोस्रो विश्व युद्धमा झैँ मानिसले मानिसको लासको खात तयार पारेको हाम्रो पुस्ताले देख्नु परेन । तर, त्यो त्रासदीका सत्य कथाहरू आँखामा सम्हालेर राख्ने बुढापाका अहिले पनि हाम्रै वरिपरि भेट्न सकिन्छन् । तर, त्रासदीका भारीहरू हामीले पनि कहाँ नबोकेका हौँ र ।

जनयुद्धका नाममा गिँडिएका लासहरूको गन्ती हामीले पनि गरेकै हौँ । कोरोना सङ्क्रमणले कालको समयभन्दा चाँडै जलेका कायाहरू पनि देखेकै छौ । अनि त जलिरहेका लासहरूसँगै मन पोल्दो रहेछ । नमर्नु पर्ने मानिसहरू मरेका देख्दा । मनमा राखेका मानिसहरू लास बनेर जल्दा आफ्नै आँखा पनि रसाउँदो रहेछ । के धनी, के गरिब सबैलाई निल्दै पो छ, कोरोना । वर्ष दिनमा पनि थामिएको छैन, कहर । तर, भेटको भोकले बेवास्ता भने बढेको छ । राज्यको लाचारीसँग हार खाएर मानिसहरू काम गर्न भीडमा छिरेका छन् । लाग्छ, अझै लासको गन्ती रोकिने छैन ।

हो, विकासका छायाँले छोएका केही सहरिया बस्तीमा मात्र अहिले कोरोनाको त्रास देखिन्छ । त्यस्ता बस्तीमा अमेरिका, चीन वा भारतमा बनेका र प्रयोगमा आइसकेका खोपका चर्चा हुन्छन् । दुर्गममा त अहिले पनि भरे माड खाने कि उसिनेको आलु कि भोकै सुत्ने ? चर्चा यति मै सीमित हुन्छ ।

त्यसमाथि गरिब हुनु अभिशाप हो । लाग्दैन थियो, तर आजकाल लाग्न थालेको छ । छाना चुहेर टाल्न नसक्नेहरूले, भोकले पेट पोल्दा आँत भर्न नसक्नेहरूले सपना पनि ठुलो देख्न हुँदैन रहेछ । भोकले मरिने हो कि भन्ने सुर्तामा दिन कटाउनेहरूले कहाँ कोरोनाको सङ्क्रमणले मरिन्छ भन्ने सोच्न सक्दा हुन् । पसिना बगाएर उब्जाएको बाली किन्ने साहुले मेहनतको पैसा नदिँदा सडकमा ढल्ने अवस्थामा पुगेका किसानले कसरी पो जीवन हर्ने अरू बहाना पनि छन् भनेर सोच्न सक्दो होलान् । सोचेका पनि छैनन् । 

यो मुलुकमा विकासको छायाँ परेको भनेको केही सहरिया बस्तीमा मात्रै हो । नत्र किन आज पनि दुर्गम भेगमा गाडी हैन हवाई जहाज दुर्घटनाका मात्र समाचार आउँछन् ? गाडी दुर्घटना हुन त सडक सञ्जाल पनि हुनु पर्‍यो नि ! एक प्रकारले खुसी कै कुरो हो, कर्णाली राजमार्ग वा अन्य पहाडी मार्गका कहाली लाग्दो सडकका कारण दुर्घटनामा मर्नेहरूको लासका चाङका तस्बिर हेर्दा सडक बनेकै राम्रो हुँदो जस्तो पनि लाग्छ । तर, राज्यको सोच मेरोभन्दा फरक हुनु पर्ने हो । सडकलाई स्तरीय बनाउने कार्यमा कम्मर कसेर लाग्नु पर्ने हो ।

हो, विकासका छायाँले छोएका केही सहरिया बस्तीमा मात्र अहिले कोरोनाको त्रास देखिन्छ । त्यस्ता बस्तीमा अमेरिका, चीन वा भारतमा बनेका र प्रयोगमा आइसकेका खोपका चर्चा हुन्छन् । दुर्गममा त अहिले पनि भरे माड खाने कि उसिनेको आलु कि भोकै सुत्ने ? चर्चा यति मै सीमित हुन्छ । जाडोमा आङ छोप्न नपाएकाहरू कुनै आइएनजिओ वा एनजिओ आइपुगोस् र राहतका नाममा केही कपडा बाँडेर जाओस् भन्ने भन्दा कढी चाहना राख्न सक्दैनन् । त्यो पनि सुकिला मुकिला सहरियाको पसिनाका दुर्गन्धसहितका । अनि कुनै लुगामा डियोड्रेन्टका हरर वासना पनि आउन सक्लान् । हाम्रा सहर जस्तै नक्कली छन्, यहाँका बासिन्दा मन । उता डियोड्रेन्ट लाउने सहरिया वर्ग अहिले आफैँ च्यातिएको पोसाकको फेसनमा परेका छन् । अब त उनीहरूको फाटेको पोसाकले भाग्यले नै सरापेकाहरूको जाडो छेक्न सक्दैन । होला, खाद्य संस्थानले राहतमा बाँडेका कुहिएको चामलबाट बनेका छ्याङले उनीहरूको आँतलाई नभए पनि आत्मालाई थोरै भए पनि शान्त बनाउँला । थोरै भए पनि निदाउने बहाना देला ।

यता हामी सहरिया भनाउँदा कोरोनाको खोपको आशामा छौँ । जसरी दुर्गम दुई छाकको कसरी जोहो गर्ने भन्ने सकसमा छ । सम्पन्न मुलुकका बासिन्दाहरूले कोरोनाको खोप लगाइ सके रे । हाम्रो भने कहिले र कसले खोपका भारी दानका नाममा पठाइ देलान् अनि पाखुरामा रोपौँला भन्ने आसमा दिन कटेका छन् । हुन त सीमित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका लागि भारतबाट खाप आएको छ रे । लगाउन पनि सुरु भइसकेको रहेछ ।

उनीहरूको उन्माद देख्दा रमाइलै लाग्दो रहेछ । गएको शनिवारको त कुरो थियो । बिहानीपख राजधानी कै एउटा निजी अस्पतालमा जानु पर्ने बाध्यता आइलाग्यो । त्यो पनि इमर्जेन्सीमा । त्यहाँ उपस्थित स्वास्थ्यकर्मीहरूका लागि शनिवार कै दिन खोप लगाउने पालो तोकिएको रहेछ । खोप लगाउन पाउने हर्षलाई उनीहरूले रोक्न सकिरहेका थिएनन् । एउटी त भन्दै थिइन्, ‘सानोमा दसैँ आउँदा जति उत्साह जाग्थ्यो, आज त्यस्तै उत्साह जागी रहेको छ ।’

उनको भावना सही हो । अब मरिँदैन भन्ने भ्रमको निवारण पनि हो । तर, त्यही बेलासँगै उभिएका एक चिकित्सकले प्वाक्क बोली दिए, ‘हिजो टिचिङमा खोप दिने बित्तिकै एक जना त ढले । धन्न केही भएन । दुब्लो पातलोलाई खोपको असर धान्न गाह्रो पर्छ कि जस्तो पो छ ।’

अनि त्यहीँ उभिएकी लुरी चिकित्सकले आफूलाई तलदेखि माथिसम्म हेरिन् । मलिनो अनुहार लगाइन् । उनको मनोभाव बुझेरै होला, ती चिकित्सकले भनाइमा सुधार ल्याए । ‘हैन, हैन तिमी त सक्छौ होला ।’

पढेकै हो, नेपालमा आएको खोप सुरक्षित छैन भनेर । सरकारी जागिर खानेले त भन्नै पर्‍यो सुरक्षित छ भनेर । तर पनि, कसले खोप लगाउन हुन्छ र कसले हुँदैन भनेर सरकारी निकायले नै सार्वजनिक गरिसक्यो । इम्युनसिस्टम कम भएका, गर्भवती, ६५ वर्षभन्दा पाका, दीर्घ रोगी, रगत पातलो गर्ने औषधी सेवन गर्ने आदिले नेपाल भित्रिएको खोप नलगाएकै जाति रे । अनि कसले लगाउने त भन्दा, हृष्टपुष्ट, बलिया, कुनै रोग नलागेकाले यो खोप लगाउने रे । खोप लगाएपछि पनि सामाजिक दुरी कायम गर्नु जरुरी छ रे । 

जुन वर्ग कोरोनालाई जित्न सक्छ, उसले मात्र लगाउन मिल्ने खोप कति प्रभावकारी होला ? समयले बताउला नै तर, यो खोपले सीमित क्षेत्रमा भए पनि ल्याएको खुसी हेर्न लायक नै रहेछ । मलाई लाग्छ, हाम्रो मुलुकमा आउँदो चुनाव र यो खोपको प्रभावकारिता लगभग उस्तै होला जस्तो छ ।

झन् खुसी त कोरोना खोप सुरु भएको दिन लागेको थियो । प्रधानमन्त्री स्वयंले, ‘तीन महिनाभित्र हामी सबै नेपालीलाई निःशुल्क खोप लगाउँछौँ,’ भने पछि त मन बुरुक्कै उफ्रेको थियो । भारतबाट चन्दामा आएको खोप लगाउन मिल्ने भनेर तोकिएको वर्गमा म पर्दिन । तर, हामी जस्ता दीर्घ रोगीका लागि लगाउन मिल्ने खोप पनि त आउला नि भन्ने लागेको थियो । म पनि बालापनमा दसैँ आए झैँ रोमाञ्चित भएको थिएँ । जसरी मैले भेटेका स्वास्थ्यकर्मी भएका थिए । मैले लगाउन मिल्ने खोप आएन भने पनि मेरा घर परिवार पत्नी–सन्तानले त तीन महिनाभित्र खोप लगाउन पाउलान् भन्ने उल्लास त छाएकै थियो । तर, के गर्नु प्रधानमन्त्रीको त्यो वाचा पनि पानी जहाज झैँ बन्यो । अब त एक वर्षभित्र पो भन्न थाले बा ! अनि त ‘उडायो सपना सबै हुरीले !’

अब त पक्का लाग्न थालेको छ, साधारण नागरिकले लामै समय कुर्नु पर्ला जस्तो छ, यो खोप लगाउन । धन्य मेरो राज्य ! जनताप्रति यति संवेदनशील कसरी हुन सक्या होला ।

हुन त राजधानी उपत्यका छाड्नु पर्छ । कोरोना त काठमाडौँमा मात्र छ कि भन्ने जस्तो भान पर्दो रहेछ । मास्क भनेको त राजधानीमा मात्र बिक्री हुन्छ कि जस्तो पनि लाग्दो रहेछ । नपत्याए एक पटक काठमाडौँ उपत्यकाको डाँडो छिचल्नोस् । मास्क लगाउनेहरू देख्न पाए त के ! हो काठमाडौँपछिका ठुला सहरियाहरू कोरोनाबाट केही त्रसित होलान् । उनीहरूका नाक र मुखमा मास्क देखिएला । नत्र अस्पतालका स्टाफ बाहेक सबैको नाक–मुखले मास्कबाट फिल्टर हावा तान्दैन । कोरोनाको कहरले सारा देश घुम्न नपाए पनि मैले घुमेका र सुनेका केही बस्तीहरूको कहानी यस्तै छ ।

कोरोनाको खोपले यो मुलुकको जमिन टेक्दा त्यसै खुसी भइएको पनि होइन । जिन्दगीका थप सपनाहरू बुनेर मुस्कुराइ रहेका व्यक्तिहरू बोल्दा बोल्दै आइसियु, भेन्टिलेटर हुँदै यमराजको पाहुना बनेको पनि देखियो । अझै देखिन्छ होला । औषधी नै नभएको यो रोग लाग्दा अस्पतालले १०–१२ लाखको बिल हसुरिएको पनि सुनियो । बाँच्नेले त पैसाले मुख नहेरेर अस्पताललाई धन्यवाद दिएका होलान् । मर्नेका परिवारले धारे हातले सराप्ने बाहेक केही गर्न सक्दैनन् रहेछन्, त्यस्ता अस्पताललाई । अस्पताल दुष्शासन बनेका छन्, राज्य कुम्भकर्णको निन्द्रामा छ । अनि चुहिने छानाबाट टिपटिप झरेका शीत र वर्षाका थोपाहरू गनेर दिनरात कटाउनेहरूलाई यो रोग लागे कसरी उपचार गर्लान् खै ? त्यसमाथि हिजोआज त राज्य, नेता त आमसभा र विरोध सभामा बाहेक कतै देखिँदैनन् । जनताका समस्या अब अर्को चुनावको नारा बाहेक केही बन्ने छैन भन्ने पक्कापक्की पनि छ ।

त्यसैले फेरि भन्न मन लागेको छ । बेफ्वाँक राज्यको म बेफ्वाँक जनता । विदेशमा नङ्ग्रा नखियाए न नचुहिएको छाना टाल्न सक्छु, नत कोरोनाको खोप मेरो नसिबमा छ । बस्, यस्तै छ आज मेरो देशको परिचय ।

कोरोनाप्रतिको संवेदनशीलताको मामिलामा राज्य अनुत्तरदायी छ । अनि हामी बेफ्वाँकको जिन्दगी बाँच्न बाध्य छौँ । सरकार समाचारका शीर्षकमा देखिन्छ । आजकाल नाम सुनिन्छ, विरोधीको भीडमा । समर्थकको अट्टहासमा । संसद बेहोस भएको भए पनि राष्ट्र त बचेको छ नि । तर, त्यही विरोधी भीडमा पलेटी कसेर बस्नेहरू समेतको मन समेत सिंहदरबारको कुर्सीले नै तानेको छ । फेरी पनि पक्का छ, जनता फेरी पनि कसैको सत्ताको भर्‍याङ बन्ने छन् । आफ्ना सपना कोही अर्कोलाई सुम्पिने छन् । नयाँ आसमा । तर, कहिल्यै पुरा भएका छैनन्, नेताहरूको सपनाका खातिर बन्धकी राखेको जनताका सपनाहरू ।

त्यसैले फेरि भन्न मन लागेको छ । बेफ्वाँक राज्यको म बेफ्वाँक जनता । विदेशमा नङ्ग्रा नखियाए न नचुहिएको छाना टाल्न सक्छु, नत कोरोनाको खोप मेरो नसिबमा छ । बस्, यस्तै छ आज मेरो देशको परिचय । राजधानी कै सडक झैँ बनेको छ, हाम्रो भाग्य । जता ततै भ्वाङ नै भ्वाङ । बस् छ त, धुलो मिसिएको आकाशको रङ्ग झैँ । फुस्रो !

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि