भगवानले हरेक जीवको आविष्कारसँगै सबैमा समान केही गुण वा दोष दिएका नै छन् ।
जीवको पनि आविष्कार ! मेसिनको पो हुन्छ आविष्कार ! धेरैको तर्क होला ? आखिर यो ब्रह्माण्डका हरेक वस्तु मेसिन नै त हुन् । सजीव, निर्जीव सबै । त्यसैले मलाई लाग्छ भगवानले सृष्टि होइन आविष्कार गरेका हुन् । समयसँगै चल्ने धेरै वस्तुको आविष्कार गरेका छन् । नयाँ नयाँ प्रयोग पनि गरी रहन्छन्, कोरोना भाइरस झैँ । केही सफल हुन्छन्, केही असफल ।
आफ्नै लय र मार्गमा अविचलित हिँडिरहने यो ब्रह्माण्ड । एउटै शिल्पीको रचना झैँ जति पटक मरे पनि जति पटक जन्मिए पनि कहिल्यै फरक अङ्ग लिएर नजन्मिने जीवहरू । अनि यो संसारमा हुने राम्रा–नराम्रा सबै कार्यलाई सधैँ टोलाएर हेरिरहने आकाश अनि पहाड । जीव जन्तुलाई बाँच्न सधैँ खुराक दिइरहने बोट–बिरुवा । सधैँ मिठा फल दिने रुखहरू । बगेर कहिल्यै नथाक्ने नदी । मुर्झाएपछि फेरि मुस्कुराउँदै उही सुगन्ध लिएर फक्रने फूलहरू । त्यही फूलको रस चुस्न कहिल्यै नछाड्ने भँवराहरू । कहिल्यै खुराफात गर्न नछाड्ने मानिसका मन । अनि यो सृष्टिका हरेक वस्तु । यस्ता सबै वस्तुमा सधैँ एकरूपता दिन सक्ने भगवानलाई म वैज्ञानिक नै भन्न रुचाउँछु । अनि यो ब्रह्माण्डमा अवस्थित सारा वस्तु उसैको आविष्कार नै त हो नि । मानिसको दिमागले अहिलेसम्म गर्न सकेकाभन्दा निकै उन्नत आविष्कारहरू ।
यो लोकको आविष्कार गर्ने वैज्ञानिकले खै के सोचे त्यस बेला कुन्नि ? जीवहरूको प्रोग्रामिङ गर्दा हरेक जीवमा माया–प्रेमसँगै हठ–घमन्ड पनि भर्न छुटाएका रहेनछन् । चाहे सूक्ष्म भाइरस–ब्याक्टेरिया होस् वा चाहे अजङका हात्ती–ह्वेल । हरेकसँग छ, मानिस झैँ हठ, घमन्ड ।
त्यही कालखण्डतिर हामी हुर्किएको चाबहिलमा एउटा सेतो साँढे देखिन्थ्यो । त्यसको स्थायी ठेगाना पशुपतिनाथ मन्दिर भए पनि चाबहिललाई पनि आफ्नै बाबुको बिर्ता झैँ मान्थ्यो । हामीलाई त्यसको माया पनि लाग्थ्यो नै । अहिले हुनेखाने नेता झैँ अजङ कै थियो त्यो पनि ।
आमा कै कोखबाट लिएर नआए पनि हुर्किएको परिवेश र संस्कारले मानिसका मस्तिष्कमा यस्ता दोष कति मात्रामा फस्टाउँछ भन्ने निर्धारण गर्दो रहेछ । जङ्गल होस् वा विशाल समुन्द्र । त्यहाँ विचरण गर्ने प्राणीको हठ कहिले काहीँ मानिसमा भन्दा ज्यादै कम पनि देखिँदो रहेछ । अनि कहिले अति नै बढी पनि । समय अनुसार ।
०००
समय त ठ्याक्क भन्न सक्दिन । क्यालेन्डरलाई मस्तिष्कमा ‘इन्स्टल’ गर्ने बानी नभएको कारण । उमेर पनि त्यति हेक्का राख्ने भइसकेको पनि थिएन नै ।
शायद त्यही कालखण्डको सेरोफेरोमा हुनुपर्छ । जति बेला केपी शर्मा ओली नेपालको इतिहास मै मात्र एक पटक सम्पन्न जनमत सङ्ग्रहमा पञ्चायतलाई सहयोग गरेर बहुदलवादीलाई हराउँदै झ्यालखाना भित्रै पहेँलो मुस्कान छरिरहेका थिए । अहिले पुष्पकमल दाहाल उर्फ प्रचण्ड अनि त्यति बेलाका छविलाल दाहाल गोरखाको आरुघाटमा हुँदा खाँदाको मास्टरी पेसा छाडेर कम्युनिस्ट बन्ने तरखर गर्दै थिए । कसलाई थाहा त्यो बेला, ती दुई हठी व्यक्तिको मुठ्ठीमा कुनै दिन यो देश नै बन्धक बन्ने छ भनेर । उनीहरूको औँलाको इशारामा यो देशका जनताले नाच्नु पर्नेछ भनेर । अनि कुनै दिन साँढे झैँ यिनीहरूको जुधाइको साक्षी सारा मुलुक बन्नु पर्नेछ भनेर ।
त्यही कालखण्डतिर हामी हुर्किएको चाबहिलमा एउटा सेतो साँढे देखिन्थ्यो । त्यसको स्थायी ठेगाना पशुपतिनाथ मन्दिर भए पनि चाबहिललाई पनि आफ्नै बाबुको बिर्ता झैँ मान्थ्यो । हामीलाई त्यसको माया पनि लाग्थ्यो नै । अहिले हुनेखाने नेता झैँ अजङ कै थियो त्यो पनि ।
कसैले पशुपतिनाथलाई चढाउँदा फलामको त्रिशूल पोलेर डामेको हुनुपर्छ । त्यो साँढेले आजीवन त्यही घाउसँग नाता गाँस्नु परेको थियो । एउटा जीवको शरीरलाई डामेर भगवानलाई अर्पण गर्ने कस्तो गलत मान्यता ? त्यही भगवानको आविष्कारलाई त्यही भगवानको अर्को आविष्कारले चरम पीडा दिने यो कस्तो चलन ? आखिर मन त सबैको एउटै हुन्छ होला नि ? मानिस होस् वा जनावर । पीडा त उस्तै हुन्छ होला नि, मानिस र जनावरको । आखिर हाड, छाला र मासुले नै बनेको त हुन्छ, सबैको शरीर । एउटा बोल्न सक्छ र’ पो उसको पीडा सबैलाई थाहा हुन्छ । बोल्न नसक्नेले सक्दैनन् अभिव्यक्त गर्न आफ्ना पीडा । यस्ता कुराले पनि मनलाई अशान्त पार्दो रहेछ ।
मैले देख्दा, पुट्ठामा डामिएर झिँगाको आहार बनिरहेको घाउबाट बग्ने रसायनलाई उसले वास्ता गर्न छाडिसकेको थियो । असह्य पीडा त हुन्थ्यो होला नि । त्यसैले बेला बेला जिब्रोले चाटेर बस्थ्यो । आफ्नै घाउलाई ।
शरीरमा त्यति ठुलो घाउ बोकेर हिँडे पनि कसैसँग झुक्न जानेको थिएन । बलिष्ठ पनि थियो । त्यसैले शरीरमा सधैँ बोकेर हिँड्नु पर्ने पीडालाई पनि उसले बिर्सिसकेको होला जस्तो लाग्थ्यो । आफैँले बनाएको भूगोलको परिधिभित्र मन नपर्ने अरू साँढेको प्रवेश वर्जित गरेको थियो । हठी थियो । तर, कुनै पनि मानिसलाई कहिल्यै सिङ्गले हानेको देखिन । तर, जहाँ आसन जमाउँथ्यो, त्यहाँबाट कसैले हलचल गराउन सक्दैन थिए ।
यस्तै अर्को थियो, कालो साँढे । बौद्धतिरको । कहिले काहीँ चाबहिलतिर आइपुग्थ्यो । बौद्धमा बनाइने छ्याङका कटले झनै बलिष्ठ बनेको । जङ्गली अर्ना झैँ भीमकाय । त्यही कटले कहिले काहीँ मत्ताउँदो पनि होला । चाबहिलतिरको बाटो तताइहाल्थ्यो । जब चाबहिल र बौद्धका साँढेहरू आमने समाने हुन्थे, माहौल बेग्लै बन्थ्यो । कुर्नु पर्दैनथ्यो, नुवाकोटको तारुका जाने दिन ।
सारा बाटो बन्द हुन्थे । गाडी गुड्न छाड्थे । चाबहिलवासीहरू थाल र नाङ्गो ठटाउँदै, सिट्ठी फुक्दै आफ्नो साँढेलाई हौस्याउँथे । उ पनि मजैले हौसिन्थ्यो । आफ्नो अधिकारको क्षेत्रमा अर्काको प्रवेशलाई सहनै सक्दैनथ्यो । त्यसमाथि हौस्याउनेहरू पनि थिए नै । दुई जनावरको जुधाइमा मानिसहरू मनोरञ्जन लिन्थे । निकै बेरसम्म दुइटा टाउको एक आपसमा ठोक्किँदा कति पीडा हुन्थ्यो होला कुन्नि ? तिनीहरूलाई पनि । लामो समयसम्म युद्धको पासा कहिले कसको त कहिले कसको पक्षमा भारी भई नै रहन्थ्यो । लामै समय चल्थ्यो, त्यो युद्ध ।
जनताले जसलाई पत्याएर आफूमाथि शासन गर्ने अधिकार दिएका थिए, उसैबाट धोका पाइएको छ । जनताको हठ हारेको छ आज, नेताका हठ अगाडि ।
अन्ततः जित त चाबहिल कै साँढेको हुन्थ्यो । बौद्धको साँढे शायद मन मनै फेरि अर्को पटक विपक्षीको सेखी झार्ने कसम खाँदै लुरुलुरु आफ्नो बाटो तताउँथ्यो । चाबहिलको साँढे झुक्किएर बौद्धको पुग्दा त्यसको हाल पनि विपक्षी कै झैँ बन्दो रहेछ । लुरुलुरु फर्किन्थ्यो, हारेर । आफ्नै सीमाभित्र । उतातिर समर्थन दुस्मन साँढेले पाउने भएका कारण । साँढेको होस् कि मानिसको जुँगाको, हरेक युद्धमा बाहिर बस्नेको समर्थनले हौसला बढाउने रहेछ । त्यही बेला जानियो । अहिले देखिँदै छ, भोगिँदै छ ।
जे भने पनि हठी थिए, दुवै । कहिल्यै हार मानेनन् । मृत्यु पर्यन्त ।
०००
सृष्टि कै उन्नत जीव मानिने मानिसले टाउकै जुधाएर अरूलाई मनोरञ्जन दिएको मैले टेलिभिजन बाहेक अन्यत्र देखेको छैन । जुँगा जुधाएको धेरै पटक देखेको छु । तर, मानिसको हठका अगाडि सबैको हठ फिक्का देखिन्छ । यो भने पक्का हो । शायद हाम्रा प्रधानमन्त्रीले दोस्रो पटक किड्नी फेरेपछि आफ्नो जुँगा कालो हुँदै छ भनेर त्यसै बोलेका होइनन् होला । जुँगा कालो हुनु भनेको मानिस पनि पट्ठो हुनु हो । उसभित्र लड्न सक्छु भन्ने आत्मविश्वास पलाउनु पनि हो । अनि कालो जुँगा त सेता जुँगा भएका थकित विपक्षीलाई त्रसित बनाउने हतियार पनि बन्दो होला । हठ गर्ने बानीमा झनै जोस भर्ने इन्धन पनि त हो, कालो जुँगा ।
अहिले यो देशलाई जुँगाको लडाइँले मात्र होइन, कतिका हठले पनि बन्धक बनाएको छ । मानिसहरू त हठी नै छन्, कोरोना भाइरस पनि हठी देखिएकै छ । फरक यति छ, मानिसका हठले यो देशको समृद्धिमा पूर्ण विराम लगाएको । एउटाले अर्कोलाई गर्नै पर्ने विश्वासमा पूर्ण विराम लगाएको छ । मन फाटेका छन् । मित्रको दुस्मनको अनि जनताको पनि । जनताले जसलाई पत्याएर आफूमाथि शासन गर्ने अधिकार दिएका थिए, उसैबाट धोका पाइएको छ । जनताको हठ हारेको छ आज, नेताका हठ अगाडि ।
कोरोना भाइरसले सारा संसारलाई गालेको छ । कति मुलुक तङ्ग्रिसकेका पनि छन् । कति सङ्क्रमणमा पनि देश बचाइ रहेका छन् । प्रजातन्त्रको मामिलामा विश्वमा म बाहेक अरू सबै कमजोर छन् भनेर हुँकार्ने अमेरिकामा राष्ट्रपति कै निर्वाचन भइसक्यो । अरू त के कुरो यो महामारीको सुरुवाती चरणमा कोरोना भाइरस नेपाल निर्यात गर्ने मध्ये एक विहारमा समेत विधान सभाको निर्वाचन भई सक्यो । हामी भने सत्तारुढ दल कै किचलो हेर्दै, कोरोना सङ्क्रमित बन्दै गइरहेका छौँ ।
कहिले काहीँ मानिसको हठ पनि पराजित हुँदो रहेछ । कहिले सूक्ष्म भाइरससँग अनि कहिले शासकको अति महत्वाकांक्षासँग । स्वास्थ्य सुविधाबाट वञ्चित हुँदा जनताले जति हठ गरे पनि सबै नेपालीले महामारीका कारण असामयिक निधन व्यहोर्नै परिरहेको छ । जनताले गर्न सकेका छैनन्, यमराजका अगाडि बाँच्ने हठ । शासकको मनमा भने जनता बचाउने हठ कमजोर बन्दै छ । नयाँ नयाँ खेलले थोत्रा बनेका छन्, जनता सामु घोक्रो सुकाएर लगाइएका सारा नारा । समृद्धिका नारा, विकासका नारा । न समृद्धि आयो नत विकास नै । ठप्प छ मुलुक, यी साँढेकf जुधाइमा ।