आयु भनेको के हो ? आयु कसरी प्राप्त गर्ने त्यस्को उपाय र आयु सम्बन्धी ज्ञान, आयु कसरी स्थिर गर्ने, सन्तुलित कसरी बनाउने आदि विषयलाई बताउने शास्त्र नै आयुर्वेद हो ।
स्वस्थ मानवहरूका स्वास्थ्यको संरक्षण र अस्वस्थ्य मानवहरूका रोगका निवारण गर्नको लागि आयुर्वेदको प्रतिपादन गरिएको हो । अझ भनौं रोग लाग्न नदिन र रोग लागेकालाई रोगबाट मुक्त गराउनका लागि पनि आयुर्वेदको रचना गरिएको हो । यसको रचयिता धन्वन्तरी ऋषि भएको पुराणहरूमा उल्लेख गरिएको छ ।
स्वस्थ मानिसले नै आयुको स्थिरता प्राप्त गर्छ । हामी सधैं भन्ने गछौं मानिस स्वस्थ हुनुपर्छ । तर, केलाई हामी स्वस्थ ठान्छौं ? त्यसमा अधिकांश अनभिज्ञ नै छौं सायद । स्वस्थ रहन समकायः(शरीर एकनाशको हुनु) , समाग्निः(जठराग्नि एकनाशको हुनु), समधातुः हाम्रो शरीरमा हुने धातुहरू (रस, रगत बाेंसो, मासु आदिको मात्रा समान हुनु) सममलः हाम्रो शरीरबाट निस्कने विकारजन्य तत्व (मल, वायु, पित्त, कफ आदिको मात्रा सधै समान हुनु) समक्रियः प्रतिदिन शरीरले गर्ने क्रियाकलापहरूमा समानता हुनु, प्रसन्नेद्रियः सधै इन्द्रियहरूलाई प्रसन्न अवस्थामा राख्नु पर्ने शास्त्रमा बताइएको छ । यसका साथै आहार, विहार निद्रा र ब्रह्मचर्यको प्रयोगद्वारा स्वस्थ हुने आयुर्वेदशास्त्रमा उल्लेख गरेको छ ।
आयुर्वेद शास्त्रमा आठ चिकित्सा पद्धतिको व्यवस्था गरिएको छ । १) शल्यतन्त्रम् २) शालाक्यतन्त्रम् ३) कायचिकित्सा ४) भूतविद्या ५) कौमारभृत्यम् ६) अगदतन्त्रम् ७) रसायनतन्त्रम् ८) वाजीकरणतन्त्रम् ।
शल्यतन्त्रम् भन्नाले शल्यक्रिया भन्ने बुझिन्छ । आधुनिक समयमा यसलाई सर्जरी पनि भन्ने गरिन्छ । त्यस्तै शालाक्यतन्त्रमा घाटीभन्दा माथिल्लो भाग नाक, कान घाटी, मुख आँखाआदि अङ्गमा भएको समस्यालाई पहिचान गरी त्यसको उपचार गरिन्थ्यो । कायचिकित्सा उपचार पद्धतिमा शरीरको सम्पूर्ण भाग जाँची ज्वरो आउने, मूर्छा पर्ने के–कस्ता रोग छ, त्यस रोगको नाश गर्ने उपाय प्रतिपादन गरेको थियो । दैविक प्रकोपबाट र ग्रहहरूको अशुभ फलदशाबाट पीडित भएकाहरूको पीडा कम गर्न शान्तिपाठ हवनादि कार्य गरेर उपचार गर्ने पद्धतिलाई भूतविद्या भनिन्छ । कौमारभृत्य अन्तरगत धुम्रपान, मद्यपान गर्नाले हुने रोग, दूषित, दुर्गन्ध र तत्वहीन भोजन खानाका कारणले उत्पन्न भएको रोगव्याधीलाई नाश गर्ने उपाय पर्दछ । अगदतन्त्र भन्नाले जीवजन्तुले टोकेको स्थितिमा गरिने उपचार हो । सर्प, मुसा कुकुर कुनै विषालु किराले टोके पश्चात् त्यसको विष नाश गर्न गरिने उपचार हो । बल, शक्तिको कमीले वृद्ध अवस्थामा हुने रोग निवारणका लागि रसायनतन्त्रको प्रयोग गरिन्छ । बालक, वृद्ध–वृद्धामा शक्तिको विकास गर्न पनि यो पद्धतिबाट उपचार गरिन्छ । वाजीकरणतन्त्रमा शरीर दुब्लो, पातलो, कपाल झर्ने जस्ता समस्याको उपचारको वर्णन गरिएको छ । यी आठ चिकित्सा पद्धतिहरूको आयुर्वेद शास्त्रसहित चरकसंहिता, सुश्रुतसंहिता, वाग्भटसंहिता लगायतका अन्य ग्रन्थमा विस्तारले वर्णन गरिएको छ ।
अहिलेको यो कोरोना महामारीको विषम परिस्थितिमा देश-विदेशमा औषधि बनाउँनमा कयौँ रकम खर्च भइरहेको छ । तर, आयुर्वेद चिकित्सामा भने त्यति ध्यान दिएको देखिँदैन । हरेक झार औषधी बन्ने गुर्जाे, यष्ठीमधु (जेठीमधु), अश्वगन्धा, शिलाजित जस्ता जडीबुटी पाइने हाम्रो देशमा आयुर्वेद चिकित्सा पद्धतिलाई वैकल्पिक रुपमा लिदै आइएको छ । यसलाई प्राथमिकतामा राखेको देखिँदैन । बिरामी तथा संक्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको यस समयमा आयुर्वेद चिकित्सा पद्धतिलाई प्राथमिकतामा राख्नु आवश्यक छ ।सम्बन्धित पक्षले यसबारे बेलैमा सोच्न जरुरी छ ।
दुर्लभभन्दा दुर्लभ वनस्पति हाम्रो आफ्नै देशमा उपलब्ध भए पनि हामीले त्यसको सही उपयोग गर्न सकिरहेका छैनौं । सरकारले आधुनिक चिकित्सा पद्धति जस्तै यसलाई पनि सँगै लिएर जानुपर्ने आजको प्रमुख आवश्यकता भइसकेको छ । महर्षिहरूले भनेका छन्ः– “बुद्धिमान् मानिसहरूले धर्म, अर्थ, सुख, साधनालाई बुझि आयु रक्षाको निमित्त नित्य आयुर्वेदको अध्ययन वा प्रयोग गर्नुपर्छ ।” यही भनाइको अवलम्बन गर्नुपर्ने अबको माग पनि हो ।
ब्रह्माण्डमा जो जहाँ जन्मन्छ उसलाई त्यहाँ नै उत्पन्न भएको औषधि हितकारी हुन्छ । शास्त्रमा भनिएकै छः
“यस्य देशस्य यो जन्तुस्तज्जं तस्यौषधं हितम् ।”