मुलुक फेरि त्यही कथा दोहराउँदै छ, जहाँ जनताको मतको सधैँ अनादर भएको छ । जनता चाहन्छन्, स्थिर सरकार बनोस् अनि देश समृद्धितिर लम्कियोस् । तर, नियति नै यस्तै छ । जनताले जुन दललाई बहुमत दिएर पुरा समय काम गर्ने ‘म्यान्डेट’ दिन्छन्, त्यो सरकार असमयमा नै ढलिहाल्छ । इतिहास यस्तै बोल्छ ।
हामी इतिहास मै पहिलो पटक गणतान्त्रिक व्यवस्था भोगिरहेका छौँ । त्यसमाथि हामीले अपनाएको यो हाम्रा लागि बिलकुलै नयाँ गणतान्त्रिक सङ्घीय व्यवस्थालाई कसरी व्यवहारमा सफल बनाउन सकिन्छ भन्ने चुनौतीको सामना पनि गरी नै रहेका छौँ । हामी ३ वटा सरकारले चलाउने देशका नागरिक हौँ । ३ तहलाई कर बुझाउने नागरिक पनि । यो व्यवस्थाले मुलुकको कति कायापलट गर्न सक्ला ? बुझी सकिएको छैन । यसको सकारात्मक र नकारात्मक पक्षको जोड–घटाउका दिन त आउनै बाँकी छ ।
संघीय गणतान्त्रिक नेपालको संविधान जारी भएपछि निर्वाचित पहिलो प्रधानमन्त्री केपी शर्मा ओली नै हुन् । त्यो पनि झन्डै दुई तिहाइ बहुमतका साथ । त्यो दुई तिहाइ जनमतको बलमा मुलुकलाई समृद्धितर्फ कसरी लैजाने भन्ने सोच पाल्नुपर्ने प्रधानमन्त्रीमा आफू गणतन्त्रको राजा भएको दम्भको नशा चढ्नु हुँदैन थियो । नत्र उनी आफूलाई पञ्चायतका शक्तिशाली राजा महेन्द्रसँग कहिल्यै तुलना गराउने प्रयास पनि गर्दैन थिए होलान् ।
प्रम ओलीमा तानाशाही सोच हाबी भएको छैन भनेर झुटो बोल्न र लेख्न कसैले सक्दैन । उनका हनुमानहरू बाहेक । तर, सारा भूगोल, अध्यात्म र विज्ञानका ज्ञाता छन्, हाम्रा प्रधानमन्त्री । इतिहासको त कुरै नगरौँ । जब तानाशाहको उदय हुन्छ, त्यसलाई जरैदेखि उखेल्न जनता सडकमा ओर्लन बाध्य हुन्छन् । नेपालमा निरङ्कुशता फालिएका कति इतिहासका उनी साक्षी छन् भने कति इतिहासका अभियन्ता पनि । उनी निकोलस, चाउचेस्को, इदि अमिन, सद्दाम हुसेन जस्ता मै हुँ भन्ने शासकका शासन पतन भएको इतिहास पढेका–देखेका प्रधानमन्त्रीले यो समयमा तानाशाही प्रवृति देखाउन खोज्दा कसले पो कम्पारा नतात्ला र ?
हुनत ओली टिकिरहे पनि मुलुक समृद्धितर्फ जाने कुनै छाँट देखिएको छैन । यस्तो जटिल अवस्थालाई जित्न सकेको खण्डमा ओलीको अहम् झन् कति बढ्ला ? सोझो अनुमान लगाउन सकिन्छ । अनि त्यसपछि उनको तानासाही चरित्रलाई झन् कति शक्ति गाभिँदो हो ? त्यो पनि सोझै अनुमान लगाउन सकिन्छ ।
होला अहिले सतहमा आएका सबै विषय सिधा उनको पार्टी नेकपासँग सम्बन्धित नै छ । तर, उनका हर्कतले हामीले भर्खरै अपनाएको शासन पद्धतिलाई पनि सही ढङ्गले अघि बढ्न दिँदैन । जनताको मतले राष्ट्रको कार्यकारी प्रमुख बनेका व्यक्तिले हिजोका राजाले झैँ शक्ति प्रदर्शन गर्छु भन्न कदापि मिल्दैन र सक्दैन पनि ।
हिजो पो राजाका हातमा सेना थिए, प्रहरी थिए, प्रशासन थिए । तर, आज कुर्सीमा बस्नेले सम्मानमा मात्र सलामी पाउने गर्छ तर, उसको व्यक्तिगत स्वार्थका लागि राज्यको कुनै अङ्ग सती जान सक्दैन । त्यो पनि बुझ्नु जरुरी छ । नेपथ्यबाट आइरहेका सङ्कटकालका धम्किले प्रधानमन्त्रीको कुर्सीको आयु केही समय बढाउन त सक्ला । तर, उनको गर्विलो इतिहास बोकेको राजनीतिको आयु भने टुङ्गिनेछ ।
अर्को कोणबाट हेर्ने हो भने ओलीको पतनसँगै यो मुलुकमा सङ्घीयता र यो व्यवस्थाको पतनको पनि सुरुवात हुनेछ । यसमा कुनै दुइमत छैन । ओलीको दल फुटेर दुइटा बन्यो भने भोलि जहाँ पनि बहुमतमा रहेको नेकपा स्थानीय तहदेखि, प्रादेशिक तहसम्म दुई चिरामा बाँडिन्छ नै । त्यसपछि केन्द्रमा मात्र होइन, गाउँ पालिकादेखि प्रदेश सभासम्म भागबन्डाका नयाँ खेल सुरु हुनेछन् । कुर्सीका लागि जस्तो सुकै खेल रच्न तयार हाम्रा जस्ता नेताहरू कै कारण यो मुलुक फेरि एक पटक सङ्कटमा पर्नेछ । जसको सिधा अर्थ यो व्यवस्थाको पनि विकल्प अगाडि सारिनु हुनेछ ।
हुनत ओली टिकिरहे पनि मुलुक समृद्धितर्फ जाने कुनै छाँट देखिएको छैन । यस्तो जटिल अवस्थालाई जित्न सकेको खण्डमा ओलीको अहम् झन् कति बढ्ला ? सोझो अनुमान लगाउन सकिन्छ । अनि त्यसपछि उनको तानाशाही चरित्रमा झन् कति शक्ति गाभिँदो हो ? त्यो पनि सोझै अनुमान लगाउन सकिन्छ ।
ओलीले प्रदेश सरकारलाई नाकारा साबित गरिदिई सके । ७ प्रदेश अहिले साढे सातको दशा सकिने दिन मात्र कुरेर बसेका छन् । उनीहरूसँग गर्ने काम केही छैन । प्रदेश सरकार पनि छ है ! भन्ने अवस्थामा पुग्न सकिएको छैन । मुलुक सङ्घीयता गए पनि यो व्यवस्थाको अवधारणा अगाडि सार्नेहरूलाई ‘बाँदर बाठो’ भएको रूपमा चित्रित गर्न थालिसकिएको छ । सङ्घीयताको भविष्य छैन र यसलाई खारेज गर्नु पर्छ भन्ने आवाज बलियो बन्दै छ ।
यो आवाज उठ्नुमा पनि ओली नै कारक छन् । उनी नाली निर्माणदेखि स्याटेलाइट निर्माणसम्ममा आफैँ जस लिन चाहन्छन् । चाहे त्यो सिंहदरबारको एक्सन रुममा बसेरै किन नहोस् । अनि कसरी पाउँछन् त अरूले काम । जीर्ण शरीर बोकेर थकित अनुहार बोकेर हिँड्ने ओलीले आफ्नो मानसिकताको भने चरम सदुपयोग गरेका छन् । तर, मानसिकता बलियो हुँदैमा देश बनाउन सकिँदैन भन्ने उदाहरण पनि उनी हुन् । हाम्रा प्रधानमन्त्री स्वस्थ्य भइदिएका भए त कोरोनाको महामारीमा बालुवाटार बाहिर निस्कन्थे होला ? बाहिर के भइरहेको छ भन्ने अवलोकन गर्थे होला ?
तर, उनको शरीरले अब उनलाई आसेपासेको कुरामा भर पर्नुपर्ने बनाइदिई सकेको छ । जसको सिधा असर उनको कुर्सीमा परेको छ । मानिसको आत्मबल जति बलियो भए पनि उसको शरीर कमजोर हुँदा आरामको आवश्यकता पर्छ नै । यो केपी ओलीले आफ्नो शरीरको ख्याल गर्नुपर्ने समय हो । सत्ताको खेलमा लागेर कतै तनावको बढ्दो ग्राफसँगै आफ्नै आयु त छोट्टाइ रहेको त छैन ? भनेर सोच्नुपर्ने अवस्थामा आइसकेका छन्, ओली । सत्ता त जान्छ, आउँछ । ज्यान गयो भने फर्केर आउँदैन । सोच्ने कि ?
गणतान्त्रिक सङ्घीय व्यवस्था त अहिले ताते ताते गर्ने अवस्थामा पनि पुगेको छैन । यो व्यवस्थाबाट मुलुकलाई समृद्धितर्फ लैजाने हो भने यसलाई अझ धेरै स्याहार–सुसार गर्नै बाँकी नै छ । तर, यो व्यवस्थाको जन्मसँगै उदाएका नव सामन्तीहरू नै यसले घाँटी रेट्दै छन् । ती सबै कार्यलाई प्रश्रय दिने र ढाकछोप गर्ने कार्य बालुवाटारबाटै हुने गरेको छ । अनियमितता र भ्रष्टाचारले आकाश छोएको छ । शीतल निवास बालुवाटारको कठपुतली बनेको छ । राष्ट्रियता नारामा मात्र सीमित भएको छ । जनतालाई मूर्ख बनाउने र आफ्नो सत्ता जोगाउने नयाँ कला । नत्र लिम्पियाधुरा, लिपुलेक, कालापानी नक्सामा मात्र होइन जमिन नै फिर्ता ल्याउने ठोस पहल भइसकेको हुनुपर्थ्यो अहिलेसम्म । भारतले कहिले वार्तामा बोलाउँला र’ अनि कुरा उठाउँला भनेर कुरेर बस्दैन थियो, सरकार ।
नेकपाको शक्ति सङ्घर्षले भोलि जुन रूप लिएपछि त्यसले जनताको मुहारलाई हँसिलो बनाउन सक्दैन । यो जनताका हितका लागि भएका सङ्घर्ष पनि होइनन् । ओलीले सत्ता त्यागे भने पनि बस्, हुन्छन् त केही समयको अन्तरालपछि यस्तै अर्को शक्ति सङ्घर्ष ।
हुनत हामीले अङ्गालेको व्यवस्थामा राष्ट्रपतिमा राजनीतिक ज्यान–प्राण हुनु हुँदैन । तर, शीतल निवासले समेत राजनीति मन पराउन थालेपछि ओलीको ऊर्जा झन् बढेको छ । उनी कसैलाई नटेर्ने भएका छन् । आफ्नै पार्टीका आफू समान अर्का अध्यक्षलाई ढाँट्न सक्ने व्यक्तिले जनतालाई झन् कति ढाँट्न सक्लान् ?
यो चरित्र ओलीमा मात्र होइन, भोलि प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा बसे पनि यही चरित्र दोहरिने छ । आखिर भोलि ओलीको सट्टा प्रधानमन्त्री बन्न सक्ने जो कोहीको नेतृत्व यो मुलुकले देखिसकेको छ । उनीहरूबाट केही आस गर्नु भनेको पशुपतिनाथको बाहिर बस्ने कुकुरले भित्र बसेको बसाहाको अण्डकोष कहिले झर्ला र खान पाउँला भनेर प्रतीक्षा गरे झैँ हुनेछ । त्यो कुकुर थाक्छ, प्राण त्याग्छ तर उसको सपना कहिल्यै पुरा हुन सक्दैन । जसरी हिजो भएका थिएनन् र भोलि पनि हुने छैन ।
कति हठात् भएका होलान्, युवा पुस्ता यो सरकारको कामले । नत्र भविष्य बनाउन कम्मर कस्नुपर्ने बेलामा अनसनमा बस्दैनन् थिए होलान्, उनीहरू । अब उनीहरूको माग पनि सम्बोधन हुनु पर्छ । पार्टीको आन्तरिक राजनीतिमा अल्झिएर जनताको भविष्य अन्धकार बनाउन चुनिएका होइनन्, उनीहरू । आलिसान बङ्गलामा राज गर्ने सम्पत्ति कमाउन मत दिएका होइनन्, जनताले । अब पनि नसोच्ने हो भने कहिले सोच्ने ? अब पनि नबदलिने हो भने कहिले बदलिने ? यसरी नै युवा पुस्तामा वितृष्णा बढ्दै जाने हो भने यो भूगोल त रहला तर देश रहला कि नरहला ? एक चोटि सोच्ने कि !
अब पालो आएको छ । अहिले आफूलाई वरिष्ठ ठान्ने सबै नेताहरूले राजनीतिक अवकाश लिने । अनि युवापुस्तामा सत्ता र शक्ति हस्तान्तरण गर्ने । सत्तामा पुग्न सक्ने जुनसुकै दलका पहिलो र दोस्रो तहका नेताबाट यो मुलुकको कायापलट हुन्छ भनेर ठाँट्न सक्ने पनि कुनै ठाउँ छैन । त्यसैले अबको नेपाल युवाको हातमा जानु पर्छ ।
नेकपाको शक्ति सङ्घर्षले भोलि जुन रूप लिएपछि त्यसले जनताको मुहारलाई हँसिलो बनाउन सक्दैन । यो जनताका हितका लागि भएका सङ्घर्ष पनि होइनन् । ओलीले सत्ता त्यागे भने पनि बस्, हुन्छन् त केही समयको अन्तरालपछि यस्तै अर्को शक्ति सङ्घर्ष । जसले मुलुकलाई फेरी एक पटक अनिश्चितताको बन्दी बनाउने छ । जसरी अहिले ओलीका धम्कीहरूले मुलुक सङ्कटमा परेको छ ।
अब छाड्नुस्, प्रधानमन्त्रीज्यू ! धम्कीको राजनीति गर्न पनि । अब त्याग्नुस्, बाल हठ । अब सक्नु हुन्छ भने मुलुकले स्थिरता कसरी पाउँछ, त्यो कार्य गर्नु र गराउनुस् ! दिनुस् सबै मिलेर एउटा मौका युवा पुस्तालाई !