आज मन विचलित छ । आँखामा नवराज विक र उनका साथीहरू नाचिरहेका छन् । उनीहरूसँग कहिल्यै देख भेट भएन, चिनापर्चीको त के कुरा । तरपनि, तिनीहरू आफ्नै हुन्, जस्तो लाग्न थालेको छ । जो प्रेमलाई पुज्छ, मायालाई ईश्वर मान्छ, त्यसप्रति मेरो सम्मान सधैँ रहन्छ । त्यसमाथि उनीहरू त प्रेम कै लागि सहिद भए । एउटा असफल प्रेम कथा रचेर महान् कथाका नायक बनेर ।
नवराज विक ! एउटा असफल प्रेम कथाका सफल नायक । सफल यस अर्थमा कि जो आफ्नो प्रेमका खातिर मृत्यु स्वीकार गर्न सक्छ ऊभन्दा ठुलो नायक अरू कोही हुँदैन । हो देशका लागि ज्यान दिने त्योभन्दा अझै माथि रहन्छ नै ।
लाग्थ्यो, लेखिएका–कहिएका प्रेमका कथा सब झूट हुन् । मायामा कसले पो ज्यान लिन्छ र ? कसले पो दिन्छ र ?
लाग्थ्यो, लैला–मजनु, हिर–राँझा, रोमियो–जुलियट सबै राम्रा लेखकका उत्कृष्ट रचना मात्र हुन् । तर, कलमबाटै जन्माइएका ती पात्रहरू कतै राम्रा लेखकका कल्पना मात्रै होइन कि भन्ने पनि लाग्न थालेको छ । कसैले भोगेको वा नजिकबाट देखेको दृश्यलाई शब्दमा उतारेका रहेछन् भन्ने पनि लाग्न थालेको छ ।
भनिन्छ, प्रेम अमर हुन बिछोड आवश्यक छ । जाजरकोटका नवराज विकको प्रेमका खातिर उनीसहित आधा दर्जन युवाले जीवन कै आहुति दिनु पर्यो । तरपनि, प्रेम असफल नै रह्यो, उनीहरूका प्रेमको कथा अमर बन्यो । उनले त प्रेमिकाको हातमा हात राखेर मृत्यु अङ्गाल्न पनि पाएनन् । प्रेमिकाले जिन्दगीको अन्तिम श्वास लिँदै गरेका प्रेमीको आँसु पनि पुछ्न पाइनन् । जीवनको अन्तिम श्वाससम्म सँगै रहने बचनको पालना पनि गर्न पाइनन् । कलमबाट निस्किएको प्रेमका नायक नायिका झैँ । शायद प्रेमिकाको एक झल्कोका लागि उनको आत्मा अहिले पनि तड्पिरहेको होला । जसरी उनकी प्रेमिकाको मन व्याकुल बनेको होला । बिलकुल फरक हुँदो रहेछ, लेखिएका र भोगिएकाका बिछोडका कथा ।
सारा गाउँ खनिएर आउँदा कति अत्तालिएको थियो होला, ती केटाहरूको मन । शरीर मात्र होइन मन पनि कति काँप्यो होला ? हुलको हरेक निर्दयी प्रहारसँगै नजिकिँदै गएको काललाई देख्दा । एउटा व्यक्ति वा समाजले कुन हदसम्म राक्षसी चरित्र अङ्गाल्न सक्छ भन्ने नजिर कोरेको छ त्यो सामूहिक नरसंहारले ।
जातपात, छुवाछुत अनि प्रेमका नाममा यस्तो क्रूर नरसंहार ? त्यो पनि हामीले गर्व गरेर भन्ने २१ औँ शताब्दीमा । तर, जे भने पनि हामीलाई लास गन्न सिकाउने भूगोलमा रचिएको थियो, नवराज विक र साथीहरूको हत्या गर्ने षडयन्त्र । हामीले राम्राका लागि कति नराम्रा नजिर पनि कोरेका रहेछौँ बुझ्नै पर्छ । तर, हाम्रो धर्म संस्कारले यस्ता हत्यालाई कहिल्यै स्विकार्दैन, पचाउँदैन ।
प्रेम त भगवानको उत्कृष्ट रचना हो । हरेक जीवले विपरीत लिङ्गीको मनमा तरङ्ग ल्याउने माध्यम हो । होला, प्रेमका भाव फरक हुन सक्लान् । मायाका रूप फरक होलान् । तर, सार फरक हुँदैन । माया त आखिर माया न हो । कहाँ देख्छ धनी–गरिबमा भिन्नता । कहाँ मान्छ र जातपात अनि धर्मका विभेद । देख्छ त बस्, भगवानले दिएको आफू जस्तै अर्को प्राणीको मन ।
कति कसम खाएका थिए होलान्, नवराजले प्रेमिकाको आँखामा हेरेर । कति वचन दिएका थिए होलान्, रानी बनाएर पाल्छु भनेर । समाजले कोरेको दलित र ठुला जातिको भिन्नता सम्झँदा मनलाई कति उदास बनाएका थिए होलान् । अनि समाजले रचेका सारा बन्धन तोडेर अन्य कतै जीवन बिताउने निर्णय गर्दा कति कठोर बनाएका थिए होलान्, त्यही मनलाई । त्यो कलिलो तर कसिलो प्रेमलाई हत्या जस्तो जघन्य अपराधबाट टुटाउने कल्पना नै कसरी गर्न सके होलान्, प्रेमका खलनायकहरूले ।
मलाई सधैँ लाग्थ्यो । त्यति कठोर छैन, हाम्रो समाज । माया गर्ने मनलाई बिछोडको आदेश दिने । कसले पो सक्ला र ? चखेवा र चखेवालाई बिछोडको आदेश दिन । अनि कसले पो सक्ला र ? हाँगामा रमाएर फूल बन्ने दिनको पर्खाइमा बसेको कोपिलालाई टिप्न ।
मौरीले जति चुसे पनि जसरी कुनै पनि फूल कहिल्यै बिटुलो हुँदैन । त्यही जुठो फूलले भगवानको शिरमा चढ्ने सौभाग्यबाट कहिल्यै विमुख पनि हुनु पर्दैन । भगवानले मौरी र फूलको अगाध प्रेमलाई त मनबाट स्विकारेका छन् भने उनले सृष्टि गरेको मानिसले कसरी प्रेमको अपमान गर्न मिल्ला र ? त्यही कारण मायाले पनि कहिल्यै भेदभाव मान्दैन, जातपात मान्दैन । साँचो माया गर्ने मन सधैँ चोखा हुन्छन् । माया गर्नेको जात त सबैभन्दा माथि हुन्छ, उच्च तहको । तर, अब लाग्न थालेका छन् । यस्ता सारा भनाइ साहित्य लेखनका लागि मात्र रहेछन् । वास्तविक जीवन र ‘रोमान्टिक’ कथामा निकै भिन्नता हुँदो रहेछ ।
हामीले रचना गरेको समाज किन यस्तै पापी छ र ? अनि हामी कति दुष्ट बन्न सकेको ? भविष्यका सपना आँखाभरि सिउरिएर मायाको संसार बसाल्ने सपना देख्ने नवराज विक र उनको मायाको साक्षी बन्न तयार उनका साथीहरूलाई भेरीको भेलमा बगाउन सक्ने । छ्या ! घिन लागेर आउँछ आफैँलाई आफैसँग म पनि यही मुलुक अनि त्यही समाजको अङ्ग हुँ भन्ने सोच्दा । खसखस लागेर आउँछ, नमारेको भए हुँदैन थियो ? प्रेमका ती कलिला संवाहकहरूलाई ।
सारा गाउँ खनिएर आउँदा कति अत्तालिएको थियो होला, ती केटाहरूको मन । शरीर मात्र होइन मन पनि कति काँप्यो होला ? हुलको हरेक निर्दयी प्रहारसँगै नजिकिँदै गएको काललाई देख्दा । एउटा व्यक्ति वा समाजले कुन हदसम्म राक्षसी चरित्र अङ्गाल्न सक्छ भन्ने नजिर कोरेको छ त्यो सामूहिक नरसंहारले । अनि कतिसम्म सहन सक्छ एउटा प्रेमिल मनले, त्यो नजिर पनि लेखिएकै छ । कति निर्दयी बन्न सकेका प्रेमका विरोधीहरू । भगवानको अनुपम सृष्टिलाई मास्न उद्देलित समाजका ठुला जात भनाउँदालाई कुन धर्मले दिएछ, माया गर्नेको ज्यानै लिने अधिकार ? अनि कुन शास्त्रले दिएछ, जातपातका ढोङ रच्ने अधिकार ?
सामूहिक नरसंहार गर्दा पनि किञ्चित बिचल्ली नहुने कुन चट्टानले बनेको मन रहेछ, त्यो बस्तीको । कानुनले समेत बन्देज लगाएको मृत्यु दण्डलाई प्रेमको बहानामा ब्युँताउने को–को रहेछन् त्यो समाजको ठेकेदार ? भगवानको सृष्टिलाई चुनौती दिएर धर्मको नाममा समाजले रचेका ढोङलाई पालना गर्ने गराउने नाममा महापाप भएको छ । घिन लागेर आउँछ आफैँलाई आफैँसँग, त्यो नरसंहार मेरै माटोमा भएको थियो भन्ने सोच्दा पनि । बस्, आशा छ कानुनले उनीहरूलाई सही सजाएँ दिनेछ । सजायले भत्किएका मनहरूलाई जोड्न त नसक्ला ? हत्या भएकाहरूको परिवारको आँसु त पुछ्न नसक्ला ? तर माया गर्ने मनहरूलाई केही राहत भने दिने छ । मारिएकाको आत्मालाई केही शान्ति पनि दिने नै छ ।
केही अपवादलाई छाड्ने हो भने संसारमा कुनै अपराधको सजाएँ मृत्यु हुनै सक्दैन । माया गर्नेको मन त झन् कमलो हुन्छ भन्छन् । कसरी मार्न सकेका होलान्, त्यही मायालु मन बोकेर मायाको खोजीमा आएकाहरूलाई ? अनि कति रोइरहेका होलान्, ती प्रेमिकाका आँखाहरू । प्रेमीको लास आफ्नै आँगन अगाडि ढलेको हेर्नु पर्दा । अनि कति जलिरहेको होला त्यो मन, हातमा हात राखेर सँगै जिउने मर्ने कसम खाएका प्रेमीको शरीर कालका लागि तड्पिएको पिडादायक क्षण हेर्नु पर्दा । रगतले लतपतिएका मायालुको लास हेर्नु पर्दा ।
हाम्रो सोच हिजो जहाँ थियो, आज त्योभन्दा पनि निकृष्ट बनेको रहेछ । त्यो आधा दर्जन शरीरको मात्र हत्या थिएन । मानिस कुनै जातसहित जन्मिँदैन भन्ने सोच राख्नेहरूको पनि सामूहिक हत्या थियो । समाजलाई विभेदमुक्त बनाउने चाहनाको पनि नरसंहार थियो ।
भेरीको भेलमा डुब्दै जिन्दगीलाई छाड्दै गर्दा र कालले पासोमा जकड्दै गर्दा जीवनका खातिर ती युवाहरूले कति सङ्घर्ष गरे होलान् ? कालसँग हार मान्दा उनीहरूका आँखाबाट निस्किएका आँसुले भेरीलाई नै कति लज्जित बनायो होला ? अनि उनीहरूले सँगालेका भविष्यका कति सपनाहरू क्रमशः घट्दै गएको श्वास प्रश्वाससँगै अँध्यारोमा विलीन हुँदा ईश्वरको मन पनि तड्पियो नै होला ? तर, सबै विवश बनेछन्, दुष्टहरूका षडयन्त्रमा । कति निर्दयी रहेछन्, ती हातहरू जसले छोराहरूको ज्यान लिएर उनीहरू परिवारको मनमा चट्याङ बजारे । छोराहरूको मुस्कानमा रमाउने ओठलाई आँखाबाट झर्ने आँसुले गायब बनाइदिए । उनीहरूको लाससँगै बगायो होला आमाबाबुको आस र भरोसलाई पनि भेरीले । अब फेरी कहिल्यै नब्युँतिने गरी ।
अनि मायालुसँग जिउने–मर्ने कसम खाँदा फुरुक्क हुने मन कति तड्पियो होला ? दुष्टहरूको हतियारको हरेक प्रहारसँगै । लाग्थ्यो, मेरो भूमिमा प्रेमका लागि कसैले ज्यान गुमाउनु पर्दैन । तर, सबै भ्रम रहेछ । लाग्थ्यो, यो त शिवको भूमि हो, जहाँ माया गर्नेका लागि असीमित क्षितिज छ । अनि लाग्थ्यो, यो बुद्धको पनि भूमि हो जहाँ हत्या हिंसाका लागि कुनै स्थान छैन । अब सबै मिथ्या लाग्न थालेको । लाग्न थालेको, कतै यो राक्षसी भूमि त बनेन । जहाँ हरेक दिन दुष्टहरूको सङ्ख्या बढ्दो छ ।
यो भूमिलाई त भगवानको सिर्जना मानिन्थ्यो । अनि ऋषिमुनिको वासस्थान । तर, हैन रहेछ । यथार्थ झैँ लाग्ने सबै भनाइ किंवदन्ती रहेछन् । झुटको खेती रहेछ । आफ्नै मनलाई बहकाउने बहाना मात्र रहेछ ।
समाजमा व्याप्त जातपात, छुवाछुत, धनी–गरिबबिचको विभेद अन्त्य गर्ने भनेर चालिएको सशस्त्र द्वन्द्वको उद्गम भूमि पनि हो, नवराज विक र साथीहरूसँगै प्रेमिल मनको हत्या गरिएको त्यो भूगोल । विभेदमुक्त समाजको नाराका लागि सहिद बनेका हजारौँ आत्माहरूले कसरी सराप्दै होलान्, ती हत्याराहरूलाई । अनि कसरी सराप्दै होलान्, ती ऋषिमुनिहरुले । जसले यो धर्तीलाई पावन बनाएका थिए । प्रेमका दर्शन दिएका थिए, मायाको अर्थ बुझाएका थिए । त्यो नरसंहारसँगै हत्या भयो प्रेमका ती परिभाषाको पनि । कालो दाग लाग्यो, मानवताको परिभाषामा पनि । यो पावन भूमिमा ।
हाम्रो सोच हिजो जहाँ थियो, आज त्योभन्दा पनि निकृष्ट बनेको रहेछ । त्यो आधा दर्जन शरीरको मात्र हत्या थिएन । मानिस कुनै जातसहित जन्मिँदैन भन्ने सोच राख्नेहरूको पनि सामूहिक हत्या थियो । समाजलाई विभेदमुक्त बनाउने चाहनाको पनि नरसंहार थियो । भयानक पिडासँगै निस्किएको नवराज विक र उनका साथीहरूको प्राणसँगै यो समाजको चरित्र पनि नाङ्गिएको छ । दया–माया जस्ता शब्द बृहत् शब्दकोशमा मात्र सीमित हुने क्रमले निरन्तरता पाएको छ ।
प्राणका लागि तड्पिरहेको शरीरमा हतियारले थप प्रहार गर्दै दुष्टताको पराकाष्ठा नाघ्नेले प्रेमको मात्र होइन मानवता कै हत्या गरेका छन् । जिउने चाहनामा तड्पिरहेका मानिसको बिन्तीलाई समेत अस्वीकार गर्ने हाम्रो समाज कतिसम्म निर्दयी बन्न सक्छ भन्ने प्रमाण भेटिएको छ । आफूलाई जति विकसित जीव माने पनि हामी कति रुढीवादी पुरातन सोचमा जकडिएका रहेछौँ भन्ने सोच्दा पनि मन काँप्छ । चित्त दुख्छ ।
समाजमा नराम्रोसँग झाँगिएको यो जालोबाट मुक्ति पाउन त्यति सहज पनि छैन । किनकि नवराज विकको हत्या यो समाजमा उपल्लो भनाउँदा जातसँग प्रेम गर्ने पहिलो वा अन्तिम दलितको हत्या पनि होइन । यहाँ हिजो मात्र होइन भोलि पनि मारिने छन्, नवराज विकहरू । जबसम्म धर्मको आडमा कुतर्कलाई प्रोत्साहन गरिन्छ । अनि जबसम्म समाजको चरित्रमा परिवर्तन आउन सक्दैन । हो तबसम्म मारिइरहने छन्, नवराज विकहरू ।
भनिन्थ्यो, मायाले भगवानको मन पनि पगाल्न सक्छ भनेर । तर, अहिलेसम्म पग्लिएको छैन, जातभातका नाममा हत्या–हिंसा गर्नेको मनहरू । चट्टानका ती मनहरू ।
यही विभेदपूर्ण समाजको बासिन्दा, म एउटा बाहुनको छोराले तिमी दलित र तिम्रा साथीहरुलाई के नै दिन सक्छ र अब नवराज विक ! बस्, केही थोपा आँसुले लतपतिएको हार्दिक श्रद्धाञ्जली बाहेक । तिमीहरुको आत्माले शान्ति पाओस्, ‘रेस्ट इन पिस’ !