बैशाख १५, २०८१, शनिबार
               

राजा वीरेन्द्र छमछमी नाचेपछि...

बुद्धिमान तामाङ
जेठ १९, २०७७

ADVERTISEMENT

राष्ट्रिय जीवनमा एउटा दिन वा कुनै घटना असामान्य बनेर आउँछ । जेठ १९ नेपाल र नेपालीका लागि त्यस्तै अप्रत्याशित र असामान्य दिन हो । जुन दिन नेपालीले आफ्ना अभिभावक राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका धेरै सदस्य गुमाए । राजा वीरेन्द्रको वंश नाश भयो ।

तिनै राजा वीरेन्द्र जोडिएर मेरो जीवनको पनि एक दिन असामान्य बनेर आएको थियो । विधाताले मेरो पथ नै परिवर्तन गरिदिए । तामाङ समुदायबाट संभवत धादिङ जिल्लामै पहिलो एसएलसी उत्तीर्ण भएको व्यक्ति थिए म । त्यतिबेला एसएलसी पास गर्नु भनेको मान र शान दुवै थियो । यत्तिकैमा गाउँमा राजा वीरेन्द्रको सवारी भयो ।

धादिङको झार्लाङमा २०१० सालदेखि पहिरोले मानिसलाई सास्ती दिएको थियो । त्यसअघि पहिरो पीडित दुई सय जति परिवारलाई कञ्चनपुर पुर्नवास गराइएको थियो । तर त्यहाँ गएका मानिसहरू गर्मीले टिक्न सकेनन् । पहाडको जाडोमा हुर्किएकाहरूलाई तराईको गर्मी सहन गर्ने क्षमता भएन । त्यसमध्ये ७५ प्रतिशत जति मानिस धादिङ नै फर्किए । उता तराईमै टिकेकाहरूले धान, तोरी तथा मकै लगाएर राम्रो आर्जन गर्ने थाले । त्यसपछि पुनर्वासबाट झार्लाङमै फर्किएकाहरूले फेरि पुनर्वासमा नै जाँन पाउँ भनी जिल्ला प्रशासन कार्यालय, अञ्चलाधीशको कार्यालय र गृह मन्त्रालयमा निवेदन पेस गरेका रहेछन् । तर उनीहरूको निवेदनमा कुनै सुनवाई भएन । त्यसपछि दरबारमा बिन्ती पत्र चढाए । यसरी बिन्नीपत्र चढाएपछि राजा वीरेन्द्र स्वयंबाट नै त्यस सम्बन्धमा के भएको रहेछ भनी बुझ्न २०३३ वैशाख ३ गते धादिङको झार्लाङमा सवारी भएको थियो । म त्यतिबेला मेरै गाउँमा रहेको निम्नमाध्यामिक विद्यालयको प्रधानाध्यापक भइसकेको थिए । वास्तवमा मेरो चाहना शिक्षक बन्ने थिएन । त्यस समयमा मेरो बुबा गाउँको प्रधान पञ्च हुनहुन्थ्यो । बुबा र हजुर बुबा दुवैको चाहनामा म सो विद्यालयको प्रधानाध्यापक बनेर काम गरोस् भन्ने थियो । मैले उहाँहरूको इच्छालाई टार्न नसकेर शिक्षक बनेँ ।

२०४० सालमा अविश्वासको प्रस्तावबाट सूर्यबहादुर थापा नेतृत्वको सरकार परिवर्तन भएको करिव एक वर्षपछि मैले राजा वीरेन्द्रको दर्शनभेट पाए । प्रधानमन्त्रीलाई साथ दिएकोले राजाको म प्रतिको नजर फरक होला कि भन्ने ठानेको थिए । तर राजाबाटै हुकुम भयो- 'राजनीतिक मान्छेले आफ्नो बह्मले जे ठीक ठान्छ, त्यही गर्ने हो ।'

राजाको उक्त सवारीको बेला गाउँमा मलाई महत्त्वपूर्ण भूमिका निवाह गर्ने अवसर प्राप्त भएको थियो । तयारी एवं जनपरिचालनमा म निक्कै खटिएको थिए । मेरो भूमिकाबाट प्रभावित हुँदै मलाई राजाले काठमाडौँमा आउँदा भेट्नु भन्ने हुकुम भएको थियो ।

वास्तवमा, तत्कालीन समयमा पञ्चहरूमा आफ्ना छोराछोरीहरू पञ्चायती व्यवस्थामा नै संलग्न भएर काम गरुन भन्ने स्वाभाविक चाहना राख्थे । कदाचित पञ्चायती व्यवस्थामा नबसेमा कम्युनिस्ट पार्टीमा गए बेस भन्ने हुन्थ्यो । म पनि काठमार्डौमा पढ्न बस्दा म कम्युनिस्ट विचारधाराबाट प्रभावित भैसकेको थिए । मैले कम्युनिस्ट पार्टीको सदस्यतासमेत लिइसकेको थिए ।

राजाको त्यो सवारी पछि मेरो सामान्य जीवन असामान्य बनेर आयो । शिक्षक पेसामा रहँदारहँदै म काठमाडौमा पढ्न आए । काठमाडौँमा आएपछि मैले फेरि राजाको दर्शनभेट गर्ने अवसर प्राप्त गरेँ । उक्त दर्शन भेटमा राजाबाट मलाई अब तिमी पञ्चायती राजनीतिमा प्रवेश गरी काम गर्नु पर्‍यो भनी हुकुम भएको थियो । राजाबाट त्यस्तो हुकुम भएको भएता पनि मेरो बुबा प्रधानपञ्च भएको कारण मैले स्थानीय तहको निर्वाचनमा तत्काल भाग लिइन । तर मलाई गाउँ फर्क अभियानले युवाहरूको प्रतिनिधिको रूपमा जिल्ला पञ्चायतको सदस्यमा मनोनीत गरी पठाएपछि विस्तारै म पञ्चायती राजनीतिमा प्रवेश गरेँ । म पञ्चायतमा प्रवेश गर्नुको एकमात्र कारण राजा वीरेन्द्रसँगको भेट नै थियो ।

०००

२०३६ सालमा जनमत संग्रहको घोषणाअघि मुलुकमा केही न केही राजनीतिक परिवर्तन हुनुपर्छ भन्ने लागेको थियो । त्यसक्रममा म जिल्ला पञ्चायतको सदस्य थिए । नुवाकोटका हाल नेपाली कंग्रेसका नेता अर्जुननरसिंह केसीजी, धादिङका ऋषिप्रसाद सुवेदी, टंकप्रसाद शर्मा र म लगायतका चार जना जिल्ला पञ्चायत सदस्यहरूले मुलुकलाई कुनै न कुनै हिसाबले निकास दिनु पर्छ, राजनीतिक परिवर्तन हुनुपर्छ भन्ने आशयले सामुहिक वक्तव्य दिएका थियौँ ।

त्यस्तो वक्तव्य निकालेपछि हामीहरूलाई केन्द्रीय गाउँ फर्क राष्ट्रिय अभियानबाट के कारणबाट त्यस्तो वक्तव्य निकालेको हो भनी स्पष्टीकरण सोधिएको थियो । हामीलाई कारवाहीको तयारी हुँदै थियो । तर स्पष्टीकरण पत्र पाउँदा नपाउँदै राजाबाट जनमत संग्रहको घोषणा भएको थियो । जसले गर्दा गाउँ फर्क राष्ट्रिय अभियान नै खारेज भयो । हामीले स्पष्टीकरण दिनुपर्ने आवश्यकता नै रहेन । तर पछि राजाको दर्शनभेट पाउँदा राजाबाट मैले तिमीहरूको वक्तव्य पढे, तिमीहरूले गरेको ठीक छ । जनताले ठानेको कुरा नै तिमीहरूले अभिव्यक्त गरेको देखियो भन्ने विचार व्यक्त गरिबक्सियो । मैले तिमीहरूको र जनताको मनसायलाई मनन गरेर नै  जनमत संग्रह घोषणा गरेको हु भनी हुकुम भएको थियो । त्यसपछि जनमत संग्रह सम्पन्न भयो र जनमत संग्रहमा सुधारसहितको पञ्चायती व्यवस्थाले विजय प्राप्त गर्‍यो ।

त्यसपछि २०३८ साल तथा २०४३ सालको प्रत्यक्ष निर्वाचनमा धादिङ जिल्लाबाट म निर्वाचित भई दुइपटक मन्त्री बन्दा र राष्ट्रिय पञ्चायतको सदस्य हुँदा राजाको दर्शन भेट भई नै रहन्थ्यो । यसरी दर्शन भेट हुँदा तत्कालीन संविधान अनुसार राजा संविधानभन्दा माथि भएको भएता पनि कानुनी दृष्टिकोणबाट नमिल्ने विषयहरूको सम्बन्धमा जानकारी टक्रयाउँदा कानुनले नमिल्ने विषय भए कानुन अनुसार नै गर्नु भनी हुकुम हुन्थ्यो ।

०००

राजा वीरेन्द्रसँग मेरो कुरालाई सदैव चासो दिएर सुन्ने र गम्भीरतापूर्वक लिने गरिबक्सियो । चासो पनि राख्ने र सवालजवाफ पनि गर्ने । मैले दर्शनभेट पाएको थिए । मनमोहन अधिकारी नेतृत्वमा एमालेको अल्पमतको सरकार भएको बेला हुनुपर्छ । म २०५१ सालको मध्यावधि निर्वाचनमा धादिङ १ बाट निर्वाचित भएर आएको थिए । एउटा कुर्ता पाइजामा र जुहारीकोट लगाइबक्सेको थियो । कुराकानी चल्दै थियो । पुरानै शैलीमा धादिङको कुरा भयो । गाउँको विषयमा सोधिबक्सियो । राष्ट्रिय राजनीतिबारे पनि कुरा भयो । राजनीतिको कुरा चल्दै गर्दा राजा जुरुक्क उठिबक्सियो । मलाई अप्ठेरो लाग्यो । कुरा मिलेन कि भन्ने लाग्यो । तर सरकार छमछमी नाचिबक्सियो । 'तिमीले ठीक भन्यौ बुद्धी...' भन्दै राजा नाच्न थालेपछि म पनि कुर्सीबाट उठे ।

०००

२०४० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाविरुद्ध राष्ट्रिय पञ्चायतमा अविश्वासको प्रस्ताव आयो । त्यसबखत म उहाँकै मन्त्रिपरिषद्को एक सदस्य थिए । मैले सरकारमा रहेका कारण उहाँलाई साथ दिने निधो गरेँ । प्रधानमन्त्री थापालाई मैले सोधेको थिए । त्यतिबेला प्रधानमन्त्रीले कुनै दबाब दिनुभएन । अचम्म पनि लाग्यो । प्रधानमन्त्रीले भन्नुभएको थियो- 'जे ठीक लाग्छ, त्यही गर्नू । मेरो पक्षमा लागे पनि हुन्छ । विपक्षमा लागे पनि फरक पर्दैन । निर्णय गर्न तपाईँ स्वतन्त्र हुनुहुन्छ ।' अविश्वासको प्रस्तावको मतदानमा बहालवाला प्रधानमन्त्रीको पक्षमा राष्ट्रिय पञ्चायतमा १७ जनामात्र रहे । त्यो १७ भाइमध्येको एक म थिए । त्यसपछि अब राजासँग मेरो सम्बन्ध तलमाथि पर्ने हो कि भन्ने आशंका मनभित्र थियो ।

राजाबाट तिमी देशको केन्द्रीय सुरक्षा समितिको अध्यक्षसमेत भएको हुँदा एक नेपालीले अर्को नेपालीको हत्या हुने परिस्थिति सृजना नगरी वार्ताको माध्यमबाट राष्ट्रिय मूलधारमा ल्याउन प्रयास गर्नू भनी हुकुम हुन्थ्यो ।

अविश्वासको प्रस्तावबाट सूर्यबहादुर थापा नेतृत्वको सरकार परिवर्तन भएको करिव एक वर्षपछि मैले राजा वीरेन्द्रको दर्शनभेट पाए । प्रधानमन्त्री थापालाई साथ दिएकोले राजाको म प्रतिको नजर फरक होला कि भन्ने ठानेको थिए । तर त्यसअघि राजासँगको भेटभन्दा कुनै फरक भएन । सम्बोधन तथा कुराकानीमै उस्तै सानिध्यता पाएँ । राजाबाटै हुकुम भयो- 'राजनीतिक मान्छेले आफ्नो बह्मले जे ठीक ठान्छ, त्यही गर्ने हो ।' राजाको त्यो भनाइले म खुसी भए ।

०००

२०४६ को परिवर्तनपछि राजसंस्था संवैधानिक राजसंस्थामा परिवर्तन भयो । त्यसपछि पनि २०५१ साल र २०५६ सालमा म राप्रपाबाट संसदमा दुई पटक निर्वाचित भएँ । त्यसबेलामा पनि मैले मन्त्री तथा संसदको हैसियतले राजासँग कार्य गर्ने अवसर प्राप्त गरेँ । २०५४ सालमा म गृहमन्त्री भएको बेला देशमा माओवादी सशस्त्र द्वन्द्व चर्किरहेको थियो । राजाबाट तिमी देशको केन्द्रीय सुरक्षा समितिको अध्यक्षसमेत भएको हुँदा एक नेपालीले अर्को नेपालीको हत्या हुने परिस्थिति सृजना नगरी वार्ताको माध्यमबाट राष्ट्रिय मूलधारमा ल्याउन प्रयास गर्नू भनी हुकुम हुन्थ्यो ।

सारंशमा मेरो राजनीतिक जीवनको करिब २६ वर्षसम्मको अवधिमा राजासँग गरेको दर्शनभेट तथा विभिन्न समयमा देश र जनताको हितमा काम गर्दा राजा वीरेन्द्रलाई एउटा कुशल तथा परिपक्व, राजनेता, प्रजातन्त्रवादी, विकासप्रेमी, न्यायप्रेमी तथा धार्मिक एवं सबैको भावनाको कदर गर्ने र उच्च मनोबल भएको राजाको रूपमा पाएको थिए ।

स्वर्गीय राजा वीरेन्द्र तथा राजपरिवार प्रति मेरो श्रदासुमन ।

(नेपाल फ्ल्यास संवाददातासँग कुराकानीमा आधारित)

सांसद एवं पूर्वमन्त्री तामाङ राप्रपा उपाध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि