बैशाख २१, २०८१, शुक्रबार
               

लकडाउनको मारमा शिक्षा र आर्थिक संकट

कर्णबहादुर शाही
जेठ १६, २०७७

ADVERTISEMENT

अनलाइन कक्षा र प्रभाव

एक्काइसौँ शताब्दीको सिकाइमा सूचना र प्रविधिको सकारात्मक तालमेल विद्यार्थीहरूका लागि ठुलो वरदान साबित सक्छ । विपद्, विनाशकारी प्रलय, दुर्घटना र त्रास मानव जीवनका नकारात्मक पक्ष हुन् । तर मैले अंगालेको पेसाको परम धर्म ‘मरुभूमिमा पनि हरियाली देख्नु हो ।’ हुनत सूचना र प्रविधिको प्रयोगका जननी भनिएका मुलुकहरूमा पनि लकडाउनको अवधिमा शिक्षामा प्रविधिको प्रचुर मात्रामा प्रयोगले अनेकन् चुनौतीको सामना गर्नु परेको यथार्थ छिपेको छैन ।

घोकन्ते अथवा लेक्चर विधिलाई आधार मान्दा पनि शिक्षकले आँखामा आँखा जुधाएर बोल्ने, विद्यार्थीलाई शारीरिक सामीप्यताले मानवीय भावनासहितको उत्साह प्रदान गर्नु वा ढाडस दिन धपधपाउनु भनेको शिक्षाको अति नै महत्त्वपूर्ण पक्ष हो । त्यस्तै शिक्षकको मुखबाट निस्कने 'तिमी सक्षम छौँ, तिमी गर्न सक्छौ' भन्ने सन्देश उत्साह र प्रेरणाका लागि उत्तिकै जरुरी छ ।

हाम्रो जस्तो मुलुकमा त झनै कठिनाइ हुने भइहाल्यो । वास्तवमै अतिकम विकसित मुलुकमा सूचना र प्रविधिसँगको सामीप्य र प्रयोग आंशिक रूपमा हुन्छ नै । हाम्रो बाध्यता, कमजोरी, अभाव र सीमितताका कारण यसलाई पूर्णता उन्मुख गर्न गराउन कम चुनौतीपूर्ण छैन । तर, विकसित र अविकसित राष्ट्रको यस्तो दुरी वा परिस्थितिलाई कम गर्ने एक गतिलो माध्यम भनेको सूचना र प्रविधि नै हो । त्यसैले पनि हाम्रो मुलुकमा प्रविधिको प्रचुर मात्रामा प्रयोग आवश्यक छ । हामीमा हीनताबोध भन्दा उत्साहबोध आवश्यक छ । प्रविधिको प्रयोग सुरु हुँदा मानिसको एक विलासिताको वस्तु वा माध्यम हुन्थ्यो भने अहिले आवश्यकता भएको छ । दूरदराजमा खेत जोतिरहेको कृषकका पछाडि उसकी श्रीमतीले बीउ छर्दै स्मार्टफोनबाट कतारमा भएको आफ्नो छोरा/ भाइ वा बहिनीसँग वार्ता गरिरहेको दृश्यले प्रतिनिधिमूलक बनेको छ । आवश्यकताले यस्ता वस्तुको परिपूर्ति गर्दै जान्छ । शिक्षा र सूचनाको सम्बन्ध अन्योन्याश्रित छ । यसर्थ हामी शिक्षाकर्मीले यसलाई अवसरका रूपमा अधिक उपयोग गरेर सिकाइ उपलब्धिलाई प्रभावकारी बनाउनु पर्ने हुन्छ ।

सम्भवतः हाल जारी अनलाइन कक्षामा शिक्षकहरूको लगन एवं मेहनत अध्ययन गर्ने हो भने उनीहरू झनै क्रियाशील भएको पाइन्छ । त्यसैले पनि उहाँहरूको वृत्ति विकाश एवं आर्थिक व्यवस्थापनलाई ख्याल गरिएन भने शिक्षाप्रतिको जबाफदेही बत्ती बालेर खोज्नुपर्ने हुन्छ ।

दूर सिकाइ

जेनिफर फ्लेमिङले भनेका छन् कि इन्टरनेटको सहयोगबाट हामीले भोलिका लागि आवश्यक पर्ने सीप विकास गर्ने सिकाइ गर्नु पर्दछ । हामी शिक्षण सहजकर्ताहरूले सिकारुलाई सिकाउनभन्दा सिक्नका लागि सहयोग गर्नुपर्दछ । हामीले यस किसिमको सिकाइका लागि निम्न एप्लिकेसनहरू प्रयोगमा ल्याउन सक्छौँ ।

  • गुगल क्लास रुम (Google Classroom)
  • माइक्रोसफ्ट टिम (Microsoft Team)
  • सी स (See Saw)
  • थिङिकिफिक (Thinkific)
  • स्कोलोजी (Schoology)

प्रत्यक्ष भिडियोमार्फत अनलाइन कक्षा सञ्चालन गर्न निम्न एप्लिकेसन उपयोगी मानिएका छन् ।

  • जुम (Zoom)
  • गुगल मिट (Google Meet)
  • वेबेक्स (WebEx)
  • मुडल (Moodle)
  • भुभ्स (Voobs)

गुगल क्लासरुमका विशेषता

१. कागजरहित शिक्षण सिकाइ गर्न

२. गुगलका प्रोडक्टहरू जस्तै गुगल डक्स, गुगल फर्म, गुगल स्लाइड आदि प्रयोग गर्न

३. शिक्षक र विद्यार्थीबीच सजिलै सञ्चार आदान प्रदान गर्न

४. आफूलाई चाहिए जति कक्षा निर्माण गर्न

५. शिक्षण सामग्री राख्न र विद्यार्थीलाई हस्तान्तरण गर्न

६. हरेक कक्षामा २० जनासम्म सहजकर्ता राख्न र आवश्यकताअनुसार विद्यार्थी राख्न

७. विभिन्न गृहकार्यहरू एवं सामग्रीहरू निर्माण र प्रसार गर्न

८. विद्यार्थीहरूले गरेको कार्यलाई मूल्याङ्कन गरी अंक वा ग्रेड प्रदान गर्न

९. विद्यार्थीले गरेको कार्यमा पृष्ठपोषण प्रदान गर्न

१०. सामग्री भण्डारणमा गुगल ड्राइभको प्रयोग गर्न

११. विद्यार्थीलाई निश्चित कोडबाट कक्षामा आमन्त्रण गर्न

१२. विभिन्न भिडियो तथा अन्य सामग्रीको लिंक राख्न वा सामग्री अपलोड गर्न

१३. क्यालेन्डर सेट गर्न

जुम (Zoom) का विशेषता

१. समयतालिका बनाइ मिटिङ सञ्चालन गर्न सकिन्छ ।

२. सिकारु वा सहभागीलाई अनलाइन क्लासमा आमन्त्रण गर्न सकिन्छ ।

३. भर्चुअल ब्याकराउन्ड राखी आकर्षक बनाउन सकिन्छ ।

४. मिटिङ सञ्चालक (होस्ट)ले मिटिङलाई पूर्ण नियन्त्रणमा राख्न सकिन्छ ।

५. मिटिङमा आवश्यक लागेको सहभागी सहयोगकर्ता (को–होस्ट) बनाउन सकिन्छ ।

६. सहभागीलाई च्याटमा लेख्न लगाउन वा हात उठाउन लगाई सक्रिय बनाउन सकिन्छ ।

७. स्क्रिन सेयर गर्न सकिन्छ ।

८. एप्लिकेसनको सेतो पाटी प्रयोग गर्न सकिन्छ ।

९. आफूलाई महत्त्वपूर्ण लागेका वाक्य वा शब्दहरूलाई हाइलाइट गर्न सकिन्छ ।

१०. एचडी भिडियो वा अडिओको पहुँच हुन्छ ।

११. लिंकमा थिचेर वा आइडी र पासवर्ड मार्फत लगइन हुन सकिन्छ ।

१२. जतिसुकै बेला विश्वको जहाँबाट पनि मिटिङमा सहभागी हुन सकिन्छ ।

१३. होस्टले म्युट र अनम्युट गर्न सकिन्छ ।

१४. प्रश्नोत्तर वा सहभागीको मत लिन सकिन्छ ।

रिमोट (दूर) शिक्षाका फाइदाहरू

१. भिडियोमार्फत कन्फरेन्स गर्न सकिन्छ ।

२. डिजिटल सेतो पाटी

३. जुनसुकै समयमा मिटिङ सञ्चालन गर्न सकिनु

४. सहभागीलाई नियन्त्रणमा राख्न सकिनु

५. ग्रुप च्याट वा व्यक्तिगत च्याट गर्न सकिन्छ ।

६. एकैपटक धेरै जनालाई सहभागी गराउन सकिन्छ ।

७. शिक्षामा पहुँच विस्तार गर्न सकिन्छ ।

८. कक्षाकोठामा जस्तो भौतिक रूपमा प्रत्यक्ष सहभागी हुन नपर्ने

९. सुरक्षित र सजिलो सिकाइ हुन्छ ।

१०. डिजिटल र स्मार्ट कक्षा सञ्चालन गर्न सकिन्छ ।

भोलिका दिनमा सामान्य अवस्थामा अवश्य पनि यो अनलाइनसँगको अभ्यास/साक्षात्कार (EXPOSURE)ले हाम्रो विद्यालयलाई डिजिटलाइज्ड, कागजरहित व्यवस्थापन र समग्र एक्काइसौँ शताब्दीको सिकाइलाई स्थापित गर्न मद्दत पुग्नेछ । त्यसैले शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापनले यो लकडाउनको विषम परिस्थितिमा यसको अधिक उपयोग गरी आफूलाई सुसज्जित एवं प्रविधिमैत्री गर्नुपर्छ ।

अहिलेको एकदमै व्यस्त मानिसलाई आफ्नो कार्य व्यस्तताको कारण बालबच्चालाई सामाजिक तथा व्यवहारिक ज्ञान तथा सीप आफ्नै परिवारमा दिन नसकिरहेको अवस्थामा राम्रो विद्यालय बालबालिकालाई सामाजिकीकरण गराउने एउटा महत्त्वपूर्ण आधार हो ।

यसो भन्दै गर्दा पूर्णरूपमा अनलाइन शिक्षालाई आधार मान्ने हो भने प्रवचन विधिजस्तो एकोहोरो माध्यममात्र हुनसक्छ । केही समयको लागि शिक्षक र विद्यार्थीको दुरी कम गर्ने र सिकाइलाई निरन्तरता दिने एक माध्यम भने यो अवश्य हुन सक्छ । तर हामीले अनलाइन शिक्षा नै सबथोक हो भनी हिँड्न थाल्यौँ भने यसले अनेकन् समस्या निम्त्याउनेमा अवस्वम्भावी छ ।

समयसापेक्ष विद्यार्थीहरूको सिकाइ प्रभावकारी बनाउन अवश्य पनि यो प्रविधि गतिलो सहयोगी हुन सक्छ । सूचना र प्रविधि शिक्षाको परिपूरक मात्र हो तर पूर्ण शिक्षा भने होइन । अथवा यो साधन हो, साध्य होइन । हाल विभिन्न सफ्टवेयर कम्पनीहरूले बनाएको श्रव्य तथा दृश्य सामग्री अथवा रेडियो/टेलिभिजनमा प्रसारित सामग्री हेर्दा तुलनात्मक रूपमा  हामीले विगतमा भन्ने गरेको घोकन्ते विद्या/लेक्चर विधिको परम्परागत परीक्षामुखी पद्धतिभन्दा कमजोर परिमाण आउन सक्छ । किनभने, यसले मानिसको संज्ञानात्मक, शारीरिक र संवेगात्मक पक्षहरूलाई प्रतिनिधित्व गर्दैन । एकोहोरो बाजा बजाउँदा सिकाइ प्रक्रिया झनै दिक्कलाग्दो र यान्त्रिक हुने गर्दछ । एक पक्षीय रूपमा संज्ञानात्मक पक्षको मात्र प्रतिनिधित्व गर्न सक्दछ । कम्तीमा, घोकन्ते अथवा लेक्चर विधिलाई आधार मान्दा पनि शिक्षकले आँखामा आँखा जुधाएर बोल्ने, विद्यार्थीलाई शारीरिक सामीप्यताले मानवीय भावनासहितको उत्साह प्रदान गर्नु वा ढाडस दिन धपधपाउनु भनेको शिक्षाको अति नै महत्त्वपूर्ण पक्ष हो । त्यस्तै शिक्षकको मुखबाट निस्कने 'तिमी सक्षम छौँ, तिमी गर्न सक्छौ' भन्ने सन्देश उत्साह र प्रेरणाका लागि उत्तिकै जरुरी छ । त्यसैले यी र यस्ता सामग्री प्रयोग गर्दा अन्तरक्रियात्मक कक्षा कसरी बनाउने, अफलाइन र अनलाइनमा कसरी SYNCHARONAUS/ ASYNCHANOUS जस्ता विधि अवलम्बन गर्ने लगायतका पक्षहरू हुन् ।

भर्खरै गरिएको एक अनुसन्धानले विद्यालय शिक्षाले बालबालिकाको सीप विकास गर्ने कुरामा जोड दिएको छ । साथै बालबालिकाहरू विद्यालयमा रमाउने र उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक पक्षहरूको विकास हुने अनुसन्धानले देखाएको छ । अर्कोतर्फ विद्यार्थी मूल्याङ्कनलाई सिकाइसँग जोड्दा सिकाइ उपलब्धि अझै प्रभावकारी हुनेमा शिक्षाविद् एवं पाठ्यक्रम निर्माताहरूले जोड दिइरहेको अवस्था छ । तर शिक्षाविद् तथा पाठ्यक्रम निर्माताहरूले भनेजस्तो विभिन्न पक्षको मापन यो विधिद्वारा कत्तिको गर्न सकिन्छ ? तसर्थ अनलाइन शिक्षा आफैँमा पूर्ण नभई विद्यालय शिक्षालाई थप प्रभावकारी एवं उपलब्धिमूलक बनाउने एक्काइसौँ शताब्दीको विद्यालय शिक्षाको सहयोगी मात्र हो ।

यो सबै प्रविधिको प्रयोगलाई सार्थक बनाउन र शिक्षामा जोड्ने अवसरका रूपमा लिन सरकार, नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायक, शैक्षिक सरोकारवालाहरूले जिम्मेवारीका साथ काम गर्नुपर्ने हुन्छ । आर्थिक र प्राविधिक पक्षलाई सबलीकरण गर्न ‘सुनारको सय चोट लोहारको एक चोट भनेझैँ’ सरकार एवं नेपाल टेलिकमले विशेष योजना ल्याउनुपर्ने हुन्छ ।

'होम स्कुल' परिपुरकमात्र, सम्पूर्ण विद्यालय शिक्षा होइन

गुरुकुल हुँदै आजको आधुनिक युगमा अवतरण गर्दै गर्दा हाम्रा विद्यालयमा हुने गरेका क्रियाकलापहरू ३ घण्टाको परीक्षामा मात्र केन्द्रित हुनुको साटो व्यवहारमा आफ्नो दैनिकीमा देखिनु र तदनुरूप व्यवहार गर्नुपर्ने देखिन्छ । घर आफैँमा मानव जीवनको पहिलो शिक्षालय हो भने विद्यालय त्यसलाई अन्तिम स्वरूप दिने एक समाज हो । विगतमा राजा महाराजाहरूले आफ्ना सन्ततिलाई गुरुकुलमा गएर शिक्षित हुन भन्दथे भने आजका अर्बपतिदेखि शक्तिशालीहरू श्रोत–साधनबाट सम्पन्न भइकन पनि आफ्ना सन्ततिलाई जीवनमा चाहिने अत्यावश्यक विद्यालय शिक्षाका अनुभव तथा भोगाइ प्राप्तिका लागि पढाउने गर्दछन् । नत्रभने त उक्त विद्यालय आफ्नै पहुँचमा घरमै बनाउँदा पनि हुन्थ्यो नि ! त्यसैले सम्पूर्ण मानव निर्माणमा विद्यालय शिक्षाले खेल्ने भूमिकालाई स्थापित गर्नु र त्यसै अनुरूप हार्डवेयर, सफ्टवेयर वा ह्युमनवेयर स्थापित गर्नुपर्ने हुन्छ । त्यसैले विद्यालय आफैँमा एउटा पूर्ण समाज हो । जहाँ अहिलेको एकदमै व्यस्त मानिसलाई आफ्नो कार्य व्यस्तताको कारण बालबच्चालाई सामाजिक तथा व्यवहारिक ज्ञान तथा सीप आफ्नै परिवारमा दिन नसकिरहेको अवस्थामा राम्रो विद्यालय बालबालिकालाई सामाजिकीकरण गराउने एउटा महत्त्वपूर्ण आधार हो । त्यसैले, सम्पूर्ण मानव निर्माणमा विद्यालयको भूमिकाको विकल्प छैन ।

लकडाउन र कोरोना सन्त्रास तथा शिक्षाको आर्थिक व्यवस्था

नेपालको सन्दर्भमा सामुदायिक एवं संस्थागत विद्यालय मुलुकको विद्यालय शिक्षालाई अगाडि बढाउने पक्षहरू हुन् । यी दुवै पक्ष समाजका अभिन्न अंग भई राज्यमा स्थापित छन् । मुलुकको आर्थिक अवस्था, संस्थागत विद्यालयले खेलेको भूमिका, अभिभावकको विश्वासका कारण पनि संस्थागत विद्यालयको चर्चा र अभिभावकको आफ्नो नानी बाबुहरूको गुणात्मक शिक्षा पाउने उत्कट अभिलाषा परिपूर्ति गरेकाले अस्तित्वमा छन् । तर, लकडाउन आतङ्क लम्बिँदै जाँदा यसमा सरोकार पक्षहरूको विविध धारणा अगाडि आएको छ ।

यसैबीच शिक्षा विकासमा संस्थागत विद्यालयले जनमानसमा आफूलाई पहिचान स्थापित गरेको सन्दर्भ केही शैक्षिक सरोकारवालालाई पच्न नसकेको प्रस्टै देखिन्छ । यसलाई खुइल्याउन शुल्कका बारेमा जथाभाबी बोल्ने होडबाजी हिजो पनि थियो र आज पनि व्याप्त छ । विश्व अहिले लकडाउनको आतङ्कमा फसेको बेला पनि यस किसिमको बेतिथि कायमै छ । सामुदायिक विद्यालयका शिक्षकले आफ्ना विद्यार्थीहरूको सिकाइ/क्रियाकलापलाई अहिलेको प्रविधिमार्फत केही राहत हुने गरी अनलाइन कक्षा चलाए वा नचलाए पनि सरकारी ढुकुटीबाट पैसा आइहाल्छ । तर त्यो ढुकुटी त्यही जनताको पसिनाको कमाइ होइन र ? अभिभावक, विद्यार्थी एवं शिक्षकप्रति जिम्मेवारीका कारण सारा विश्वले आ–आफ्नै किसिमले भूमिका खेलिरहेको बेला यहाँ उक्त विद्यालयका गतिविधि के हुने ? जबाफदेही खोइ ? सरकारी सहयोग विना संस्थागत विद्यालयको आफ्नो एकल प्रयासमा भए गरेका सकारात्मक प्रयासलाई संरक्षण र संवर्द्धन गर्नुपर्ने कसले हो ? यसको अभिभावकत्व कसले लिने ? राज्यको परिभाषाभित्र संस्थागत विद्यालय पर्ने कि नपर्ने ? यहाँ कार्यरत शिक्षक, कर्मचारीहरूले के खाएर बाँच्ने ? यहाँको आर्थिक कारोबार र त्यससँग आश्रित समुदायको विकल्पै नसोची आपसी समझदारीमा हुने आर्थिक क्रियाकलाप वर्जित छ भन्ने आशयले के इंगित गर्छ ? अनवरतरुपमा कायम लकडाउनमा बाँच्न पनि नपाउनु भनेको संस्थागत विद्यालयप्रतिको गिद्धेदृष्टिबाहेक केही होइन ।

विद्यालय शान्ति क्षेत्र

युद्धका दौरान होस् या प्राकृतिक प्रकोपका कारण वा महामारी जस्ता विषम परिस्थिति हुँदा पनि जस्तोसुकै अवस्था किन नहोस् विद्यालयको वार्षिक कार्यतालिका न्यूनतम रूपमा कार्यान्वयन हुनु पर्दछ भन्ने विश्वव्यापी मान्यता छ । त्यसैले पनि विद्यालयलाई शान्ति क्षेत्र भन्नुको अर्थ र उद्देश्य न्यूनतम शैक्षिक पात्रोलाई कार्यान्वयन गराउन पहिलो र आधारभूत मान्यता हो । यसको पछाडि जड विषय भनेको जसरी आजको खाना भोलि खाएर हुँदैन मानिसको जीवन र शिक्षा पनि त्यही नै हो । मानव विकास र शिक्षा आफैँमा अन्तर्निहित छन् । यो कुनै एउटा कक्षाको सिकाइ अर्कोमा सँगै गाँसेर वा गाभेर गरिने कुरा होइन । १५ वर्षको विद्यालय शिक्षालाई ७ वर्ष वा १० वर्षमा सकिने हुँदै होइन ? ।

त्यसैले, मुलुकमा लकडाउनसँगै प्राथमिकता सूचीहरू निर्धारण गर्दा जसरी पिउने पानी, स्वास्थ्य सेवा, खाद्य पदार्थ, आवश्यक पारवहन लगायतमा शिक्षा पर्ने कि नपर्ने ? प्राथमिकताको सूची निर्धारण एकलौटी संघीय सरकारका प्रमुखहरू बसेर निर्धारण गर्ने विषय मात्र हो ? यो भनेको हिजोका राजा महाराजाहरूलाई दस टाउका र बीस हात भएका त्रिकालदर्शी मानिस मान्ने र सम्झिने हो । हामीले खोजेको उन्नत लोकतन्त्रमा सम्बन्धित पक्षको भावना/विज्ञता र जनसहभागिता आवश्यकता छ कि छैन ? सबैलाई घरमा थुनेर प्राथमिकताको लिस्ट तय गर्ने एकलौटी अधिकार राख्नु भनेको एकात्मक र केन्द्रीकृत शैलीको पराकाष्ठा हो ।

एन प्याब्सनका पूर्वअध्यक्ष शाही पाणिनि स्कूलका प्रिन्सिपल हुन् ।

कस्तो लाग्यो ?

यो पनि