मुलुकले गणतान्त्रिक शासन पद्धति स्विकारेको १२ वर्ष भयो । गणतन्त्र कुनै वर्ग, जाति, सम्प्रदाय विशेषका लागि थिएन र होइन । समग्र देशको रूपान्तरणका लागि हो । भनिएको थियो- गणतन्त्रले नेपालका सबै विभेदको अन्त्य गर्दछ । मुलुकले प्रगतिको काँचुली फेर्ने छ । गणतन्त्रले नेपाल र नेपालीले के पाए वा के गुमायौँ ? १२ वर्षकै अवधिमा निष्कर्षमा पुग्नु हतार मान्न पनि सकिएला । तर यसबीचमा भए गरेका कामकारबाही र गणतान्त्रिक नेपालले लिएको बाटोको समीक्षा गर्न यो अवधि पर्याप्त हो । त्यसैले राजनीतिक दल र आम जनसमुदायले अब आत्मसमीक्षा गर्नुपर्छ ।
खान नपाएर तातो बालुवामा नंग्रा खियाउनु पर्ने दिनको अन्त्यको सुरुवातका रूपमा लिइएको थियो, गणतन्त्र घोषणाको दिनलाई । तर भइदियो उल्टो । गरिब झन् गरिब बन्दै गएँ, धनीको राज झनै स्थापित भयो । राज्यका सम्पत्ति व्यक्तिका बप्पौती बने ।
हामीले यी १२ वर्षमा के पायौँ ? मुलुकका हरेक अंगमा चरम आर्थिक अनियमितता छ । नैतिकताको खडेरी छ । राजनीतिक संस्कारमा तिरस्कार र घमन्डको दुर्गन्ध छ । आर्थिक अवस्था झन् झन् जर्जर बन्दै गएको छ । शासनमा रहेकाहरूमा सत्ताउन्माद छ । प्रेसमाथि नियन्त्रणको प्रयास जारी छ । अभिव्यक्ति स्वतन्त्रतामा बन्देजका प्रयासहरू तीव्र बनेका छन् । शासकमा अधिनायकवादी सोच पलाएको छ । १२ वर्षयता ११ सरकार बने । राज्य पुनर्संरचनासँगै हामीले ३ तहका सरकार पायौँ । तर यसले मुलुकको चोला बदल्न सकेन । आर्थिक जर्जरताबाट उम्कने योजना दिन सकेन । जात र धर्मको कालो धब्बामा पोतिएको समाजमा उज्यालो रङ्ग भर्न सकेन । बरु खन्न सकियो, अनियमितताका खाडल, शासक र जनताबीचको दुरी ।
तीन तहको सरकारको कल्पनासँगै राज्य पुनर्संरचना गरिँदा जनताका सपनाले ठूलै उडान भरेका थिए । अब जात र धर्मको विभेदबाट समाजमुक्त हुने अपेक्षा थियो । गरिबले खानका लागि मात्र संघर्ष गर्नुपर्ने दिनको अन्त्य हुने कल्पना पनि गरिएको थियो । सम्भ्रान्त र गरिबबीच यही समाजले कोरेका लक्ष्मण रेखाहरू भत्कने कल्पना गरिएका थिए । खान नपाएर तातो बालुवामा नंग्रा खियाउनु पर्ने दिनको अन्त्यको सुरुवातका रूपमा लिइएको थियो, गणतन्त्र घोषणाको दिनलाई । तर भइदियो उल्टो । गरिब झन् गरिब बन्दै गएँ, धनीको राज झनै स्थापित भयो । राज्यका सम्पत्ति व्यक्तिका बप्पौती बने । केही सीमित दल र व्यक्ति जनताका मालिक बने । एउटा सीमित घेराले मुलुकको भाग्य निर्धारण गर्न थाल्यो । तर पनि सपना बाँड्न छाडिएन । पुरा भने कहिल्यै गरिएन ।
उदेकलाग्दो अवस्था त जुन ठाउँ सामाजिक न्यायका लागि र सबै प्रकारका विभेदको अन्त्यको लागि भनेर सशस्त्र युद्धको केन्द्र बन्यो । त्यही रुकुम पश्चिममा जातीय विभेदका कारण नवराज बिकहरूको हत्या भएका दुखद समाचारहरू आइरहेका छन् । गणतन्त्र स्थापनायता विभेदको अन्त्य गर्ने भनेर युद्ध लडेकाहरूकै एकछत्र राज छ त्यहाँ ।
यही अवधिमा हामीले गर्वका साथ मान्दै आएको सनातन धर्मलाई चटक्कै त्यागियो । जनताको चाहना थियो कि थिएन, बुझ्ने प्रयास गरिएन । मुलुकलाई धर्म निरपेक्ष बनाइयो । विभेदको अन्त्य गर्ने भनियो । तर, समाज परिवर्तन भएन । विभेदको अन्त्य पनि रोकिएन । झन् बढेर गयो । उदेकलाग्दो अवस्था त जुन ठाउँ सामाजिक न्यायका लागि र सबै प्रकारका विभेदको अन्त्यको लागि भनेर सशस्त्र युद्धको केन्द्र बन्यो । त्यही रुकुम पश्चिममा जातीय विभेदका कारण नवराज बिकहरूको हत्या भएका दुखद समाचारहरू आइरहेका छन् । गणतन्त्र स्थापनायता विभेदको अन्त्य गर्ने भनेर युद्ध लडेकाहरूकै एकछत्र राज छ त्यहाँ । संसदमामात्र होइन स्थानीय तहमासमेत अर्को दलको प्रतिनिधित्व हेर्न 'टर्च' बालेर खोज्नु पर्ने हुन्छ । मुलुकले त्यहीँ मानवता विरोधी अपराध झेल्नु परेको छ ।
केही व्यक्तिको जीवनमा परिवर्तन नआएको भने होइन । तर नवराज बिकको हत्याबाट समाजको चरित्रमा परिवर्तन नआएको बुझ्न झनै सहज भएको छ । हामीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तले न्याय पाउने शासन व्यवस्था चाहेका थियौँ । तर ठूला व्यापारिक घरानाले गर्ने अनियमिततामा आँखा चिम्लने राज्यसत्तालाई भत्काउन सकेका रहेनछौँ । राज्य व्यवस्थाको तल्लो तहदेखि माथिल्लो तहसम्म हुने आर्थिक अनियमिततालाई पखाल्न सकेका रहेनछौँ ।
यी सबै बेथिति र गैरजिम्मेवारीको सम्पूर्ण दोष शासन पद्धति अर्थात् गणतन्त्र भन्ने होइन । दोषी त यसलाई 'ड्राइभ' गर्नेहरू हुन् । शासन व्यवस्था साध्य होइन । यो त मुलुकलाई आधुनिक, उन्नत र समृद्ध बनाउने माध्यममात्र हो । विश्वमा सबै खालका शासन व्यवस्थाले प्रगति गरेका छन् । शासन प्रणाली वा राष्ट्र प्रमुख कुन पद्धतिको भन्ने आधारमा प्रगति मापन नहुने त अहिलेकै विश्वले प्रमाणित गरेकै छ । त्यसैले अहिलेका देशका चालक असफल र अक्षम भइसकेका छन् । अरू त के न्यायाधीशमा समेत दलीय भागबन्डाले लोकतन्त्रमा कालो दाग लागिसकेको छ । सम्मानित संस्थाहरू विवादमा तानिइसकेका छन् । हाम्रा सपनाको उडानका प्वाँख झर्न थालिसकेका छन् ।
समय अझै बाँकी छ । शासनमा पुगेकोले आफूलाई चक्रवर्ती ठान्ने दुस्साहस नगर्ने हो भने धेरै मुद्दा सल्टिन्छन् । व्यक्ति र दलभन्दा देश ठूलो भन्ने भावमात्र राखे अनुकूलताको अवस्था आउन सक्छ । उडन्ते र हावादारी सपनाको सट्टा योजनाबद्ध र दिगो विकासको योजना ल्याए सबैको कल्याण हुनेछ । तिरस्कार र निषेधका साटो सहिष्णु र सद्भावको बाटो लिनु नै बुद्धिमानी हुनेछ ।