मंसिर ०७, २०८१, शुक्रबार
               

‘मिरा बनेरै मर्न देऊ !’

चेतन पाण्डे
जेठ १४, २०७७

ADVERTISEMENT

सम्झनाका जालो माकुराको भन्दा पनि जेलिएको हुँदो रहेछ । अनि पो जीवनका यात्रामा बन्ने पाइतालाका डोबहरू सहजै मेटिँदैन रहेछन् । अनि बालुवा झैँ हुँदा रहेछन्, तिता–मिठा यादहरू । जति मुठ्ठीमा कस्न खोज्यो त्यति नै बगेर जाने । जीवनकाे हिँडाइमा ठोक्किन आउने अनेकौँ सपना-विपनाका बिम्ब झैँ । नचाहँदा नचाहँदै पनि अनेकौँ यादहरूमा तैरिन बाध्य बनाइ रहने । कसैका यादको नशाले शरीरलाई नै झुम्म बनाउने । अनि कहिले मनमा काउकुती लगाउने त कहिले गालामा चड्कन हिर्काउने ।

दुई दिन अघि मात्र इमेल मै एउटा पत्र पाएँ । केही दिनअघि पनि भेटेको थिएँ, एउटा प्रेमीको अप्रेषित प्रेम पत्र, पूर्व प्रेमिकाको नाममा लेखिएको । सामान्य सम्पादन गरेर प्रकाशित गरेको थिएँ । इमेलमा ती प्रेमिकाको पत्र आएको रहेछ । बस्, प्रेम र प्रेमिल जोडीको चाहना सधैँ एउटै हुँदो रहेछ । माया सधैँ समाजबाट छिपी रहोस् भन्ने तर, मनलाई भने सधैँ चङ्गा झैँ उडाइरहन चाहने । त्यो चाहना फेरी एक पटक दोहरिएको थियो । मन छोयो, फेरी सामान्य सम्पादन गरेँ ।

पढ्दै जाँदा धेरै पटक त्यो पत्रमा आफैँलाई भेटाएँ पनि । कतिपय दृश्यमा आफैँलाई पाएँ पनि । कति शब्द कतै मेरै लागि त प्रयोग भएका त होइनन् ? झल्याँस्स पनि भएँ । आखिर म त्यो प्रेम कथाको कुनै पात्र थिइन । त्यसैले मनलाई बुझाएँ । पत्र पढेपछि भने आफूलाई आफ्नै पुरानो मायालुको सम्झनामा डुबाएँ । एक पेग रित्याएँ । पुराना प्रेमका कथामा डुबेर । अनि गुनगुनाएँ, ‘मेरी मायालु, मेरी मायालु, बितेका कुराले...।’

मैले पाएको पत्र भने यस्तो थियो ।

०००

खै के भनेर सम्बोधन गरूँ तिमीलाई ?

तिमीले त प्रिय भन्यौँ । मैलै तिमीलाई मनभरि राखेकी नै छु । कहिले पो टाढा भयौ र । कुनै मर्यादा र सीमाको परवाह नगरी माया पोखेकी थिएँ । तिमीले नै त हो नि मेरो मनमा मायाको समुन्द्र रित्याएको ।त्यसैले मेरो प्रेमको सुरुवात पनि तिमीबाटै हुन्छ, अनि अन्त्य पनि । तिम्रो नाम कोरिएको त्यही समुन्द्रको किनाराभन्दा टाढा कहिल्यै बहन सकिन । त्यसैले म तिमीलाई कुनै सम्बोधन गर्दिन अनि हाम्रो सम्बन्धको पनि कुनै नाम दिन्न । तर, माया भने अथाह गर्छु । बस्, तिमी फरक मेरो मित बनेका रहेछौ ।

अँ, मेरो फरक मित !

तिमीले जे लेख्यौ । त्यसले मेरो मनमा आँधी ल्यायो । मनमा यादहरूका चक्रवातले ताण्डव मच्चाएर गयो । मैले लुकाएको प्रेमलाई फेरी एक पटक छताछुल्ल पारेर गयो । खै किन लेख्यौँ तिमीले त्यो पत्र ? मलाई उत्तेजित बनाउन ? फेरी मेरो मनलाई मबाटै टाढा लैजान ? तिम्रो मनमा म प्रति कति घृणा रहेछ भन्ने जानकारी पनि दिलायौ । थाहा पाएँ आज पनि तिम्रो मनमा त्यति नै विष भरिएको रहेछ जति हिजो थियो । तर, अब म तिमीले दिएका विष हाँसेर पिउन सक्ने बनिसकेकी छु । तिम्रा तिरस्कारलाई मेरै भगवानका प्रसादका रूपमा ग्रहण गर्न सक्ने भइसकेकी छु । 

तिमी मेरो ओठको जति प्रशंसा गर्थ्यौँ, मनमनै म पनि तिम्रा ओठका पनि प्रशंसा गर्थेँ नै । साह्रै मिठास भरिएका हुन्थे, तिम्रा ओठमा । निकै पटक तिमीलाई बहकाउन खोजेँ । तर, अहँ तिमी बहकिएनौँ । थाहा थियो, तिम्रो माया मेरा लागि पवित्र थिए भन्ने ।

मैले भन्ने पर्छ, तिमीले पत्रमा लेखे झैँ म धोकेबाज थिइन । मैले तिमीलाई हिजो जति माया गर्थे, आज शायद त्योभन्दा बढी गर्छु होला । जति तिमी आफैले आफैँलाई पनि गर्दैनौँ होला । तर, जे भन । तिम्रो पत्रमा मैले माया मात्र भेटेँ । घृणा त मात्र स्वाङ रहेछ । निको नभएका घाउका पाप्रा मात्र रहेछन् । त्यसै म तिम्रो पुजारी बनेकी होइन रहेछ । मन केही हलुको बनेको छ ।

मलाई तिम्रो मन पढ्न आज पनि गाह्रो लागेन, जसरी ती दिन लाग्दैन थिए । तर चाहँदिन यो ढल्कँदो उमेरमा जवानीको रङ्ग चढाउन । तिम्राे अंगालोमा बेरिन ।

म जीवनमा तिमी बाहेक कसैको मायामा डुबिन । कसैलाई माया पनि गर्न सकिन । तिमी जति मेरा आँखामा डुब्यौ । म पनि तिम्रा आँखामा त्यति नै डुबेकी थिएँ । लाग्थ्यो, ती आँखाबाट कहिल्यै बाहिर निस्कन नपरोस् । बरु त्यही आँखामा तैरिँदै तिम्रो मन भित्रै बहिरहन पाए जस्तो लाग्थ्यो । तिम्रो सामीप्यमा न घुटन हुन्थ्यो, नत संसारको डर । बस्, तिमी नै मेरो संसार थियौ झैँ लाग्थ्यो । तर, नियति हेरन ! जे भयो, हामी दुवैले नचाहेकै भयो । भाग्यको त्यो कस्तो क्रूर खेल । एउटा सानो अविश्वास अनि क्षणिक आवेगले कसरी डुबायो हाम्रो सपनाको महल तिमीले बुझेकै छौ, मैले पनि ।

हो, त्यो डाँडाको डिलमा बसेर तिमीले गीत गाउँदा मैले पनि तिम्रो कपाल सहलाए कै थिएँ जसरी, तिमी सहलाउँथ्यौ । तिम्रो स्वरमा म पनि त्यसरी नै स्वर मिलाउँथे, जसरी तिमीले सुर लगाउँथ्यौ । चाहे ताल मिलाएर होस् वा नमिलाएर । कहिल्यै गुनासो रहेन तिम्रो मायाप्रति । जसरी गुनासो रहेन, तिमीले ताल नमिलाएर गाउने गीतमा पनि ।

तिम्रो थोत्रो मोटर साइकलले पनि कहिल्यै बिझाएन मलाई । त्यही मोटरसाइकलमा तिमीलाई कसेर समात्दा जीवनका सारा सपना पुरा भए झैँ लाग्थ्यो । अनि बतासिएर आउने हावाले केश उडाउँदा सपना कै संसारमा उडे झैँ लाग्थ्यो । । बादललाई झैँ बन्धनमुक्त छाडिदिन्थे ती केश पनि । बस्, मात्र यति चाहन्थे हामी दुईको जीवन सधैँ प्रेममय हुनु पर्छ । सुखद जीवन जिउने तिम्रो हैँसेमा होस्टे गर्न चाहन्थे म । त्यसैले रहर गरेर नै खाएको थिएँ जागिर । 

कसले हो कुन्नि मेरो बारेमा तिम्रो कानमा विष भरेछ । म कुनै दिन मेरो हाकिमको रखैल बनिन, प्रेमिका बनिन । तिमीले मलाई कहिल्यै बुझेनौ । तिम्रो गलत सोच र अहङ्कारले हाम्रो जीवनलाई लाली चढ्नु अगावै पतझर बनायो । अनि मेरो हाकिमको घर बिगार्न पनि तिम्रै हात रहेछ । कति निष्ठुरी बनेको तिमी ? कति नीच बनेको ? मलाई हराउन अरूको घर भाँड्ने चक्रव्यूहको रचना गर्ने । एक पटक मलाई विश्वास गरेको भए के हुन्थ्यो र ? एक पटक मलाई धैर्य गरेर सुनेको भए के बिग्रन्थ्यो र ? म तिमीलाई कति माया गर्छु भनेर अँगालोमा बाँधेर भन्ने रहर अधुरै रहे । तिम्रा ओठलाई औँलाले सहलाउँदै मायाको कसम खाने रहर पनि अधुरै रहे । 

मलाई छाड्यौँ, आँसु पिएरै बसेँ । तर, एउटा व्यक्तिको घर बिगार्‍यौ, त्यसले भने निकै पिडा दियो । किन छुटायौ, आफ्नो पत्रमा तिम्रो कायरता ? लेख्ने हिम्मत पनि गर्न सक्नु पर्थ्यो नि त आफ्ना कायरताका कथा । तिम्रो कानमा भरिएका विष तिमीले मेरा हाकिमको पत्नी पनि खुवाएछौँ । त्यसले हाम्रो सपनाको महल मात्र भत्किएन, अर्को एउटा सुखद गृहस्थीको पनि अन्त्य भयो । निकै घृणा जागेको थियो, तिमीप्रति । जति तिमीले मलाई त्यागेर अर्कैलाई रोज्दा पनि जागेको थिएन । 

मैले धेरै पटक तिमीलाई मनाउने प्रयास गरेँ । तिमीले हतार गर्‍यौ मलाई त्याग्न । तिम्रो मनमा मप्रति कति घृणा रहेछ, त्यो पनि बुझेँ । तर, तिम्रा आरोपलाई कहिल्यै स्विकारिन । जे सही थिएन, त्यसलाई किन स्विकार्ने ? मलाई छाडेर जाँदा तिमीलाई मनाउने कोसिस पनि गरिन । लाग्थ्यो हाम्रो विश्वासको धागो त्यति कमजोर छैन । तिमी एक दिन अवश्य फर्कने छौ । तर, ती सबै मेरा मनका भ्रम रहेछन् । तिम्रो आवेगको आगोले धेरैको घर जलायो । जीवनलाई खरानी बनायो । तिमीले मलाई आँसु पिउनु सिवाय केही गर्न सक्ने अवस्थामा छाडेनौ । म तिमीलाई पापी बनाउन पनि सक्दिन थिएँ, त्यसैले आत्महत्या गर्ने कल्पना पनि गरिन । तर, आज पनि कहाँ यो मनमा प्राण छ र, मात्र संसारले देख्दा न जीवित छु । जति बाँचेको छु, हरेक पल तिमीलाई सम्झिएकै छु । हरेक रात तिम्रो यादमा रोएकै छु । संसारको सबैभन्दा प्यारो मायालुलाई झैँ माया पनि गरेको छु, घृणा पनि गरेकै छु ।

अहङ्कारलाई थाती राखेर त्यो बेला तिमीले मलाई सुन्ने धैर्य गरेको भए आज पनि म तिम्रै आलिङ्गनमा हुन्थे । तिम्रा लागि प्रेमका प्याला मैरै मनले भरिदिन्थे । अनि तिमी आज पनि त्यही गीत गाउँथ्यौँ, जुन तिमी सधैँ गाउँथ्यौँ । मलाई आलिङ्गनमा बेर्दै, मेरा केशसँग खेल्दै । म पनि तिमीलाई त्यति नै माया दिन्थे, जति तिमीले पनि दिन सक्दैनौ थियौ । अनि तिम्रो तालमा ताल मिलाउँथे, तिम्रै मायामा लट्ठिएर,

‘यति चोखो, यति मिठो दिउँला तिमीलाई माया,
बिर्सने छन् साराले पुराना प्रेमका कथा ।’

हाम्रो मायालाई कोपिला मै चुँड्ने म होइन, तिमी हौ । झूटो बोल्दो रहेछौ तिमी । मेरो मनमा बस्छु भनेर । मनमा बसेको भए त, मेरो मनको हरेक कुरा बुझ्थ्यौ होला नि ? मैले नबुझेका पनि । मैले बोल्न चाहेका पनि । नचाहेका पनि ।

तिमीलाई थाहा छ । तिम्रो आलिङ्गनमा म जति पग्लन्थे नि, त्योभन्दा हजारौँ गुणा बढी आनन्दको झट्का लाग्थ्यो मेरो मनमा । तिमीले चुम्दा सारा शरीर तिमीलाई नै सुम्पिदिऊँ झैँ लाग्थ्यो । ती दिन भन्न सकिन तर, आज लेख्दैछु । म चाहन्थे, तिमीले मेरो अङ्ग–अङ्गसँग खेल भन्ने । मेरा ओठ मात्र होइन सारा शरीर चुमोस् भन्ने । म चाहन्थे, तिमीले मेरो शरीरमा हजारौँ भोल्टको बिजुलीको झट्का दियोस् भन्ने । म चाहन्थे, मेरो कुमारीत्व तिमीलाई उपहार दिऊँ भन्ने । तर, विश्वास थियो । मेरा सोचलाई कहिल्यै तिमीले गलत मान्दैनौ भन्ने पनि ।

तिमी मेरो ओठको जति प्रशंसा गर्थ्यौँ, मनमनै म पनि तिम्रा ओठका पनि प्रशंसा गर्थेँ नै । साह्रै मिठास भरिएका हुन्थे, तिम्रा ओठमा । निकै पटक तिमीलाई बहकाउन खोजेँ । तर, अहँ तिमी बहकिएनौँ । थाहा थियो, तिम्रो माया मेरा लागि पवित्र थिए भन्ने । तिमीलाई मेरो शरीर होइन, मन चाहिएको थियो भन्ने । 

म त हरेक पल चाहन्थ्ये, तिमी मलाई बिटुलो बनाऊ भन्ने । तर, तिम्रो चोखो मनले त्यसलाई कहिल्यै स्वीकार गरेन । म चाहन्थ्ये, सारा संसार त्यागेर तिमीसँगै भागूँ । ऊ त्यो क्षितिज पारी । बादलले पनि भेट्न नसक्ने गरी ।

म गुलाफ थिएँ, सहलाउन त जान्यौँ तर सम्हाल्न जानेनौँ । सँगाल्न जानेनौँ । चुम्न त जान्यौ तर भोग्न जानेनौँ । त्यसैले त हरेक पल तिमीप्रति मेरो माया गहिरो बन्दै गयो । मेरो विश्वास गाढा बन्दै गयो । तर, म जस्तो चाहन्थ्ये अकस्मात् तिमी फरक बनिदियौ । तिम्रो वचनले त्यो दिन मेरा मनमा परेका चट्याङको चोट आज पनि बल्झिरहन्छन् । मस्तिष्कलाई झस्काइ रहन्छन् ।

जे भए पनि के गर्नु ? तिम्रो अहम् नै हाम्रो बरबादीको कारण बन्यो । तिम्रै घमन्डको भूकम्पले हाम्रो कल्पनाको मिठो संसारलाई बरबाद बनायो । त्यसबाट न तिमी सम्हालिन सक्यौ नत म नै । आजसँग तड्पिरहेका छन् यी ओठहरू तिम्रा चुम्बनका लागि । तिम्रा मायाका लागि । त्यसैले म तिमीलाई घृणा गर्छु । आफ्नै सम्झेर । त्यसैले तिमी जे थियौ बस्, आज फरक मेरो मित बन्यौ ।

तिमी त मेरा मनको भँवरा थियौ अनि म फूल । अनि म तिमी बाहेक अरूलाई यो शरीरको स्पर्श गर्ने अधिकार दिन कहाँ सक्थेँ र ? तिमी सिवाय कसले मेरो ओठको मिठास पिउन सक्थ्यो र ? किन बुझेनौँ तिमीले ? किन विश्वास गरेनौँ मलाई ? आखिर मलाई साढे दुई अक्षरका प्रेमका परिभाषा बुझाउने पनि तिमी नै थियौ ।

तिम्रो कानबाट कसैले छिराएको विषले तिम्रो मनलाई पनि कालो बनायो । मसँग बदला लिन घरबार पनि बसायौ । सुन्छु, सुखी छौँ । खुसी लाग्छ । आफ्नो प्यारो संसारलाई कसैका लागि अब नबिगार ! मेरै लागि पनि । अब म तिम्रो हुन सक्दिन । कदापि सक्दिन । मैले त तिमीलाई चाहेको थिएँ । अरूको हुन नसकेको तिम्रो मनलाई चाहेको थिएँ । तिम्रो शरीरलाई चाहेको थिएँ । अब त तिमी बिटुलो भइसक्यौँ । मलाई चाहना छैन तिम्रो नजिक आउने । बस्, पर्याप्त छन् तिम्रा सम्झना नै बाँच्नका लागि । पर्याप्त छन्, तिम्रा माया मिश्रित घृणाहरू जीवनका अन्तिम श्वास फेर्नलाई । बस्, चाहना छ, मर्दा पनि तिम्रै नाम गुनगुनाओस् मेरा ओठले ।

अब म चाहन्न तिम्रो घर बिगार्न । तिमी मेरो लागि पराइ बनिसक्यौ । ती दिनभन्दा नितान्त फरक । भन्न चाहँदिन थिए तर भन्नै पर्ने भयो अहिले । नत्र तिम्रा नजरमा म सधैँ धोखाको मूर्ति बनेर उभिने पो भएँ जस्तो पनि लाग्यो । विश्वास गर वा नगर ! तिमीले मलाई नत्याग्दासम्म र मैले बिहे नगर्दासम्म म त्यति नै पवित्र थिएँ । जति तिम्रो अँगालोमा बेरिँदा थिएँ । मेरा ओठ र शरीर त्यति नै चोखा थिए, जति तिमीले छाडेर जाँदा थिए । तिमी बाहेक कसैलाई यो ओठ चुम्ने बहाना दिएको थिइन । अँगालोमा बेर्ने अधिकार दिएको थिइन । मेरो मायाको मिठास तिमी बाहेक कसैका लागि थिएनन् । मेरा शरीरबाट तिम्रा बाहेक कसैका लागि हिउँ पग्लेका थिएनन् । मेरा शरीरमा अरू कसैका सुगन्ध भरिएका थिएनन् । त्यो दिन न मैले सम्झाउन सकेँ नत तिमीले बुझ्ने प्रयास नै गर्‍यौ । कालो बादल लाग्न लेखिएको भाग्यमा अनि कहाँ उदाउँथ्यो र विश्वासका घाम ।

तिमी त मेरा मनको भँवरा थियौ अनि म फूल । अनि म तिमी बाहेक अरूलाई यो शरीरको स्पर्श गर्ने अधिकार दिन कहाँ सक्थेँ र ? तिमी सिवाय कसले मेरो ओठको मिठास पिउन सक्थ्यो र ? किन बुझेनौँ तिमीले ? किन विश्वास गरेनौँ मलाई ? आखिर मलाई साढे दुई अक्षरका प्रेमका परिभाषा बुझाउने पनि तिमी नै थियौ । माया र विश्वासका गाँठो कसरी बलियो बनाउने भनेर सिकाउने पनि त तिमी नै थियौ । मिथ्या रहेछन्, तिम्रो सोच । तिम्रा दर्शन । 

हो मैले पनि जिउने सहारा त खोज्नै पर्थ्यो । खोजेँ, एक जनालाई पतिका रूपमा । त्यो पनि परिवारको करबलले । मानिसलाई चोटले पनि कहाँ सजिलै साथ छोड्छ र ? मेरा नाताका पतिभित्र पनि तिमीलाई नै खोज्थेँ, तिमीलाई नै देख्थेँ । ओछ्यानमा पनि तिमीलाई नै कल्पन्थेँ । उसले आलिङ्गनमा बेर्दा पनि तिमी नै महसुस हुन्थ्यौँ । सकिन नाटकको जीवन धेरै दिन बाँच्न । सल्लाह मै छाडेँ । म चाहन्थे, मेरा खातिर उसको जीवन बरबाद नहोस् । जसरी आज चाहन्छु, मेरा खातिर तिम्रो जीवन बरबाद नहोस् ।

हिजो पनि बाँचे, भोलि पनि तिम्रै माया अनि तिम्रै घृणा साँचेर बाँच्ने छु । म तिम्रै मिरा बनेर बाच्न चाहन्छु, मर्न चाहन्छु । जति दिन जिउँछु, तिम्रै भजन गाउँछु । कृपया तिमी मेरो कृष्ण नै बनिराख्नु । मेरो नजिक आउने चाहना कहिल्यै नदेखाउनु । मन नै त हो, पग्लियो भने फेरी ? धेरैको मन अनि जीवनमा सुनामी आउनेछ । धेरैका सपनाका महल भत्कने छन् । धोखाका अनेकौँ कथाहरू फेरि रचिनेछन् । मात्र बाँकी रहनेछ, उही जर्जरता । अनि उही निस्तब्ध मनहरू ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि