हिन्दू संस्कृतिमा व्रत एवं पर्वहरूको विशेष महत्व छ । व्रत–पर्व जनजीवनका लागि नयाँ स्फूर्तिको संवाहक हुन् । यससँगै मानवीय मूल्यहरूलाई पोषित गर्ने भएकाले पनि व्रत एवं पर्वहरूको विशेष महत्व रहेको छ हिन्दू संस्कृतिमा ।
वैदिककालदेखि नै हाम्रा पूर्वज मेधावी मनीषिहरूले व्रत–पर्वहरूको आयोजना गरी व्यक्ति र समाजलाई पथभ्रष्ट हुनबाट रोकेका छन् । र यो आफैमा एउटा सुन्दर पक्ष हो व्रत–पर्वहरू मनाइनुको । हाम्रो वार्षिक पात्रो भरिभराऊ छन्, यस्ता अनेकौँ पर्वहरूले युक्त छन्, जुन सामाजिक र व्यक्तिगत जीवनका लागि प्रेरक सिद्ध भएका छन् । यस्तै सुन्दरता बोकेको एउटा प्रेरक पर्व हो अक्षय तृतीया ।
अभिजित् मुहूर्त
हिन्दू कालगणना अनुसार वर्षभरिमा चारवटा स्वयंसिद्ध अभिजित् मुहूर्त छन् - चैत्र शुक्ल प्रतिपदा, अक्षयतृतीया, विजयादशमी र दीपावली पूर्वको प्रदोष तिथि ।
यीमध्येकै एक, वैशाखमासको शुक्लपक्षको तृतीया तिथिलाई अक्षयतृतीया भनिन्छ । अक्षयको शाब्दिक अर्थ हो जसको कहिल्यै क्षय (नाश) हुँदैन । जे सधैँ स्थायी रहन्छ त्यो अक्षय हो । स्थायी त्यही रहन सक्छ जे सनातन छ, सत्य छ । र, वेदादि सम्मत हाम्रो मान्यता छ, सत्य केवल परमात्मा मात्र छन् । परमात्मा नै अक्षय, अखण्ड र सर्वव्यापक छन् । यसैले अक्षयतृतीया तिथि ‘ईश्वर’ तिथि हो ।
यस तिथिको अर्को विशेषता के पनि छ भने, चारयुगमध्येको एक त्रेतायुगको आरम्भ पनि यसै तिथिबाट भएको मानिन्छ, यसैले यस तिथिलाई युगादि तिथि पनि भनिन्छ ।
यसै तिथिमा भगवान् नारायणले लोक–कल्याण र धर्मस्थापनाका लागि नर–नारायण अवतार धारण गर्नुभएको थियो । नर र नारायण रूपमा भगवान्ले बद्रीकाश्रममा तप गर्नुभएको थियो । त्यो तप लोककल्याणार्थ थियो । किनभने भगवान्ले गीतामै भन्नुभएको छ, मेरा लागि कर्तव्य रूपमा कुनै पनि करणीय कर्म छैनन् । ताथपि म अवतार धारण गरी कर्म गर्दछु, लोकलाई कर्मको मर्म बुझाउनका लागि ।
त्यस्तै आसुरी शक्तिलाई पराजित गर्दै वेदहरूको संरक्षणका लागि भगवान्ले हयग्रीव अवतार ग्रहण गर्नुभएको तिथि पनि अक्षय तृतिया नै हो । समाजलाई शस्त्र र शास्त्रको मर्यादासित परिचित गराउन यसै तिथिमा जमदग्नी ऋषिका छोराका रूपमा माता रेणुकाको गर्भबाट भगवान् विष्णुले परशुरामका रूपमा अवतार धारण गर्नुभएको थियो ।
यस तिथिको दिव्यतालाई शिरोधार्य गरी अक्षयतृतीयाकै दिन हिन्दू धर्मका प्रख्यात चारधाममध्येको एक श्रीबद्रीनाथ धामको द्वार खोलिन्छ । शीतकालमा छ महिना बन्द रहेका द्वार खुलेपछि छ महिनादेखि दर्शनका लागि पर्खिएका श्रद्धालु दर्शनार्थी भक्तहरूले भगवान् बद्रीविशालको दर्शन पाउँदछन् ।
यसै दिन वृन्दावनस्थित श्रीविहारीजीका चरणहरूको दर्शन पनि गराइन्छ । श्रीबाँकेविहारीको चरण दर्शन वर्षमा एक पटक मात्र गराइन्छ ।
जीवनमूल्य पोषक तिथि
पुराण ग्रन्थहरू अनुसार यस दिनमा जे पनि शुभ कार्य गरिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने विश्वास छ । यद्यपि यसरी भन्नुको तात्पर्यलाई हामीले आत्मसात गर्न आवश्यक छ । यो आत्मविश्लेषण एवं आत्मनिरीक्षणको तिथि हो । यस दिन हामीले आफैलाई खोज्नुपर्ने तिथि हो । हनुमान चालिसामा उल्लेख भएझैँ 'निज मन मुकुरु सुधारी'को तिथि हो ।आफैलाई खोज्नु, अर्थात् आत्मान्वेषण, आत्मविवेचन । यस दिन चिन्तन गरिनुपर्छ– हामीबाट क्षयशील कार्य हुँदैछन् अथवा अक्षयकार्य हुँदैछन् ।
जुन कुराले हाम्रो पतन हुन्छ, जसले हामीलाई खसाल्छ, चाहे अरुका दृष्टिमा होस् या आफ्नै दृष्टिमा, त्यस्तो कार्यलाई क्षयकारी मानिन्छ । क्षय गराउने वस्तु हुन् – असद्भावना, असद्विचार, अहंकार, स्वार्थ, काम, क्रोध, लोभ इत्यादि । यी वृत्तिलाई भगवान् श्रीकृष्णले गीताको सोह्रौँ अध्यायमा आसुरीवृत्ति भन्नुभएको छ । यिनले व्यक्ति तथा समाजलाई पतनतिर लैजान्छन् । यसको विपरीत, जीवनलाई माथि उकास्ने, उन्नतिशील बनाउने अक्षयधर्मा सकारात्मक चिन्तन–मनन र व्यवहारले हामीलाई दैवीसम्पदातिर डोर्याउँछन् ।
दैवीसम्पदाबारे पनि श्रीकृष्णले गीताको सोह्रौँ अध्यायको श्लोक सङ्ख्या १ देखि ३ सम्म उल्लेख गर्नुभएको छ । हामीले सद्वृत्तिलाई अपनाएर, दैवीसम्पदाले युक्त भएर त्याग, परोपकार, मैत्री, करुणा र प्रेमद्वारा परम् शान्ति प्राप्त गर्न सक्छौँ । दिव्य गुणहरूले विभूषित हुन सक्छौँ । यस दृष्टिले यो तिथि आत्मविश्लेषण गरी जीवनमूल्यहरू धारण गर्ने तिथि पनि हो । र यो धारण, यो स्वीकृति एक दिनका लागि होइन । यो आजीवन अथवा भनौँ आजन्म धारण गरिनुपर्ने तत्व हो । अनि मात्र यसलाई अक्षय भन्न सकिन्छ ।
हामी चाड–पर्वलाई उत्सव पनि भन्छौँ । उत्सव हो यो, जसको अर्थ हुन्छ हाम्रो 'उत्स' अर्थात् हाम्रो स्रोतसँग जोड्ने तत्व । हामी वैदिक हिन्दू धर्मावलम्बीले जीवनको स्रोत ईश्वरलाई स्वीकारेका छौँ । हाम्रो उत्स हो परमात्मा । यसर्थ अक्षय तृतीया हाम्रालागि हाम्रो मूलसित परिचित गराउने पावन उत्सव पनि हो ।
सामाजिक पर्व
अक्षयतृतीया सामाजिक पर्व पनि हो । यस दिन स्वयंसिद्ध अभिजित् शुभ मुहूर्त हुनाले विवाहादि माङ्गलिक कार्य सम्पन्न गरिन्छ । लगभग ग्रीष्मकालको आरम्भमा यस दिन, अथवा यसदिन उपरान्त सात्तु सर्बत दान गर्ने परम्परा छ । यसको तात्पर्य हो, जीवनमा दानको महत्तालाई स्थापित गर्नु । दान एक दिनका लागि होइन । यो निरन्तरको कृत्य हो । यसमा त्याग र सेवाको भावना हुनुपर्छ । यस कार्यले समाजमा त्याग र सेवाको भावनालाई बलियो, क्षय नहुने अक्षय बनाइदिन्छ । यसले निस्वार्थता, परोपकार जस्ता मानवीय गुणहरूलाई पनि पोषण गर्दछ । पाप र पुण्यको तराजुलाई नै सर्वोपरि ठानेर पुण्यफलदायक कर्मगर्नेले पनि स्वीकार्छन् - वञ्चितहरूलाई, आवश्यक परेकालाई दिइने दान आफैमा पनि अक्षयपुण्यदायक हुन्छ नै ।
यसरी, जीवनमूल्य पोषक, आत्ममन्थनको पर्व, सामाजिक सौहार्दता र सेवाको भावना सिञ्चित गर्ने पर्व हो अक्षय तृतीया । यसले सबैलाई आफ्नो व्यक्तिगत जीवनमा र सामाजिक परिधिमा स्वधर्मको रक्षा र अनैतिकताको विनाशको सद्प्रेरणा प्राप्त होस् । सबैलाई अक्षय एवं मङ्गलमय शुभकामना ।