कात्तिक १८, २०८१, आइतबार
               

होलीका रङ्ग अनि भाङ

चेतन पाण्डे
फागुन २८, २०७६

ADVERTISEMENT

होलीका रङ्ग र जीवनका रङ्गमा त्यही तात्त्विक फरक हुँदैन ।

हरपल, हरक्षण परिवर्तन भइरहने, मुहारमा । कहिले रातो, कहिले पहेँलो त कहिले कालोले पोतिनु पर्ने । बस् फरक पर्छ त, लगाइदिनेको रङ्ग र नियतमा ।

जीवनमा यथार्थका मात्र होइनन्, कल्पनामा पनि अनेक रङ्ग लगाइयो, देखियो ।

चाबहिलको मुख्य सडकमै घर थियो । आजकालका बच्चा झैँ शान्त थिएनौँ, हामी । होली आउनुभन्दा झन्डै महिना दिन अघिदेखि नै सुरु हुन्थ्यो, हाम्रो होली । फागुको लिङ्गो गाड्नु पर्दैन थियो, हाम्रो होली सुरु हुन । जब लोला हान्न सुरु हुन्थ्यो, उमेर मिल्दा नातागोता अनि साथीभाइको साँझ कटाउने थलो बन्थ्यो, मेरो घरको छत । शायद अहिलेका हरेक केटा–केटीसँग झैँ हात हातमा मोबाइल र ट्याब नभएकाले पनि होला । समय त कटाउनै पर्‍यो, रमाइलो त गर्नै पर्‍यो ।

पैदल यात्रीका लागि सास्ती दिने छुद्र केटाहरूमा हामी पनि गनिथ्यौँ, अरू झैँ । हाम्रै उमेरका अनि केही साना वा ठुला युवतीहरूले दैनिक सराप्ने व्यक्ति थिए, त्यस बेलाका अल्लारे ठिटाहरू । सरापाइ लाग्दो हो त अहिलेसम्म हाम्रो अस्तित्व समाप्त भइसक्थ्यो होला । झ्याल खुल्लै राखेर गुड्ने सार्वजनिक साधनमा समेत लोलाको वर्षा गराउँथ्यौँ । विश्वास गर्थ्यौ, हामीले हानेको लोलाले बसमा बस्ने कुनै महिलाकै ढाड सेकेको हुनै पर्छ । केटालाई भिजाउने रहर कहिल्यै भएन ।

एउटा होलीअघि हामी एक हुल केटाहरू मेरै घरको छतमा बसेर लोला हान्दै थियौ । के गर्नु उमेर कै दोष त होला नि । केटी बाटामा हिँडेको देख्नै नहुने सबैको लोला लहरै बर्सिन थालिहाल्थ्यो । रामानन्द सागरको रामायणमा रामले हानेको बाण एउटै गति र लयमा राक्षसी सेनालाई सखाप पार्न निस्किए झैँ । शायद हामीले हानेका लोला मध्ये एक–दुई वटा त एक आपसमै ठोक्किएर फुट्थे पनि होलान् ।

बिचरी ती केटीमाथि नराम्रोसँग बर्सियो हाम्रो लोलाहरू । निथ्रुक्क भिजेर रुँदै गइन् । के माया लाग्थ्यो र हामी जस्ता मन नभएका अल्लारेलाई ।

उनी गइन्, एक छिन पछि त हाम्रो घर नजिकै केही हुल प्रहरी आइपुग्यो । अनि हाम्रै घरको ढोका ढक ढकायो । त्यो बेला पनि लोला हान्न प्रशासनले बन्द गर्थ्यो नै । लाग्यो प्रहरी हामीलाई समात्न आइपुगे । सबै भागे, पर्खाल नाघेर । म कहाँ भाग्नु ? आफ्नै घरबाट । घर कै कोठामा गएर लुकियो । प्रहरीले घर खानतलासी गरे पक्राउ गर्छ भन्ने भयका साथ । प्रहरीले जति ढोका ढक ढक्याउँथे, मेरो मुटु पनि त्यही तालमा उफ्रिन्थ्यो । घरको ढोका खोले ममी–बाबाले ।

मेरा ममी–बाबासँग ती केटीका पिताले गफ गरिरहेको सुनेँ, लुकेर । होलीलाई लोला हान्न कानुनी बन्देज लगाउने निकाय अर्थात् जिल्ला प्रशासन कार्यालयका माथिल्ला श्रेणी कै कर्मचारी रहेछन्, हामीले लोलाले निथ्रुक्क पारेका केटीका पिताजी त । मेरा ममी–बाबाले पनि झुट बोले । ‘टोलभरिका केटाहरू यही आएर लोला हान्छन् । कस–कसलाई गाली गर्नु, हाम्रो छोरा भने त्यस्तो छैन । ज्ञानी नै छ ।’

बाबा पनि नेपाल राष्ट्र बैङ्कको माथिल्लै श्रेणीका अधिकृत । काठमाडौँको जनसङ्ख्या कमै थियो । एउटै टोलमा बस्नेहरू एक अर्कासँग परिचित हुन्थे नै । ती सरकारी कर्मचारी पनि द्विविधामा परे अनि नपात्य पनि भने ‘अल्लारे उमेरमा अलि अलि खेल्नु त ठिकै हो तर, हेर्नुस् न यसरी हान्न हुन्छ र ?’ अबदेखि कोही जबरजस्ती घरमा घुसे भने खबर गर्नु नि ।’

लाग्यो, अब पक्राउ परिन्न । अनि पुगेँ लुगा फेरेर सबैका अगाडि ।

‘यही हो मेरा छोरा !’ म फिसिक्क हाँसे मात्र । ती केटीका पिताले मेरा बाबा–ममीको मैले लोला हानेको थिइन भन्ने कुरा पत्याए वा पत्याएनन् ? थाहा भएन । तर, नसियत दिन भने छाडेनन् । ‘बाबु तिमी यस्तो काम नगर्नु ल ! नत्र पुलिसले जेलमा कोच्छ नि ! बाउ–आमाको इज्जत जान्छ !’ मेरो के जान्थ्यो र, हुन्छ भनेर टाउको हल्लाइ दिए ।

काठमाडौँमा नबद्लिएको एउटै कुरा छ । पानीको अभाव । त्यो बेला पनि थियो, अहिले पनि छ । तर, कङ्क्रिटका जङ्गलले घेरिएको थिएन, काठमाडौँ । त्यसैले ठाउँ–ठाउँबाट पानीका मुहान निस्किएका थिए । 

प्रहरी र ती अनजान केटीकी पिता मेरा घरबाट अलप भएपछि घमन्डका साथ भनियो, ‘मलाई त केही गर्न सकेन ।’ बाबाले आँखा तरेर हेरे मात्र ।

फेरी अर्को दिनदेखि उस्तै ताल सुरु । उही अल्लारे टोलीका साथ ।

हामी कमका थिएनौँ । बस स्टपमा स्कुलको बस कुर्दासमेत अर्को स्कुलको बसमा लोला बर्साउँथ्यौँ । आफैँ चढ्ने बसभित्र पनि केटीहरूलाई लोला हान्थ्यौँ । साह्रै फटाहा । अहिले लाग्छ आफ्नै स्कुलमा पढ्नेलाई त हामीले सुरक्षित बनाउनु पर्ने थियो तर, हामी नै उनीहरूका लागि असुरक्षित बनिदिन्थ्यौँ ।

एक पटक हाम्रै स्कुलको अर्को रुटको बसमा पनि लोला हानियो । बसमा विद्यार्थी मात्र होइन अध्यापकहरू पनि चढ्थे नै । त्यही बसका स्थायी सवार थिए, विजय सर । हाम्रो ‘क्लास टिचर’ पनि । देखेछन्, मैले लोला हानेको । कक्षामा छिर्ने बित्तिकै हाजिरी गर्नुभन्दा अगाडि मेरो राम धुलाइ गरे । फेरी त्यस्तो हरकत दोहरिए प्रिन्सिपलका कहाँ पुर्‍याउने धम्की नै दिए ।

यस्तै हरकत गर्दा गर्दै होलीको मुख्य दिन आउँथ्यो । अनि सारा केटाहरू मिसिएर जुलुस निस्किए झैँ घुमिन्थ्यो, चाबहिलका चोक–गल्ली । लहड नै हो, भाङ पनि खाइयो । कहिले हाँसियो, कहिले रोइयो । भाङको नशामा ।

काठमाडौँमा नबद्लिएको एउटै कुरा छ । पानीको अभाव । त्यो बेला पनि थियो, अहिले पनि छ । तर, कङ्क्रिटका जङ्गलले घेरिएको थिएन, काठमाडौँ । त्यसैले ठाउँ–ठाउँबाट पानीका मुहान निस्किएका थिए । अहिले सुकेका देखिने काठमाडौँका सार्वजनिक धाराहरूमा हामीले पानी बगेको देखेकै थियौँ । लाग्छ विकासभन्दा बढी विनाशमा जाँकिदैँ छ, त्यो बेलाको सुन्दर र अहिलेको कुरूप काठमाडौँ । अनि लाग्छ, हामीले जोगाउन सकेनौँ, यति सुन्दर सहरलाई । दोषी हामी नै हौँ ।

चाबहिल चोकभन्दा केही तल पूर्व पट्टी लहरै धाराहरू थिए । बाँकोट भनिन्थ्यो । बाँकोटको अर्थ के हो आजसम्म खोजिएन । आजभोलि त्यता बस्नेले पनि त्यो नाम सुनेका छैनन् होला । तर, त्यही धारामा हामीले होलीका रङ्ग धोएका छौँ । होलीका दिन नुहाउनेको हुल नै हुन्थ्यो, त्यहाँ । भाङको नशामा कोही रुँदै त कोही हाँस्दै नुहाएका दृश्य कुनै चलत्रिचमा दिमाग खियाएर लेखिने दृश्यभन्दा कम हुँदैन थिए ।

उमेर सानो, उकास्नेको के कमी हुन्थ्यो र । एक पटक ठुला दाइहरूले उकास्दा उकास्दा यति भाङ खाइएछ कि, थाहा पाएर उठ्दा दुई दिन बितिसकेको रहेछ । मेरो जिन्दगीको क्यालेन्डरबाट एक दिन भाङ कै कारण हरायो पनि । ममीको रोएर बिचल्ली भएछ । बाबा भने ‘सुत्न दे उठी हाल्छ नि नशाले छाडे पछि! भन्दा रहेछन् । मलाई गाली गर्दै ।

एउटा होली हाम्रा परिवारका सबै मेरा नाता पर्ने दिदी दाजुहरूसँग खेलिँदै थियो । भाङ खाने कुरो उठ्यो । त्यस बेला पनि थियो, गाँजा–भाङमा प्रतिबन्ध तर, नाम मात्रको । हरेक मिठाई पसलले बच्थे, भाङका लड्डु । कहिले भाङ नचाखेका मेरा नजिकका दिदीहरूले खाए । त्यही सुरमा आफन्तका घर–घर चहारियो, होली खेल्न ।

बेलुका जब घर फर्कियौँ । एक जना दिदी त रुँदै भुइँमा बसिन् । घरमा पानी नपसोस् भनेर लगाइएको एकसरो इट्टालाई आफूभन्दा ठुलो पर्खाल पो देखिछन् । अब कसरी भित्र जाने भन्दै रुँदै गर्न थालिन् । हामी भने मरिमरी हाँस्यौँ । त्यो हाँसो निदाउनुभन्दा अगाडिसम्म हामीबाट अलप भएन ।

भाङ चौपायाका लागि पनि राम्रो औषधि हो । मानिसका लागि पनि । भाङ र गाँजालाई औषधिका रूपमा प्रयोग गर्दा फाइदा पनि रहेछ । नेपालमा विदेशी दबाबमा प्रतिबन्ध लगाइएको यो पदार्थलाई उत्पादन र प्रयोगमा अब प्रतिबन्ध हटाउनु पर्छ भन्ने मागमा मेरो पनि समर्थन छ । प्रयोग भने औषधिकै रूपमा गर्नु पर्छ, नशाका लागि होइन ।

असनमा किन्न पाइन्थ्यो, वैद्यको पसलमा । धुलो भाङ । शायद अहिले पनि पाइन्छ नै होला । म किनेर ल्याउँथे । घोट्टा बनाउँथे ।

जुन बेला काठमाडौँ ‘हिप्पी कल्चर’ मा रङ्गिएको थियो । त्यो संस्कृतिमा प्रतिबन्ध लगाउनुका सट्टा कानुनीरुपमा बढावा दिएको भए आज हामी पनि कुनै सम्पन्न मुलुकभन्दा कम हुँदैन थियौँ होला, जस्तो लाग्छ कहिले काहीँ । हो, यस्ता लतबाट भने आफ्ना नागरिकलाई बचाउन राज्यले कडा कानुन बनाउनु पर्छ । आजकाल पनि धेरै रेस्टुराँहरू रहेछन् । लुकेर गाँजा बेच्ने, ख्वाउने । कतै सुनेको कतै पढेको हो, नेपालमा उत्पादन हुने गाँजा विश्व कै केही अब्बल गाँजामा पर्छन् रे । यसलाई ओषधि बनाउने स्वदेशी विदेशी कम्पनीलाई बेच्न सके मात्र पनि देश समृद्धितर्फ लाग्थ्यो कि ? यस्ता कुरा पनि मनमा खेली हाल्छन् ।

मैले थाहा पाएसम्म असनमा किन्न पाइन्थ्यो, वैद्यको पसलमा । धुलो भाङ । शायद अहिले पनि पाइन्छ नै होला । म किनेर ल्याउँथे । घोट्टा बनाउँथे । यतिसम्म भयो कि मानिसहरू होली आयो कि मेरो घरमा घोट्टा खानका लागि मात्र भए पनि आउन थाले । अनि बन्द गरिदिएँ, बनाउनै । इज्जत नै जाला कि भन्ने डरले ।

बनारस जाँदा देखिन्छन्, वास्तविक घोट्टा । साइनबोर्ड नै झुन्डाएर बिक्री भइरहेको हुन्छ । आफ्नो रोजाइ अनुसार हरियो भाङ्गमात्र डल्लो पारेर पनि खान मिल्छ । दूध र अन्य प्रकारका सर्बतमा मिलाएर पनि । ठन्डाइ भन्छन् । गर्मीबाट बचाउँछ भन्थे, एक पसलेले ।

चेन्नइमा बस्दा पनि एउटा होलीमा खाइयो, भाङ साथीभाइसँग मिलेर । त्यहाँ त प्लाटिकको पाउच हालिएको लेबलसहितको भाङ पाइन्थ्यो । तर, अलि खैरो रङ्गको । शायद चिनीसँग पकाएकोले रङ्गमा भिन्नता आएको होला । लेसिलो हुन्थ्यो । तर, चरेस होइन ।

खाइयो अनि साथीभाइ मिलेर खेलियो होली । ‘एरियल’ भन्ने डिटर्जेन्ट भर्खर भर्खर बजारमा आएको थियो । हामी त्यसले नै लुगा धुन्थ्यौँ । दागहरू राम्रैसँग हट्थे । आफू परियो कालो वर्णको । नशाको सुरमा त्यही एरियलले नुहाएँ । अनि साथीहरूलाई भने, ‘लुगाको कालो त हटाउँछ, मेरो मुखलाई सेतो किन नबलाउला !’ समय लगाएर मिच्दै नुहाए । साथीहरू मेरो ताल देखेर पेट मिचिमिची हाँस्न थाले । नुहाएर ऐना हेरेँ । केही गोरो भएँ कि भन्ने भ्रम पनि दिलायो । भोलिपल्ट ऐना हेर्दा थाहा पाएँ, अझै कालै रहेछु भनेर । होलीमा दलेको रङ्ग हो र मेटिनलाई । यस्तै सोचेँ, मनमनै ।

हुन त कुनै नशा राम्रो हुँदैन । हुन्छ त बस्, जीवनको नशा, प्रेमको नशा । त्यसैले खान्न आजकालको होलीमा, भाङ । धेरै वर्ष भयो । साह्रै काम नलाग्ने नशा हुने । खाएको केही दिनसम्म शरीर नै लोथ बनाइदिने । जाँगर नै नचल्ने । त्यो बेला लहडमा खाइयो, अहिले सोच्दा पनि किन खाइएछ भन्ने लाग्छ ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि