उमेर आउँदो रहेछ । माया छरिरहने, माया मै सोहोरिरहने ।
लाग्थ्यो, कुनै बेला आफूले मन पराएका केटीहरू चिटिक्क ठाँटिएर हिँड्दा मेरै लागि सजिएकी हुन् झैँ । फुलले पनि सुभाष छर्ने आखिर मौरीलाई लालायित बनाउनै त होला नि । यस्तै सोचिन्थ्यो । कहाँ पुग्दो रहेछ त, आफूले सोचे झैँ । खोजे झैँ ।
एकतर्फी माया त कति गरियो, गरियो । त्यसैले माया र मायालुका मामिलामा मेरा अनुमान सहीभन्दा बढी गलत नै साबित भए । जिन्दगीको खेल नै यस्तै हुँदो रहेछ । शायद ‘टिनएज’ मा प्रेम गर्नेका कथा प्राय सबैका मेरा जस्ता नै हुन्छन् होला । बिछोडका वेदनाले भरिएका । आखिर भगवानलाई पनि हरेक व्यक्तिको जीवनको फरक–फरक स्क्रिप्ट लेख्न कहाँ फुर्सद मिल्दो होला र ? केही भाग्यमानीले मात्र त्यो सुविधा पाउँछन् होला ? जस्तो लाग्छ ।
नत्र मिलनभन्दा बिछोडका कथा किन सुपर हिट हुन्थे होलान् र ? मानिसको मन छुने पनि आफैसँग मिल्दो जुल्दो कथाले नै त हो ।
मैले जतिलाई मन पराएँ । एकपछि अर्को गर्दै अर्कै कै डोली चढ्दै गए । म जिल्ल पर्थेँ, रमिते बन्थेँ । अहिले सम्झँदा मन मनै खित्का छाडेर हाँस्नु बाहेक अर्को विकल्प पनि छैन नै ।
अनि मलाई लाग्थ्यो, ‘मात्र सहमतिका लागि मैले भन्न र उसले जवाफ फर्काउन त बाँकी थियो नि ? माया त दुवैले गरे झैँ लागेकै थियो ?’ मेरा अधिकांश सोच भ्रम साबित भए । कति अपरिपक्व उमेरको खेल थियो त कति दिमागमा भाइरसको सङ्क्रमण । सधैँ मन मार्नु पर्ने, कडा भाइरस । कोरोना जस्तै । मुन्ना भाइको शब्दमा ‘केमिकल लोचा’ ।
ऊसँग नजिक हुने लोभ कहिले छाड्न सकिन । त्यो बेला पनि, शायद आजसम्म पनि । पहिलो माया निकै कडा हुँदो रहेछ । होलीको रङ्गभन्दा पनि कडा । चाहे एकतर्फी होस्, चाहे दुईतर्फी ।
अनि याद आउँथ्यो, राज कपुरले बनाएका हिन्दी चलचित्र प्रेम रोगको त्यही गीत, ‘भँवरे ने खिलाया फुल, फुलको ले गया राजकुँवर ।’
जिन्दगी पनि फिल्मको कथा र स्क्रिप्टभन्दा भिन्न हुँदैन रहेछ । जिन्दगीका विभिन्न मोडमा ट्वीस्ट दिइरहने । झस्काइ रहने ।
हुन त त मैले स्कुल पढ्दा पनि कसैलाई मन पराएकै थिएँ । माया पनि निकै गहिरो थियो नै । तर, उमेर कै दोष हो कि मेरो आफ्नै, उसको नजिक जान पनि डर लाग्थ्यो । स्कुलको मास्टरको डर । अनि उ कतै मसँग रिसाउलिन् र टाढा जालिन् कि भन्ने भय । तर, जहिले नजिक भइन्थ्यो, मनमा काउकुती लाग्न थाली हाल्थ्यो । त्यो मामिलामा मेरो सोच अलि भिन्न थियो ।
उसलाई पनि थाहै थियो, मैले मन पराउँथेँ भनेर । बेला बेला म तिर तेर्सिने मुस्कानसहितको कड्के नजरले उसको मायाको भेउ पाउन मलाई कठिन भएन । तर, विश्वस्त पनि कहिल्यै भइन । साथीभाइसँग भन्न पनि लाज लाग्थ्यो । शायद स्वभावैले लजालु भएर पनि हुन सक्ला, म । नत्र कसैले मेरो मायालाई गाँस्न पनि सहयोग गर्थे कि त ?
आज सोच्दा लाग्छ, मैले गर्नुपर्ने प्रेमको पहिलो पहल किन गरिन भनेर । कहिले त आफैँसँग रिस पनि उठ्छ नै । तर, खोला झैँ समय पनि बगी सकेको छ । फर्केर कहाँ आउँछ र ? अहँ आज पर्यन्त भनिएन । न उसले, नत मैले । बोल्न पनि लाज लाग्थ्यो । तर, अहिले पक्का छु, उसले पनि मलाई मन पराएकै थिइन् । मनभरि मलाई सँगालेकी थिइन् ।
त्यसैले उसकै मायालाई साक्षी राखेर कसम खाएको छु । उसको नाम कहिल्यै मुखमा ल्याउँदिन । मलाई अहिले पनि उसको इज्जत प्यारै लाग्छ । आखिर मुखले नभने पनि हामीले माया त गाँसेकै थियौँ । आँखाको भाखामा कसम खाएकै थियौँ ।
तर पनि, ऊसँग नजिक हुने लोभ कहिले छाड्न सकिन । त्यो बेला पनि, शायद आजसम्म पनि । पहिलो माया निकै कडा हुँदो रहेछ । होलीको रङ्गभन्दा पनि कडा । चाहे एकतर्फी होस्, चाहे दुईतर्फी ।
उनले पनि मलाई माया गर्थिन्, विश्वास थियो अनि छ । तर, त्यो उमेरमा मेरो मनस्थिति र उसको मनस्थितिमा खासै के नै भिन्नता थियो होला र ? न मैले भन्न सके नत उसले कबुल्न । अहिले पनि लाग्छ, उसको मनको कुनै कुनामा मेरो बिम्ब आज पनि जिउँदै होला ।
त्यसमाथि समाज यति स्वतन्त्र र खुल्ला पनि भइसकेको थिएन नै । त्यसैले त धिक्कार लाग्छ, आफ्नै भाग्यसँग । जन्मन चाहिँ अलि चाँडै जन्मिए छ भनेर । नत्र आजकालका प्रेमिल जोडी झैँ म पनि उनको अँगालोमा जकडिएकै हुन्थे होला । कहिले पार्कमा त कहिले कुनै रेस्टुरेन्टमा ।
पुराना दिनका सम्झनाहरू बाफ बनेर कतै विलीन हुँदै थिए । सम्झना धुमिल हुँदै थिए । लामो बिछोडपछि एक दिन अचानक भेटेको थिएँ, उसलाई । मन खोलेर कुरा गरियो । हाँसियो ठट्टा गरियो । त्यो दिन पनि उसले मलाई र मैले उसलाई कड्के नजरले हेर्न छाडेनौँ । तर, हामी दुवै अर्कै बन्धनमा बाँधिसकेका थियौँ, अर्कै वाचा गरिसकेका थियौँ । फेरी लुकायौँ मायाका अनुभूति, स्कुले जीवनमा झैँ । आखिर हामीले कमाएको र निभाउनु पर्ने संस्कार नै त्यही थियो, सधैँ रहने छ । एउटाको हात समातेर खाएको कसम, अर्कोका लागि तोड्न नसक्ने । हाम्रो समाज त्यति खुला हुँदो हो त अवश्य एक पटक घुँडा टेकेर उसको अगाडि मेरो प्रेम उदाङ्गो बनाउँथे । अनि फेरी कहिल्यै नभेट्ने वाचा पनि गर्थेँ, पत्नीसँग खाएको कसमको मान राख्न ।
मलाई कहिल्यै लुकेको र लुकाइएको समाज मन परेन । स्वतन्त्र तर स्वच्छ समाज मेरो सधैँ पहिलो रोजाइ बन्यो ।
हुन त मेरा बाबा भन्थे । तिमीहरू झैँ हामीले कहाँ स्वतन्त्र र उदार जिन्दगी पायौँ र ? शायद मेरो छोरा–छोरीले पनि भोलि आफ्ना सन्तानलाई पनि यस्तै भन्छन् होला ।
समाजको विकास र उदारता पनि रक्सीको मात जस्तै त हुन्छ होला नि ? समयसँगै जति पेग बढ्दै गयो, मानसिकता पनि त्यति नै उदार हुँदै जाने । त्यस्तो उदारताले कति हानी गर्छ वा फाइदा त्यो समयलाई बुझ्न सक्नेले नै बताउलान् । मैले समयलाई बुझिन, समयसँगै परिवर्तन हुने मानिसको मानसिकतालाई पनि बुझिन । न लोभ सिकेँ नत लालच । त्यसैले धेरै कुरामा असफलता पनि हात लाग्यो । प्रेममा पनि । मायामा हारेँ तर सधैँ आफूलाई विजेता नै ठानिरहेँ । झुटै सही ।
कति कुराले मनलाई अहिले पनि झस्काइ रहन्छन् । प्रेमका पुराना यादले पनि ।
होला, यस्ता कुरा लेख्दा पत्नीजीले एक दुई रात भोकै पनि सुताउलिन् । तर, उसलाई अहिले त्यति नै माया गर्छु, जति हिजो स्कुलले जीवनमा उनलाई गरेको थिएँ । शायद त्योभन्दा पनि बढी । मेरी पत्नी मेरी सन्तानकी आमा पनि हुन् । म असफल प्रेमका लागि सफल गृहस्थी जीवनलाई बलि पनि चढाउन सक्दिन नै । तर, एउटा सत्य यो पनि छ, भविष्यमा मैले कसैसँग बन्धनमा बाँधिनु पर्छ भनेर कहिल्यै नदेखिएकी पत्नीका खातिर अरूसँग माया गाँस्न हुँदैन भनेर कुनै शास्त्रमा कहाँ लेखिएका थिए होलान् र ? नत्र राधासँग प्रेमको अथाह गहिराइमा डुबेका श्रीकृष्णलाई रुक्मिणीले पत्नीका रूपमा कसरी मायाको सागर खन्याउँथिन् होलिन् ?
मैले जन्मँदै ताका भविष्यकी पत्नीप्रति मात्र बफादार रहन्छु भनेर कहिल्यै कसम पनि त खाएको थिइन नि । त्यसैले मैले उसलाई पहिलो–पहिलो भेटघाट मै भनेको थिएँ । ‘तिमी मेरो अतीत नकोट्याऊ, म तिम्रो !’
उसलाई मैले स्कुले जीवनपछि पनि एकाध पटक भेटेकै छु । अहिले काउकुती त लाग्छ नै । तर, अहिले काउकुतीको मिठास त्यो बेला झैँ मिठो हुँदैन रहेछ । उसको र मेरो बाटो अनि गन्तव्य फरक भइसकेकाले पनि होला ।
मेरो पहिलो माया गुलाफभन्दा पनि कोमल र पवित्र छ जस्तो लाग्छ । भगवानको पाउमा चढाइए झैँ, मायालुको केशमा सजाइए झैँ । अति पवित्र, न कुनै वाचा नत कुनै बन्धन । न बिछोडको भय नत मिलनको आतुरता । फुर्सदमा सोच्छु, कल्पन्छु । उ अहिले कहाँ होलिन्, के गर्दै होलिन् । मैले जस्तै उसले पनि कहिले काहीँ मलाई मन र मस्तिष्कमा बास दिन्छिन् नै त होलिन् । चाहे त्यो निमेषभरका लागि किन नहोस् । मेरा लागि त्यही काफी छ ।
कहिले काहीँ मलाई लाग्छ । यही उदार समाजलाई साथमा लिएर त्यो समयमा फर्कन पाए हुन्थ्यो । त्यही विद्यालय, त्यही कक्षा कोठा, त्यही बेन्च अनि त्यही उ र त्यही म । अनि उसलाई अँगालोमा बाँधेर मेरा मनका सबै भावना पोख्थेँ । नआत्तिईकन, नडराईकन । विश्वास छ, मेरो अँजुलीमा उनले पनि मायाका केही थोपा अवश्य चुहाउँथिन् । म त्यही अँजुलीभरिको माया लिएर फर्कन्थे । बस् पर्याप्त हुन्थ्यो त्यही मायाका केही थोपा फेरी यही जीवन जिउन । रमाउन, हाँस्न । तर, यसको अर्थ म अहिले रमाउँदिन, हाँस्दिन भन्ने पनि होइन । म बिन्दास छु, हाँस्न कहिल्यै छाडिन । जिन्दगी अहिले पनि त्यति नै रमाइलो छ, जति हुन सक्थ्यो ।
मेरी छोरी भन्छिन्, ‘ड्याडी टाइम मेसिन कल्पना मात्र होइन, यथार्थ पनि बन्न सक्छ । बस् आविष्कार गर्ने त्यो क्षमताको मस्तिष्क हुनुपर्छ ।’
कुनै दिन कसैले टाइम मेसिनका आविष्कार ग¥यो भने, त्यसको प्रयोग गर्ने ग्राहक म पनि हुने छु, अवश्य ।
हुन त मैले हिन्दी चलचित्रकी नायिका श्रीदेवीलाई पनि निकै मन पराएँ । के भो र उनी मभन्दा जेठी नै भए पनि । तर, नितान्त पागलपन थियो । किनकि श्रीदेवीको मृत्युमा म रोइन । त्यो बस् कुरकुरे बैँसको प्रभाव मात्र रहेछ । श्रीदेवीको मोहक अनुहारप्रति मेरो आशक्ति मात्र रहेछ । नत्र कहाँ हेरिन्थ्यो अनगिन्ती पटक ‘चाँदनी’ । त्यही फिल्मले मलाई श्रीदेवीको लाखौँ एकतर्फी प्रेमी मध्ये एक बनाएको थियो ।
हो बरु त्यो चलचित्रमा चाँदनीले पाएको दुखमा रोएको थिएँ । चाँदनी हाँस्दा म पनि हाँसेको थिएँ ।
नेपालमा भर्खरै टेलिभिजन र भिडियो डेकको जमाना सुरु भएको थियो । भाडामा ल्याएको ‘चाँदनी’ को भिडियो रिल मैले कहिल्यै फिर्ता दिइन । फुर्सद भयो की हेरिहाल्थेँ, फेरी एक पटक ।
हो चाँदनी हेर्दा म मेरी हुन नसकेकी मायालुलाई पनि सम्झन्थे नै । शायद चाँदनीभित्र म उसलाई देख्थेँ, उसलाई कल्पथेँ । उसको चञ्चलता र चाँदनीको चञ्चलतामा समानता देख्थेँ । आफूलाई ऋषि कपुर ठान्थेँ । श्रीदेवी र ऋषि कपुरले अङ्कमाल गर्दा मेरो मनमा पनि काउकुती लाग्थ्यो नै । तर, अहँ कहिल्यै उसको अगाडि पर्दा मुख खोल्न सकिन, बोली फुटाउन सकिन । मानौँ, बाल्यावस्था मै फुटिसक्नु पर्ने मेरो बोली कहिल्यै फुटेन । अनि लाग्थ्यो, म त चाँदनीको विनोद खन्ना पो रहेछु ।
उसलाई मैले स्कुले जीवनपछि पनि एकाध पटक भेटेकै छु । अहिले काउकुती त लाग्छ नै । तर, अहिले काउकुतीको मिठास त्यो बेला झैँ मिठो हुँदैन रहेछ । उसको र मेरो बाटो अनि गन्तव्य फरक भइसकेकाले पनि होला । तर, कता कता बितेका दिनको याद भने आँखामा चलचित्र झैँ नाच्न थाल्छन् ।
यो संसारमा माया नगर्ने को होलान् र ? सबैको भावना पनि यस्तै हुन्छन् होला ? तर, आज पनि एकाध पेगको नशामा उसलाई सम्झँदा मन तरङ्गित हुन्छ । अनि भुल्छु सारा संसार । मेरी पत्नी, मेरा सन्तान । त्यही उमेरमा फर्कन्छु । मनमा त्यही उमङ्ग दौडाउँछु । गोरी चिटिक्क परेकी उ । मेरै सामुन्ने उभिन्छिन् । गिलास भित्र तड्पिरहेको ह्विस्कीमा काया बनेर । त्यही मुस्कान र कड्के नजर सहित । म पनि एक पटक मुस्काइ दिन्छु । अनि पेगसँगै रित्याउँछु, भयरहित मायाको सागर । मेरो असफल प्रेम कथाकी नायिका, मेरी मायालुलाई सम्झँदै ।
अनि गुनगुनाउँछु, दीप श्रेष्ठका त्यही गीत, ‘मेरी मायालु ! बितेकाका कुराले केही चोट दिँदा, तिमी टाढा हुँदा धेरै दुख लाग्छ । मलाई जस्तै तिमीलाई पनि... । मेरी मायालु !’