मंसिर ०७, २०८१, शुक्रबार
               

अनि लाग्यो, जुवा खेल्नु पनि राम्रै रहेछ !

चेतन पाण्डे
फागुन १४, २०७६

ADVERTISEMENT

जिन्दगीले पीडा मात्र दिँदैन, काउकुती पनि लगाउँछ । घाउ मात्र दिँदैन, मलम पनि लगाउँछ ।

समय न हो, नदी जस्तै अविरल बग्ने । तैरिन सके आनन्द दिने, तैरिन नजाने ज्यानै लिने ।

माया पनि यस्तै हुन्छ । गर्न जाने आफू पनि खुसी, अरू पनि खुसी, नजाने सबै सधैँ दुखी । मायाको गहिराइ आमाभन्दा अरू कसैले जानेका हुँदैनन्, जस्तो लाग्छ । चाहे मेरी आमा हुन् वा अरू कसैका ।

हाँस्दा पनि रुँदा पनि कपाल सुमसुम्याउँदै मायाका सागर खन्याउने पहिलो प्राणी आमा नै हुन् । सन्तानका सुख–दुखमा पहिले हाँस्ने अनि पहिले रुने पनि आमा नै हुन्छिन् । मानिस मात्र होइन, जनावरले पनि पहिलो माया आमाबाटै पाउँछ । जन्मेदेखि मात्र होइन, गर्भदेखि नै । कोही कसैको अथाह हितैषी हुन्छ भने त्यो आमा नै हुन् । कुनै आग्रह, अनुग्रह बिनाको माया संसारको सारा धनभन्दा भारी हुन्छ । त्यो भारी सहज उठाउने पनि आमा नै हुन् ।

म कति मामिलामा कठोर पनि छु । म यो पनि कहिल्यै सोच्दिन कि मेरी आमाले मलाई गर्भमा राख्दा कति पीडा सहिन् होला भनेर । मान्छु उनले भगवानबाट स्त्रीले पाएको वरदानको उपयोग गरिन्, मलाई जन्माइन् । त्यही भएर होला ९ महिना कोखमा राखेर मलाई मेरी आमाले ऋण बोकाइन् पनि भन्दिन । दूधको ऋण तिर्ने नाममा टाउको पनि दुखाउँदिन, कहिल्यै । जति सोझी हुन् वा जति बाङ्गी अनि जति जङ्गी, मेरो पहिलो प्रेम मेरी आमा नै हुन् । 

यसको अर्थ पिता केही होइन भन्ने पनि होइन । कहिले काहीँ मायालाई तौलनै पर्‍यो भने मेरा बाबा र ममीको मायाको तुलना सजिलै गरिदिन्छु, घोरिनु पर्दैन । माया त मलाई मेरा बाबाले नै केही बढी गर्थे भन्ने लाग्छ । शायद मेरा हरेक चाहना पुरा गरिदिएकै कारण । मलाई जीवनमा एक चड्कन पनि नहिर्काएका कारण । मलाई बाबा बढी मायालु लागेका हुन सक्लान् । नत्र माया त दुवैले बराबरी नै गरेका होलान् । 

नेपाल टेलिभिजन स्थापना हुँदाताका हाम्रो घरमा पनि कलर टेलिभिजन आइपुग्यो । सिंगापुरदेखि, त्यो पनि मेरा बाबाले जुवामा जितेको पैसाले । अनि मलाई लाग्यो, जुवा ममीले भने जस्तो नराम्रो आदत होइन रहेछ भनेर ।

सन्तान जन्मिएपछि मात्र मानिसले थाहा पाउँदो रहेछ सन्तानको माया कस्तो र कति हुन्छ भनेर । अनि आफ्ना बाबु–आमाले गरेका गालीभित्र पनि कति माया लुकेका रैछन् भनेर । 

बालापनका कति कुरा मानिसले चाहेर नि बिर्सिँदैन । मैले पनि बिर्सिएको छैन ।

मेरा बाबा अलि सौखिन टाइपका नै थिए । फुर्सदमा तास खेल्ने अनि बाहुनको छोरा भएर पनि रक्सी खाने । यस्तै आरोप लगाउँदै मेरी हजुरआमा कहिले काहीँ मेरा बाबालाई गाली गर्थिन् । त्यहाँ पनि मायाका केही थोपा त छछ्ल्कन्थ्यो नै । मेरी हजुर आमालाई कहाँ थाहा थिएन र ! उनका पति पनि रक्सी पिउँथे भनेर । पतिलाई गर्न नसकेका माया मिश्रित गाली छोरामा खन्याउँथिन्, बस् ।

मेरी आमा पनि कहाँ सोझी थिइन् र ! समय–समयमा मेरा बाबा तास र रक्सीमा भुलिएको खण्डमा जहाँ भए पनि जति नै बजे पनि हामीलाई च्यापेर घर ल्याउँथिन् । हाम्रै ओछ्यानमा सुताउँथिन् । त्यसैले अहिले पनि मलाई आफ्नै ओछ्यान प्यारो लाग्छ । कसैको घरमा पाहुना लाग्दा निन्द्रा बिथोलिए झैँ लाग्छ ।

म निकै सानो थिएँ । मेरा बाबाको फुर्सदमा तास खेल्ने र पिउने थलो थियो, आफ्नै मावली फसिकेव अर्थात् आजको न्युरोड ।

छापाखाना पाँडेका नामले चिनिन्थ्ये मेरा बुढा मावली । अहिले पनि कतिपय बुढापाकाले त्यही नामले नै चिन्छन् । पेसाले पत्रकार थिए, प्राय सबै मेरा बुढा मामाहरू । कालान्तरमा कोही राजनीतिमा लागे त, कोही पत्रकार नै भएर मरे । कोही यो पेसाबाटै पलायन भए । कमाइका नाममा नाम कमाए, धन सकेनन् । बरु सिध्याए, न्युरोडबाट विस्थापित भए ।

आजकालका प्रकाशक र पत्रकार झैँ कहिल्यै कमाउन सकेनन् । शायद पत्रकारितामा कमाइको फन्डा भिन्न हुन थालेको कारण पनि होला । अझ भनौ आजका पत्रकारले झैँ कमाउन नजानेर पनि होला । वा, त्यो बेला यो पेसामा व्यावसायिकताको कमी भएर पनि होला । वा, त्यो बेला व्यवसायभन्दा पनि समाजका लागि पत्रकारिता गरिने भएर होला । त्यति बेला उनीहरू आर्थिकरुपमा फस्टाउन नसकेको, आजका पत्रकार र पत्रकारिता झैँ । 

पत्रकारिता र प्रकाशनमा लागेकै कारण हिजो उनीहरू न्युरोडको घर बेचेर यतै कतै काँठको कुनातिर घरजम गर्न पुगे । सबैतिर चोरी औँला नतेर्साऊँ, अहिले पत्रकारिता गर्नेहरूमध्ये केही कतै कुनै काँठबाट आएका भए पनि आज न्युरोडमा घर किन्ने हैसियत राख्ने भएका छन् । शायद पत्रकारिता र पत्रकारको परिभाषा र सोचमा समयसँगै आएको परिवर्तनका कारणले पनि होला ।

त्यसैले आज पूर्ण व्यावसायिक भएर पत्रकारिता गर्दै सुकिला मुकिला बनेका कतिपयहरुलाई अब आफ्नै विगत घिनलाग्दो बनिसक्यो होला । तर, हिजोका दिनमा पत्रकारिता गर्नेहरू सुकिला मुकिला बन्न नसके पनि विगतप्रति गर्व भने गर्न सक्छन् । मैले यस्ता दुवै प्रकारका पत्रकारसँग काम र सङ्गत गर्ने मौका पनि पाएँ । अनि मैले पनि एकान्तमा को सही, को गलत छुट्ट्याउन अनेकौँ तर्कना गरेँ । अहँ अहिलेसम्म सकेको छैन । को सही, को गलत ? अझै टाउको कन्याउँछु ।

मस्ती गर्ने मामिलामा मेरा बुढा मामाहरू पनि कम थिएनन् । मेरा बाबा पनि उनीहरू कै सङ्गतमा हुर्केका जो थिए ।

मेरा बाबाको अधिका‌स बाल्यावस्था र जवानीका केही वर्ष मामा घरमा बितेकाे थियो । त्यही बेला मेरा बाबाले सिके मामाहरुका सद्गुण र दुर्गुण । कलम चलाउन, गड्डी फिट्न र बेला मौकामा चुस्की लगाउन । त्यसैले होला, मेरा बाबामा साहित्यकार र पत्रकारमा हुनुपर्ने सबै गुण थियो । लेख्ने, पिउने, चुरोटको सर्को तान्ने । अनि इतिहास लेखेको साहित्यिक पत्रिका मिर्मिरेको संस्थापक सम्पादक पनि बने । लेखनमा भने केही अल्छी थिए, आफ्नो नाममा कहिल्यै किताब निकालेनन् तर दामका लागि अरूका नाममा केही किताब भने लेखे । जसलाई आज ‘घोस्ट राइटर’ भनिन्छ । भन्थे, जागिरे जीवनले गर्दा कहिल्यै लेख्न भ्याइएन । यो उनको बहाना थियो, हामीलाई थाहा छ । 

जब शुक्रवार–शनिवार आउँथ्यो, बाबाको अफिसपछिको बसाइ मावलीमा हुन्थ्यो । साँझ पलेटी कसेका मेरा बाबा कहिले काहीँ त बिहान मात्र उठ्थे । नत्र राति अबेर मात्र । ममीलाई जङ्ग चल्थ्यो । अहिले जस्तो न सार्वजनिक साधनको सुविधा नत आफ्नै सवारी साधन । बाबाको बानी थाहा भएकाले साँझ हुने बित्तिकै हामीलाई लिएर घर आउँथिन् । आँट गर्दिनन् थिइन, रातिसम्म कुरेर लाला बाला च्यापेर बाबालाई धिक्कार्दै घर फर्कने ।

अहिले झैँ ट्याक्सीका बथान कतै देखिँदैन थिए । नत बस नै यति बिघ्न थिए । हो, कहिले न्युरोड मै त कहिले वीर अस्पताल अगाडि केही ट्याक्सी हुन्थे । कहिले काहीँ सार्वजनिक बस पनि । टाढा थिएन, फसिकेव र वीर अस्पताल । त्यसताका साँझ पर्ने बित्तिकै कोही ट्याक्सीवाला पनि चाबहिल जान मान्दैन थिए । खराब इमेज बनाएको थियो, चाबहिलले । चोरी लुटपाट हुने सम्भावित स्थानको । हुन पनि ठाउँ नै दुर्गम थियो । अहिले चाबहिल देखेकाले त्यो बेलाको चाबहिल कस्तो थियो भनेर कल्पना गर्न कठिनै हुन्छ । मेरा बाबाले त्यहाँ घर किन्ने बेला नाक खुम्चाएका थिए रे । मामाहरूको कर बलमा किनेका रहेछन् । घर किने पनि घरजम गर्न निकै पछि मात्र गएछन् । 

मैले देख्दा नै हाम्रा लगायत केही घर मात्र थियो, मित्र पार्क–चाबहिल खण्डको मुख्य सडकमा । चाबहिल चोकभन्दा तलतिर चक्रपथ त थियो तर, बाँकी सबै नर्कटका झाडी मात्र । वरिपरिका जग्गामा धानका बाला लहराउँथे । अहिले जस्तो क्रंक्रिटको जालो उभिएका थिएनन् ।

साँझ हिँडेकी पत्नी र छोरा–छोरी घर पुगे नपुगेको खबर बाबाले कहिले काहीँ त बिहानीपख मात्र थाहा पाउँथे, घर आइपुगे पछि । ४० सालको हाराहारीमा मात्र हाम्रो घरमा ल्यान्ड लाइन फोन जोडिएको थियो । त्यो पनि नेपाल राष्ट्र बैङ्कमा राम्रै तहमा भएका कारण बाबालाई घरमा टेलिफोन जडान गराउन कठिनाइ भएन । नत्र निवेदन दिएको ७–८ वर्षपछि मात्रै टेलिफोन हात पर्थ्यो, त्यति बेला । 

घरमा टेलिफोन जोडेको महिनौँसम्म पनि हामी कहिले फोनको घण्टी बज्ला र उठाउँला भनेर कुरेर बस्थ्यौँ । अहिलेका मोबाइल झैँ २४ सै घण्टा ट्वार–ट्वार बज्दैन थिए, त्यति बेलाका टेलिफोन । शायद टेलिफोनका लाइन नै कम भएर होला वा त्यस बेलाका मानिस अहिलेका झैँ व्यस्त नहुने भएकाले पनि हुनसक्छ । या काठमाडाैँ कै जनस‌ख्या कम भएर पिन हुनसक्ला । हुनत मानिस मेसिन बनिसकेका पनि थिएनन्, त्यस बेला । त्यो भने पक्का हो ।

उता, तास खेलेर अनि प्राय हारेर आउने मेरा बाबा भने मलिलो अनुहार लगाउँदै ममीको जङ्गबहादुर जंङ्गाइको चेपमा पर्थे, एकाबिहानै । हामी ट्वाँ परेर हेरिरहन्थ्यौँ । फेरी पनि पत्नी दोहराएर पत्नीको गाली नखाउँ भनेर सोच्दैन थिए । यस्तै कारणले ममीले बाबासँग त्यस्त भेटघाटमा जानै छाडिदिइन् । तर, बाबा मलाई भए पनि लिएरै जान्थे । मलाई पनि रहर लाग्थ्यो नै । कहिले काहीँ हिँडाएरै घर ल्याउँथे ।

फेरी मेरा बाबा तास खेल्न सौखिन तर, उनले जितेको मैले कहिले सुन्न पाइन । एक पटक तिहारपछि नेपाल राष्ट्र बैङ्क कै तालिमको सिलसिलामा सिंगापुर गएका थिए । त्यो तिहारमा भने राम्रैसँग जितेछन् । नेपाल टेलिभिजन स्थापना हुँदाताका हाम्रो घरमा पनि कलर टेलिभिजन आइपुग्यो । सिंगापुरदेखि, त्यो पनि मेरा बाबाले जुवामा जितेको पैसाले । अनि मलाई लाग्यो, जुवा ममीले भने जस्तो नराम्रो आदत होइन रहेछ भनेर ।

फेरी कुरो ममीको रिसको । एक पटक बालुवाटारतिर बस्ने बाबाका एक मित्रको घरमा बेलुकाको खाना खान गइएको थियो । त्यस बेलाको सम्झनाका सबै पाटा त याद छैन तर, तुवाँलोले घेरिए झै‌ केही कुराको सम्झना भने छ ।

त्यहाँ पनि तास र मदिराको दर चलेकै थियो । अहिले जस्तो म्यारिज होइन पप्लु चल्थ्यो, त्यसताका । १३–१३ पत्ती बाँडेर लगभग म्यारिज झैँ खेलिने खेल । पतिसँगै घर जान ममीले निकै बेर कुरिन् । ताल त्यही हो, मेरा बाबाको । ममी फेरी हामीलाई च्यापेर आफ्नो भाग्यलाई धिक्कार्दै अनि बाबालाई गाली गर्दै चाबहिलतिर हिँडिन् ।

त्यो बेला बालुवाटार पनि आज झैँ समृद्ध देखिँदैन थियो । म हिँड्न, बोल्न नसक्ने थिइन । तर पनि, सानै थिए । मलाई च्याप्प छातीमा च्याप्दै मभन्दा अलि ठुली मेरी दिदीलाई हातमा डोराउँदै मध्यरातमा सुनसान सडकमा हिँड्न थालिन् । त्यसताका मेरो मावली ज्ञानेश्वरमा थियो । मेरो दाइ पनि मामाघर मै बस्थ्यो । ममीको सोच कुनै साधन नपाए माइतीमा गएर बस्ने रहेछ ।

पिट् पिट् जुत्ता पड्काउँर्दै ममी हामीलाई साथमा लिएर त्यो अनकन्टार रातमा टंगालसम्म आइपुगेपछि बल्ल एउटा ट्याक्सी भेटियो । उसले हाम्रो बिचल्ली सहन सकेन अनि घर ल्याइदियो । ममीलाई जे भए पनि रातव्याल यसरी नहिँड्न सुझाव दियो । अनि हामी घर पुगेर ढोकाभित्र नछिरेसम्म कुरेर बस्यो । शायद उभित्र महिला र बालबालिकाप्रति असीम सम्मान रहेछ । अभिभावकत्व रहेछ, जुन मेरा बाबामा कहिले काहीँ हराउँथ्यो ।

सम्झना त अत्तरको बोतल जस्तो हुन्छ, जति ढक्कन खोले पनि सुवास कहिल्यै नमर्ने । मनका भावनालाई सधैँ रोमाञ्चित बनाइ रहने ।

बाल मन्दिरमा पढ्थेँ । मेरी ममी नेपाल बैङ्कको जागिरे । जहिलेदेखि विद्यालय गएको सम्झना आउँछ, टंगालमा रहेको बाल मन्दिरमा रहेको विद्यालयको ड्रेसको सम्झना आउँछ नै । निक्खर पहेँलो सर्ट अनि नीलो पाइन्ट वा कट्टु, मेरो पहिलो विद्यालयको पहिलो ड्रेस । आजकालका ‘प्ले स्कुल’ झैँ थियो, त्यो विद्यालय । स्कुल जान भने पछि ज्यान फाले जस्तो हुन्थ्यो, मलाई । घरमा लिन बस नै आउँथ्यो । पिटपाट–किचकाच जे गरेर भए पनि ममीले बसमा कोचेरै छाड्थिन् । म बबुरोको बलले के भ्याउँथ्यो र । जान्थ्ये, लुसुक्क परेर ।

म कहिल्यै काठमाडौँको मौसम जस्तो बन्न सकिन । जति बेला मन लाग्यो चकमन्न घाम लाग्ने अनि रत्तीभरमै कालो बादलसँग पैठेजोरी खेल्ने । मलाई छ्या भन्न मन लाग्छ, यस्तो मौसम अनि यस्तै मौसम झैँ सोच भएका प्राणीसँग ।

एक दिन दिउँसो स्कुलमा लिन आउँछु भने फकाएर पठाइन् । म पत्याएर गएँ । स्कुल छुट्टी हुँदासम्म ममी आइनन् । म स्कुलको बस चढेर घर गइन । ममी आउनु हुन्छ भनेर स्कुलको गेटमा कुरेर बसेँ । सबैले छाडेर गए । तर, उनी आइनन् । बरु म घर नपुगेको हुँदा निकै छटपटाइ छन् । भएभरका नाता गोता गुहारिछन् । सम्भावित सबै ठाउँमा खोज्न पुगेछन् । मेरा बाबा–ममी र अरू हितैषीहरू । तर, स्कुलसम्म आउने बुद्धि लगाएन छन् ।

म पनि केही बेर खेलेर बसेँ, ममीको बाटो कुर्दै । अलि ढिला हुन थालेपछि अत्तालिन थाले । त्यो बेला अहिले जस्तो स्कुलमा पाले पनि हुन्थेनन् । अनि रुँदै बसे स्कुल कै गेटमा । बल्ल राति झल्याँस्स भइछन् । साँझ पर्नै लागेको बेला एउटा ट्याक्सी मेरो स्कुलको गेट अगाडि उभियो । ममी थिइन् । यसरी झम्टिएर अँगालो मारिन् कि आज पनि उनको त्यो माया र हर्ष मिश्रित पीडा म बिर्सन सक्दिन । शायद आमा–छोराको त्यो जस्तो मिठो मिलन कहिल्यै भएन ।

मैले जति लेखे पनि बोले पनि । मेरा केही आफन्तकै नजरमा म आमालाई मात्र नभएर कसैलाई माया नगर्ने प्राणी हुँ । मलाई, त्यस्ता सोच पाल्नेहरूको अनुहारमा कड्के नजरले रिस फेर्नु पनि छैन । उनीहरूको अनुहारलाई रातो बनाउन धारे हात पनि लगाउनु छैन । बस्, भन्न मन लाग्छ । म जे छु ठिकै छु, बिथोल्न न आऊ !

म कहिल्यै काठमाडौँको मौसम जस्तो बन्न सकिन । जति बेला मन लाग्यो चकमन्न घाम लाग्ने अनि रत्तीभरमै कालो बादलसँग पैठेजोरी खेल्ने । मलाई छ्या भन्न मन लाग्छ, यस्तो मौसम अनि यस्तै मौसम झैँ सोच भएका प्राणीसँग । जसको बोली र व्यवहारले काठमाडौँको मौसमलाई पनि खुल्ला चुनौती दिन सक्छ ।

केही महिनाअघि मेरा दाइलाई नराम्रोसँग रोगले गाँज्यो । नत रोग पत्ता लाग्यो नत उनलाई बचाउन सकियो । मेरी आमाले एक सन्तानको मृत्युको पीडा पनि व्यहोरिन् । रुँदिनन्, हाम्रा अगाडि । तर, भित्तातिर फर्किएर धेरै पटक रोएकी छन्, दुईमध्ये जेठा छोरालाई सम्झिएर । मेरा कतिपय कथित आफन्तहरूमा मेरा दाइको इहलीला समाप्त हुनुभन्दा बढी पीडा अब मेरो ममीको बिचल्ली हुन्छ भन्ने रहेछ । जेठाको सम्झना अनि कान्छाको बिन्दास स्वभावका कारण । उनीहरू बिच यस्तै कानेखुसी चल्दो रहेछ । शायद अहिले पनि चल्दो हो । कतै मैले उनलाई झाडीमा फाल्छु कि भन्ने भयमा । जसरी म झाडीबाट उठाइएको थिएँ ।

सानो हुँदा मलाई चिढाउन ममी भन्थिन्, ‘तलाईं मित्र पार्कको झाडीमा कसैले फालेको रहेछ, मैले उठाएर ल्याएको हुँ ।’ त्यसमा मेरी दिदी होमा हो मिलाउँथी । म जोडले रुँदा फकाउन आउने पहिलो प्राणी ममी नै हुन्थिन् । मसँग रिसले मुरमुरिँदा अगाडि जे छ त्यसले नै रन्किने गरी बजाउने पनि उनी नै हुन् । अहिले हिँड्न सक्दिनन्, तर अहिले पनि धम्काउँछिन्, ‘तलाईँ एक लात हिर्काउँछु अनि !’ 

मलाई बकुल्लाको तरकारी मनै नपर्ने, कहिल्यै खाइन । एक पटक त्यही बकुल्लाको तरकारी नखाँदा ममीले नजिकै रहेको पन्युले ढाड सेकिन् । अलिकति ढाड दुख्यो नै तर पन्यु भाँच्चिएर सहिद बन्यो । पिटाइ खाँदा हाँसिएको सम्भवतः त्यही नै पहिलो र अन्तिम पटक होला ।

सन्तानलाई खुवाउने शैली सबै आमाको मेरै आमाको जस्तै कठोर पनि नहोला । तर, कतिपय दिन पैसाको लोभ देखाएर पनि खुवाएकी छन्, मेरी ममीले । ‘बाबु खा, ५ रुपैयाँ दिन्छु ।’ म लुसुलुसु खाइ पनि दिन्थे । बकुल्ला बाहेक । त्यसैले कतिको नजरमा म पुलपुलिए हुर्केको थिएँ । अनि कतिपयको नजरमा बाउ–आमाको अथाह मायाको सागरमा तैरिँदै हुर्केको थिएँ ।

त्यसैले जसले मलाई मन पराए उसले मभित्र राम्रो मात्र देखे । जसले मलाई कहिल्यै माया गरेनन्, उनीहरूले मभित्र बिग्रिएको र भत्किएको मानिस मात्र खोजिरहे । मभित्रका काला दाग खोज्दा खोज्दै कतिले मेरा मुटुका गराहरूलाई भत्काएर छियाछिया पनि बनाए । मेरो मनमा खाडल बनाए, अथाह पटक । अनि त्यहाँ काला धब्बाहरू खोज्ने प्रयास गरे । जसरी विज्ञान चन्द्रमाका थप दाग खोज्न तल्लीन छ । अनि मन लाग्छ, गर्भदेखि थोपरिएका त्यस्ता सम्बन्धलाई विच्छेद गर्न ।

जीवनमा मैले पनि धेरै कष्ट सहेँ । सबैभन्दा बढी स्वास्थ्यका कारण । एक दुई पटक मृत्युको मुखसम्म पनि पुगियो । तर, मेरो पीडामा मसँग सधैँ साथ रहने मेरा बाबु–आमा, पत्नी र सन्तान नै थिए । कष्टका बेला जब मेरा आँखा रसाउँथे, उनीहरू हँसिला बनेर मेरो नजिक आउँथे । त्यसैले उनीहरूको साथ पाएर मैले आफूलाई संयमित बनाए । मनमा बाँच्ने रहर जगाएँ । अनि बाँचे पनि ।

त्यसैले मलाई कतिपय नाता सम्बन्ध धोका झैँ लाग्छन् । अनि उनीहरूसँगको सङ्गत मात्र समयको बरबादी । अनि कसले सम्झाइदिने ती कथित आफन्तलाई म मेरी आमाको मनभित्र परलोक सिधारिसकेका बाबाको माया पनि खोजी रहेछु भनेर ।

आमा–बाबुको माया भनेकै यस्तै हुन्छन् होला, सबैको । सन्तानको आँखा रसाए भित्तातिर फर्किएर आफ्नै आँखा पुछ्ने । अनि रुनु हुँदैन भनेर सम्झाउने । मेरा बाबु–आमा यस्तै थिए, छन् । म पनि यस्तै–यस्तै छु । सम्भवतः मेरा सन्तान पनि यस्तै बन्छन् होला । सबैको कथा यस्तै होला ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि