मंसिर ०६, २०८१, बिहीबार
               

मौलिकता जोगाउँदै समाज बदल्ने चुनौती

व्याकुल माइला
फागुन ११, २०७६

ADVERTISEMENT

थाक्लेको वारिपट्टि सुनकोसी छ, पारिपट्टि दूधकोसी । यी नदीले सुसेलेको आवाज जब कानमा ठोक्किन्छ, तब म बाल्यकालमा फर्कन्छु । आज देशको चिनिने भएँ होला, कतिका नजरमा प्रेरणा पनि बनेँ होला । तर म यही गाउँको सामान्य किसानको छोरा हुँ । ओखलढुङ्गाको यही गाउँबाट मेरो सिर्जना सुरु भयो ।

 त्यो हाटबजार, उभौली–उधौलीमा कम्मर मर्काएर नाच्ने ती युवक–युवती, दसैँ–तिहारमा पिङ खेल्नेको तछाड–मछाड... । तीन दशकअघिको त्यो थाक्ले कति रमाइलो थियो । हो, गाउँमा सडक थिएन, स्वास्थ्य चौकी नहुँदा उपचार गर्न धामी–झाँक्रीकै सहारा लिनुपर्ने अन्धविश्वासको बाध्यता थियो । हामी टुकी बालेर पढ्थ्यौँ । भौतिक विकास र सुविधा नभए पनि गाउँ समृद्ध थियो, सदियौँ पुरानो सभ्यता र संस्कृतिमा हामी बाँचेका थियौँ । 

समय र प्रविधिको फड्कोले समृद्धिमात्रै होइन, विनासको जोखिम पनि बढाएको छ । हाम्रा मौलिक बाजा, हाम्रो संस्कृति लोप हुने जोखिम छ । गाडीको आवाज जति चर्को हुँदै छ, चराचुरुङ्गीको स्वर उति नै मधुर ।

समय ढल्किसकेको छ । काठमाडौँको सडकबाट गुड्न सुरु गरेको छोटो समयमै गाडीले ओखलढुङ्गा पुर्‍याइदिन्छ । बाटाघाटामा पर्ने गाउँ–बस्ती सडकले जोडिएका छन्, त्यहाँ स्वास्थ्य चौकी छ, विद्यालय पढ्न पहिलेजस्तो घण्टौँ धाउनुपर्दैन  । यी भए सकारात्मक पक्ष । तर, हामीले पसिना बगाउने खेतहरू बाझैँ छन् ।

जात्रा र मेला लाग्ने मैदान सुनसान छन् । धेरै युवा अरब, अस्ट्रेलिया वा अमेरिका भासिए । बिहेमा पहिलेजस्तो रौनक देखिन्न । दसैँ, तिहारलगायतका चाड खल्लो बन्दै छन् । अभाव झेलेरै पनि विगतमा महसुस गरेको खुसी आज गाडी, सुविधासम्पन्न स्वास्थ्य चौकी, मोबाइल र इन्टरनेटले पनि हामीलाई दिन सकेनन् । 

भौतिक सुविधा खोसिँदा वा विकासमा पछि पारिँदा हामीलाई जति चित्त दुख्छ, त्योभन्दा धेरै चित्त आफ्नो सभ्यता र संस्कृति खोसिँदा दुख्छ । त्यसैले हाम्रो मौलिक लोकभाका खोज्ने र त्यसलाई गीतमा रेकर्ड गर्ने उद्देश्यले म पछिल्ला केही वर्षदेखि निरन्तर गाउँ धाइरहेको छु । अध्याय, शरम, शरद, दूधकोसी किनारलगायतका केही लोकभाका रेकर्ड गरिसकेको छु र अझै हराएका स्थानीय लोकभाका खोज्दै छु । ती भाकालाई पुनर्जीवन दिने प्रयास गर्दै छु ।

देशका विभिन्न जिल्ला घुमेपछि मैले गरेको अनुभव हो– ओखलढुङ्गाको थाक्नेभन्दा मुस्ताङ थाकखोला वा रोल्पा थवाङ्गको कथा–व्यथा फरक छैन । देशैभर यस्तो अवस्था किन आयो ? सोच्नुपर्ने बेला छ । म एक सङ्गीतकार हुँ र मलाई आधुनिकताको जाँतोमा हाम्रो मौलिक सङ्गीत पिल्सिरहेको आभास हुन्छ । हामी सानो छँदा चराको आवाज, खोलाको सुसेली, घाँस–दाउरा गर्न गएकाहरूले गाउने लोकभाका सुन्दै घण्टौँ हिँडेर स्कुल पुथ्यौं । आज सुविधा बढ्यो, नयाँ प्रविधि भित्रिए । राम्रो छ । तर अरब वा अस्ट्रेलिया गएका छोरा–छोरी, बाबु, श्रीमान्–श्रीमतीले पठाएको रेमिट्यान्सले मोबाइल किनेर चलाउँदा हामीले आफ्नो पहिचानको ख्याल कति गरेका छौँ ? घरमा स्मार्ट टिभीमार्फत हामीले भ्वाइलोन र सेक्सोफोनको सङ्गीत सुन्यौँ होला, आफ्नै सारङ्गी र सनई कति सुरक्षित राखेका छौँ ? भोलिको पुस्ताले जिज्ञासा राख्दा हामी आफ्नो मौलिकताबारे जवाफ दिनसक्ने अवस्थामा छौँ ? हाम्रा छोराछोरी बोर्डिङ स्कुल पढेर राम्रो अङ्ग्रेजी बोल्ने भए होलान् । तर राई (आफ्नो मातृभाषा) वा नेपाली भाषामा उनीहरूको पकड कस्तो छ ? 

समय र प्रविधिको फड्कोले समृद्धिमात्रै होइन, विनासको जोखिम पनि बढाएको छ । हाम्रा मौलिक बाजा, हाम्रो संस्कृति लोप हुने जोखिम छ । गाडीको आवाज जति चर्को हुँदै छ, चराचुरुङ्गीको स्वर उति नै मधुर । गाउँमा जात्रा–मेला कम भइरहेका छन् । 

चाहे पूर्वको ताप्लेजुङ होस् वा पश्चिमको हुम्ला सांस्कृतिक अतिक्रमण बढ्दो छ । मानिसहरू विदेशी संस्कृतिको मोहजालमा फसेर आफैँलाई बिर्सदैँछन् । यस्तोमा आफ्ना मौलिक गीत–सङ्गीतको संरक्षण गर्नुपर्छ भन्ने लागेर म पाखा–पखेरा हुँदै विभिन्न गाउँबस्ती पुग्छु, मेला–महोत्सवमा सहभागी हुन्छु र आफ्नोपन जगेर्ना गर्न युवा–युवतीहरूलाई सुझाव दिन्छु । 

विदेशमा बस्ने नेपाली समुदायकै दोस्रो पुस्तालाई नेपाल र नेपालीबारे निकै कम थाहा छ । मैले विभिन्न कार्यक्रममा सहभागिता जनाउँदा देखेको यथार्थ हो, यो । म त्यहाँ पुगेका बेला भन्ने गर्छु– छोराछोरीलाई हाम्रो संस्कृतिबारे धेरथोर जानकारी दिनुस् र मौलिकतामा बाँच्न सिकाउनुस् । झन्डै १५ वर्षदेखि यसरी नै निरन्तर म देश–विदेशमा हुने मेला महोत्सवमा व्यस्त छु । 

पाठ्यक्रममा सुधार आवश्यक

नयाँ शिक्षा प्रणालीले अङ्ग्रेजी भाषालाई प्राथमिकतामा राखेको छ । ठीक छ, विश्व बजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति हामीलाई चाहिन्छ र त्यसका लागि सबैभन्दा धेरै बोलिने ‘अङ्ग्रेजी’ भाषामा हामीले पकड राख्नु राम्रो हो । तर, स्थानीय भाषा र संस्कृतिलाई रुढीवादी देख्ने हाम्रो मस्तिष्कको चस्मा भने गलत हो । हामीले विदेशीका राम्रा कुरा सिक्दै गर्दा आफ्नो मौलिकता बिर्सन भएन । हिजोका दिनमा जसरी नैतिक शिक्षाका विषयमा पाठ्यक्रम नै थियो, जसरी हामीले मौलिक दन्त्यकथाहरुबारे पढ्थ्यौ, त्यसले हामीलाई आफ्नो समाजबारे बुझ्न ठुलो सहयोग गरेको थियो । 

बजारमुखी गीत–सङ्गीतले क्षणिक मनोरञ्जन दिन्छ होला, समाज बदल्न सक्दैन । यसले उल्टै हाम्रो अस्तित्व नामेट पार्ने खतरा रहन्छ । 

आज अवस्था फरक छ, हाम्रा बालबालिका आधुनिकताबारे धेरै बुझ्छन्, तर आफू को हुँ र कस्तो समाजमा छु भन्ने जानकार छैनन् । नयाँ पुस्ताले गाउँ–समाजमा बोलिने पुराना लवज बिर्सिसकेको छ । लवज त के, भाषा नै राम्रोसँग बोल्न जान्दैनन् ।

लोकभाकाको सट्टा र्‍याप र पप सङ्गीत हाबी छ । त्यसैले हामीले हाम्रो मौलिकता जोगाउन पाठ्यक्रममै सुधार ल्याउनु जरुरी छ । संस्कृति माटोसँग जोडिएको हुन्छ । यो पुर्खाको नासो हो । भोलिका हाम्रा सन्ततिहरूलाई हामीले नासो सुम्पन्न सक्नुपर्छ । संगीतमात्र होइन, हामीले बाँचेको समाजलाई बदल्न पनि शैक्षिक पाठ्यक्रममा परिवर्तन जरुरी छ  ।

अहिले, राजनीतिक तहमा जातीय समानताको कुरा चर्किएको छ, समाजमा यसको जरो अझै फैलिएको छ । अहिल्यै हामीले सोचेजस्तो समाज बनिसकेको छैन, यसलाई विडम्बना मान्नुपर्छ । सभ्यता र संस्कृति भुल्न सकिन्न, नराम्रा पाटोहरू सुधार गरेर यसलाई थप चम्किलो भने बनाउन सकिन्छ । यो कुनै सीमित जातिको मात्रै मुद्दा होइन । हरेक सचेत नागरिकले सोच्नुपर्ने विषय हो र यसका लागि विद्यालय तहदेखि नै हामीले सुधार ल्याउनु जरुरी छ । 

समाज परिवर्तनका लागि शिक्षासँगै साहित्य र सङ्गीतको पनि अहम् भूमिका रहन्छ । हाम्रो समाजमा अथाह शब्दहरू छन् । तर, त्यसलाई शब्दमा बुनेर सङ्गीत भर्न नसक्नु हाम्रो विडम्बना हो । यसलाई विश्व बजारसम्म पुर्‍याउनुको साटो उल्टै विदेशी संस्कृति आयात गर्न तछाड–मछाड गर्नु विडम्बना हो । म सङ्गीतका पारखीहरूलाई सुझाव दिन्छु– गीतमा सामाजिक असमानताका विषयवस्तुलाई उठाएर मौलिक शब्द र बाजा प्रयोग गर्नुस् । बजारमुखी गीत–सङ्गीतले क्षणिक मनोरञ्जन दिन्छ होला, समाज बदल्न सक्दैन । यसले उल्टै हाम्रो अस्तित्व नामेट पार्ने खतरा रहन्छ । 

 

नेपालको राष्ट्रिय गीतका रचनाकार माइला नेपाली साहित्य लेखनमा सक्रिय छन् ।

कस्तो लाग्यो ?

यो पनि