बैशाख २१, २०८१, शुक्रबार
               

पीएमज्यूलाई पत्र !

चेतन पाण्डे
माघ २५, २०७६

ADVERTISEMENT

नमस्कार, पिएम ज्यु !

सलाममा चाहिँ लगाम नै लगाउने गरेको छु । सकेसम्म कसैलाई गर्दिन । जय नेपाल भन्दा राम्रै हुन्थ्यो तर, यो अभिवादन पनि अहिले कुनै दल विशेषको पेवा बनिसकेको छ । त्यसैले नमस्कारले नै काम चलाउनु होला । सन्चो बिसन्चो भने सोध्दिन । थाहै छ, यहाँलाई आराम छैन भन्ने ।

मुटुमै घोच्यो नभन्नु होला । यहाँसँग खास ठुलो लगावका कारण यो पत्र लेख्न लागेको पनि होइन । तर, यसको अर्थ यहाँप्रति मेरो कुनै दुराग्रह छ भन्ने पनि हैन । झन्डै दुई–तिहाइ जनमतमा कब्जा गर्नसक्ने यहाँ जस्तो व्यक्तित्वप्रति दुराग्रह राख्ने चाह पनि छैन । यो देशमै केही गरिखाने मन बनाएका, म जस्ताले ।

यहाँ कै मातहतमा रहेको अख्तियारले एक हुल फटाहालाई कारबाहीको सिफारिस गरेको रहेछ । चिच्याएरै भन्छु, खुसी लाग्यो !

जे हुनुपर्ने थियो, भयो । जे नहुनुपर्ने थियो, अलि–अलि त्यो पनि भयो । यहाँले कुरो बुझ्नु नै भो होला । मेरो औँला कता तेर्सिएको छ भनेर । बाँकी कुराले त खुसी नै तुल्यायो, अख्तियारले झन्डै २ सयको हाराहारीविरुद्ध अदालतमा मुद्दा दर्ता गराउँदा ।

हामी जनताको एउटा जमात छ । जो यो देशमा उछृंखलताले पराकाष्ठा नाघिसकेको देख्छौँ । उता अर्को वर्ग छ । जो परलोकका लागि पनि धन थुपारेको थुपारेकै छ । न कसैको डर नत कुनै पापको भय ।

दसैँमा खसी बजारतिर देखिने खसी–बाख्राका बथान झैँ केही दिनपछि विशेष अदालतको परिसरमा पनि देश लुट्नेहरूको बथान पनि देखिएला नै । अनि प्रस्ट हुनेछ, यो देशमा को–को रहेछन् जाली–फटाहा भन्ने । के नेता, के न्यायाधीश, के व्यापारी, के सरकारी कर्मचारी अनि के दलाल । कोही बाँकी रहेछन्, यो देशलाई लुटेर खाने । तर, पुग–नपुग २ सय जना मात्र कहाँ होलान्, लुटाहा–फटाहा । यो देशमा ।
अरूको पनि कठालो समात्ने कार्यक्रम बनाउन मातहतलाई निर्देशन जारी गर्नु नै हुनेछ भन्ने लागेको छ । एक दिन बाँसुरी बजाउँदा त्यत्रो बथानको पैतालामुनिबाट जमिन भासिएको देखियो । आशा छ, छिट्टै अब मादल पनि बजाउनु हुनेछ भनेर ।

होला यहाँको निकटताको फाइदा लिँदै केहीले राजनीतिक विशेषाधिकारको प्रयोग पनि गरे होलान् । अदालतमा बस्नेले मुद्दा दर्ताबिनै फैसला पनि गरे होलान् । त्यस्ता सङ्ख्या कति होलान्, यहाँले त्यतातिर आँखा चिम्लिनु भएको छ भन्दा अलि लाज पनि लागिरहेको छ ।
अर्कोतिर, यहाँलाई मात्र होइन । हाम्रो मनमा पनि धसेकै कुरो हो । जसमाथि मुद्दा दायर भयो, उसले अरूतिर चोरी औँला ठड्याउनुभन्दा पहिले आफ्नै आङको धुलो झर्दा के बिग्रन्छ र ? यहाँको भावनालाई विपक्षीले बुझे पो ।

तर, दुख्ख लाग्छ पीएमज्यु । साह्रै फोहरी पो भएछ, यो हाम्रो देश । कहीँ कतै सुग्घरी नै छैनन् जस्तो । इमानदारी त केवल बृहत् नेपाली शब्दकोशको एउटा तुच्छ शब्दमा सीमित भइसक्यो कि जस्तो लाग्न थालिसक्यो । सकिन्छ भने यो शब्दलाई शब्दकोशबाट हटाउने व्यवस्था भए वास्तवमै इमानदारहरुले टाउको निहुराएर हिँड्नुपर्ने थिएन कि ? 

हेर्नुस् न ! हामी जनताको एउटा जमात छ । जो यो देशमा उछृंखलताले पराकाष्ठा नाघिसकेको देख्छौँ । उता अर्को वर्ग छ । जो परलोकका लागि पनि धन थुपारेको थुपारेकै छ । न कसैको डर नत कुनै पापको भय । देश डुबाएको डुबायै । यहाँलाई पनि टेर्न छाडिसके कि जस्तो लाग्छ । यहाँको देश बनाउने, देशमा राम राज्य नै ल्याउन लागे झैँ हुटहुटीले भरिएको भाषण सुन्दा । यहाँको मनमा भने के छ कुन्नि ? राम जानोस् । 

यहाँले भ्रष्टाचारमुक्त समाजको राग अलाप्नु हुन्छ । सुन्नेले भ्रष्टाचारयुक्त समाज पो सुन्छन् कि पो जस्तो लाग्छ, कहिलेकाहीँ । सबैजना चारै कुनाबाट बटुल्न मात्र व्यस्त छन् कि ? यहाँलाई पत्तो नहुन पनि सक्ला । सबै थाहा छ भनेर भन्न पनि चाहन्न । अब हेर्नुस् त, हुँदाहुँदा यहाँहरूले जसलाई समाज सुधार्ने आयोगको प्रमुख आयुक्त बनाउनु भो, त्यही व्यक्ति उहिले नै भ्रष्टाचारको रक्सीले मातिसकेका रहेछन् । अब खै कसलाई पो विश्वास गर्नु ? यहाँलाई पनि गाह्रै होला । खै के, खै के ।

मानिस कहिल्यै अघाउँदै भन्ने भनाइ छ । हो रहेछ, पीएमज्यु । सात पुस्तालाई पुग्ने धन थुपारिसकेकाले नै ललिता निवास काण्डको जग खनेका रहेछन् । साँठगाँठ पनि बलियै रहेछ । मिलाउन पर्ने जति सबै मिलाएका रहेछन् । के नेता, के कर्मचारी, के न्यायालय । सबैतिर झक्कास सेटिङ मिलाएका रहेछन् । यसको बाछिटा यहाँको काँधसम्म नआओस् भन्ने कामना छ । तर, के गर्नु यहाँले माया गरेर अँगालोमा बाँधेकाहरू नै यो काण्डका हिमायती देखिएका छन् । अलि दुख्ख लाग्यो । यहाँले आफूले बालुवाटारमा जग्गा नकिनेर राम्रो गरेछु भन्नु भएछ, ठिकै लाग्यो । तर, बालुवाटार काण्डका बेला यहाँ सरकारको नेतृत्वमा पनि हुनु हुन्थेन नि । नत्र किन्न बाध्य पारिहाल्थ्यो नि ।

ए साँच्चै । कम्प्युटरको किबोर्डबाट हात झिक्नु अगाडि एउटा प्रश्न सोध्नै मन लागेको छ । पीएमज्यु हजुरसँग ! मसँग पनि अलि धनराशिको कमी छ । आज बैङ्क लुटेर एक वर्षपछि फिर्ता दिँदा कुनै कानुन त नलाग्ला नि हगी ? बस्, त्यो एक वर्षको ब्याज मात्रै लिउँला नि म । कि साझासँग मागे जस्तै ब्याज पनि माग्ने हुन् कि ? अनि खोरमा पनि थुन्ने हुन् कि ? जनता पो जो ठहरियो । यहाँको विचारमा के लाग्ला कुन्नि ? एक पटक सुटुक्क अख्तियारसँग सोधिदिएर खुसुक्क खबर पाए हुने ?

यहाँ अलि बिसन्चो हुनुहुन्छ भन्ने थाहै छ ? यसरी नै आरामसँग निदाउनु नै होला । देश बेचेर खानेले यहाँ ननिदाउँदा पनि बेचेरै खाएका छन् नै । किन धेरै टाउको दुखाउनु हुन्छ । देश खाने त दुलो भित्र–भित्रै लुकेकै छन् । बरु सकेसम्म विरोधीलाई ठोक्नु होला, आफ्नालाई माया गर्नु नै भइरहन्छ भनेर भन्न पनि नपर्ला । अब धेरै चिन्ता नलिनु होला । हिजो अरूले पनि यसरी नै चलाएका थिए, जसरी आज यहाँले पनि चलाइरहनु भएको छ । यहाँको शीघ्र स्वास्थ्यलाभको कामना । ए अनि भन्नैपर्ने कुराे थ्याे । काेरानाकाे त्रासमा पलपल मरिरहेका वुहानमा अलपत्र परेकातिर यहाँकाे नजर कहिले पुग्ला कन्नि? उनीहरु पनि यही देशका नागरिक हुन् नि, बिर्सनुु भएकाे छैन हाेला, सम्झाइ दिएकाे मात्र । फेरि नभन्नु हाेला, मुटु घाेच्याे यसले भनेर । हस् त अहिलेलाई बिदा माग्छु ।

यहाँको हितैषी

नेपाली

 

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि