बैशाख २२, २०८१, शनिबार
               

भाषा-भाषीका चलचित्र मौलिक संस्कृति हस्तान्तरणमा महत्त्वपूर्ण

विनय दाेङ
माघ २३, २०७६

ADVERTISEMENT

काभ्रे तिमालबाट ५० को दशकको अन्त्यमा काठमाडौँ आउँदासम्म मेरो खास लक्ष्य थिएन । देशमै केही गर्छु भन्ने थियो, त्यसैले विदेशिने सोच आएन । तर के गर्ने ? कहाँ जाने ? बाटो स्पष्ट थिएन । देशमा माओवादी द्वन्द्व उत्कर्षमा थियो, युवा निराश थिए । 

२०६० सालमा सञ्जय बलको निर्देशनमा बनेको ‘छोर्वा’ नामको तामाङ फिल्ममा खेलेपछि मैले धेरै कुरा सिक्न पाएँ । अभिनयसँगै क्यामेरा पछाडि के–के काम हुन्छन् भनेर बुझ्ने यो ठुलो अवसर थियो । मलाई लाग्यो, चलचित्र क्षेत्रबाटै आफ्नो समाज र देशका लागि योगदान गर्न सकिन्छ । त्यसैले दिनरात खटेर मेहनत गरेँ । मेरो मेहनत र कामप्रतिको लगाव देखेरै हुनुपर्छ, सञ्जय दाइले नयाँ फिल्मको कथा र पटकथा लेख्ने जिम्मा दिनुभयो । तामाङ भाषाको चलचित्रमा मेरो प्रवेश यसरी नै भएको हो । यसपछि मैले आमला माया, लेङ्स्याला सेमजोलगायत चलचित्रमा अभिनय गरे‌ं । ०६६ सालमा धादिङको उत्तरी क्षेत्रस्थित गणेश हिमालको फेदीमा रहेको बोराङसुर्तुङ गाउँमा गएर  ‘म्हाने जात्रा’ नामक वृत्तचित्र निर्देशन गर्ने क्रममा मैले गाउँमा युवाको ठुलो खडेरी देखेँ । सहर छिरेका युवा गाउँ फर्किदैनन्, बरु विदेश भासिन्छन् । गाउँमा बृद्धबृद्धा, महिला र बालबच्चा मात्रै भेटिन्छन् । युवा नभएपछि जात्रा, महोत्सवलगायतका कार्यक्रम खल्लो भइरहेका छन् । यही, अभावलाई अवसरमा बदल्ने दृढ सङ्कल्पसहित म फिल्म निर्देशनमा होमिएँ । ‘सेमला माया’ मेरो निर्देशनमा बनेको पहिलो फिल्म हो, त्यसयता मुग्लान ह्युल , तेमालका अन्तिम राजा ह्रेन्जेन दोर्जेबारेको वृतचित्र 'धिमनाम', मायाला म्हेन्दो, टुहुरोला ल्हुइ लगायतका आधादर्जन भन्दा बढी तामाङ चलचित्रहरु निर्माण निर्देशन गरिसकेको छु ।

हामीले दृश्यमार्फत धेरैभन्दा धेरै बोल्न सक्यौँ भने, भावनाहरू अभिव्यक्त गर्न सक्यौँ भने अन्य समुदायले पनि यसलाई चाखपूर्वक हेर्नेछन् । हाम्रो संस्कृतिका सकारात्मक पाटाहरू उजागर गर्दै समाजमा त्यसलाई स्थापित गर्नसक्यौं भने त्यो ठुलो सफलता हुनेछ ।

अधिकांश फिल्मको सुटिङ गाउँमै पुगेर गर्छु र मेरो अनुभवले भन्छ– राम्रो कथा हुँदाहुँदै पनि पर्याप्त लगानी नपुगेर तामाङ फिल्मको सपना ‘कुवाको भ्यागुतो’ जस्तो बनेको छ । हाम्रा दुर्गम गाउँघरबाट बाहिर निस्कन सके यी कथा अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सक्छन् । तर, विदेशी संस्कृति हाबी भइसकेको हाम्रो समाजमा भुँई मान्छेका कथा कसले देख्ने ? कसले बनाउने ?

तामाङ भाषा त परको कुरा सहरमा हुर्किएका अहिलेका कतिपय बालबालिकालाई नेपालीसमेत शुद्ध बोल्न आउँदैन, उनीहरू अङ्ग्रेजीमा पढ्छन् । आफ्नो भाषा र संस्कृतिप्रति उनीहरूलाई आकर्षित गर्न चलचित्र सबैभन्दा प्रभावकारी माध्यम बन्न सक्छ भन्ने मलाई लाग्छ ।

हामीले भोलिको पिढींलाई आफ्नो मौलिक संस्कृति हस्तान्तरण गर्नसक्यौं भने त्यो ठुलो उपलब्धि हुनेछ, सकेनौँ भने महाभूल । मेरा फिल्महरूको च्यारिटी काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ , नुवाकोट दोलखालगायत जिल्लामा गरेको छु किनकि तामाङ समुदायको  मुख्य थलो काठमाडौँ आसपासका जिल्ला नै हुन् । 

गाउँमा कुनै समय जात्रा र कार्यक्रमहरू हुन्थे । युवाहरू बिदेसिएपछि नाटकहरू हुन छाडेका छन् । यस्तो अवस्थामा घुम्ती टोलीमार्फत फिल्म लिएर जाँदा गाउँले निकै खुसी हुन्छन् । मेरो उद्देश्य तामाङ फिल्मलाई घुम्ती टोलीका रूपमा स्थापित गर्ने, हलसम्म नपुग्ने बुढी आमा, गाउँका मानिसलाई  हाम्रो भाषामा पनि फिल्म बन्छ भनेर बुझाउने हो । मेरो सपना आदिवासी फिल्मको अन्तर्राष्ट्रिय बजारीकरण हो । 

गाउँमा हल नभए पनि त्यहाँका मानिस फिल्म हेर्न चाहन्छन् । उनीहरूले डिभिडी वा टेलिभिजन च्यानलमार्फत घरमै फिल्म त हेर्छन् । तर, प्रोजेक्टरमा धेरै मानिस जम्मा भएर आफ्नो रहनसहन हेर्न पाउँदा बेग्लै उत्साह सञ्चार हुन्छ । गाउँमा यसरी च्यारिटी गर्दा बृद्धबृदादेखि केटाकेटीसम्मबाट मैले उत्साहजनक प्रतिक्रिया पाएको छु । 

बिदेसिएकाहरूले पनि युट्युबमार्फत मार्मिक प्रतिक्रिया दिन्छन् । युट्युबमा मेरा फिल्म हेरेर धेरै दर्शकले ‘गाउँ सम्झन पाइयो, आँखा रसायो’ भनेर कमेन्ट गर्ने गर्नुहुन्छ, खुसी लाग्छ । 

‘सिमला माया’ युट्युबमा ५ लाखभन्दा धेरैपटक हेरिएको फिल्म हो । आदिवासी फिल्मले यति धेरै दर्शक पाउनु आफैँमा एउटा ठुलो सफलता हो । यद्यपि फिल्म निर्माण अझै चुनौती छ । 

तामाङ फिल्मको अन्तर्राष्ट्रिय बजारीकरण 

कुनै समय तामाङहरू काठमाडौँ आसपासका पहाडी क्षेत्रमा बस्थे । त्यहाँ उनीहरूको संस्कृति सुरक्षित थियो किनकि समाज एकत्रित थियो । तर अहिले देश–विदेशसम्म फैलिएका छन् । हामी कहाँबाट आयौँ ? हाम्रो भाषा र संस्कृति के हो भनेर उनीहरूलाई बुझाउने राम्रो माध्यम हो, आदिवासी चलचित्र । आफ्नै भाषामा चलचित्र बनाउनुको मुख्य कारण यही हो । तामाङ संस्कृतिका लोप हुन लागेका पक्षहरूलाई मैले चलचित्रमा विशेष जोड दिएर उठान गर्ने गरेको छु । मेरो सपना तामाङ फिल्मलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजाने हो । 

चलचित्र निर्माण टेक्निकल विषय हो, यसका लागि पर्याप्त तालिम आवश्यक पर्छ । मैले विभिन्न वर्कसपहरूमा सहभागी भएर आफ्नो क्षमता अभिवृद्धि गर्ने गरेको छु । तामाङ भाषीको सङ्ख्या सानो हुन सक्ला तर फिल्मले पार्नसक्ने प्रभाव ठुलो हुनुपर्छ भन्ने मेरो मान्यता हो । अर्थात्, तामाङ भाषाका फिल्मले तामाङमात्रै होइन, सबैलाई छुन सक्नुपर्‍यो । कथा मौलिक र सिनेमाटोग्राफी स्तरीय हुनुपर्‍यो । हामीले दृश्यमार्फत धेरैभन्दा धेरै बोल्न सक्यौँ भने, भावनाहरू अभिव्यक्त गर्न सक्यौँ भने अन्य समुदायले पनि यसलाई चाखपूर्वक हेर्नेछन् । हाम्रो संस्कृतिका सकारात्मक पाटाहरू उजागर गर्दै समाजमा त्यसलाई स्थापित गर्नसक्यौं भने त्यो ठुलो सफलता हुनेछ ।

भाषाभाषीको फिल्ममा अर्गानिक टेस्ट आउनैपर्ने पर्छ । हुन त पुस्तक र रेडियोमार्फत प्रसारण हुने कार्यक्रमले पनि भाषाको संरक्षणमा ठुलो भूमिका खेलेका हुन्छन् । तर फिल्मले समग्र समाजको प्रतिबिम्ब पेस गर्छ किनकि तामाङ भाषामा लेखिएको पुस्तक अन्य भाषा–भाषीले पढ्न सक्दैनन् । रेडियोबाट प्रसारण हुने अडियोले पनि अन्य भाषाका व्यक्तिहरूमा प्रभाव राख्दैन । तर चलचित्रको प्रभाव सबैमा पर्छ ।  

बलिउड वा अन्य उद्योगका चलनचल्तीका फर्मुलाहरू प्रयोग गरेर फिल्म बनाउने परिपाटी पनि छ । मेरो बुझाइमा नेपाली फिल्मको कपी गरेर तामाङ भाषा हाल्दैमा त्यो तामाङ फिल्म हुँदैन । विगतमा यस्ता प्रयोगहरू भएका पनि हुन् । ती फिल्मले कम्तीमा पनि तामाङ भाषामा फिल्म बन्न सक्छन् भन्ने प्रमाणित गरेका छन् । त्यसैले विगतमा जे भयो, त्यसलाई नकारात्मक रूपमै लिनुपर्छ भन्ने पनि होइन । तर, हामी सिक्ने क्रममै छौँ भनेर चुनौतीबाट पन्छने छुट अहिलेको पुस्तालाई छैन । अबका दिनमा आफ्नोपन आउनुपर्छ । अर्गानिक फिल्म निर्माण गर्नुपर्ने चुनौती हामी सामु छ । नेपालमा १ सय ५० भन्दा धेरै तामाङ फिल्म बनिसकेका छन्, आगामी दिनमा अझै धेरै बन्छन् । तर अर्थपूर्ण फिल्म बनाउन नसकेसम्म हाम्रो बजार ठुलो हुनेवाला छैन । 

सरकारले तामाङ तथा आदिवासी चलचित्रहरूलाई प्रवर्द्धन गर्नका लागि विशेष नीति ल्याउनुपर्छ किनकि हाम्रो बजार सानो छ । फिल्मको बजेट पनि सानो हुन्छ । त्यसैले प्रवर्द्धनका लागि सरकारको सहयोग आवश्यक छ । नयाँ संविधान र नयाँ पहिचानको कुरा उठने गरेको छ ।अहिलेको अवस्थामा वर्कसपहरू गर्ने, राम्रा फिल्मलाई सम्मान र प्रमोसन गर्नेलगायत काम नभएका होइनन् । तर यतिले पुग्दैन ।

सानो बजेटमा बन्ने गरेका आदिवासी फिल्महरूले पनि नेपाली फिल्म सरह दर्ता शुल्क तिर्नुपर्ने झन्झटिलो प्रावधान छ, यसलाई हटाउनुपर्छ । झन्झटिलो कुराहरू पेलिँदा मौलिक भाषामा फिल्म बनाउनेहरू हतोत्साहित हुने अवस्था छ । प्रक्रिया पुरा गर्नुपर्‍यो, शुल्क तिर्छौ, सेन्सर गर्छौ तर, त्यसबापत केही सुविधा दिने वा नदिने वा शुल्क कम किन नगर्ने ? यस विषयमा सरकारले सोच्नुपर्छ । 

त्यस्तै, ठुला हलहरूले नेपाली भाषाका फिल्मसँगै मौलिक कथा र संस्कृतिमा बनेका आदिवासी फिल्मलाई पनि महत्त्व दिनु आवश्यक छ । अहिले त हलहरूले नेपाली मूलधारका फिल्मलाई नै महत्त्व दिँदैनन्, भाषा–भाषीका फिल्मले महत्त्व पाउने टाढाको विषय भयो । चलचित्र विकास बोर्डमा पनि आदिवासी जनजाति चलचित्रको अलग्गै सेन्सर बोर्ड हुनुपर्छ । यसो हुन सके भविष्य उज्जवल र सुन्दर हुनेछ ।

(कुराकानीमा आधारित)

दाेङ तामाङ भाषाका चलचित्र निर्माण तथा निर्देशन गर्छन् ।

कस्तो लाग्यो ?

यो पनि