बैशाख २२, २०८१, शनिबार
               

हाम्रो प्रयास : बेथितिमा खबरदारी

चेतन पाण्डे
माघ २२, २०७६

ADVERTISEMENT

हामी आयौँ ! यहाँहरूसँग समाचार र विचारसँग मिठो सम्बन्ध गाँस्न । उदाउँदो सञ्चारमाध्यम मल्टिमिडियामार्फत । सर्वस्वीकार्य सञ्चारको यो माध्यममा नेपाल फ्ल्यास डट कम फ्ल्यास सञ्चार प्रालिको पहिलो पाइला हो । यस अवसरमा यहाँहरूलाई इमानदार पत्रकारिता गर्ने वचन मात्र दिँदैनौं, समाजका हरेक गतिविधिबारे बृहत्तरुपमा सुसूचित गराउने प्रयास पनि गर्ने नै छौँ । त्यसका लागि भविष्यमा सञ्चारका अन्य माध्यममा पनि पाइला टेक्ने छौँ । 

आजका लागि हामी अनलाइन न्युज पोर्टल कै भिडमा मिसिएका छौँ । अहिले हामी कान्छा छौँ । तर 'टिम नेपाल फ्ल्यास’ले आफ्नो उपस्थितिलाई बग्दो समयसँगै सार्थक बनाउने छ । यहाँहरूको स्वस्थ्य आलोचनालाई कोदालो बनाएर आफ्नै गोरेटो खन्नेछौँ । जहाँ यहाँहरूको साथमा हामीले टेक्ने हरेक पाइलाका डोब इमान्दार पत्रकारिताको नयाँ परिभाषा बन्न सकोस् । पाठक हाम्रा भगवान् हुन् । हाम्रो धर्म पठनीय सामग्री उत्पादन र प्रकाशन गर्नु त हो नै । साथै समाजमा व्याप्त  बेथितिलाई नंग्याउनुलाई पनि हामीले हाम्रो धर्मको परिभाषामा गुथेका छौँ ।

दुर्गन्धलाई हामी कहिल्यै सुगन्ध मान्दैनौँ, अनि सुगन्धलाई दुर्गन्धित गर्ने प्रयास पनि कहिल्यै गर्दैनौँ । हाम्रो कलम समाजलाई भड्काउन तयार छैन । त्यसैले हामीले खन्न लागेको यो पत्रकारिताको गोरेटो सुसंस्कृत समाजको निर्माणमा थप एउटा पाइला बनोस् भन्ने चाहना मात्र छ ।

भोलिका दिनमा हामी आफैँले यसो गर्छौ वा त्यसो गर्छौ भन्नु भन्दा पनि हामीले गरेका राम्रा–नराम्रा कुराको सत्य–तथ्य प्रशंसा र आलोचना गर्ने जिम्मेवारी यहाँ पाठकहरूलाई दिन चाहन्छौँ । अनि हामी नेपालको आवाज बन्न चाहन्छौँ । के देश, के विदेश, चारैतिर छरिएर रहेका नेपालीको सुख र दुखसँग हामी नाता गाँस्न चाहन्छौँ ।

सामाजिक आयामका अनेकौँ पाटा छन् । कति घिनलाग्दा, कति उराठलाग्दा नै होलान् तर, त्यसमा पनि समाजलाई केही गरौँ र मुलुकलाई गर्व गर्न लायक बनाऔँ भन्नेहरूको पनि कमी छैन ।

हामीले समाजमा रहेका बेथितिबारे कति आवाज उठाउन सक्यौँ ? भ्रष्टाचार र अनियमितताका बारेमा कति लेख्न सक्यौँ ? दिक्कलाग्दो राजनीतिका चलखेललाई कति नङ्ग्याउन सक्यौँ वा सकेनौँ ? अनि हाम्रा धर्म–संस्कृतिको रक्षाका खातिर कलम चलाउन सक्यौँ कि सकेनौँ ? निदाएको अर्थव्यवस्थालाई जगाउन सक्ने खालका सामग्री पस्कन सक्यौँ कि सकेनौँ ? भत्किएका मनहरूलाई जोड्न सक्यौँ कि सकेनौँ ? भोलिका दिनमा यहाँहरूले यस्ता प्रयासको प्रशंसा वा आलोचना गर्नु नै हुनेछ ।त्यसैले हामी कसरी अगाडि बढ्छौँ भन्नुभन्दा पनि समयसँगै हाम्रो मूल्याङ्कनको गहन जिम्मेवारी यहाँहरूको भरोसामा छाड्ने छौँ ।

वास्तवमा अहिले हामी यस्तो धरातलको साक्षी बनिरहनु परेको छ । जहाँ हरेक पाइलामा बेथितिका उकाला छन् । गाउँदेखि केन्द्रसम्मको राजनीति फोहरको आहालमा डुबेको छ । यस्ता आहाल नपुरेसम्म सभ्य समाजमा श्वास फेर्ने तपाईँ–हाम्रो चाहना कदापि पुरा हुन सक्दैन । त्यो आहाल पुर्न हामी मात्रै सक्षम छौँ भनेर पनि कदापि भन्दैनौँ तर जसले हाम्रो सपनासँग खेलबाड गरिरहेका छन्, त्यसलाई नङ्ग्याउन भने हामी कहिल्यै पछि पर्ने छैनौँ । विश्वास दिलाउन चाहन्छौँ ।

यहाँहरूझैँ हामीलाई पनि एउटा स्वच्छ बिहानीमा श्वास फेर्ने चाहना छ । हाम्रो कलम समाजका हरेक बेथितिमाथि मात्र होइन राम्रो काम गर्नेको प्रशंसामा पनि चल्ने नै छ । हामी त्यो मानसिकतालाई पनि चिर्न चाहन्छौँ, जहाँ कसैलाई गाली गर्दा पित र प्रशंसा गर्दा चाकडी पत्रकारिताको बिल्ला भिराइन्छ । दुर्गन्धलाई हामी कहिल्यै सुगन्ध मान्दैनौँ, अनि सुगन्धलाई दुर्गन्धित गर्ने प्रयास पनि कहिल्यै गर्दैनौँ । हाम्रो कलम समाजलाई भड्काउन तयार छैन । त्यसैले हामीले खन्न लागेको यो पत्रकारिताको गोरेटो सुसंस्कृत समाजको निर्माणमा थप एउटा पाइला बनोस् भन्ने चाहना मात्र छ ।

धन्यवाद !

 

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि