बैशाख २३, २०८१, आइतबार
               

कहिले हुने मूल्यांकन दलितका योगदानको?

राजेश नेपाली
कात्तिक २८, २०७६

ADVERTISEMENT

दलित आन्दोलनको परिप्रेक्ष्यमा नेपालमा विक्रम सम्वत १९९७ सालमा बाग्लुङमा भगत सर्वजित विश्वकर्माले जनै लगाएर एक प्रकारको विद्रोहको सुरुवात भएको मान्न सकिन्छ । यसले के बताउछ भने नेपालको राजनीतिक आन्दोलनको समय सात दशकको भएजस्तै दलित आन्दोलन पनि सात दशककै भयो ।

दलितहरूको सहभागिता अहिलेसम्मको सबै प्रकारको राजनीतिक आन्दोलनमा छ । अहिले दलित आन्दोलन मध्यमार्गी बाटोमा छ । सुकिसकेको पनि छैन र एकदम अगाडि जाने पनि देखिएको छैन । अन्य राजनीतिक आन्दोलनजत्तिकै इतिहास दलित आन्दोलनको भए पनि उपलब्धिहरू लगभग शून्यसमान रहेकोले त्यो देखिएन । उपलब्धि नभएपछि दलित आन्दोलनका क्रममा भएका त्याग, तपस्या र आहुतिको कतै मूल्यांकन भएन । त्यस्तो किन भयो भने राज्यको मूल चरित्रले पछिसम्म पनि दलित सवाललाई ग्रहण गरेन । निकै पछि आएर ग्रहण गर्दा अपनी एकमुष्ठ नगरेर किस्ताबन्दीमा गर्न थाल्यो ।

संविधानमा दलित सवाल अग्रगमन देखिए पनि व्यावहारिक जीवनमा भने अलपत्र अवस्थामा छ


२०४७ साल अघिसम्म नेपालको कुनै पनि पार्टीमा दलित भगिनी अंग थिएन । अहिले आएर लगभग सबै पार्टी के कुरामा सहमत छन् भने राजनीतिक मुद्दा सबै सकियो, अबको बाटो भनेको समृद्धि हो । त्यसै अनुसार घोषणापत्र र कार्यक्रम बनाउन पनि थालिसके । तर, एउटा दलित राजनीतिककर्मीको आखाँबाट हेर्दा दलित सवाललाई अलपत्र पारिएको देख्छु । दलितलाई मात्रै किन सिमान्तकृतलाई पनि त्यसै गरिएको छ । एउटा आकर्षक टल्किने रंगीबिरंगी प्लास्टिकको झोलामा बन्द गरिएको छ । हामीले देख्यौं कि एउटा दलित किसानले उत्पादन गरेको दूध डेरीमा लिइएन । गुन्द्री छोएको निहुँमा निर्घात कुटपिट भएको छ । त्यसकारण संविधानमा दलित सवाल अग्रगमन देखिए पनि व्यावहारिक जीवनमा भने अलपत्र अवस्थामा छ । १० वर्षे माओवादी जनयुद्धले दलित सवाललाई एक हदसम्म रफ्तार दिएको थियो । तर त्यो रफ्तारलाई विभिन्न कारण या बहानामा निरन्तरता भने दिइएन । अहिले वडा सदस्यमा दलित महिला अनिवार्य गरिए पनि त्यसभन्दा माथि सबै ठाउँमा घुमाउरो पाराले रोक्ने प्रयास भएको छ । बिस्तारै आरक्षण पनि घटाउँदै छन् ।
पछिल्लो समय पार्टीहरूमा समावेशीकरण देखाउन दलित भगिनी संगठन अनिवार्य भएको छ । राजनीतिक दलको केन्द्रीय समितिमा पनि केही दलित सदस्य अनिवार्य गरिएको छ । तर त्यो व्यवस्थालाई कस्तो देखाइएको छ भने अरूको भाग खोसेर दिएको जस्तो । एउटा दलित केन्द्रिय सदस्य हुँदा अर्को कुनै बाहुन, क्षेत्री या खसले आफ्नो भाग खोसिएको महसुस गर्छ, जुन सरासर गलत हो । भाग खोसेको होइन नि, आफ्नो स्थान लिएको हो । कुनै पनि पार्टीमा दलितलाई उचित पहुँच प्रवेश छैन । तर औपचारिक रूपमा देखाउने दाँत भने राखेका छन् । मान्छे उभ्याइदिने तर मुद्दा सुताइदिने प्रवृत्ति सबै पार्टीमा छ । कसोकसो कोहीकोही दलित नेताहरू बन्ने तर दलित मुद्दा भन्ने लावारिस हुने स्थिति देखिएको छ ।
अवश्य नै अब राजनीतिक दलले नयाँ चरित्र ग्रहण गर्ने नै छ ।  त्यसकारण दलित सवालहरूको उठान पनि नयाँ तरिकाले गर्न जरुरी नै छ ।  अब दलित सवाल प्राज्ञिक र सैद्धान्तिक रूपमा उठाउन जरुरी छ ।  किनभने चुलामा, धारामा, पूजामा हुने विभेद र छुवाछुत प्रष्ट देखिन्थ्यो भने अब त्यो नदेखिनेगरी हुन थालेको छ ।  अब त्यो रिलेसन हुने बिहे नहुनेमा, कोठा भाडामा दलित जात खुल्ने थर भएपछि नदिने जस्तोमा देखिएको छ । यसले के देखाउछ भने प्राविधिक रूपमा परिवर्तन आए पनि चिन्तनमा भने परिवर्तन आएको छैन  । प्राविधिक विभेदहरू पनि छन्, आधुनिक विभेदहरू पनि छन् । सबैको आधुनिक उपचार खोजिनुपर्छ । संविधानले अवलम्बन गरिसकेपछि निजी क्षेत्रले पनि समावेशीकरण गर्नुपर्छ । समाज बनाउन निजी क्षेत्रको पनि यसतर्फबाट योगदान होस् न । राज्यकै तथ्यांकमा सबभन्दा गरिब दलितहरू छन् ।
शिक्षामा, स्वास्थ्यमा, सुविधामा, स्रोतमा कहीँकहीँ दलितहरूको पहुँच छैन । यहाँसम्म कि दलितहरूको औसत आयु समेत कम छ । तत्कालचाहिँ प्रगतिशील विशेषाधिकार दिएर हुन्छ या आरक्षण बढाएर हुन्छ दलितलाई स्रोतको पहुँचमा पुर्याउनुपर्छ र दीर्घकालीन उपायको खोजी गरिनुपर्छ, किनभने सधैं विशेषाधिकार र आरक्षण दिएर त हुँदैन । तर नदिने, सक्षम बनाउने एक हदसम्म त पुर्याउनुपर्छ नै राज्यले । यसमा राज्यकै जबर्जस्त हस्तक्षेप चाहिन्छ । नेपाली राजनीतिक दलले राजनीतिक मुद्दा सकियो भने पनि मेरो विचारमा समाज रहुन्जेल राजनीतिक मुद्दा सकिन्न । प्रतिव्यक्ति आय बढ्नु मात्रै समृद्धि  होइन, न हो अग्लाअग्ला बिल्डिङ बन्नु मात्र । समृद्धितर्फ जानु नै पर्छ तर दलित सवालसमेत त्यसमा जोडिएर जाओस् । दलाल पुँजीवादी अर्थतन्त्रले ल्याउने समृद्धिभित्र म एउटा माक्र्सवादी राजनीतिकर्मीको आँखाबाट हेर्दा दलित मुद्दालाई फाइदा हुने देख्दिनँ । नेपालमा भूमिहीन पनि दलित नै छन् । तराईमा ८१% दलित भूमिहीन छन्, पहाडमा २१% र हिमालमा १९% दलित भूमिहीन छन् । घरबार नभएको, जग्गा जमिन नभएको दलितलाई अहिलेको समृृद्धिको नाराले कसरी सम्बोधन गर्छ, हेर्न बाँकी छ ।

राज्य र पार्टी इमान्दार बनेर लाग्यो भने अबको २/३ पुस्तापछि जातको नाममा हुने एक प्रकारको छुवाछुत र विभेद पूर्णतः अन्त्य हुन्छ

दलित आन्दोलनमा केही नभाको त होइन । तर दलित समुदायको सवाललाई दलितहरूको मात्र भनेर छोड्न भएन, अर्को समुदायले बेवास्ता गर्न भएन  । विश्वव्यापीकरणको जमानामा नेपाललाई विश्वले नै हेरिराखेको छ । यो त समाजकै समस्या हो, देशकै समस्या हो । दलित सवाल त मानव अधिकारको पनि सवाल हो । दलित भएकै कारण समाज बहिस्कारमा पर्ने, मार्नेसम्मको स्थिति अझै छ, जमाना कहाँ पुग्यो भनेर हँुदैन यहाँ  । यस्तो अवस्था राजनीतिक मुद्दा सकियो भन्नेहरूले किन नदेखेको होला ? कि यो राजनीतिक मुद्दा होइन र ? राष्ट्रिय दलित आयोग अब संवैधानिक अंग बनेको छ  । पहिलेभन्दा यो अधिकारसम्पन्न बनेको छ  । यसले पनि छिट्टै फुल फ्लेजमा काम गर्नुपर्छ । दलित आयोग संवैधानिक बन्नु मात्रै पनि एउटा ठुलो उपलब्धि हो । व्यावहारिक रूपमा भन्नु पर्दा स्नातकोत्तरसम्मको पढाइ निःशुल्क हुनुपर्छ । राज्यले आफ्ना हरेक निकायलाई समावशीकरण मेकानिज्ममा काम गर्नु/गराउनुपर्यो  । राज्य र पार्टी इमान्दार बनेर लाग्यो भने अबको २/३ पुस्तापछि जातको नाममा हुने एक प्रकारको छुवाछुत र विभेद पूर्णतः अन्त्य हुन्छ । समृद्धिको खाका बनाउँदाखेरि नै त्यसमा दलित उत्थानको पनि खाका सँगसँगै हुनुपर्यो ।
दलित आन्दोलन यहाँसम्म आउनुमा एनजीओको पनि ठूलो भूमिका छ । दलित आन्दोलन सामाजिक स्तरमा हुनुमा एनजीओको ठूलो रोल छ । दलितको अहिलेसम्मको स्थिति भनेको जल, जमिन, जंगल, सडक, सरकार सबैबाट टाढा भएको, बञ्चित पारिएको छ । त्यसकारण दलितका लागि लडिदिने अरू कोही छैन, यही समाजभित्रबाट तपाईं–हामी नै हौं ।

लेखक दलित आन्दोलनका अगुवा हुन् ।

कस्तो लाग्यो ?

यो पनि