बैशाख २३, २०८१, आइतबार
               

पर्यटनमन्त्रीलाई सुझाव, जहाज 'डिले' नगर

रमेशराज बास्तोला
असोज ०१, २०७६

ADVERTISEMENT

सुन्दरताको हिसाबमा, जलस्रोतको हिसाबमा नेपाल संसार कै दोस्रो देश हो । यसका अलावा नेपाल कयौँ कुराम नेपाल पहिलो छ । संसार कै सबैभन्दा अग्लो हिमाल अनि धेरै हिम सृखला संसार कै गहिरो गल्छी लगायत अनेकौँ कुरा नेपालमामात्र पाइन्छन् । घुम्न बस्न खान पर्यटकलाई विश्व बजारको तुलनामा एक दम सस्तो छ सुन्दरतामा रमाउने साहसिक कार्य गर्न रमाउने प्रकृतिसँग रहन चाहने कायाकिङ, हाइकिङ, ट्रेकिङ क्यानेडियन बन्जी प्याराग्लाइडिङलगायतका सौखिनलाईमात्र नभई संसारका दुर्लभ जीवजन्तु वनस्पति अध्ययन अवलोकन गर्नको लागि नेपाल संसारकै उत्कृष्ट देश हो ।

विडम्बना हामी यी कुराको प्रचुर प्रचार प्रसार गरी पर्यटकलाई आकर्षित गर्न सकेका छैनौँ । यसको मुख्य दोष सरकार र सरकार बागडोर समाल्ने अनि पर्यटन प्रवर्द्धनको ठोस नीति नियम फितलो राजनीतिक खिचातानी र पर्यटन व्यवसायीका केही बदनामी कारणले नै पर्यटन प्रवर्द्धनमा वाधा पुगेको छ ।

देशमा पर्यटन सम्बन्धी धेरै गोष्ठी, सेमिनार र बैठक गरिन्छ । तर त्यो पर्यटकहरू समक्ष पुग्दैन । पर्यटन प्रवर्द्धन भनेर गरिने सेमिनार प्रचार प्रयास विदेशमा हुनुपर्ने तर काठमाडौँको होटेलमा गरिन्छ । अनि पर्यटन वर्ष सफल पारौँ, २० लाख पर्यटन भित्राउने भयौँ भनेर मक्ख परिन्छ । तर वास्तविक पर्यटकको हिसाब गर्ने हो भने हरिबिजोग देखिन्छ ।

१२ वर्षे द्वन्द्वकाल र महाभूकम्पले गर्दा देशको पर्यटन व्यवसाय धराशायी भएको थियो । शान्ति प्रक्रियासँगै बन्द हडतालपछि पर्यटन आगमनमा आशातीत प्रगति भएको थियो । संविधान जारी भयो । संसदीय चुनाव भयो । अनि देशले पर्यटन र पर्यटन व्यवसायलाई बुझ्ने पर्यटनमन्त्री पाएको थियो ।

दुर्भाग्य उहाँको अकालमा दुर्घटनामा निधन भयो । पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि केही महिना पर्यटन मन्त्रालय खाली रह्यो । अन्तमा एमालेका जुझारु र केही गरौँ भन्ने नेता योगेश भट्टराई पर्यटनमन्त्री हुनुभयो ।

उहाँ पर्यटनमन्त्री भएको १/२ सातासम्म त केही आशा थियो । उहाँले पर्यटन प्रवर्द्धन सम्बन्धी केही गर्नु होला जस्तो लागेको थियो । तर उहाँको कार्य पनि पोखरावाट काठमाडौँ हिँडेको बसको गन्तव्य मुग्लिनबाट मोडेर चितवनतर्फ लागेको जस्तो भान हुन लागेको छ । पछिल्लो घटना परिघटनाले उहाँबाट आशाभन्दा बढी निराशा पाएको छौँ । आफूले गरेका काम कारवाहीको जस आफूले लिने अपजस आए भने मण्डले भन्ने अनि नागरिक उड्डयन जस्तो जिम्मेवारी पाएर आफैँले उड्डयनको नियम नमान्नु कारणले पर्यटन वर्ष २०२० सफल हुनेमा शङ्का लाग्न थालेको छ ।

मन्त्रीज्यु मैले पर्यटनको दोभासे र गाइड पोटर गरेर पर्यटकलाई ओहोर दोहोर गराएको छु । कतिलाई कायाक सिकाएको छु । कतिलाई पर्यटन क्षेत्र घोषणा नगरिएका गाउँगाउँमा लगेको छु । जापानिजको दोभासे होस् या पोर्चुगलका पर्यटकसँगै लगेर होस् । मैले नेपालमा पर्यटकले पाउने सास्ती, पर्यटक कसरी लुटिन्छन् गाइड सेर्पा र पोटरको श्रम शोषण कसरी हुन्छ ? फेक रेस्क्यु गरेर कति लुटेका छन् ? यसबारे पनि मैले केही जानेको छु ।

यस्ता समस्यमा सरकारको कहिल्यै आँखा परेन । कयौँ पर्यटकहरू विभिन्न समस्या र लुटको सिकार भएर कहिल्यै नेपाल नजाने अठोट गरेका पनि छन् । त्यस्ता पर्यटकले कस्तो रिभ्यु देलान् मन्त्रीज्यु ।

केही दिन पर्यटनमन्त्रीज्युले ७० वर्षकोलाई हवाई जहाजमा ५० प्रतिशत छुट दिने घोषणा गर्नुभयो । यो एउटा खोक्रो र प्रचारमुखी योजनामात्र हो । ९० प्रतिशत नेपाली जहाज चढ्न सक्ने हैसियतमा छैनन् । 

मन्त्रीज्यु । तपाईँले पशुपतिनाथमा राष्ट्रियगान गाउने नियम ल्याउन लाग्नुभएको रहेछ । यसबाट झन् तपाईँको कार्यकुशलता तपाईँ प्रतिको आशा क्रमशः निराशामा जान लाग्यो ।

के आराध्यदेव पशुपतिनाथमा राष्ट्रिय गान गाएर गणतन्त्र मजवुत हुन्छ ? के पशुपतिनाथमा राष्ट्रिय गान गाएर २० लाख पर्यटक आउने हुन् ? पर्यटनमन्त्रीज्यु सायद तपाईँलाई नागरिक उड्डयन तथा पर्यटनमन्त्रीको काम कर्तव्य र अधिकार नै थाहा नभएको जस्तो लाग्यो ।

कहिले ७० वर्ष उमेर पुगेकोलाई ५० प्रतिशत हवाई भाडा छुट भन्ने हावा कुरा गर्नु हुन्छ । अनि हिन्दुका आराध्यदेव पशुपतिनाथमा राष्ट्रिय गान बजाउने निर्णय गर्नु हुन्छ । पोखरा गएर मन्त्रीको दैनिक पर्यटन नआए पनि चल्दछ । २० लाख पर्यटक नआए घाटा व्यवसायीलाई हो भन्दै घुर्काउनु हुन्छ । 

अनि २ दिन अगाडिमात्र जहाज डिले गराएको आरोप आएको छ । तपाईँ १५ मिनेटमात्र भन्नु हुन्छ । जहाज १५ मिनेट ढिलो गराउनुको साटो १५ मिनेट पहिला आएको भए कति राम्रो हुने थियो । भाषणमा पर्यटन प्रवर्द्धनको चर्को नारा दिनु हुन्छ । फेसबुक पेजमा युरोपका डिपार्ट र स्टोर भिजिट नेपालको टिसर्ट लगाएको पुरानो फोटो सेयर गरेर विदेश पर्यटन प्रवर्द्धन भएको छ भनेर ग्यालमरस तरिकामा प्रचारित हुनुहुन्छ ।

तर पर्यटन र नागरिक उड्डयनतर्फ केही पनि सकारात्मक काम गर्न सक्नु भएको छैन । सायद सल्लाहकारको गलत सल्लाहमा पर्दै हुनुहुन्छ होला । देश या विदेशमा सानो तिनो पर्यटन व्यवसायी भएको नाताले म केही सुझाव दिँदै छु ।

(१) वायुसेवा र उड्डयन

सबैभन्दा पहिले नेपाली पाइलट र विदेशी पाइलटको तलबको खाडल सयौँ गुणा फरक छ । नेपाली पाइलटको ४ साढे चार लाख छ तर विदेशी पाइलटको तेब्बर भन्दा पनि बढी छ । यो पक्का कमिसनको चक्कर हो । यसको छानबिन गर्नु होस् । र नेपाली पाइलटलाई प्रोत्साहन गरी विदेशी पाइलटलाई क्रमशः घटाउँदै जाने योजना बनाउनु होस् ।

खराब मौसम बाहेक अन्य समय निर्धारित समय भन्दा १ मिनेट पनि जहाज ढिला नउडोस् । कोही कसैको आग्रह र अनुरोधमा जहाज रोक्ने प्रथाको अन्त्य गरियोस् ।

नेपाल वायु सेवा निगमको जहाज खाली खाली उड्दा विदेशी एयरलाइन्सहरू भरिभरि जानेआउने सबैले देखेको छौँ । यो पक्का पनि निगम डुबाउने निगमकै भ्रष्ट कर्मचारीको कारण हो । यिनीहरूलाई कठोर रूपमा कार्यवाही अगाडि बढाउनुहोस् । र, नेपाल वायुसेवा निगमको टिकट बढी भन्दा बढी बिकाउने ट्राभल एजेन्सीलाई पुरस्कृत गर्नु होस् ।

(२) पर्यटन प्रवर्द्धनतर्फ

काठमाडौँको तारे होटेलमा गर्ने सभा गोष्ठी अनि पर्यटन बोर्डले २/४ हजार थान पम्लेट छापेर प्रचार गरे जस्तो गर्ने अनि करोडौँ भ्रष्टाचार गर्ने प्रवृत्ति छ । त्यो हटाएर विभिन्न देशका नागरिक जो उनीहरूको देश समाजमा सम्मानित छन्, तिनीहरूलाई निशुल्क प्याकेज बनाएर नेपाल घुमाउने योजना गराऔँ । यसरी एक देशको प्रतिष्ठित र लोकप्रिय व्यक्तित्वहरुलाई सकारात्मक सन्देश प्रवाह गर्‍यो भने पर्यटन प्रवर्द्धनमा अत्यन्त ठूलो टेवा पुग्दछ ।

युरोपियन देशमा प्राय गाजा फ्री छ । डेनमार्कको कृस्चियनहेवनमा गाजा चरेसको छुट्टै विक्री वितरण गर्ने स्थान छ । रस्किल्ड फेस्टिभलमा १०औं लाख पर्यटक आउँदछन् । उनीहरू टेन्ट हालेर बस्दछन् । गाजा चरेसमा रमेर त्यो महोत्सव सकिन्छ । प्रत्येक वर्षको समरमा हुन्छ । पोर्चुगलको एउटा सानो गाउँमा प्रत्येक अगस्टको अन्तिम विही, शुक्र र शनिबार साङ्गीतिक महोत्सव हुन्छ । त्यहाँ गाजा-चरेसको खानेहरू नै अत्याधुनिक हुन्छन् । ३ दिनको मेलामा करोडौँको व्यापार हुन्छ । स्थानीयले राम्रो आम्दानी गर्दछन् । त्यस्तै नेपालको वाग्लुङ, म्याग्दी, रुकुम, रोल्पा- जहाँजहाँ गाजाको उत्पादन हुन्छ, त्यहाँ पर्यटक लक्षित गरी शिवरात्रिको अवसरमा ५/१० दिनको ग्रामीण महोत्सव गर्ने । त्यहाँ पर्यटकलाई पुर्‍याउने विशेष योजना बनाउन सकिन्छ ।

(३) अनुगमन र कड़ाई गर्नु पर्ने

पर्यटन बोर्डले जसले चाकडी गर्दछ । विदेशबाट जसले आईफोनलगायत महँगा कोसेली पठाउँछन् उसलाई पर्यटनदूत नियुक्त गर्दैआएको छ । यो प्रथा हटाई जसले नेपालमा पर्यटक बढी पठाउन सक्दछ । उसैलाई पर्यटनदूत नियुक्त गर्दा पर्यटन प्रवर्द्धनमा प्रभावकारी होला ।

काठमाडौँ, भक्तपुर र चितवन तथा पोखरालगायत प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकमैत्री पार्क छैनन् । कमसेकम पर्यटकहरू बसेर आराम गर्ने पार्क बनाउनेतर्फ ध्यान दिनु पर्छ ।

पर्यटकलाई लक्षित गरेर खोलिएका र सबै किसिमको होटेल रेस्टुरेन्टमा कम्तीमा पनि ३/३ महिनामा मूल्य र सरसफाइको अनुगमन गर्ने । 

पर्यटकसँग चर्को शुल्क लिएर बुक गर्ने तर गाइड पोटरलाई न्यून तलब दिने ट्राभललाई कार्यवाही गर्ने ।
पर्यटन सम्बन्धी खोलिएका र भएका सङ्घ संस्थाहरू, जो आसन र भाषण अनि मन्त्रीसँग सेल्फ़ीमात्र खिच्न लालायित हुनेलाई कार्य क्षेत्र तोकिदिने ।

भिसा शुल्क लिएपछि प्रत्येक टोल-चोकमा पस्दा पर्यटकले चर्को शुल्क तिर्न विवश छन् । भक्तपुरमा चर्को शुल्क छ । ट्रेकिङमा जानेलाई ठाउँ ठाउँमा विभिन्न कर तिराइन्छ । यसरी बाटो घाटोमा जथाभाबी रसिद काट्ने प्रवृत्ति अन्त गरिनु पर्दछ ।

भीआईपी अवतरणको नाममा ३०/४५ मिनेट आकाशमा जहाज होल्ड गराएर पर्यटकलाई पहिलो गाँसमा ढुङ्गा भनेझैँ अवतरण नगर्दै भय र त्रासको अनुभूति हुने अवस्थाको अन्त्य होस् ।

सङ्ख्यात्मक भन्दा पनि गुणस्तरीय पर्यटकको लागि जोड दिइयोस् । जसरी भुटानले दैनिक पर्यटकले दैनिक बजेट तोके जस्तै नेपालमा पनि कमसेकम दिनमा ५० डलरसम्म खर्च गर्न सक्ने पर्यटन आउन् । यसरी नियमन गरिएमा पर्यटकको नाममा लुटपाट तथा ठगी गर्नेहरू कम आउने छन् 

नेपालमा आउने पर्यटकले भन्दा नेपालबाट बाहिर जाने नेपाली पर्यटकले धेरै खर्च गरेको र नेपालमा रहेको वैदेशिक मुद्रा बाहिर नै गएको पाइएको छ । 

यो परिवेशमा आन्तरिक पर्यटक लक्षित कार्यक्रम आओस् । जस्तो काठमाडौँमा बसेर असल काम गर्ने कर्मचारीलाई ७ दिने रारा (पुरस्कार स्वरूप ) भ्रमण गराइयोस् । अनि मुस्ताङमा बसेर राम्रो कार्यसम्पादन गर्नेलाई हौसला स्वरूप जनकपुर तथा लुम्बिनी भ्रमण गराइयोस् ।

नेपालको लोकल रक्सी संसारकै उत्कृष्टमा पर्दछ । अनि हामी कोरियाबाट छ्याङ्ग ल्याएर काठमाडौँमा बेच्दछौँ । यस्तो कुरालाई अन्त्य गरी नेपालको कोदो फल्ने गाउँठाउँमा नेपालकै मौलिक कोदोको रक्सी र छ्याङ्ग उत्पादन गरी नेपाली पेय पदार्थको लागि आउने पर्यटकलाई नियमन बनाएर स्वाद चखाउनु पर्छ ।

यसको स्वादसँगै प्रचार प्रसार गर्न सकियो भने हाम्रो देशको दुर्गममा उत्पादनले बजार भाउ पाउने र त्यस स्थानमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने छन् ।

आसा छ पर्यटनमन्त्रीज्युले पर्यटन विकासको लागि सही निर्णय गर्नु हुनेछ । पशुपतिमा राष्ट्रिय गान गाउने जस्ता ग्ल्यामरस निर्णयले कदापि पर्यटन आउँदैनन् । पशुपतिनाथमा अनावश्यक हस्तक्षेप होइनले कसैको हित गरेको छैन । प्रचारमुखी होइन, परिणाममुखी बन्नुहोस् । 

बास्तोला हाल पोर्चुगल बस्छन् । उनी पर्यटन व्यवसाय तथा लेखनमा रुची राख्छन् ।

कस्तो लाग्यो ?

यो पनि