बैशाख १३, २०८१, बिहीबार
               

राजसंस्थासहितको हिन्दुराष्ट्र अपरिहार्य

बुद्धिमान तामाङ
भदौ २१, २०७६

ADVERTISEMENT

नेपालमा ८१ प्रतिशतभन्दा बढी हिन्दु छन् । त्यस्तै ९४ प्रतिशतभन्दा बढी ओमकार परिवारका सदस्य छन् । नेपालीबीच धार्मिक रुपमा भाइचारा थियो । सहिष्णुता थियो । सबै जातजाति र धर्मावलम्बी मिलेर बसोबास गर्दै आएका थिए । धार्मिक सहिष्णुताको उदाहरण थियो नेपाल । सबैले हिन्दु राष्ट्र स्वीकारेका थिए । हिन्दु राष्ट्र नेपालको पहिचान थियो । २०६२/६३ को परिवर्तनसँगै पहिचान मेटाउने काम भयो । 

अहिले त्यही मेटाउँदै लगिएको पहिचान फर्काउन हामी लागेको छौं । अहिले मुलुकमा धार्मिक तथा जातीय सदभाव खलबलिन थालेको छ । धर्म निरपेक्ष रहिरहे धार्मिक युद्धको खतरा देखिन थालेको छ। धार्मिक युद्ध भए कसैले जित्दैन । सबैले हार्ने नै हो । समग्र देशकै हार हुने हो । म जिल्ला जिल्लामा गएको छु । त्यहाँ साथीभाइसँग गरेको भेटघाटको निष्कर्ष मैले सुनाएको हो । ७७ वटै जिल्लाको अनुभव भनेको हो । 

बहुसङ्ख्यक हिन्दु भएकोले हिन्दु राष्ट्र बनाउँदा केही बिग्रदैन । लोकतन्त्रमा बहुमतको कदर हुन्छ । त्यसलाई कदर गर्न सके फाइदा नै हुने हो । देशको पहिचान पनि स्थापित हुने हो। कतिपयले धर्मको आधारमा पनि देशको पहिचान हुन्छ र भनेको पनि सुनेको छु । हुन्छ नि । संसारका धेरै देश क्रिश्चियन छन् । दर्जनौं मुलुक मुस्लिम छन् । उच्च ओहदाको शपथ गर्दा देशले अंगालेको धर्मकै आधारमा हुने गरेको छ । 

भुटान र कम्बोडिया बुद्धिष्ट राष्ट्र हुन् । विश्वको करिब ६ भागको एक भाग हिन्दु छन् । विश्वभर एक अर्ब ८ करोड हिन्दु छन् । त्यसैले एक मात्र हिन्दु राष्ट्र नेपाल हुनु सबैका लागि गौरवको विषय हुन्छ । नेपाल एक मात्र हिन्दु राष्ट्र बन्न सक्नु सानोतिनो पहिचान होइन । यसबाहेक गौतम बुद्ध र सगरमाथालाई हाम्रो पहिचान बनाउने हो । यति तीन कुरा हुन सके नेपाल निक्कै माथि पुग्नेछ । 

विश्वमा भएका हिन्दुमध्ये एकदुई प्रतिशतलाई नेपाल ल्याउन सकेमात्र यो देश बनाउन कहीँ जानु पर्दैन । वार्षिक २ करोड जना हिन्दुलाई यहाँ टेकाउनेमा अब सबैले ध्यान दिनुपर्छ । यो नसकिने कुरा होइन । मुस्लिमहरू आफ्नो पवित्र स्थल मक्कामदिना जान्छन् । नेपाल सरकारको सहयोगमा पनि त्यहाँ पठाइने गरिएको छ । किश्चियनहरू भ्याटिकन सिटी र जेरुसलम जान्छन् । हिन्दु राष्ट्र कायम गरेर हिन्दुलाई नेपाल ल्याउनु पर्छ । धार्मिक पर्यटन नेपालका लागि विशेष महत्वको छ । सँगसँगै गौतम बुद्धको जन्मभूमिमा बुद्धिष्टलाई भित्र्याउन पनि विशेष योजना बनाउनु पर्छ । यति गरे देशमा कायापलट हुन सक्छ । 

हिन्दु राष्ट्रको लागि वातावरण बन्दै गएको छ । हामीसँगको भेटमा ९० प्रतिशतभन्दा बढी नेताहरू तपाईँहरूले लिएको हिन्दु राष्ट्रको एजेन्डा ठिक हो भन्छन् । हामी त फसिहाल्यौँ, निस्कन गाह्रो भइरहेको छ भन्छन् । तर तपाईँहरू सही ठाउँमा हुनुहुन्छ, उठाउनुस् यो एजेन्डा, सफल हुनुहुन्छ भन्छन् । कार्यकर्ता पनि नेताहरूले गल्ती गरे भन्न थालिसकेका छन् । जनतालाई पनि यस्तै भइरहेको छ । अहिले सबैले बुझ्दै गएका छन् । यो बुझाइमा भर पर्ने कुरा हो । 

अहिलेको संविधान परिवर्तनशील छ। नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानबाहेकका विषयमा जहिले पनि परिवर्तन गर्न सक्ने बाटो त संविधानले नै खोलिदिएको छ । तीबाहेकका विषयमा सबैले शान्तिपूर्ण बाटोबाट अघि बढ्न पाउँछन् । त्यसका लागि दल खोल्न पाउँछन् । विचार र सिद्धान्तको आधारमा दलमाथि प्रतिबन्ध लगाउन पाइँदैन । त्यसैले हेर्दै जानुस् हामी लक्ष्यमा पुग्ने छौँ । 

यो विषय सतहमा आउन थालेको छ । काँग्रेसको महासमिति बैठकमा हिन्दु राष्ट्रमा जानुपर्ने भनेर लबिङ भएको थियो । अहिले केन्द्रीय समितिमा त्यस्तै भइरहेको छ । काँग्रेसका महामन्त्री शशांक कोइराला स्वयं हिन्दु राष्ट्रको पक्षमा लाग्नुभएको छ । अबका दिनमा काँग्रेसलाई हेर्नुहोस् । अरू शक्तिहरू पनि क्रमशः हाम्रो एजेन्डामा आउँछन् । 

हामीले सर्वधर्म सापेक्ष र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र बनाउन खोजेको हो । यसबाट सबै नेपालीको भलो हुनेछ । हामीले एउटा धर्म विशेषलाई च्याप्न खोजेको होइन । पहिचानका लागि हिन्दु राष्ट्र भए पनि सबै धर्मावलम्बीहरूलाई धार्मिक स्वतन्त्रता हुनेछ । राज्यले सबै धर्मका प्रमुख चाडपर्वहरूलाई महत्त्व दिनेछ । गैरहिन्दुका लागि आफ्नो धर्मकर्म गर्ने स्वतन्त्रतामा आँच आउने छैन । सबै धर्मलाई बराबर अधिकार हुने छ । सबैलाई प्रोत्साहन हुने छ । 

म बुद्ध धर्म मान्ने मान्छे हो । २०५८ सालमा १० प्रतिशत बुद्धिष्ट थियौं । २०६८ सालको जनगणनाले ९ प्रतिशतमा झरेका छौं । धर्मनिरपेक्ष हुनासाथ हामी एक प्रतिशत घट्यौँ । धर्म निरपेक्षबाट के पाइयो ? त्यही एक प्रतिशत गुमाएको मात्र हो । देशमा महामारी आएको होइन । जनसंखया बढेकै छ । हामी चाँहि किन घट्यौँ ? यो प्रश्नको जवाफ हिन्दु राष्ट्रको विरोध गर्नेहरूले दिनुपर्छ । यसैगरी घट्दै/गुमाउँदै गयौँ भने हामी कहाँ पुग्छौँ ? धर्म निरपेक्ष भएपछि हामीले के पायौँ ? पाएको केही छैन । पहिले लामाहरूको देश दर्शनका कार्यक्रम हुन्थ्यो । बुद्ध दर्शन अध्ययनका लागि लामाहरू देशभरका गुम्माहरूमा जाने गरेका थिए । सरकारले सहयोग गर्थ्यो । गुम्बाहरूमा सहयोग जान्थ्यो । गुम्बा व्यवस्थापनमा सहयोग थियो । तर म सुन्दै छु अहिले त्यस्तो सहयोग जान छोडेको छ । हामीले पाएको केही छैन । बुद्ध धर्मावलम्वीले पहिले पाएका सेवा सुविधा पनि गुमाएका छन् । जनसंख्या नै घट्दै गएको छ । भोलि हामी कहाँ पुग्छौँ, टुंगो छैन ।  

मुलुकलाई राजासहितको प्रजातन्त्र चाहिएको छ । राजा नरहँदा मुलुकको के हविगत भयो ? भोगेकै छौं । राष्ट्रिय एकताको प्रतीकको रूपमा राजसंस्था चाहिन्छ । यहाँ १३० जाति र १२५ भाषाभाषी छन् । १० वटा धर्म मान्ने मानिस छन् । ती सबैलाई एकताको सूत्रमा बाँध्न राजा हुनु आवश्यक छ । राजाले नै नेपालको एकीकरण र विस्तार गरेका हुन् । राजगद्दी बाजी लगाएर प्रजातन्त्र ल्याउन पनि राजाले नै योगदान दिएका हुन् । अभिभावकको रुपमा राजा चाहिएको छ । 

नेपालको भूबनोटले पनि राजसंस्थाको अपरिहार्यता ठानेको छ । दुईतिर विशाल भूभाग, जनसङ्ख्या र तीव्र आर्थिक उन्नति गरेका अर्थतन्त्र भएका मुलुक छन् । नेपालमा छिमेकी र विश्व समुदायको चासो बढ्दै गएको छ । यस्तो अवस्थामा राजनीतिक दल र त्यसका नेताहरूलाई विदेशीले आफ्नो प्रभावमा राख्ने कोसिस गर्छन् । दल तथा नेताहरू प्रभावित पनि हुन सक्छन् । त्यस्तो अवस्थामा नेपालले राष्ट्रिय हितको रक्षा एवं प्रवर्द्धन गर्न सक्दैन । राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डतामा खलल पुग्न सक्छ । यो अवस्था आउन नदिन राजसंस्था अनिवार्य छ । 

कुराकानीमा आधारित

सांसद एवं पूर्वमन्त्री तामाङ राप्रपा उपाध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि