बैशाख २५, २०८१, मंगलबार
               

महासभामा युक्रेनका राष्ट्रपतिको भावुक सम्बोधन

नेपाल फ्ल्यास
असोज ०३, २०८०

ADVERTISEMENT

काठमाडौं । संयुक्त राष्ट्र संघको महासभालाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्बोधन गरेका छन् ।  भावुक सम्बोधनका क्रममा उनले युक्रेनलाई रुसी आक्रमणबाट मुक्त गर्न विश्व समुदायलाई अपिल समेत गरेका छन् । 

जेलेन्स्कीले रुसविरुद्धको युद्धमा थप समर्थन र साथ खोज्दै रुसले विश्वलाई नै युद्धमा धकेल्न खोजेको आरोप लगाए । उनले रूसले खानादेखि ऊर्जासम्म सबै हतियार बनाएको आरोप समेत लगाए । जलवायु परिवर्तन जस्ता साझा चुनौतीलाई समेत रुसले बेवास्ता गरेको भन्दै उनले रुसलाई आणविक हतियार राख्ने अधिकारसमेत नभएको दाबी गरे । 

रुसका आणविक हतियार नियन्त्रण गरी रुसी राष्ट्रपतिलगायतलाई युद्ध अपराधीको रुपमा दण्डित गर्न पनि विश्व समुदायलाई उनले आग्रह गरेको बीबीसीमा उल्लेख छ । आफ्नो ट्रेडमार्क सैन्य पोशाक लगाएका जेलेन्स्की रुसले युक्रेनमा आक्रमण थालेपछि पहिलो पटक संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएका हुन् । 

यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा रूसले युक्रेनमा गरेको आक्रमणलाई लिएर चर्को आलोचना भएको छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण शुरु गरेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभालाई सम्बोधनमा गर्दै रुसलाई रिझाउने प्रयास नगर्न नेताहरुलाई आग्रह गरेका छन् । बाइडेनले रूसको आक्रमणविरुद्ध ऐक्यबद्धता जनाउन सदस्य राष्ट्रलाई आग्रह गर्दा जेलेन्स्कीले त्यसतर्फ निकै चासो राखेको देखिन्थ्यो ।

बाइडेनले युक्रेन युद्ध र यसले निम्त्याउन सक्ने विश्व सुरक्षाबारे जोड दिएर कसैले पनि संयुक्त राष्ट्रसङ्घको बडापत्रको मूल सिद्धान्त त्याग्न नहुने बताए । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न आग्रह गरे । युक्रेनमाथि रूसको आक्रमणलाई लिएर रूसतर्फ नरम भएको आरोप खेपिरहेका लुलाले वार्ता नै विकल्प रहेकोमा जोड दिए । 


कस्तो लाग्यो ?

यो पनि