बैशाख २४, २०८१, सोमबार
               

अरुणाचललाई समेट्दै चीनले सार्वजनिक गरेको नक्साको भारतद्वारा विरोध

नेपाल फ्ल्यास
भदौ १२, २०८०

ADVERTISEMENT

चीनले आफ्नो प्रशासनिक नक्साको नयाँ संस्करण सार्वजनिक गरेको छ । चीनले अरुणाचल प्रदेश, अक्साई चीन, ताइवान र साउथ चाइना सीलाई आफ्नो क्षेत्रमा देखाउँदै नयाँ नक्सा सार्वजनिक गरेको हो । 

चिनियाँ अखबार ग्लोबल टाइम्सले ट्वीट गर्दै चीन र विश्वका विभिन्न देशको राष्ट्रिय सिमाना कोर्ने विधिको आधारमा नक्सा तयार गरिएको जनाएको छ । चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा मान्छ ।

चीनले नक्सा सार्वजनिक गरेलगत्तै भारतले असहमति जनाउँदै विरोध गरेको छ । भारतले अरुणाचल प्रदेश सधैँ भारतको अभिन्न अङ्ग रहेको र सधैँ रहने बताएको छ । भारतीय जनता पार्टीका नेता बीजेपी नेता सुब्रमण्यम स्वामीले चीनको यो नयाँ नक्सालाई लिएर कडा प्रतिक्रिया जनाएका छन् । उनले चीनको कदम रोक्न नसकेको र जवाफ नदिएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको कडा विरोध पनि गरेका छन् । 

यसअघि गएको अप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशका ११ स्थानको नाम परिवर्तन गर्न अनुमोदन गरेको थियो । चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर भूभाग दाबी गर्दै आएको छ भने भारतले पश्चिममा रहेको अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर भूभाग चीनले अवैध रूपमा कब्जा गरेको भन्दै आफ्नो दाबी गरेको छ ।

केही दिनअघि ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता हुँदा सीमा विवाद हटाउने र विवादित क्षेत्रबाट सेना फिर्ता बोलाउने सहमति समेत भएको थियो । तर, भेटवार्ताको हप्ता दिन पनि नबित्दै चीनले नयाँ नक्सा जारी गर्न भ्याएको छ । यस्तै चीनले ताइवानलाई पनि आफ्नै भूमि मान्दै नक्सामा समेटेको छ । राष्ट्रपति सी जिनपिङले ताइवानलाई एकीकरण गर्ने लक्ष्य राखेका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि