बैशाख २५, २०८१, मंगलबार
               

भारतमा मोदीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

नेपाल फ्ल्यास
साउन २५, २०८०

ADVERTISEMENT

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध तल्लो सदन लोकसभामा दर्ता भएको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । 

आज बिहीवार लोकसभाका अध्यक्ष ओम बिरलाले सदनको कारबाही समाप्त हुनुअघि केन्द्र सरकारविरुद्ध विपक्षी दलहरूले दर्ता गरेको अविश्वास प्रस्ताव अस्वीकृत भएको घोषणा गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।  

लोकसभामा तीन दिनसम्म यसअघि अविश्वास प्रस्तावलाई लिएर सत्तापक्ष र विपक्षका सांसदहरूले आफ्नो विचार राखेका थिए । प्रधानमन्त्री मोदीले जवाफ दिएपछि लोकसभाका अध्यक्षले अविश्वास प्रस्तावमाथि ध्वनि मतका आधारमा प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका हुन् । 

आजको बैठकमा मोदीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षी दलहरूको चर्को आलोचना गर्दै मणिपुर राज्यमा शान्ति कायम गराएरै छाडिने बताए । उनले मणिपुरमा महिलाहरूमाथि अक्षम्य अपराध भएको भन्दै दोषीलाई कडाभन्दा कडा सजाय दिलाउन केन्द्र र राज्य सरकार मिलेर काम गरिरहेको उल्लेख गरे । 

जवाफकै क्रममा मोदीले विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु भगवानको आशीर्वाद भएको बताउँदै सन् २०२४ को लोकसभा चुनावमा विगतका सबै रेकर्ड तोडेर एनडीए र भाजपाले भव्य विजय हासिल गर्ने दाबी समेत गरे । 

मणिपुर राज्यमा भएको हिंसामा सरकारले अभिभावकीय भूमिका खेल्न नसकेको र देशमा निरङ्कुशता हाबी भएको भन्दै विपक्षीले मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

यसअघि सन् २०१८ मा पनि नरेन्द्र मोदी सरकारको विरुद्ध विपक्षीले अविश्वास प्रस्ताव ल्याएको थियो । सदनमा ११ घण्टा लामो छलफलपछि अन्ततः मोदी सरकारले सदनमा आफ्नो बहुमत पुर्‍याएको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि