बैशाख १५, २०८१, शनिबार
               

एलडिसी विकासमा कतारले ६० मिलियन डलर सहयोग गर्ने

नेपाल फ्ल्यास
फागुन २३, २०७९

ADVERTISEMENT

कतारका आमिर शेख तामिम विन हमाद अल-थानीले अति कम विकसित राष्ट्रहरूको  विकास प्रक्रियामा सहयोग गर्न कतारले ६० मिलियन अमेरिकी डलर सहयोग गर्ने बताएका छन् । 

कतारका आमिर अल-थानीले संयुक्त राष्ट्रसंघको कम विकसित मुलुकको पाँचौँ सम्मेलनको उद्घाटन गर्दै यस्तो घोषणा गरेका हुन् । 

कतारका आमिर अल-थानीले विश्वका कम विकसित देशहरूको क्षमता विकास गर्न ५० मिलियन अमेरिकी डलर तथा दोहा कार्यक्रमको लागि १० मिलियन अमेरिकी डलर खर्च गर्ने बताए । 

विश्वका कम विकसित राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार वा उच्चस्तरीय प्रतिनिधि उपस्थित सहभागी सम्मेलनमा उपप्रधान एवं भौतिक योजना तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ सरिक थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा कतारका आमिर अल-थानीले विश्वका कैयौँ देशमा भइरहेका द्वन्द्वले अति कम विकसित देशहरू मारमा परेको बताए । उनले भने- 'विकसित, कम विकसित तथा अति कम विकसित मुलुकका जनताको भविष्यका बारेमा  योजना बनाउँदा नै सबै जनताको समान विकासबारे विचार गरिनुपर्दछ । द्वन्द्व, आतंक, प्राकृतिक प्रकोप एवं कोरोना महामारीले कम विकसित मुलुकलाई अझै एक दशक पछि धकेलेको छ । ती देशका लाखौँ नागरिक अझै पनि सामाजिक आर्थिक बोझले दबिएका छन् । गरिबी, शिक्षा, स्वास्थ्य मात्र नभएर उनीहरू खाद्यान्न अभावमा बाँच्नुपरेको छ ।' 

कतारले अन्तर्राष्ट्रिय स्तरमै शान्ति कायम गर्न मध्यस्थताको भूमिका निर्वाह गरेको स्मरण गर्दै आमिर अल-थानीले विकास, मानव अधिकार रक्षा र सुरक्षाको प्रत्याभूतिको लागि कतार सरकारले अन्तर्राष्ट्रिय स्तरमा काम गर्ने दृढता व्यक्त गरे ।

पछिल्लो समय टर्की र सिरियाले भोग्नुपरेको प्राकृतिक विपत्तिको जिकिर गर्दै उनले त्यस विपत्तिमा भएको मानवीय एवं भौतिक क्षति अपूरणीय भएको भन्दै अन्तर्राष्ट्रिय समुदायले यस आपतकालीन समयमा साथ र सहयोग गर्न अपिल पनि गरेका थिए । 

टर्कीमा गएको विनाशकारी भूकम्पका कारण ५० हजार भन्दा बढीले ज्यान गुमाएका छन् । भूकम्प गएपछि कतारका आमिर अल-थानीले टर्की भ्रमण गरी आर्थिक सहयोगका साथै १० हजार अस्थायी घर प्रदान गरेका थिए । 

सफल विश्वकप फुटबल सम्पन्न गरेको कतार कम विकसित मुलुकको हक हित र विकासमा साझेदार बन्दै अघि बढ्न तयार रहेको बताउँदै आमिर अल-थानीले कतारमा भइरहेको सम्मेलन दिगो विकासका लागि सन् २०३० सम्मको विकासको योजनामा अघि बढ्न संयुक्त राष्ट्रसंघको कम विकसित मुलुकको पाँचौँ सम्मेलन सफल हुने विश्वास व्यक्त गरे । 

फागुन २१ गते सुरु भएको सम्मेलन भोलि बुधबार सकिनेछ ।


कस्तो लाग्यो ?

यो पनि