बैशाख ०७, २०८१, शुक्रबार
               

बेलारुसकी विपक्षी नेतृलाई १५ वर्ष जेल सजाय

नेपाल फ्ल्यास
फागुन २३, २०७९

ADVERTISEMENT

काठमाडौं : बेलारुसकी विपक्षी नेतृ सियात्लाना जिखानासकयालाई देशद्रोह र सत्ता कब्जाको षड्यन्त्र गरेको अभियोगमा १५ वर्षको जेल सजाय सुनाइएको छ।

छिमेकी देश लिथुआनियामा निर्वासित जीवन बिताइरहेकी ४० वर्षीया सियात्लानालाई उनको अनुपस्थितिमा उक्त सजाय सुनाइएको हो।

प्रजातन्त्रका पक्षमा गरेको वकालतको बदलामा आफूलाई दण्डित गरिएको उनले प्रतिक्रिया दिएकी छन्। सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँग प्रतिस्पर्धा उनले गरेकी थिइन् ।

धाँधली भएको आरोप लगाइएको उक्त निर्वाचनमा लुकासेन्को अत्यधिक मतका साथ विजयी भएका थिए। लुकासेन्कोको विवादास्पद विजयको विरोधमा चर्किएको आन्दोलनमाथि प्रहरीले दमन गरेर ३५ हजारभन्दा बढीलाई गिरफ्तार गरेको थियो।

उक्त आन्दोलनमा थुप्रै विपक्षी नेता तथा अभियानकर्ताहरू समातिएका थिए भने सियात्लानालगायतका नेताहरू भागेर छिमेकी देश लिथुआनिया पुगेका थिए। निर्वासनमा गएका नेताहरुविरुद्ध देशद्रोह र असंवैधानिक तरिकाले सत्ता कब्जा गर्न खोजेको अभियोगमा मुद्दा चलाइएको थियो।

केही दिनअघि मात्रै बेलारुसकै एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता एलेसलाई सरकार विरोधी प्रदर्शनलाई आर्थिक सहयोग गरेको अभियोगमा दश वर्षको जेल सजाय सुनाएको थियो।

रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनका निकटतम मित्र लुकासेन्कोलाई युरोपको अन्तिम तानाशाहका रूपमा व्याख्या गरिन्छ। करिब तीन दशकदेखि सत्तामा रहेका उनी देशको अहिलेसम्मकै पहिलो र एक्लो राष्ट्रपति हुन्। 


कस्तो लाग्यो ?

यो पनि