
काठमाडौं: भारतीय राजनीतिमा दिल्लीसहित सीमित प्रदेशमा उदाएको आम आदमी पार्टी भ्रष्टाचारको मामिलामा मुछिन थालेको छ ।
दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियालाई भ्रष्टाचारसम्बन्धी अभियोगमा छानबिनका लागि सीबीआईले पक्राउ गरेको छ ।
उपमुख्यमन्त्री सोसिदियालाई सीबीआईले आइतबार ८ घण्टा सोधपुछ गरेको थियो । उनीविरुद्ध रक्सी सम्बन्धी नीति बनाउँदा व्यापारीलाई अनधिकृत फाइदा पुर्याएको आरोप लागेको छ ।
पक्राउ पर्ने सिसोदिया आम आदमी पार्टीका दोस्रो मन्त्री हुन् । यसअघि दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरेको थियो । गएको मे महिनामा पक्राउ परेका जैन अझै जेलमा छन् ।