बैशाख ०६, २०८१, बिहीबार
               

भारतमा किसानको हात र खुट्टा काटेर पाशविक हत्या

नेपाल फ्ल्यास
असोज ३०, २०७८

ADVERTISEMENT

भारतमा एक किसान हत्याका आरोपितमध्येका एक व्यक्तिले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । शिख समुदायमा आबद्ध निहाङ समूहका  सर्वजित सिंहले हत्याको जिम्मा लिँदै प्रहरीसमक्ष आत्मसर्मपण गरेका हुन् । शुक्रबार साँझ हरियाणा र दिल्लीको सिमाको सिंघुमा एक किसानको बायाँ हात र दायाँ खुट्टा काटिएको बेवारिसे शव फेला परेको थियो । आत्मसर्मपणपछि पक्राउ परेका सिंहलाई आज नै अदालतमा पेस गर्ने प्रहरीको तयारी छ । 

किसानको शव शुक्रबार साँझ पाँच बजे सडकको एउटा छेउमा फालिएको अवस्थामा फेला परेको थियो । मारिएका व्यक्ति पन्जाबका अन्दाजी ३५ वर्षका लखबीर सिंह भएको प्रहरीले जनाएको छ । उनका श्रीमति र तीन छोरी छन् ।  उनको पाशविक हत्या गरेका तीन ओटा भिडियो सार्वजनिक भएका छन् । 

एउटा भिडियोमा लखनबीरको बायाँ हात काटेपछि आक्रमणकारीको समूह उनको शरीर कुच्लिएको देख्न सकिन्छ  । उनको हात र खुट्टा काट्नुअघि उनलाई निर्मम ढंगले कुटपिट गरिएको थियो । शिख धर्मालम्बीहरुको पवित्र पुस्तक गुरु ग्रन्थ साहिबलाई अपमान गरेको आरोपमा उनको पाशविक हत्या गरिएको अनुमान गरिएको छ ।  यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । 

यसअघि हरियाणाका मुख्यमन्त्री एमएल खातरले दोषीलाई कडा कारबाही गर्ने चेतावनी दिएका थिए । उनको पाशविक हत्या गरेको भिडियो सार्वजनिक भएपछि गृहमन्त्री अनिल भिजे र हरियाणा प्रहरी प्रमुखसँगको भेटमा उनले हत्यारालाई कडा कारबाही गरिने बताएका थिए । 

यसैबीच किसानहरूको छाता संगठन संयुक्त किसान मोर्चाले हत्याको निन्दा गर्दै आक्रमणकारी र पीडित दुबै जना आफ्नो संगठनमा आबद्ध नरहेको जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि