चर्चित भारतीय महिला अधिकारकर्मी तथा लेखक कमला भासिनको निधन भएको छ । ७५ वर्षीया भासिनको आज बिहान निधन भएको अभियन्ता कविता श्रीवास्तवलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९४६, अप्रिल २४ मा राजस्थानमा जन्मिएकी भासिन केही महिनादेखि क्यान्सरबाट पीडित थिइन् ।
अभियन्ता कविताले भासिनको निधनले भारत र दक्षिण एसियाको महिला आन्दोलनमा धक्का पुगेको बताइन् । सामाजिक वैज्ञानिकका रुपमा विकास, शिक्षा, लैंगिक समानता र आमसञ्चारका क्षेत्रमा ३५ वर्षभन्दा बढी सक्रिय भासिन सन् १९७६ देखि २००१ सम्म राष्ट्रसंघीय नियोग खाद्य तथा कृषि संगठन(एफएओ) मा कार्यरत थिइन् ।
भासिनले महिलालाई रोग, भोक र हिंसाबाट पीडित हुनबाट बचाउनुपर्ने र पुरुषबीचको भेदभावको संस्कार विरुद्ध भासिनले सशक्त अभियान चलाएकी थिइन् ।