काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाले दुई बीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तानसहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमको बारेमा छलफल गरेका छन् ।
वार्ताका अवसरमा दुई नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त क्षेत्रप्रति आ–आफ्नो प्रतिबद्धता दोहोर्याएका हुन् । प्रधानमन्त्री सुगाले हालै पदभार ग्रहण गरेपछि प्रधानमन्त्री मोदीसँग यो पहिलो व्यक्तिगत भेटवार्ता हो ।
सो अवसरमा दुबै प्रधानमन्त्रीले मुम्बई(अहमदावाद हाई स्पीड रेल (MAHSR) परियोजनाको शुरुवात र समयमै यसको कार्यान्वयनका लागि आ(आफ्नो तर्फबाट प्रतिबद्धता जनाएका छन् । दुई नेता बीचको बैठक क्वाड को पहिलो शिखर सम्मेलनको एक दिन अगाडि भएको हो ।
यो संयन्त्र अष्ट्रेलिया, भारत, जापान र संयुक्तराज्य अमेरिकाबीच चार पक्षीय सहयोगसँग सम्बन्धित छ। विदेश मन्त्रालयका अनुसार उनीहरूबीच रक्षा उपकरण र प्रविधिको क्षेत्रसहित द्विपक्षीय सुरक्षा र रक्षा सहयोग बढाउनेबारे सहमति जुटेको छ।
दुई प्रधानमन्त्री बीचको पहिलो भेटवार्ता हार्दिकतापूर्ण रह्यो। सेप्टेम्बर २०२० पछि सुगाले जापानको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरिसकेपछि उनीहरूबीच तीनपटक टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री मोदीले भारत–जापान विशेष रणनीतिक र ग्लोबल पार्टनरसीप पछिल्ला केही वर्षहरूमा भएको ठूलो प्रगतिका निम्ति प्रधानमन्त्री सुगालाई विशेष धन्यवाद दिएका छन् ।–एएनआई