जेठ ०६, २०८१, आइतबार
               

अफगानिस्तानमा अलपत्र नेपालीको उद्धारमा शक्तिराष्ट्रको भर

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो सुरक्षा घेराभित्र राखेर उद्धार उडान सञ्चालन गरिरहेको अमेरिकी नेतृत्वको सेना त्यहाँबाट फर्कने समयसीमा नजिकिँदै गर्दा त्यहाँ अलपत्र अधिकांश नेपालीहरूको उद्धार भइसकेको सरकारी अधिकारीहरूले दाबी गरेका छन्।

सरकारले काबुलस्थित अतिसुरक्षित मानिएको ग्रीन जोनमा काम गर्नका लागि मात्रै श्रम स्वीकृति दिँदै आए पनि परराष्ट्र मन्त्रालयले काबुलबाहिरका क्षेत्रमा पनि केही नेपाली नागरिकहरू कार्यरत रहेको पुष्टि गरेको छ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बीबीसीसँग भनिन्, "ठूलो सङ्ख्या चाहिँ काबुलमै हुनुहुन्छ, काबुलबाहिर पनि केही हुनुहुन्छ।"

काबुलबाहिर रहेका नेपालीहरू संयुक्त राष्ट्रसङ्घको शान्ति अभियानमा कार्यरत रहेकाले उनीहरूलाई सुरक्षा खतरा नरहेको बताइएको छ।

काबुलनजिकै भएका ठाउँमा रहेका कतिपय नेपाली नागरिकले राष्ट्रसङ्घीय निकायअन्तर्गतको जागिर छोडेर आउन चाहे उनीहरूलाई पनि उद्धारको प्रबन्ध हुने नयाँदिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख रामप्रसाद सुवेदीले बताए।

राजधानी काबुलमै रहेका नेपालीहरूको उद्धारमा कठिनाइ बेहोरिरहेको सरकारले काबुलबाहिर रहेका नेपालीहरूको उद्धार थप चुनौतीपूर्ण भएको बताएको छ।

सरकारले अफगानिस्तानको राजधानी काबुलमा कार्यरत अधिकांश नेपालीहरू स्वदेश फर्किने क्रममा रहेको बताए पनि गैरकानुनी बाटोबाट त्यहाँ पुगेका कतिपय नेपालीहरूको उद्धार अझै अनिश्चित छ।

सशस्त्र तालिबान लडाकु समूहले काबुलसहित अफगानिस्तान कब्जा जमाएपछि विभिन्न देशहरूले त्यहाँबाट आफ्ना नागरिकको उद्धार तीव्र बनाएका छन्।

नेपालले पनि स्वदेश फर्किन चाहने आफ्ना नागरिकलाई अनलाइन आवेदन दिन आह्वान गर्दै उनीहरूको उद्धारका लागि पहल भइरहेको बताएको छ।

स्वदेशफिर्तीका लागि आवेदन दिएकामध्ये अधिकांशको उद्धार भइसकेको दाबी गर्दै नयाँदिल्लीस्थित दूतावासका उपप्रमुख सुवेदीले मङ्गलवारसम्म ५३ जनाको उद्धार हुन बाँकी रहेको बताएका छन्।

"अनौपचारिक माध्यमबाट त्यहाँ पुगेका र औपचारिक माध्यमबाट पुगेर रोजगारदाता परिवर्तन गरेका ५३ जनाको उद्धारका लागि पहल भइरहेको छ," उनले भने। -बिबिसी

अफगानिस्तानमा रहेका करिब १,५०० नेपालीमध्ये मङ्गलवार सम्म १,२५० जनाले उक्त देश छोडिसकेको उद्धारमा समन्वय गरिरहेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

औपचारिक माध्यमबाट अफगानिस्तान पुगेर काबुलमा कार्यरत नेपालीहरूलाई परराष्ट्र मन्त्रालयको आग्रहमा रोजगारदाताले नै उद्धार गरेर घर फिर्ता हुन सहयोग गरिरहेको मन्त्रालयले जनाएको छ।

कतिपयलाई रोजगारदाताले संयुक्त अरब एमिरेट्स, कतार, कुवेत र बेलायतका सुरक्षित ठाउँमा पुर्‍याएको मन्त्रालयले जनाएको छ।

"त्यहाँ संस्थागत क्षेत्रमा कार्यरत नेपालीहरूचाहिँ अब लगभग उद्धार भइसकेको र हुने क्रममा हुनुहुन्छ। उहाँहरू विभिन्न ट्रान्जिटमा हुनुहुन्छ आउने क्रम जारी नै छ," परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले मङ्गलवार बीबीसीसँग भनिन्।

अझै पनि झन्डै ३०० को सङ्ख्यामा नेपालीहरू संयुक्त राष्ट्रसङ्घअन्तर्गतका निकायमा अफगानिस्तानमै कार्यरत रहेको र उनीहरू तत्काल स्वदेश फर्किन अनिच्छुक देखिएको बताइएको छ।

गैरकानुनी बाटोबाट पुगेका मानिस अप्ठेरोमा
भिसा अवधि सकिएका, गैरकानुनी बाटोबाट त्यहाँ पुगेका र राजधानी काबुलबाहिर रहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्काउन चुनौती देखिएको छ।

राजधानी काबुलको अवस्था अहिलेसम्म शान्त र हिंसारहित नै रहे पनि अवस्था चिन्तामुक्त नरहेको त्यहाँ रहेका नेपालीहरू बताउँछन्।

काबुलमा उद्धारको पर्खाइमा रहेको बताउने एक नेपालीले आफूहरूले परराष्ट्र मन्त्रालयले आह्वान गरेको अनलाइन ठेगानामा आवेदन दिए पनि स्वदेशफिर्ती अनिश्चित देखिएको बताए।

"हामीलाई (नेपाल) सरकारले सुरक्षित ठाउँमा राखिदेओस् र छिट्टै उद्धार गरिदेओस् भन्ने चाहन्छौँ। हाम्रो भिसा पनि सकिएको छ र यहाँ असुरक्षित छौँ," आफ्नो नाम खुलाउन नचाहने एक व्यक्तिले बीबीसीसँग भने। आफूहरूलाई स्थानीय एजेन्टले काबुलकै एक होटेलमा राखिरहेका बताउने ती व्यक्तिले नाम खुलाउँदा एजेन्टले समस्यामा पार्न सक्ने बताएका छन्।

गत फागुनमा नेपालबाट दुबई हुँदै अफगानिस्तान छिरेका आफूसहित १० जना काबुलको एक होटेलमा अलपत्र रहेको उनले जानकारी दिए।

"हामीले काम सुरु गर्न अन्तर्वार्ता समेत दिइसकेका थियौँ तर अहिलेको जस्तो अवस्था आएर हामी विपत्तिमा पर्‍यौँ," उनले बीबीसीसँग भने।


कस्तो लाग्यो ?

यो पनि