काठमाडौं । केही समयदेखि द्वन्द चलिरहेको इजरायल र प्यालेष्टाइनको विद्रोही समूह हमासबीच युद्धबिराम भएको विभिन्न सञ्चार माध्यमले जनाएको छ । करिब ११ दिनसम्म चलेको बमबारीपछि शुक्रबार बिहानैदेखि दुबै पक्षले युद्धबिराम भएको बताइएको छ ।
बमबारीमा कम्तिमा २४० जनाको मृत्यु भएको तथ्यांक छ । अधिकांश गाजा क्षेत्रका छन् । उक्त युद्धबिराम भए लगत्तै प्यालेष्टाइन नागरिक गाजाको सडकमा उत्रेर उत्सव मनाएको बताइएको छ ।
इजरायल र हमास दुबैले द्वन्दको क्रममा आ–आफ्नो बिजय भएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति जोइ बाइडेनले युद्धबिरामले वास्तविक अवसरको ढोका खोलेको प्रतिक्रिया दिएका छन् ।
गत मई १० देखि दुबै पक्षबीच हिंसा सुरु भएको थियो । पूर्वी जेरुसेलममा मुस्लिम र यहुदीले ओगटेको धार्मिक क्षेत्रमा सुरु भएको हिंसा बमबारीमा परिणत भएको थियो । – बीबीसी