भारतबाट अष्ट्रेलियाका लागि हुने उडानका लागि अस्थायी रूपमा लगाइएको रोक मे १४ को मध्यरातदेखि सञ्चालनमा आउने प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार बताएका छन् । यसका लागि उडानपूर्व कोभिड–१९ नियनत्रणका लागि अपनाउनुपर्ने नियमको कडा रूपमा पालना गर्नुपर्नेछ ।
अष्ट्रेलिया सरकारले व्यवसायिक उडानहरूमा कडाइका साथ नियमको पालना गर्ने शर्तमा उडानहरूलाई सञ्चालनमा ल्याइने भएको हो ।
अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले फेसबुक पोस्टमार्फत् उक्त जानकारी गराएका छन् । पोष्टमा भनिएको छ, “आज मध्यरातदेखि भारतबाट अष्ट्रेलियाको लागि हुने उडानमा लगाइएको अस्थायी विराम अन्त्य भएको छ ।”
अष्ट्रेलियाली सरकारले भारतलाई कोभिड–१९ सुरक्षाका लागि गरेको आग्रह अनुसार गर्ने भारतीय पक्षको आश्वासनपछि उडानलाई पुनः सञ्चालनमा ल्याइने भएको हो ।
भारतमा कोभिड–१९ को सङ्क्रमण बढेपछि मे ३ देखि उडानमा प्रतिबन्ध लगाइएको थियो । अष्ट्रेलियाले १४ दिन पहिले भारतमा रहेका आफ्ना नागरिकसमेत सरकारको निर्देशन विपरित अष्ट्रेलिया गएमा उनीहरूले सङ्क्रामक रोग नियन्त्रण नियम अनुसार जेल वा जरिवाना तिर्नुपर्ने बताइएको थियो ।