एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलको घरमा एफबीआईले छापा मारेको छ । प्राप्त जानकारी अनुसार अमेरिकाको संघीय जाँच व्यूरो (एफबीआई) ले पूर्वराष्ट्रपति ट्रम्पको निजी वकिलको घर र कार्यालयमा छापा मारेको हो ।
ट्रम्पका निजी वकिल तथा न्यूयोर्कका पूर्वमेयर रुडी जुलियानीको म्यानहटनस्थित घर र कार्यालयमा छापा मारिएको र विद्युत्तीय सामग्रीहरु नियन्त्रणमा लिइएको बताइएको छ ।खानतलासी गर्न एफबीआईको टोली बुधबार जुलियानीको अपर इस्ट साइड मेडिसन एभेन्यु अपार्टमेन्ट र पार्क एभेन्युस्थित कार्यालयमा पुगेको थियो ।
जुलियानीले ट्रम्प प्रशासनसँग गैरकानुनी तरिकाले पैरवी गरेको आशंकामा एफबीआईले अनुसन्धान जारी गरेको छ । राष्ट्रपति पदको निर्वाचनताका युक्रेनका अधिकारीहरूलाई जो बाइडन र उनको छोरा हन्टरविरुद्ध अनुसन्धान गर्न मुख्य भूमिका खेलेको लगायतका आरोप जुलियनमाथि लगाइएको छ ।
युक्रेनको एक ऊर्जा कम्पनीको बोर्डमा रहेका हन्टरमाथि कर छलीको आरोपमा अमेरिकी न्याय मन्त्रालयले अनुसन्धान जारी गरेको बताइएको छ ।