टोकियो । जापानमा कोरोना भाइरसको महामारी पुनः तीव्र रुपमा फैलिदै गएपछि फेरि संकटकालको घोषणा गरिएको छ । प्रधानममन्त्री योशिहिडे सुगाले शुक्रबार फेरि संकटकालको घोषणा गरेको अधिकारीहरूले जानकारी दिएका छन् । देशको केन्द्रीय राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा संकटकाल घोषणा गरिएको हो ।
एसियाली मुलुक जापानमा अहिले तेस्रो पटक संकटकाल घोषणा गरिएको जनाइएको छ । अहिले घोषणा गरिएको संकटकाल आगामी मे ११ तारिख आइतबारसम्म लागु हुनेछ । महामारी थप फैलिन नदिने उद्देश्यले संकटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।
जापानमा विशेष महत्वका साथ मनाइने “गोल्डेन विक होलिडेज” नजिकिँदै गरेकाले त्यतिबेला झन् कोरोना फैलिने स्वास्थ्य अधिकारीहरूको चिन्ता छ । बार तथा रेस्टुरेन्टहरूलाई मादक पदार्थ विक्री वितरण नगर्न कडा प्रतिवन्ध लगाइएको छ भने व्यवसायीक ठूला ठूला प्रतिष्ठानहरू पनि बन्द गर्न लगाइएको छ ।
संकटकाल घोषणा गरिएपनि पूर्ण लकडाउन जस्तो भने नहुने अधिकारीहरूको भनाइ छ । कोरोनाभाइरस फैलिनलाई सहयोगी हुने गतिविधिहरूका लागि मात्रै कडाइ गरिने अधिकारीहरूले बताएका छन् ।
विषेश गरेर भीडभाड हुन नदिने, सामाजिक दुरी कायम गराउने, मास्क लगाउन अनिवार्य गर्नेलगायतका विषय नै प्राथमिकतामा पारिने उनीहरुले जानकारी दिएका छन् ।