अफगान सेनाले अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डमा सोमबार राति सुरु गरेको एक विशेष अभियानमा ६ जना सशस्त्र आतङककारी मारिएका छन् । सोही अभियानको क्रममा २८ जना व्यक्तिलाई तालिबानको जेलबाट मुक्त गरिएको सेनाले मङ्गलबार पुष्टि गरेको छ ।
अफगानिस्तान नेसनल आर्मीका कमाण्डोहरूले हेल्मान्ड प्रान्तको मुसा काला जिल्लाको वरपरका इलाकामा आतङ्ककारीलक्षित कारबाही गरेका थिए । सेनाले प्रकाशन गरेको विज्ञप्तिकाअनुसार मुक्त भएर सेनाका शिविरमा लगिएका ती व्यक्तिहरूका मेडिकल चेकअप भएको थियो ।
तालिवान विद्रोहीहरू प्रायः गाउँ र राजमार्गबाट सर्वसाधारण र सुरक्षाकर्मीहरूलाई अपहरण गर्ने गरेका छन् । अपहरण परेका ती सर्वासाधारण र सुरक्षाकर्मीहरूलाई तालिबानहरूले जासूसी गरेको आरोप लगाउँदै सजाय दिने गरेका छन् । तालिबानी आतङकवादी समूहले सर्वासाधारण मुक्ति र सशस्त्र हतिहारधारी मारिएका विषयमा कुनै प्रतिक्रिया दिइसकेको छैन ।