मंसिर ०७, २०८१, शुक्रबार
               

पुटिनका आलोचक नभाल्नीको स्वास्थ्य अवस्था चिन्ताजनक

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

मस्को । ढाड तथा खुट्टासम्बन्धी समस्याको पूर्ण उपचारको माग गर्दै १८ दिनदेखि अनशनरत रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्य अवस्था अत्यन्त कमजोर बनेको उनको एक रूसी चिकित्सकले ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । 

उपचारमा ध्यान नदिइए जेलमा रहेका रुसी विपक्षी अभियानकर्मी एलेक्सी नभाल्नीको केही दिनभित्र ज्यान जान सक्ने उनका चिकित्सकले बताएका छन् । हालै गरिएका रगत परीक्षणका नतिजाले उनी हृदयाघात अथवा मिर्गौलाले काम गर्न नसक्ने अवस्थाको शिकार हुन सक्ने देखाएको चिकित्सकहरूले बताएका हुन् । 

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले जेलमा रहेका नभाल्नीको अवस्थालाई पूर्णतः अन्यायपूर्ण र अनुपयुक्त भएको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक नभाल्नीलाई आर्थिक हिनामिनासम्बन्धी पुराना अभियोगहरूमा गत फेब्रअरी महिनामा जेल पठाइएको थियो ।

तत्काल नभाल्नीलाई हेर्ने अनुमति माग्दै उनकी निजी चिकित्सक डा. अनास्तासिआ भसिलिएभासहित चारजना चिकित्सकले कारागार अधिकारीहरूलाई पत्र लेखेका छन् । डा. भसिलिएभाले सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरेको पत्रमा विज्ञहरूका अनुसार नभाल्नीको शरीरमा पोटासियमको मात्रा जटिल मोडमा पुगेको उल्लेख गरिएको छ ।

यसका कारण उनलाई कुनै पनि समय मिर्गौलाको काम र मृटुको धडकनमा गम्भीर समस्या हुनसक्ने चिकित्सकहरूले बताएका छन् । रगतमा पोटासियमको तह प्रतिलिटर ६.० मिलिमोल्सभन्दा बढी भएपछि विरामीलाई तत्काल उपचार गराउनुपर्ने हुन्छ । तर, नभाल्नीका वकिलहरूमार्फत् उपलब्ध गराइएको रगत परीक्षणको नतिजामा उनको रगतमा पोटासियमको तह प्रतिलिटर ७.१ रहेको जनाइएको छ ।

 रगत परीक्षणका नतिजा र हालसालै विष दिइएको घटनालाई ध्यानमा राख्दै तत्काल नभाल्नीको स्वास्थ्य परीक्षण गर्न दिन चिकित्सकहरूले कारागार अधिकारीहरूलाई आग्रहसमेत गरेका छन् । सन् २०२० को अगस्ट महिनामा स्नायु प्रणालीलाई असर गर्ने विष दिइएकोमा ४४ वर्षीय नभाल्नीको झण्डै ज्यान गएको थियो ।

उक्त घटनामा राष्ट्रपति पुटिनको समेत संलग्नता रहेको नभाल्नीले दावी गर्दै आएका छन् । तर, रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले ती आरोप अस्वीकार गर्दै आएको छ । नभाल्नीकी श्रीमती युलिआले अमेरिकीसमाचारसंस्था एपीलाई दिएको जानकारीमा नभाल्नीले अनशन सुरू गरेयता उनको तौल ९ किलोभन्दा बढी घटेको र हाल ७६ किलोग्राम पुगेको उल्लेख छ ।

यो पनि