एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको शनिबार अन्तिम संस्कार हुँदै छ । गत साता शुक्रबार ९९ वर्षको उमेरमा निधन भएका महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार आज अर्थात् शनिबार अप्रिल १७मा अन्तिम संस्कार गर्न लागिएको हो ।
राजकुमार फिलिपको अन्तिम संस्कार बेलायती समयअनुसार दिउँसो ३ बजे (नेपाली समयानुसार साँझ ७:४५ बजे) विन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा हुने तयारी गरिएको छ ।
नेपाल र फिलिपको सम्बन्ध
ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाले दुई पटक नेपालको राजकीय भ्रमण गरेकी थिइन् । दुवै भ्रमणमा फिलिप नेपाल आएका थिए । नेपाल आएका उनी दुवै पटक चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेर फर्किएका थिए । पहिलो भ्रमणका क्रममा राजा महेन्द्रसँग सो निकुञ्जको भ्रमण गरेका फिलिपले दोस्रोपटक भने तत्कालीन युवराज ज्ञानेन्द्र शाहका साथ भ्रमण गरेका थिए । सिकारका सौखिन फिलिपले दुवै भ्रमणमा कुनै पनि सिकार गरेनन् ।
राजकीय भ्रमणका बेला राजा महेन्द्रले चितवनमा राजकुमार फिलिपलाई बाघको सिकार गर्ने प्रस्ताव गरेका थिए। राजा महेन्द्रको सो सो प्रस्तावलाई उनले टारेका थिए । जसको मुख्य कारण भारतमा राजकुमार फिलिपले सिकार गरेको बाघको अगाडि बसेर खिचेको तस्वीरका कारण उनी निकै आलोचित भएका थिए ।
त्यसैगरी, नेपालमा राजकुमार फिलिपको नाममा एक गैँडाको नाम नै फिलिप राखिएको थियो । एक स्रोतका अनुसार उनी वन्यजन्तुप्रति चासो राख्ने भएकाले उनको नामबाट गैँडाको नामकरण गरिएको हो ।
बिसीमा आधारित