नयाँ दिल्ली । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको मुटुको ‘बाईपास सर्जरी’ सफलतापूर्वक सम्पन्न भएको उनको उपचार भइरहेको दिल्लीस्थित ‘अल इन्डिया मेडिकल साइन्सेस (एम्स) ले जानकारी गराएको छ ।
‘भारतका राष्ट्रपति रामनाथ कोविन्दले एम्समा मुटुको ‘बाइपास’ शल्यक्रिया सफलतापूर्वक गराइसक्नुभएको छ, चिकित्सकहरूको टोलीलाई सफल शल्यक्रियाका लागि बधाई छ,’ संघीय रक्षामन्त्री राजनाथ सिंहले राष्ट्रपतिको उपचारबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा जानकारी गराएका छन् ।
गत हप्ता, राष्ट्रपतिलाई छातीमा समस्या आएको बताएपछि नयाँ दिल्लीमा नै रहेको भारतीय सेनाको अनुसन्धान र रेफरल अस्पतालमा भर्ना गरिएको थियो । पछि उनलाई उपचारका लागि एम्समा सारिएको थियो । चिकित्सकहरूले राष्ट्रपतिको बाइपास प्रक्रियाबाट सल्यक्रिया गर्न दिएको सल्लाह बमोजिम उनको मुटुको शल्यक्रिया भएको हो ।
उपचारमा संलग्न भनिएका एक चिकित्सकले नाम उल्लेख नगरिकन राष्ट्रपति काविन्दको मुटुको सफल शल्यक्रिया भइसकेको र उनको अवस्था स्थिर रहेको र क्रमशः सुधार हुँदै जाने विश्वास गरिएको बताए ।