बैशाख २३, २०८१, आइतबार
               

टोकियोमा संकटकालको अवधि फेरि थपियो

नेपाल फ्ल्यास
फागुन २२, २०७७

ADVERTISEMENT

टोकियो । जापानको राजधानी टोकियो क्षेत्रमा संकटकालको अवधि फेरि थप गरिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा संकटकालको अवधि फेरि थप गरिएको शुक्रबार घोषणा गरेका हुन् ।

 कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले संकटकालको अवधि थप्नुपरेको उनको भनाइ छ । संकटकाल आगामी मार्च २१ तारिखसम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिए ।

राजधानी टोकियोसँगै आसपासका कनगवा, चिबा र सैताममा पनि संकटकाल लम्बिने उनले बताए । कोरोना महामारी व्यवस्थापनका लागि सरकारले गठन गरेको ‘टास्क फोर्स’सँगको परामर्शका आधारमा उनले संकटकाल लम्ब्याउने निर्णय गरेका हुन् । प्रधानमन्त्री सुगाले संकटकालको म्याद अहिले दोस्रो पटक थप्नु भएको हो ।

उनले गत जनवरीमा संकटकालको घोषणा गरेका हुन् । उनले कारोना भाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्यामा कमी नआएकाले उच्च सतर्कता अपनाउन हेलचक्रयाइ नगर्न पनि सबैलाई आह्वान गरेका छन् ।

स्वास्थ्य विज्ञ तथा स्थानीय सरकारी अधिकारीहरुले पनि महामारी अझ बढी फैलिने खतरा रहेकाले संकटकाल लम्ब्याउनु पर्नेमा जोड दिँदै आएका थिए । संकटकाल लागु गरिएपनि केही कुराहरुमा भने लचकता अपनाइएको अधिकारीहरुले जनाएका छन् ।

बार तथा रेस्टुरेन्टहरु केही समय खोल्न पाइने, तर आधारभूत सतर्कता भने अपनाउने पर्ने सर्त राखिएको छ । भेला हुने तथा भीडभाड हुने गतिविधि गर्न भने पूर्णरुपमा प्रतिवन्ध लगाइएको छ । 

जापानको राजधानी टोकियोमा मात्रै शुक्रबार पनि थप ३०१ जना सङ्क्रमित भएका छन् । योसँगै टोकियोमा मात्रै कुल सङ्क्रमितको सङ्ख्या एक लाख १२ हजार ९२५ पुगेको अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरी एक हजार १४८ जना नयाँ सङ्क्रमित थपिएका छन् भने कुल सङ्क्रमितको सङ्ख्या चार लाख ३७ हजार ८६१ पुगेको छ । कोरोना भाइरसका कारण जापानमा अहिलेसम्म आठ हजार २११ जनाको मृत्यु भएको छ । ती मध्ये ५५ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो । 


कस्तो लाग्यो ?

यो पनि