जेठ ०६, २०८१, आइतबार
               

बेलायती राजकुमार ह्यारी मानपदवीमुक्त

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

बेलायतका राजकुमार ह्यारी मानपदविमुक्त भएका छन् । 

दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेकी उनकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्वीकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो । 

केही महिना अगाडि उनीहरूले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरे पनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो । 

तर शुक्रबार महारानी एलिजावेथ द्वितीयले उनीहरूको मानपदवी खारेज भएको घोषणा गरेकी समाचारमा जनाइएको छ ।

बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनीहरूको मानपदवी खारेज भएको घोषणा गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ ।

महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अब राजनीतिक तथा सार्वजनिक सम्वन्ध नरहेको उल्लेख गरेकी अधिकारीहरूले जनाएका छन् ।

राजपरिवारको सदस्यका रूपमा उनीहरूको अब कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ ।  
गत वर्ष मार्चमा ह्यारी र मेघनले सामाजिक सञ्जालहरूमा पनि आफ्नो अन्तिम पोस्ट गर्दै बेलायती राज परिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो भूमिका छोड्ने घोषणा गरेका थिए । 

उनीहरू अहिले सामाजिक सञ्जालहरूबाट पनि टाढा रहेका छन् । सामाजिक सञ्जालमा धेरै घृणा सहनु परेको कारण ह्यारी र मेघनले ट्विटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा आफूहरू प्रस्तुत नहुने निर्णय गरेको टाइम्स अफ लन्डनले लेखेको थियो । दुवै जनाले सामाजिक सञ्जालमा चाँडै फर्किहाल्ने संकेत देखिएको छैन ।

हलिउड अभिनेत्री मेघनसँगको प्रेम सम्वन्धलाई ह्यारीले वैवाहिक जीवनमा परिणत गरेका हुन् । उनीहरूका अहिले एक छोरा छन् भने अर्को जन्माउने निश्चित भइसकेको जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि