अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र उनका छोराको हत्या भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उनका पाँच वर्षीय छोराको शुक्रबार हत्या भएको हो ।
राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा उनीहरूको हत्या भएको अधिकारीहरूले जनाएका छन् । देशका शान्ति स्थापनाका लागि प्रयासहरु भइरहेका बेला दर्दनाक हिंसात्मक घटनाहरु पनि भइरहेका हुन् ।
घटनाका बारेमा अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीहरुले बताएका छन् । लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा पछिल्लो समय द्वन्द्व अन्त्यका लागि धेरै प्रयासहरु भइरहे पनि सफलता मिल्न सकेको छैन ।